समाचार अर्थ

विद्यालय पुनःनिर्माणमा ढिलाई

विद्यालय पुनःनिर्माणमा ढिलाई

काठमाडौं ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणले निर्माण सामग्रीहरुको मूल्यमा आएको उत्तरचढावका कारण विद्यालय पुननिर्माणको कामले गति लिन नसकेको स्पष्टीकरण दिएको छ ।

 

प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन शिक्षा इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले निर्माण सामग्रीको मूल्यमा आएको उतारचढावका कारण विद्यालय पुनःनिर्माणको कामले गति लिन नसकेको स्पष्टिकरण दिएका हुन् ।

 

प्राधिकरणले विद्यालयको पुनःनिर्माणमा स्थानीयको माग पनि बाधकको रुपमा रहेको दावी गरेको छ ।  सोमबार काठमाडौंमा आयोजित भूकम्पपछिको पुनःनिर्माणको कामको प्रगतिबारे समिक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै आयोजना निर्देशक श्रेष्ठले हालसम्म भूकम्पले क्षति पुर्याएका ३ हजार ७ सय ८५ वटा विद्यालय पुनःनिर्माणको काम सम्पन्न गरिएको पनि जानकारी दिए । 

 

सरकारले विद्यालय पुनःनिर्माणको काम विद्यालय व्यवस्थापन समिति,विभिन्न आयोजना र गैरसरकारी संस्थाहरुलाई दिएको छ ।  आयोजना निर्देशक श्रेष्ठले जग्गा नभएका कारण करिब ४ सय ५० वटा विद्यालय पुनःनिर्माण तत्काल अघि बढाउन सकिने अवस्था नरहेको पनि जानकारी दिए ।

 

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ७ हजार ९ सय २३ वटा विद्यालयमा क्षति पुगेको थियो ।  प्राधिकरणले निजी आवास पुनःनिर्माणको कामलाई पूर्णता दिएपछि विद्यालय पुनःनिर्माणको काममा तीव्रता दिने योजना पनि अघि सारेको छ ।

 

शिक्षा इकाई निर्देशक श्रेष्ठले विद्यालय पुनःनिर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढने योजना रहेको पनि बताए ।

विद्यालय निर्माण ढिलाई