समाचार राजनीति प्रदेश ३

राजनीति जितेर चुनाव हारेका हाैं : गगन थापा

राजनीति जितेर चुनाव हारेका हाैं : गगन थापा

काठमाडाैं । कांग्रेस नेता गगन थापाले निर्वाचन समीक्षा र आगामी कार्यदिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन्।

 

कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समीक्षामा उनले प्रदिप पौडेल, चन्द्र भण्डारीलगायत नेतासँग मिलेर बनाएको प्रतिवेदन थापाले पेश गरेका हुन्।

 

मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसको हार र अबको कार्यदिशा के हुने भन्ने विस्तृत व्याख्या गरिएको छ । उक्त प्रतिवेदन पेश गर्दै नेता गगन थापाले कांग्रेसले आफ्नो मैदान ७५ प्रतिशत खाली छोडिदिएकाले कम्युनिष्ट आएर खेल जितेको बताएका छन्।

 

‘खेल मैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरूले अत्यधिक राम्रो खेलेका हुन त ? होइनन् । तर हामीले २०४८ देखि खेल मैदानको ठुलो हिस्सा खाली छोडेर सानो हिस्सामा सीमित भएपछि स्वाभाविक रूपले चुनावी नतिजा पनि झन झन् बढी प्रतिकुल हुँदै गयो । उनीहरूको कुनै पनि सैद्धान्तिक मोर्चामा हामीले प्रश्न उठाउन सकेनौं,’ उनले पेश गरेको प्रतिवेदनमा भनिएको छ।

 

आफू सरकारमा रहँदा कांग्रेसले गरेका गल्तीको फाइदा कम्युनिष्टले पनि लिए पनि त्यसको प्रचार नभएको, सामाजिक मुद्दामा कांग्रेस पछि परेको लगायत विषय प्रतिवेदनमा उल्लेख छ।

 

क्रियाशील सदस्यले नेता चुन्ने विधिदेखि सिद्धान्त परिवर्तनका विषयमा गम्भीर छलफल नगरी युगअनुसारको पार्टी नबन्ने प्रतिवेदनमा जिकिर गरिएको छ।

 

क्रियाशील सदस्यले नेता चुन्ने परिपाटी अन्त्य गरेर साधारण सदस्यले चुन्ने विधि निर्माण गरेमात्र पार्टी सबैको साझा बन्ने धारणा प्रतिवेदनमा उल्लेख छ।

 

त्यस्तै बीपीले व्यक्त गरेका विचारमा मात्र पार्टीलाई अब पनि सञ्चालन गर्न नहुने धारणा पनि उनले राखेका छन्। उनले बीपीकै भर परेका कारण कांग्रेस आजसम्म आर्थिक नीति कस्तो हुने भन्नेमा अल्मलिएको पनि बताए।

 

‘बीपी स्वयंले भन्नुभएको थियो -हामी राजनीतिक कुरामा बढी केन्द्रित भएछौं- सरकारमा गएपछि समाज कस्तो बनाउने भन्नेतर्फ कम सोचेछौं,’ प्रतिवेदनमा भनिएको छ,‘बीपीको भिजन स्पष्ट थियो तर त्यो भिजन पुरा गर्न पनि कस्तो आर्थिक सामाजिक कार्यक्रम भन्नेमा भने प्रस्ट हुनुहुन्नथ्यो। दोष हाम्रो हो, आफूले गर्नुपर्ने कामको जिम्मा पनि हामीले स्वर्गीय नेताहरूको थाप्लोमा हालेर पन्छिने र चोखिने काम गर्‍यौं। फलत: कस्तो आर्थिक नीति र कार्यक्रम भन्नेमा हामी पुरै अलमलियौं, जुन आजको मितिसम्म कायम छ।’

 

पार्टीले आफैं सामाजिक आन्दोलनको नेतृत्व गरेर ती मुद्दासँग जोडिएका नयाँ मान्छेलाई आकर्षित गर्ने अवसरबाट पनि कांग्रेस चुकेको निष्कर्षमा नेताहरु पुगेका छन्।

 

‘गएको २६ वर्षमा हामीले पार्टीमा नयाँ मानिस भित्र्याउन सकेनौं,’प्रतिवेदनमा भनिएको छ, ‘यो अवधिमा हामीले १२ प्रतिशत मत मात्र बढाएको भए त अहिले सबै पार्टी मिल्दा पनि हामीले जित्थ्यौं, कम्युनिष्ट मिले त्यसकारण हारियो भन्ने तर्क गर्नुपर्ने अवस्थै आउने थिएन।’

 

चुनावमा हारे पनि कांग्रेसको विचार र राजनीतिले जितेको भन्दै अर्को चुनावमा जित्ने तयारी आजैबाट गर्न उनीहरुले सबैलाई आग्रह गरेका छन्।

 

‘राजनीति जितेर चुनाव हारेका छौं, अब राजनीति जितेकै हो भनेर पनि नबसौं चुनाव हारेको भनेर निराश पनि नबनौं’प्रतिवेदनमा उल्लेख छ,‘अब कम्युनिष्टको गठबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनाव यस्तो अवस्था बनाऔं सबै पार्टी एक ठाँउमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमत सहितको पहिलो पार्टी बनाउनेछौं।’

गगन थापा