समाचार विदेश

भारतकाे महाराष्ट्रमा प्रहरी कारवाही, ३७ माअाेवादी लडाकु मारिए

भारतकाे महाराष्ट्रमा प्रहरी कारवाही, ३७ माअाेवादी लडाकु मारिए

एजेन्सी । भारतको महाराष्ट्रमा प्रहरीले २ दिनदेखि चलाएकाे कारबाहीमा ३७ माओवादी लडाकु मारिएका छन्। 

 

प्रहरीले जंगलमा माओवादी लडाकूलाई एम्बुसमा पारी उनीहरुविरुद्ध कारबाही अभियान नै सुरु गरेको अधिकारीहरुले जनाएका छन्।

 

महाराष्ट्र र छत्तीसगढको सीमा गढचिरोलीमा भएको कारबाहीमा सोमबार साँझसमेत जिल्ला प्रहरीले कारबाही गर्दा ६ माओवादी मारिएका थिए। सोही क्षेत्रमा आइतबार पनि प्रहरी कमान्डोले कारबाही गरेको थियो।

 

प्रहरीले कारबाहीका क्रममा बच्नका लागि इन्द्रावती खोलामा हाम फालेका र डुबेर ज्यान गुमाएका केही माओवादीको शव संकलन भइरहेको रोयर्टसलाई बताएको छ।

 

मंगलबार दिउँसोसम्म ३४ वटा शव नदीबाट निकालिएको र यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको महाराष्ट्र पुलिसका प्रहरी निरीक्षक सतिश माथुरले जानकारी दिए । 

 

गत महिना माओवादीले थापेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुक्मा जिल्लामा ९ प्रहरीकाे मृत्यु भएकाे थियाे ।आइतबारदेखि प्रहरीले सुरु गरेको कारबाही मुम्बईबाट पश्चिमतर्फ करिब १ हजार किलोमिटर दूरीमा पर्छ।

 

भारतको पश्चिम बंगालबाट सन् १९६० देखि सुरु भएको नक्सालवादी आन्दोलन विभिन्न राज्यमा फैलिएको छ। 

 

भारतको गृह मन्त्रालयको तथ्यांकअनुसार सन् २००९ देखि यो वर्षको मार्चसम्म भएका कारबाहीमा करिब ५ हजार ५ सय नक्सालवादीहरुको मृत्यु भइसकेको छ।