समाचार खेल मुख्य समाचार

दिल्लीको आगामी खेलमा सन्दीपको सम्भावना

दिल्लीले खेल हारेपछि गरेको विश्लेषणले यस्तो निर्णय लिन लागेको हो ।

दिल्लीको आगामी खेलमा सन्दीपको सम्भावना

काठमाडौं ।  यस सिजनको आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले खराब सुरुवात गरिरहेको छ । दिल्लीले सुरुवाती ४ मध्ये ३ खेल गुमाइसकेको छ । मंगलबार राति मुम्बई इन्डियन्सले पहिलो जित हात पारेसँगै दिल्ली आईपीएलको अंक तालिकाको पुछारमा झरेको छ । 

 

कोलकता नाइटराइडसविरुद्धको पछिल्लो खेलमा दिल्ली ७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २ सय रन जोड्दा दिल्ली १४.२ ओभरमा  १ सय २९ रनमै अलआउट भएको थियो । 

 

खराब प्रदर्शनपछि दिल्लीको आधिकारिक वेभ पोर्टलले हारका पाँच कारण विश्लेषण गरेको छ । जसमा राम्रो सुरुवात गरेर पनि लय समात्न नसकेको, ट्रेन्ट बोल्टबाहेक अन्य बलरले राम्रो प्रदर्शन गर्न नसकेको, कोलकाताका आन्द्रे रसेलले १२ बलमा ६ छक्का प्रहार गर्दा दिल्ली दबाबमा आएको  र दिल्लीका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न नसकेको उल्लेख गरिएको छ ।

 

पाँचौ नम्बरको विश्लेषणमा कोलकाताका स्पिनरले राम्रो प्रदर्शन गर्दा दिल्लीका स्पिनर चुकेको उल्लेख छ । कोलकाताका ३ स्पिनरले ७.२ ओभरमा ७ विकेट लिँदा ६६ रन खर्चिएका थिए ।

 

तर दिल्लीका स्पिनरले राम्रो खेल्न नसकेको दिल्लीको विश्लेषण छ । दिल्लीको विश्लेषणको अन्त्यमा आगामी खेलमा अनुभवी स्पिनर अमित मिश्रा र नेपालका शेन वार्न सन्दीप लामिछानेलाई मौका दिनुपर्ने भनिएको छ ।

 

दिल्लीले आगामी शनिबार पाँचौं खेलमा रोयल च्यालेञ्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दै छ।

सन्दीपको सम्भावना दिल्लीले खेल हारेपछि