समाचार

प्रहरीलाई गृहमन्त्रीको निर्देशन, ‘यातायात ठप्प पारियो भने बस खोस्नू, आफै चलाउनू’ 

प्रहरीलाई गृहमन्त्रीको निर्देशन, ‘यातायात ठप्प पारियो भने बस खोस्नू, आफै चलाउनू’ 

काठमाडौं । सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ ।

 

मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरु हड्तालमा ओर्लिए बस, ट्यांकर लगायत सार्वजनिक गाडी कब्जामा लिई सञ्चालन गर्न तयारी अवस्थामा बस्नू भनी प्रहरीलाई निर्देशन दिएका छन् ।

 

‘सिन्डिकेट तोडेपछि व्यवसायी आन्दोलनमा जान सक्छन, यसबाट सर्वसाधारणलाई मर्का पर्न नदिन बस कब्जामा लिएर सञ्चालन गर्ने गरी तयार बस्नू भनी प्रहरीलाई निर्देशन दिइएको छ,’ गृहमन्त्रीका प्रेस सहयोगी किरण भट्टराईले  भने ।

 

सरकारले अत्यावश्यक सेवा ऐन लगाएर बस नियन्त्रणमा लिने उनले बताए ।

 

गृहसचिव प्रेमकुमार राईले पनि सार्वजनिक यातायात जस्तो अत्यावश्यक सेवा अवरुद्ध पार्ने कार्य सह्य नहुने भन्दै सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

 

‘कानुनले दिएको अधिकार सरकारले प्रयोग गर्छ,’ गृहसचिव राईले भने, ‘समितिहरुले हड्ताल गरेर यातायात बन्द गरे अब सिन्डिकेटवालाहरुलाई हिरासतमा राख्छौं ।  ’