समाचार विदेश खेल

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली पनि सहभागी

रुसमा हुने ग्लोबल फुटबलमा दुई नेपाली पनि सहभागी

काठमाडौँ । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डसिप एफफरएफ कार्यक्रममा नेपालका दुई युवाले प्रतिनिधित्व गर्ने भएका छन् । 

 

बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ग्लोबल फुटबल फर फ्रेन्डसिप कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् । 

 

फुटबल फर फ्रेन्डसिप, ग्याजप्रोम र फिफाको सहयोगमा युवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो ।

 

उक्त कार्यक्रमका अवसरमा विश्वभरका बालबालिकाबीच एक अर्काको संस्कृति आदानप्रदान हुनेछ । दुई सय १० देशका युवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको बताइएको छ । 

 

यही जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश युवा फुटबलरका रुपमा भाग लिनेछन् । त्यहाँ ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेसनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुनेछ ।

 

अनमेश युवा पत्रकारको रुपमा सहभागी हुनेछन् । दुवैले रुसमै हुने ‘फुटबल फर फ्रेन्डसिप अन्तर्राष्ट्रिय बालबालिका फोरम’को छैटौँ संस्करणमा समेत भाग लिनेछन् । उनीहरुले विश्वकप फुटबलको उद्घाटन कार्यक्रम तथा खेल हेर्न पाउने बताइएको छ । 

ग्लोबल फुटबल गिरिश मास्के अनमेश रायमाझी