समाचार

तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा सिन्धुली अन्धकार

तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा सिन्धुली अन्धकार

सिन्धुली । नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि उपभोक्ता अन्धकारमा बस्न बाध्य छन् । 

 

चैत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको सब स्टेसनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् ।  

 

सब स्टेसनमा रहेको १५ सय केभीएको ट्रान्सफर्मरमा चट्याङले क्षति पुर्याएपछि धेरै उपभोक्तालाई सहजै विद्यत् उपलब्ध गराउन नसकिएको प्राधिकरण जिल्ला शाखा प्रमुख लीलानाथ अर्यालले बताए ।

 

उक्त ट्रान्सफर्मरबाट सिन्धुलीको मरिण, सुनकोसी, गोलन्जोर, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही स्थानमा विद्युत् सेवा वितरण भएको थियो । ट्रान्सफर्मर जलेका कारण अहिले उक्त क्षेत्रमा विद्युत् उपलब्ध गराउन नसकिएको र छिट्टै मर्मतको काम सक्न आफूहरू निरन्तर लागिपरेको उनले बताए ।

 

सो ट्रान्सफर्मर जडान गर्न अझै केही दिन लाग्ने भएकाले अबको दुई हप्तासम्म सहजताका साथ विद्युत् उपलब्ध नहुने पनि उनले जानकारी दिए ।

 

दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएपछि मोबाइललगायत अन्य उपकरण चार्ज गर्न नपाउँदा सञ्चार सुविधाबाट समेत वञ्चित हुन परेको सो क्षेत्रका उपभोक्ताको गुनासो छ । त्यस्तै कुटानी पिसानीका मिल सञ्चालन नहुँदा नागरिकको दिनचर्यामा प्रत्यक्ष प्रभाव परेको छ । 

 

उपभोक्ताले भने विद्युत् नआउँदा पनि प्राधिकरणले ट्रान्सफर्मर जडान तथा विद्युत् वितरणमा ध्यान नदिएको आरोप लगाएका छन् ।

विद्युत् सेवा अवरुद्ध