समाचार

जिल्लामा नराम्रोसँग हारेपछि कांग्रेसले थाल्यो नयाँ अभियान

जिल्लामा नराम्रोसँग हारेपछि कांग्रेसले थाल्यो नयाँ अभियान

गुल्मी । कांग्रेस गुल्मीले जिल्लाका सबै वडामा पुग्ने अभियान सुरु गरेको छ ।

 

नयाँ वर्षको अवसर पारेर शनिबारदेखि सुरु भएको अभियानअन्तर्गत पार्टीका नेताहरु पार्र्टीका प्रतिनिधिका रुपमा जिल्लाका ९३ वटै वडामा पुग्ने कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । 

 

५० दिनसम्म चल्ने अभियानअन्तगर्त तेस्रो हप्ता अर्थात् वैशाख १५ देखि २१ गतेसम्म नेताहरु हरेक वडाका दलित बस्तीमै बास बस्नेछन् । यो क्रममा दलित समुदायकै घरमा बस्ने उनीहरुसँगै खाने र उनीहरुलाई काम गर्न सघाउने सभापति श्रेष्ठले बताए ।

 

अभियानको नाम ‘नेपाली कांग्रेस गुल्मीको आह्वान गाउँ जाउँ गाउँमै रमाउँ’ ः पचास दिने महाअभियान राखिएको छ । स्थानीयका समस्याको पहिचान तथा समस्या समाधानका लागि पहल गर्नु तथा पार्र्टीको संगठन सुदृढीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको सभापति श्रेष्ठको भनाइ छ ।

 

अभियानले पार्टी नेतृत्व आम नागरिकको सम्पर्कबाट टाढिएको तथा नेता र नागरिकबीच दूरी बढेको भन्ने आलोचनालाई चिर्ने उनले बताए ।