समाचार

पार्टीबाट एक्लै जितेपछि काम गर्न रोके : गाउँपालिका अध्यक्ष

पार्टीबाट एक्लै जितेपछि काम गर्न रोके : गाउँपालिका अध्यक्ष

सप्तरी । प्रदेश २ को स्थानीय चुनावमा नयाँ शक्तिले सबैतिर हार्दा सूर्यनारायण मण्डल ‘कुरुड’ले पार्टीको साख जोगाइदिएका थिए । उनी सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

 


अहिले उनै मण्डलले आफूलाई काम गर्न नदिएको गुनासो गरिरहेका छन् । भन्छन्, ‘काम गर्न खोज्छु, तर कसैले साथ दिइरहेका छैनन्’, निर्वाचित भएको ६ महिनापछि अध्यक्ष मण्डलले भने, ‘म पूर्ण रुपमा एक्लो भएको छु ।’

 

छिन्नमस्ता गाउँपालिकामा सात वटा वडा छन् । ‘वडाध्यक्षले जनताको समस्या समाधान गर्नुभन्दा आफ्नो समस्या समाधान कसरी गर्ने भन्नेतर्फ ध्यान दिएको देख्छु’, मण्डल भन्छन्, ‘जनताको पक्षमा काम गर्ने इच्छा कोहीमा पनि रहेनछ ।’

 

मधसी दलित विकास महासंघले छिन्नमस्ता गाउँपालिकामा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा मण्डलले वडाध्यक्षहरुले विकासका नाममा आएको रकम खान खोजेको आरोप लगाए ।

 

‘वडाध्यक्षहरु अध्यक्षलाई काम गर्न नदिनू, यसले रकम खान दिँदैन भन्ने हल्ला फिँजाएको सुनेको छु’, उनले भने, ‘आफू त जनताले निःस्वार्थ मत दिएअनुसार नै काम गर्न खोजेको छु । तर गर्छु जस्तो लागिरहेको छैन ।’ उनले दुखेसो पोखे ।

 


साथै उनले किसानहरुका लागि आफूले विभिन्न निर्णय गरे पनि कार्यान्वयन हुन नसकिरहेको उनको भनाइ थियो । उनले भने, ‘किसानहरुका लागि बीउ मगाएँ । तर, वडाध्यक्षहरुले आफैं लिएर गए’, उनले भने, ‘तर, कतै वितरण गरेनन्, सायद बेचेर खाए । गाउँ कार्यपालिका बैठक बस्दा जनताको पक्षमा विभिन्न निर्णय गर्न खोज्दा असहयोग भएृको उनको गुनासो छ ।

 

 

उता वडा नम्बर ३ का अध्यक्ष जितेन्द्र यादवले भने कसले के गरिरहेको छ भन्ने कुरा सबै जनताले बुझिसकेको बताए । ‘स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष यादवले अन्य वडाध्यक्षको रकम खाने मनसाय होला’, उनले भने, ‘तर मेरो वडामा सोध्नुस्, अनि थाहा पाउनुहुन्छ ।’

 

कर्मचारी अभावका बीच आफूले जनतालाई सेवा दिइरहेको उनले बताए । ‘कर्मचारीको नाममा एक जना प्राविधिक सहायक मात्रै छन्’, उनले भने, ‘आफैं बसेर जनताको सबै काम गरिरहेको छु ।’

एक्लै जितेपछि