समाचार

बस दुर्घटनामा चालकसहित १० घाइते, एक बेपत्ता

बस दुर्घटनामा चालकसहित १० घाइते, एक बेपत्ता

बागलुङ । जिल्लाको ढोरपाटनमा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।

बसमा सवार सात जना सकुशल रहेका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

 

बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ७४३९ नम्बरको रात्रिबस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट बडिगाड खोलामा खसेको थियो । नाम थर नखुलेका एकजना हराइरहेकाले खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । 

 

दुर्घटनामा परी घाइते हुनेहरुमा चालक पाल्पा जिल्ला रिप्तीकोट – ५  का ४७ वर्षीय कलबहादुर थापा, उनका २१ वर्षीय छोरा विमल थापा, बाग्लुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर विक, त्यही स्थानका ४५ वर्षीय दुर्गाबहादुर विक, १८ वर्षीय झकास विक, भारत रामपुर रतनपुरा बस्ने वर्ष ३३ का मुस्तेतार अलि,  त्यही स्थानका २२ वर्षीय युवराज खान,  ढोरपाटन ८ की १५ वर्षीया चन्द्रकला विक, वर्ष २२ का सुभाष विक, वर्ष ९ की आशिका विक रहेका छन् ।

 

उनीहरु सबैको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक रानाले जानकारी दिए ।