समाचार समाज

भूकम्पपीडितको घर प्रमाणित गर्न इञ्जिनियरले घुस मागेपछि‍...

भूकम्पपीडितको घर प्रमाणित गर्न इञ्जिनियरले घुस मागेपछि‍...

नुवाकोट । विदुर नगरपालिकाका इञ्जिनियरहरुले अनुदान वितरणका लागि घर प्रमाणित गरेवापत भूकम्पपीडितसँग घुस मागेका छन्।


आवास निर्माणका क्रममा कहिले निर्माण सामग्री त कहिले कामदार र पानीको अभाव खेप्दै आएका नुवाकोटका भूकम्पपीडितहरु इञ्जिनियरले घुस मागेपछि थप मर्कामा परेका छन्।

 

नगरपालिकाका इञ्जिनियरहरुले भत्ता खर्च भनेर पीडितहरुसँग एक हजार रुपैयाँ मागेको एक भूकम्पपीडितले बताए। ‘एक हजार रुपैयाँ दिने भए तपाईंको घरको नक्सा पास गरिदिन्छु, नभए पास हुँदैन भन्दै इञ्जिनियरले पैसा माग्नुभयो’, उनले भने।


नगरपालिकाका इञ्जिनियरहरुले लामो समयसम्म घर स्वीकृत नगरेर बार्गेनिङ गर्दै आएको पीडितहरु बताउँछन्। नगरपालिकाका वडा नम्बर ११ गेर्खुका एक पीडितले तेस्रो किस्ताको रकम लिन जाँदा कहिले कागजात पुगेन त कहिले नक्सा भएन भन्दै झुलाएको गुनासो गरे।

 

इञ्जिनियरहरुले भत्ता र बाटो खर्च दिएमा मात्र घर अनुगमनमा जाने गरेको उनको भनाइ छ। इञ्जिनियरले सोझै पैसा नलिएर बिचौलियाको हातबाट लिने गरेको पनि पीडितहरुले बताए।


नगरपालिकाका इञ्जिनियरहरुले बाटो खर्च र भत्ताको नाममा भूकम्पपीडितसँग एक हजार रुपैयाँ मागेको कुरा सार्वजनिक भएपछि विदुर नगरपालिकामा खैलाबैला मच्चिएको छ।

 

इञ्जिनियरहरुले पीडितहरुसँग भत्ताको नाममा खर्च मागेको प्रसंगमा बुझ्न खोज्दा नगर प्रमुख सञ्जु पण्डितले यसबारे आफूलाई थाहा नभएको बताए। उनले कसैले भूकम्पपीडितसँग कुनै बहानामा पैसा मागेमा कडा कारबाही गरिने समेत प्रतिबद्धता व्यक्त गरे।


जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पनि यसबारे जानकारी नभएको भन्दै त्यो कुरा साँचो भए कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।


त्यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नुवाकोटका प्रमुख वेदप्रसाद गौडेलले इञ्जिनियरहरुले लाभग्राहीसँग भत्ता र बाटो खर्च मागेको विषयमा अनविज्ञता प्रकट गरे। उनले पीडितसँग घुस मागेको भए कारबाही गरिने बताए।


दुप्चेश्वर गाउँपालिकामा पनि इञ्जिनियरहरुलाई घर प्रमाणित गर्न बोलाउन जाँदा पैसा माग्ने गरेको स्थानीयवासीहरुले बताएका छन्।