प्रविधि

सामसंगले सार्वजनिक गर्यो ग्यालेक्सी एस नाइन तथा नाइन प्लस

सामसंगले सार्वजनिक गर्यो ग्यालेक्सी एस नाइन तथा नाइन प्लस

काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा नाइन प्लस सार्वजनिक भएको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो ।

 

दुबै स्मार्टफोनमा १० नानोमिटरको ६४ बीट अक्टाकोर चीपसेट प्रयोग गरिएको छ । यो फोनमा ६४, १२८ र २५६ जीबीको तीन स्टोरेजमा उपलब्ध हुनेछन भने तीन वटै संस्करणमा माइक्रो एसडी कार्ड सपोर्ट राखिएको छ ।

 

एन्ड्रोयड ओरियो अपरेटिंग सिस्टममा आधारित यी स्मार्टफोनहरुमा कनेक्टिभिटीका लागि गीगाबिट एलटिई, ड्यूल ब्याण्ड वाईफाई, यूएसबी टाइप सी पोर्ट, ब्लूटूथ ५.०, ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ ।

 

यो स्मार्टफोनमा ड्यूल अर्पाचर सेटअपसहितको १२ मेगापिक्सेलको रियर क्यामरा सेन्सर राखिएको छ । फोनमा भएको सेन्सरले निकै कम प्रकाश भएको स्थानमा पनि उज्यालो फोटो खिच्न सक्दछ । कम्पनीकाअनुसार ग्यालेक्सी एस नाइन र नाइन प्लसको सेन्सरले २८ प्रतिशत अधिक प्रकाश ग्रहण गर्न सक्दछ । दुई क्यामरा सेन्सर मध्ये एउटा वाइड एंगल लेन्स तथा अर्को टेलीफोटो लेन्ससहितको हो ।

 

यो फोनको क्यामराको विशेषतामा सुपर स्लो मोशन मोड पनि हो । फोनले ९६० फ्रेम प्रति सेकेण्डको दरबाट भिडियो रेकर्ड गर्न सकिन्छ ।

 

कम्पनीले फोनका साथमा एआर ईमोजी समेत ल्याएको छ । यो फीचर एक किसिमको भर्चुअल किसिमको फीचर हो । यसको सहयोगबाट तपाईँले 3 डी तस्वीर खिच्न र आवश्यकताअनुसार कस्टमाईड ईमोजी बनाउन सक्नुहुन्छ । यसको लागि १८ फरक फरक एक्प्रेसन उपलब्ध छन् ।

 

सामसंगले ग्यालेक्सी नाइन संस्करणमा फिंगरप्रिन्ट सेन्सरको ठाउँ परिवर्तन गरेको छ । यसअघि क्यामरासँग जोडिएर आउने फिंगरप्रिन्ट सेन्सर कम्पनीले पहिलो पटक क्यामरा भन्दा मुनीको भागमा राखेको छ ।

सामसंग ग्यालेक्सी एस नाइनमा ५.९ इन्चको क्वाडएचडी प्लस कव्र्ड सुपर एमोलेड १८ः५ः९ डिस्प्ले राखिएको छ । फोनमा ४ जीबीको र्याम तथा ३००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

त्यस्तै सामसंग ग्यालेक्सी एस नाइन प्लसमा ६.२ इन्चको क्वाडएचडी प्लस कब्र्ड सुपर एमोलेड १८ः५ः९ डिस्प्ले, ६ जीबीको र्याम ३,५०० एमएएचको ब्याट्री राखिएको छ ।