समाचार

महानगरपालिकाद्वारा आकाशे पुलको सम्भाव्यता अध्ययन

महानगरपालिकाद्वारा आकाशे पुलको सम्भाव्यता अध्ययन

ललितपुर । ललितपुर महानगरपालिकाले नगरका सवारीसाधनको चाप बढी भएका स्थानमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ । 

 

सम्भाव्यता अध्ययनका लागि बोलपत्र आह्वान भएकामा नौ टेण्डर परेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । बोलपत्र आह्वान पछि कुन कुन ठाउँमा पुल आवश्यक छ भन्नेबारे अध्ययन गरिनेछ ।

 

अहिले सवारीसाधनको चाप बढी भएका स्थानमा निर्माण गर्न सकिन्छ वा सकिँदैन भन्ने अध्ययनले देखाउनेछ । उनले भने, “अध्ययनपश्चाप् कुन ठाउँमा पुल बनाउन सकिन्छ भन्ने थाहा हुन्छ र त्यसैका आधारमा काम अघि बढ्नेछ ।” 

 

सवारीसाधनको चाप बढ्दै जाँदा नगरमा पुलको आवश्यकता महसुश भएको महर्जनले बताए । सवारीसाधनको चापका कारण चालकसँगै यात्रु हैरान छन् ।

 

चक्रपथमा आठ लेनको बाटो बन्दा पनि भित्री बाटोका कारण जाम नहटेको मेयर महर्जनले बताए ।

 

पुल्चोकबाट कुपण्डोलसम्म, चापागाउँ दोबाटो, सातदोबाटो, ग्वार्को, नख्खुलगायत चक्रपथबाहिरका बस्तीलाई चक्रपथसँग जोड्ने स्थानमा पुलको बढी खाँचो छ । 

 

पुल्चोकबाट कुपण्डोलसम्म पुल (फ्लाई ओभर) का लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले चासो देखाएको मेयर महर्जनले बताए ।

 

उनले भने, “जाइकाले चासो देखाएको छ ।” नगरभित्र चक्रपथमा तीन र पुल्चोकमा एउटा आकाशे पुल रहेको छ । 

ललितपुर महानगरपालिका आकाशे पुल चिरीबाबु महर्जन