समाचार अर्थ शेयर

अनलाइन प्रणाली सुधारको माग गर्दै नेप्सेको कार्यालयमा धर्ना तथा नाराबाजी 

अनलाइन प्रणाली सुधारको माग गर्दै नेप्सेको कार्यालयमा धर्ना तथा नाराबाजी 

काठमाडौं । शेयरबजारमा अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै शेयर बजारका लगानीकर्ताहरुले प्रणाली सुधारको माग गर्दे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धर्ना तथा नाराबाजी गरेका छन् । 

 

 

शेयरबजारमा अनलाइन प्रणाली सुरु भएको २० दिन बितिसक्दा पनि अझै समस्या रहेको र यसले गर्दा लगानीकर्ता हतोत्साही भएको भन्दै लगानीकर्ताहरुले धर्ना तथा नाराबाजी गरेका लगानीकर्ता संघले जनाएको छ । सोही क्रममा नेप्से ९०० अंकमा झर्ने अभिव्यक्ति दिने एक लगानीकर्ता माथि हातपात समेत भएको छ ।

 

 

नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ताले रामशाहपथमा रहेको नेप्सेको कार्यालयमा घेराउ गरेका हुन् ।

 

 

नेप्सेको बेवास्ताका कारण पूँजीबजारका १५ लाख लगानीकर्ताको १४ खर्ब भन्दा धेरैको सम्पत्तिमाथि खेलवाड भएको भन्दै लगानीकर्ताले अब पनि सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । लगानीकर्ताले युजर नेम र पासवर्ड पाउने मिति तय नभएसम्म धर्ना जारी राख्ने समेत बताएका छन् ।

 

 

नेप्सेका महाप्रबन्धक चन्द्रसिह साउदले केही लगानीकर्तासँग भेटेर सिस्टममा सुधार प्रक्रिया जारी रहेको बताएका छन् । उनले भारतमा पनि अनलाइन सुरु गर्दा केही समय यस्तै समस्या देखिएको भन्दै छिटो भन्दा छिटो समस्या समाधान नभएमा सफ्टवेयर फिर्ता गरिने बताएका छन्।