समाचार

मिराज होटलमा जुवा खेलिरहेको बेला १३ व्यापारी पक्राउ

मिराज होटलमा जुवा खेलिरहेको बेला १३ व्यापारी पक्राउ

काठमाडौं । बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ परेका छन् । शनिबार राति छापा मारी प्रहरीले ७ लाख ६१ हजार १९० रुपैयाँ नेपाली रकम र एक हजार ८ सय ८० रुपैयाँ भारतीय नोटसहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

गौशालाबाट गएको प्रहरी टोलीले होटलको पाँचौं तल्लाको कोठा नम्बर ५०२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ पर्नेमा मनोजकुमार चित्लांगे, विजय अग्रवाल, राजकुमार चौधरी, देवकुमार अग्रवाल, गौरबकुमार अग्रवाल, सुरेशकुमार कालान, राजकुमार अग्रवाल, दिनेशकुमार अग्रवाल, रबि नेमानी, जयदिनकुमार अग्रवाल र मनोजकुमार टिट्वाल छन् ।

 

प्रहरीका अनुसार पक्राउ परेकाहरू उच्च घरानाका व्यापारी हुन् । लामो समयदेखि जुवा खेल्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको हो,’ एसपी सिंहले भने। होटल सञ्चालक महेश गोयलको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

मिराज होटल लर्डस् इन १३ जनालाई पक्राउ जुवा खेलिरहेको बेला

विशेष