समाचार

अब शून्य लागतमा मलेसियामा कामदार जान पाउने, करार अवधि २ वर्ष

अब शून्य लागतमा मलेसियामा कामदार जान पाउने, करार अवधि २ वर्ष

काठमाडौं । ६ महिनादेखि मलेसियाका लागि रोजगारमा जान कामदारहरूलाई रोक लागइएको थियो । तर अब मलेसियामा रोजगारीका लागि जान चाँडै खुल्ने भएको छ । नेपाल र मलेसियाबीच सरकारी स्तरमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा हस्ताक्षर भएको छ । 

 

सम्झौता पत्रमा मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान र नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हस्ताक्षर गरेका हुन् । मन्त्री कुलासेगरान सोही सम्झौताका लागि आइतबार राति काठमाडौं आइपुगेका थिए ।

 

दुई देशबीच श्रमिक आपूर्ति गर्ने सम्बन्धी मलेसियन प्रतिनिधिमण्डलसँगको छलफलपछि ‘जि–टु–जि’ सम्झौतामा हस्ताक्षर भएको हो । रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

 

यस सम्झौताले नेपाली कामदार  । अब रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने भएका छन् । कामदारलार्इ शून्य लागतमा मलेसिया पठाइने भएको हो । यसले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको खर्च घटाउने तथा मलेसिया जाँदा हुने ठगी पूरै निरुत्साहन हुने आशा समेत गरिएको छ ।

 

यो भन्दा पहिले ३ वर्षको अवधि रहेको थियो भने नयाँ सम्झौता अनुसार अब नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ । सम्झौताले नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्बोधन गरेको जनाइएको छ । अब नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ ।

 

२०४२ सालदेखि नेपाली रोजगारीका लागि मलेसिया जान थाले पनि दुई देशबीच श्रम सम्झौता हुन सकेको थिएन । मन्त्रालयले श्रम सम्झौता नेपाली कामदारको हकहितको पक्षमा रहेको दावी पनि गरेको छ ।

 

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन असोज १२ गते नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । त्यसअघि मलेसियाली पक्षले अध्ययनका लागि सम्झौताको मस्यौदा नेपाल पठाएको थियो । श्रम र एवं कानून मन्त्रालयले अध्ययन गरी नेपालको तर्फबाट संशोधन थप गरेर फेरि मस्यौदा मलेसिया पठाइएको थियो ।

नेपाल र मलेसिया श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय