समाचार

अत्याधुनिक तथा सुविधा सम्पन्न साझाका २० वटा नयाँ बस थपिँदै

अत्याधुनिक तथा सुविधा सम्पन्न साझाका २० वटा नयाँ बस थपिँदै

काठमाडौं। साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नेगरी अत्याधुनिक तथा सुविधा सम्पन्न भएको २० वटा नयाँ बस थप्न लागेको छ । ती बस काठमाडौं उपत्यकाका विभिन्न रुटमा चल्ने साझाले जनाएको छ ।

 

काठमाडौं उपत्यकाका लागि साझाका थप बसको आवश्यकता भएकाले २० वटा बस थप्न लागिएको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए ।

 

काठमाडौं महानगरपालिकाको ५ करोड रुपैयाँ तथा ललितपुर महानगरपालिकाको १ करोड गरी कुल ६ करोड लगानीमा साझाका नयाँ बस ल्याउन लागिएको हो । ती बसहरू काठमाडौं उपत्यका भित्रिएपछि मात्रै रुट निर्धारण हुनेछ । साझामा ९० प्रतिशतबढी सेयर सरकारी र स्थानीय निकायको रहेको छ ।

 

काठमाडौं उपत्यकाका विभिन्न सडकमा अहिले साझाका ४७ वटा सुविधा सम्पन्न बसहरू सञ्चालित छन् । साझाका बस सुरुदेखि नै अपांगतामैत्री रहेका छन् ।

 

साझाले ल्याउन लागेका सिटी बसहरू अपांगमैत्री र सर्वसाधारणलाई सुविधा दिने खालका हुनेछन् भने बसका सिटहरू पनि उच्च स्तरको हुनुुका साथै आरामदायी हुने कम्पनीले जनाएको छ । जसमा दुईवटा फराकिला ढोका हुनुका साथै बसको पछिल्लो भागको ढोकाबाट ह्वीलचियर चड्न मिलनेगरी व्यवस्था मिलाइएको छ ।

 

जसले गर्दा अपांगता भएकाहरू पनि सजिलैसँग बस चढ्न र ओर्लन सक्ने कम्पनीको विश्वास छ । साथै ती सिटी बसको बीच भागमा पर्याप्त ठाउँ राख्नुका साथै ह्यांगरहरू पनि राखिनेछ, जसले गर्दा यात्रा गर्ने सर्वसाधारणका सामान राख्न सहज हुनेछ ।


 

साझा यातायात २० वटा नयाँ बस