समाचार राजनीति

जनप्रतिनिधि कानुन पढ्दै

जनप्रतिनिधि कानुन पढ्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगर महेन्द्र बहुमुखी क्याम्पसमा कानून विषय अध्ययनका लागि भर्ना भएकी छन् । ‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानून जान्नै पर्ने भएकाले क्याम्पसमा एलएलबी अध्ययनका लागि भर्ना भएकी हुँ,’ उनले भनिन् । 

 

 


उपप्रमुख मगर मात्र होइन उक्त क्याम्पसमा एलएलबी अध्ययनका लागि अन्य जनप्रतिनिधि पनि भर्ना भएका छन् । कैलाली घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरी, पूर्वमन्त्री सर्वदेव ओझा, वडा अध्यक्षलगायत जनप्रतिनिधि अहिले उक्त क्याम्पसमा भर्ना भएका छन् ।

 

 

 

 ‘नयाँ ऐन, कानून जान्नैपर्ने भएकाले कानूनको विषयमा पढन भर्ना हुन चाहेको हुँ’, प्रवेश परीक्षा दिन आएका सल्यान क्याम्पसका प्राध्यापक मानबहादुर बीएमको भनाइ छ । 

 

 

दुई वर्षयता उक्त क्याम्पसमा एलएलबी विषय पढ्ने विद्यार्थीको सङ्ख्या अप्रत्यासित रुपमा बढेको छ । क्याम्पसमा करीब एक हजार ४ सय भन्दा बढीले एलएलबी अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । 

 

 

 

विसं २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि थुप्रै कानून परिवर्तन भएका छन् । मुलकी ऐन (मुलकी सहिंता) समेत थुप्रै परिवर्तन गरिएको छ । 

 

 


मुलुकमा भएको कानूनी परिवर्तनसँगै कानून विषय पढनेको आकषर्ण पनि ह्वात्तै बढेको छ । ‘शिक्षण पेशामा पनि नयाँ कानून जान्नैपर्ने भएकाले कानून विषय पढ्न भर्ना हुन चाहेको हुँ’ -एमबीएस र बीएड गरेका सुर्खेतका शिक्षक रणबहादुर खत्रीको भनाई छ । उनीसँगै धनगढीका तेजबहादुर सिंहलगायत थुप्रै पेशाकर्मी एलएलबी पढन अग्रसर छन् । 

 

 

 

उक्त क्याम्पस पश्चिम क्षेत्र बुटवलपछिको सबैभन्दा पुरानो क्याम्पस हो । एलएलबी विषय बुटवलपछि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा मात्र अध्यापन हुँदै आएको छ । 

 

 

 

दुईवर्ष पहिले महेन्द्र बहुमुखी क्याम्पसमा ९३ विद्यार्थी मात्र एलएलबी विषय अध्ययनका लागि भर्ना भएका थिए भने अहिले ७९८ विद्यार्थी अध्ययनरत छन् । 
 

कानुन जनप्रतिनिधि