कला साहित्य

क्रिष्चियनको दसैं

क्रिष्चियनको दसैं

मधेसको समथर बारीमा हलोले जोतेको चपरे माटो केही दिनमै सुकेर तोरी छर्न लायक भयो । तोरीका दुई पाते दायाँ बायाँ पल्टिरहँदाको समय मेरो जन्म भएको थियो । हिउँदको महिना, हुस्से लाग्न सुरु मात्रै भएको बेला तराई त्यसै राम्रो लाग्छ । त्यसमाथि एउटा घरमा एउटा नयाँ सदस्य थपिएकोमा घर आफै पनि उज्यालो थियो । एघार दिनमा पुरेत बोलाएर न्वारान गरिन्छ । घरमा छोरो जन्मेको खुसी हुने नै भयो । जन्मेपछि बढ्छ । हुर्किन्छ । प्रकृतिको नियम यस्तै हुन्छ ।

एउटा शिशु जन्मिदा त्यसको दिमाग बिल्कुल खाली थियो । खासमा खाली पनि थिएन । त्यो खाली हुनका लागि त अरु केही वर्ष लाग्यो । खाली हुनका लागि पनि कहिलेकाही अरु कुरा चाहिँदो रहेछ । खाली कोठा हुनका लागि पहिले भित्ता त हुनुपर्छ नी । मान्छेको दिमाग पनि त्यस्तै रहेछ ।

शरीरका हाडहरु जोडिदै जोडिदै २०६ वटामा सिमित भए । दिमाग पनि विकसित भयो । तर थियो बिल्कुल खाली । एउटा प्रोग्राम नहालेको कम्प्युटर जस्तो । दराज, पलङ, पंखा नराखेको खाली कोठा जस्तो । मेरो खाली दिमागमा फर्निचरहरु भर्न मेरो परिवारले सुरु गर्यो । ‘हाउगुजी आउँछ’ भनेर भूतप्रतिको डर पैदा गरिदियो । घन्ट ‘टिङ टिङ’ बजाउन लगाएर भगवानसँग चिनायो । मेरो खाली ड्राइभहरुमा भूत, भगवान भरिए । ती खासमा ‘सिस्टम’ बनेर मसँगै टाँसिए ।

म उभिएको भूईँमुनी एउटा लामो–धेरै नै लामो ब्यास पनि ठूलो भएको पाइपबाट तल जाने बाटो भएको भए सायद म अमेरिका वा क्यानडा तिरको कुनै ठाउँमा फुत्त निस्किन्थेँ होला । मेरो घरको कलबाट पानी आए जस्तै । मेरै बेलामा, मै जन्मेको मितिमा अमेरिकामा पनि कुनै कुइरेको जन्म भएकै होला । मेरो घरमा जस्तै त्यसको घरमा पनि हाउगुजीको सट्टा ‘घोस्ट’का कथा, घन्टको ठाउँमा जिससको ‘प्लस’वाला मालो लगाइदिए होला । त्यसको ड्राइभ पनि त्यसै गरि भरिए होलान । होलान होइन हो नै । आखिर संसार यस्तै त छ ।

म जन्मेको घर, मेरो टोल, टोलको छेउमा रहेको देवीको मन्दिरले मलाई धेरै कुरा सिकाए । हरेक दसैंमा म कालीमाताको मन्दिर जान्छु । शरिरभर हात भएकी, अनेकानेक हतियार बोकेकी, रातो लामो जिब्रो निकालेकी, आफ्नो स्तनसमेत मान्छेका खप्परले छोपेकी काली माताको रुप हेरेर अत्यास लाग्छ । पछि म उनैको भक्त भएको छु । ती माताले रक्तबिजलाई सिध्याएकी थिइन् । अचेल मलाई कालीमाताको यस्तो भयंकर रुपदेखि डर लाग्दैन । किनभने मैले यहि सिके । कालीमाताबाट अरु पनि डराउँदैनन् । म पनि डराउँदिन ।

बाख्राको पाठो सानोमा हेर्दै राम्रो लाग्छ । ठूलो भएपछि अण्डकोष झिकेर त्यसलाई खसी बनाइन्छ । त्यही राम्रो लागेको पाठो २ वर्षको भएपछि मानिसहरु उचालेर हिसाब निकाल्न थाल्छन् । धन्य, मान्छेमाथि त्यस्तो गर्ने अर्को जन्तु छैन पृथ्वीमा ।

दसैंमा मार हान्छन् । रौ नै रौंले भरिएको खसीको शरीरमा पानी छम्किन्छन् । पानीले खसीको शरीर चिल्चिलाउँछ । पानी तर्काउन खसीले शरीर हल्लाउँछ । अनि सबैले एक स्वरमा भन्छन्, ‘खसीले मान्यो, अब मार हान्ने ।’

खसीले कहिल्यै आफूलाई खुकुरी हान भन्ने स्वीकृति शरीर हल्लाएर देला त ? यस्ता धेरै कुरा सिक्न पाइन्छ हाम्रो समाजमा । राम रावण, राक्षस र दुर्गामाताको कथाहरुले दिमागका खाली भागहरु भरिदै जान्छन् । तर दिमाग पेन ड्राइभ वा हार्डडिस्क जस्तो पनि छैन । किनभने दिमागमा कुराहरु बस्छन्, बिस्तारै मेटिदै जान्छन् । धेरै पढेर बिद्वानको पनि ६–७ प्रतिशत मात्रै मेमोरी भरिन्छ भन्ने सुनेको छु । कलेज पढ्दा कुनै कुनै प्रोफेसरको कपाल रातै देखिन्थ्यो । वास्तवमा तिनको रातो टाउको ज्ञानविज्ञानका कुरा भरिएर कम्प्युटरको ड्राइभझै मेमोरी फुल भएर आउने जस्तो रातो भएको होइन रहेछ । कपाल रंगाउने कलरको कमाल रैछ ।

धेरै दसैं आए । नयाँ कपडा, चच्हुइँ, नयाँ नोट, कालीमाताको मन्दिरले मन फुरुंग पारे । दिनहरु बित्दै गए । म जन्मिँदा खालीरहेको मेरो दिमागमा भगवान, भूत, विश्वास मात्रै भरिएको थिएन । लोभ, घृणा, प्रतिशोध, लालच पनि भरिएको थियो । सम्पत्ति, पैसाप्रतिको अनुरागले मलाई भेटिसकेको छ । अरुलाई जस्तै ।

पैसा कमाउने, जीवन सहज पार्न धेरै गरियो तर सबै असफल । भगवानको पूजाले पनि काम गरेन । भाकलले पनि केही माखो मारेन । मन्दिर, गुम्बा, फाटफुट मस्जिद हुने मेरो देशमा छोटो समयमा चर्चहरु पनि खुल्न थालेछन् । आइफोन फाइभ आएपछि सक्नेले आइफोन फोर चलाउन छाड्छन् । अहिले आइफोन एट आएको छ । सक्नेले सेभेन छाडेजस्तै केही मानिसहरु पुरानो धर्म छोडेर नयाँ धर्म लिन थालिसकेका थिए ।

नयाँ धर्म लिनेहरु दिनभर अरु नयाँ सदस्य बनाउन काम गरिरहन्थे । मेरो घरमा पैसा कमाउन काम गर्नुपर्छ भनेर सिकाइएको थियो । माटाका डल्ला फुटाएर अन्न रोप्न सिकाइएको थियो । किनभने त्यसबाट जीवनको आधार तयार हुन्थ्यो । तर अरुको धर्म फेर्ने पनि जागिर हुँदो रहेछ भन्ने मैले थाहा पाएँ । किनभने ती मानिसहरु दिनभर यस्तै काम गर्थे, बारीका डल्ला फुटाउँदैन थिए । उद्योगमा काम गर्दैन थिए । उत्पादनसँग केही सम्बन्ध थिएन । तर कस्तो अचम्मको जागिर तिनीहरुको जीवन त्यति दुःखलाग्दो देखिनँ ।

मेरो जस्तै धर्म मान्ने, मेरो जस्तै परिवेश भएका धेरै मानिसहरुले चचहुइ, रातो टिका, जमरा, कालीमाता, माताको मन्दिर छाडेर चर्चमा जान थालेका थिए । कतिपयले यसलाई पेसा बनाएका थिए । कतिपय बहकिएका थिए । जति मानिस त्यस्ता थिए ती मध्ये ९५ प्रतिशत धेरै सोझा, धेरै नपढेका र हाम्रो समाजले दमाइ कामी भनेर हेपेकाहरु थिए । जहाँ गरिबी हुन्छ त्यहाँ आतंकवादको जन्म हुन्छ भन्छन् । जहाँ मानिस सचेत हुँदैनन् त्यहाँ चाहीँ धर्मको व्यापार हुँदोरहेछ ।

एक दिन एक मेरो पुरानो साथीसँग भेट भयो । जो दशैंमा धेरै रमाउने गथ्र्यो । अरु बेला ८ बजेसम्म सुत्ने मान्छे नवरात्र लागेपछि पाँच बजे नुहाएर ६ बजे मन्दिर पुगिसक्थ्यो । हात पाखुरा बलिया थिए । टोलभरका खसी मार हान्ने पनि उही थियो । बोका भाकल गर्ने, अष्टमीमा मार हान्ने, निधारभर अक्षता टाँसेर हिँडने उ अहिले क्रिष्चियन भएछ ।

उसको बाध्यता मैले सोधिनँ । उसले भनेन । टोलभर दसैंको रौनक छाउँदा उ निरस देखिन्यो । शुक्रबार चर्चमा पाठ गर्न जान्थ्यो । उसको चर्चमा मानिसहरू माइक लगाएर गीत गाउँथे । चर्चका धर्मगुरुहरुले विशेषत हिन्दू धर्मका नराम्रा कुराहरु प्रचार गर्थे । टोलमा चर्च खुलेका छन् । स्कुल भन्दा बढी । 

पिङमा बालबालिका चचहुइ गर्दा उसको कानले सुन्दैन । नयाँ नोट, जमरा, जखमले खसी, अक्षतामा उसको मन अडिएको देखिन्न । यस्ता कुराहरुलाई उसले सहज मान्न सकिरहेको छैन । उसको सिस्टममा टाँसिएको कुरा भएकोले होला उसले दसैं बिर्सन सकिरहेको छैन । तर उ बिर्सन विवस छ । उसकै दूनियाँमा पनि उ खुसी लाग्दैन ।

इशाई धर्म मान्ने कुइरेहरु नेपाल आउँदा नेपाली चाडपर्वमा रमाइलो मानेर गएको कति देखिन्छ । तर धर्म फेरेका, त्यो मेरो साथी जस्ताहरुले हाम्रो पर्वलाई निको मान्दैनन् ।

दसैंले छपक्क छोपेको छ । घर घरमा खसी बोका ल्याइएका छन् । टोलका मानिसहरु यसपटक कसले मार हान्छ भनेर कुराकानी पनि गरिरहेका छन् । बिष्ने, काइला दाई वा तिम्सीना कसले, हान्ला मार ?

साँझ पर्यो । एक दुई राते जीवन बोकेका खसी बोका खोरमा थुनिए । मानिसहरु सुते । सपनामा आयो मेरो त्यही क्रिष्चियन बनेको साथी । उसको कपडा ठिकै थियो । तर कपडाभित्र कालो अमिलोको झोल बेस्मारी घुमेको देखेँ । आखिर सपनामा देख्न नमिल्ने के छ र ? सबै ठिकठाकै हुँदा पनि उसको अनुहार मलिन थियो । निराश थियो । निराशामै उसले मलाई भन्यो, ‘मेरै देशमा जन्मेका बुद्ध हुन् । उनका अनुयायीहरु मेरोमा धर्म परिर्वतन गर भन्न कहिले आएनन् । सात वर्ष गोर्खाको गाउँ बसेँ । मेरो परम भित्र अलि काका थिए । तिनले ‘मुसलमान बन’ भनेनन् । तर म चिन्दै नचिनेका भगवानको भक्त भएँ । कालीमाता, मन्दिर, जमरा, मेरो बाल्यकालसँग जोडिएका सबै मेरो लागि बिराना भए । हेर्दा म अर्कै मान्छे छु । तर भित्रबाट म त्यही हुँ जो पहिले थिएँ ।’

यति भनेर उ बरर् रुन थाल्यो । म पनि बेचैन भएँ । मेरो दिमागमा उ आइरह्यो । उसको पीडा महशुस गरे, जति सकेँ । धेरै बेर यो विषय दिमागमा घुमिरह्यो ।

बिहान भएछ । टोलमा बेग्ले हल्ला खल्ला छ । मेरो त्यो क्रिष्चियन साथीले टोल छाडेछ । कहाँ गयो कसैलाई थाहा छैन । ढोकामा ताल्चा छ । कसैलाई कुनै खबर पनि छैन ।

रातभर र बिहानभर एउटै मान्छेको कुराले दिमाग भरियो । तर पनि खसी काट्नु थियो । छ वटा इटाबाट बारीमा चुलो बनाएर ठूलो कालो कराई बसाएँ ।
– मिस्टर डी