मनोरञ्जन भिडियो

रामकृष्णजीले आफ्नो स्वतन्त्र विचार राख्दा विवाद चाहिँ गरिहाल्न मिल्दैन : राजेशपायल राई (भिडियोसहित)

रामकृष्णजीले आफ्नो स्वतन्त्र विचार राख्दा विवाद चाहिँ गरिहाल्न मिल्दैन : राजेशपायल राई  (भिडियोसहित)

राजेशपायल राई

गायक

‘कान्छीको भट्टीको तीनपानेले लरक्कै बनायो दिनमा भोक रातमा निद सबै नै हरायो तीनपाने हो तीनपाने तीनपाने तीनपाने’

अनामनगरको ओप्पल रेकर्डिङ स्टुडियोमा नेपालका चर्चित पाश्र्व गायक राजेशपायल राईले रेकर्ड गराएको आधुनिक लोकपप गीतको हरफ हो यो । राजेशपायल राईले जुन गीत गाए, ती सबै जनजिब्रोको स्वाद बनेर बस्ने गरेको पाइन्छ ।

जारी नेपाल आइडलको मञ्चमा गएर अत्यन्त लामो र मीठो शैलीको आलाप तानेर अद्भूत कला देखाएका उनले गरेको मूल्यांकन कुनै जात वा व्यक्ति विशेष नभएर सर्वपक्षीय भएकोमा विश्वभरीबाट प्रशंसासमेत भइरहेको छ । तर रामकृष्ण ढकाललाई भने निशान भट्टराईलाई समर्थन गरेको भनेर आरोप नै लागेको थियो ।

‘हुनत रामकृष्णजीले यसरी एकपक्षीय नबोल्नु भएको भए नै राम्रो हुन्थ्यो, कलाकार भनेको त सार्वजनिक मान्छे, हो समाजको प्रतिक हो । त्यही पनि उहाँले स्वतन्त्र विचार पोख्दा विवाद चाहिँ गरिहाल्न मिल्दैन,’ राजेशपायल भन्छन् ।

गीतको भाखा तीनपाने तीनपाने भएपनि आफूले अचेल दारु पिउन छाडेको उनी बताउँछन् । ‘पहिला त मैले कमाएको धेरै पैसा दारुमै खर्च गरेँ, चुरोटको त म चेन स्मोकर नै हो । तर अहिले पूरै छाडिसकेँ,’ राजेश भन्छन् ।

काठमाडौंमा भनेजस्तो घर बनाएका राजेशपायल राईको हालसम्म पनि विवाह भएको छैन । आफूलाई एक्लो जीवन बिताउन अप्ठेरो परीरहेको बताउँदै राजेशपायल राइले भने, ‘सबैलाई रहर हुन्छ आफ्नै एउटा ठूलो घर बनाउने, गाडी किन्ने, त्यो सबै मैले पाइसकेको छु, तर अहिलेसम्म पनि जीवनसाथी भने पाउनै सकिएन । विदेशबाट बहिनीहरुले ढिपी गरिरहेका छन् भाउजु चाहियो भनेर, मैले भने पख पख भन्दै टारिरहेको छु, मलाई विवाह गर्न मन लागेको छ, अहिलेसम्म पनि एउटा पनि प्रेमिका बनाउन सकेको छैन ।’

राजेशले थपे, ‘मसँग विवाह गर्न चाहने जुनसुकै देश, जुनसुकै धर्म र जुनसुकै जाति वा शिल्पीको भएपनि हुन्छ । तर मलाई माया गर्ने चाहिँ हुनुपर्छ । मलाई बुझिदिने हुनुपर्छ ।’

उनले १५ वर्षदेखि नेपालमा कुनै पनि चाडवाड मनाएका छैनन् । हुनत उनका सबै परिवार बेलायतमै बस्छन् । यसपालीको दसैंमा भने अमेरिका जाँदैछन् उनी । यतिमात्र होइन, आगामी दुई तीन ओटा दसैं पनि गत वर्ष नै विदेशका लागि तय भइसकेको उनी बताउँछन् ।

नेपालमा हुँदा दैनिक ५० हजार रुपैयाँ कमाउने उनी बताउँछन् । उनी भन्छन्, ‘पैसा जति कमाए पनि त्यही अनुसार खर्च पनि हुन्छ नि ।’

प्रस्तुति : मञ्जु मिश्र

Rajesh Payal Rai