पर्यटन

रमणीय दलचोकी, पयर्टनकाे नयाँ गन्तव्य (फाेटाे सहित)

रमणीय  दलचोकी, पयर्टनकाे नयाँ गन्तव्य (फाेटाे सहित)

काठमाडाैं । १० वर्षअघि ललितपुरको दलचोकी गाउँको नाम त्यति चर्चामा थिएन । नाम नचले पनि पर्यटकको प्रचुर सम्भावना देखेर स्थानीय राम प्रसाद तिमल्सीनाका परिवारले होमस्टे बनाउने योजना बनाए । उनीहरुले होमस्टे सञ्चालन गर्नका लागि करिब ३५ लाख रुपैयाँ खर्चे ।  दुःखको कुरा, होमस्टे त्यति चलेन । पैसा डुब्लाजस्तै भयो । फलानाले पैसा डुबाउने भयो भनेर गाउँमा कानेखुसी हुन थाल्यो । कतिले त यसको चुरीफुरी धेरै दिन टिक्दैन भन्नसमेत भ्याए ।

तर, उनले हरेस खाएनन् । गाउँलेले आफ्नाबारेमा नकारात्मक कुरा गर्न थाले पनि उसले त्यसलाई सकारात्मक रुपमै लिए । त्यस्ता कुरालाई उनले उर्जाकै रुपमा ग्रहण गरे । बिस्तारै उनको व्यवसाय जम्दै गयो । व्यवसाय जम्न थालेपछि नकारात्मक कुरा गर्नेहरुको मुख बिस्तारै टालिन थाल्यो । फलतः उनकै कारण दलचोकीको नामले चर्चा पाउन थाल्यो । पहिला उनलाई गाली गर्नेहरु अहिले गाउँमा आफैँ होमस्टे सञ्चालन गर्न थालेका छन् । हाल अाफ्नाे कामबाट अवकाश लिएका राम प्रसाद तिमल्सिनाले उक्त हाेमस्टेकाे बागडाेर शेखर कार्कीकाे टिमलाइ  सुम्पिएका छन् । 

दूरीका हिसाबले काठमाडौंबाट जम्मा २९ किलोमिटर मात्र टाढा छ दलचोकी । तर, विकासको हिसाबले कोशौँ पर । नचिनिएका र नदेखाइएका यस्ता कति सम्पदाहरु नेपालमा कुना कुनामा छन् । तीनैमध्ये एक नदेखिएको गन्तव्य हो यही दलचोकी । ललितपुरको सातदोबाटोबाट जम्मा २२ किलोमिटर दूरी पार गरेपछि पहाडको उचाईमा रहेको दलचोकी पुगिन्छ । चुचुरोमा भएकाले गर्दा त्यहाँको भौगोलिक विविधता चाखलाग्दो छ । हुन त नेपालमा जता गएपनि देखिने भनेको हरियाली र पाखा पखेरा नै हुन् । तर, त्यस भन्दा पनि विशेष लाग्छन् दलचोकीका पहाडका चुचुराहरु ।

भक्तपुरमा कतै टाढा जानुप¥यो भने मानिसहरुको पहिलो रोजाइमा नगरकोट आउँछ । त्यस्तै बालाजु आसपासदेखि कतै टाढा जानुपर्दा मानिसहरुको रोजाइमा ककनी आउँछ । अहिले भने ललितपुरको रोजाईमा दलचोकी पर्न सक्ने त्यहाँका स्थानीय बताउँछन् ।

सातदोबाटोदेखि करिब आधा घण्टाको कच्ची सडक पार गरेपछि दलचोकी गाविस पुगिन्छ । हिड्ने यात्रुहरुको लागि त ठूलै आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ दलचोकी । किनभने मौसम हरेक मिनेटमा परिवर्तन हुनाले त्यहाँ घाम कमै मात्रामा लाग्ने गर्छ । डाँडाको हुस्सुले छिनभरमै सारा वातावरण कुइरीमण्डल बनाइदिन्छ । छिनमै हुस्सु उडेर घाम लाग्छ र छिनमै शीतवर्षा हुन्छ । त्यस्तो मौसमका कारण पनि त्यहाँ पुग्ने जो कोही यात्रुहरु पनि चकित पर्ने गर्छन् । उनीहरु हतपत फर्कन पनि मान्दैनन् ।

नेपालमा भगवानको नामबाट धेरै ठाउँहरुको नामकरण भएका छन् । त्यसैगरि दलचोकीको नाम पनि भगवानकै नामबाट नामकरण भएको हो । फुलचोकी, सानचोकी र दलचोकी गरी तीनवटा त्रिमूर्तिको नाम पछि दलचोकी नाम बन्न पुगेको हो ।

त्यहाँकी स्थानीयवासी गोकर्ण कुमारीले सुनाएको दलचोकीको किम्बदन्तीअनुसार, धेरै वर्ष पहिले एकजना नेवारले सपनामा डाडाँको मन्दिरमा गएर पूजा गरेको देख्छ । केही दिनपछि आकाश वाणी हुन्छ र दलचोकी भगवानले ती नेवारलाई आफूसँग भेट दिने बताउँछन् । भेट दिने शर्तमा भगवानले मन्दिरमा आउँदा कसैलाई नल्याएस् भनेका हुन्छन् तर, मध्यरातमा नेवारको छोरा पनि उनकै पछि लागेर मन्दिर पुग्छन् । त्यहाँ पुगेर नेवारलाई भगवानले एक्लै आइजो भनेको थिएँ पछाडि कसलाई ल्याइस् भनेर सोधेपछि ती नेवार पछाडि फर्किन्छन् र फर्किदाँ आफ्नै छोरालाई देख्छन् । दलचोकी भगवानले त्यसपछि ती नेवारलाई शर्त तोडेकोमा आफ्नै छोरालाई बली दिन भन्छन् । त्यस दिनदेखि ती नेवारले आइन्दा मन्दिर नजाने वाचा गर्छन् । त्यही बली दिएको ठाउँमा अहिलेसम्म पनि बाह्र वर्षमा एक पटक ठूलै मेला लाग्ने गर्छ ।

प्राकृतिक रुपमा सुन्दर रहेको दलचोकी विकासको हिसाबले भने पछि नै छ । ललितपुरको जिल्लाको एक गाविस भएपनि त्यहाँ विकास पुग्न सकेको छैन । आज भन्दा १० वर्षअघि सुगम बाटो पुगे पनि त्यहाँका मानिसहरुको विकासको बास्ना सुघ्न समेत पाएका छैनन् । अन्य ठाउँहरुमा त बाटोघाटो सुलभ नभएका कारण विकास पुग्न सकेको छैन । तर, त्यहाँ राम्रो बाटो हुँदा पनि शिक्षा, स्वास्थ्य, यातायातको व्यवस्थामा कोशौ पर रहेको छ ।

त्यहाँ पुग्न सातदोबाटोबाट जम्मा दुईवटा गाडी चल्ने गरेको स्थानीयले बताए । त्यो पनि मौसम खराबी भएको समयमा बन्द हुने उनीहरुको गुनासो छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि निकै नै पछि परेको छ दलचोकी । पूरै गाविसमा एउटामात्र स्वास्थ्य चौकी छ जहाँ एम्बुलेन्सको पनि व्यवस्था छैन ।
शिक्षाको कुरा गर्दा पूरै गाविसमा पाँचवटा सामुदायिक विद्यालय छन् भने एउटा पनि निजी विद्यालय छैनन् । भूकम्पले क्षति पु¥याएको करिब दुई वर्षभन्दा बढि समय बितिसक्दा पनि त्यहाँका स्थानीयले अझै पनि राज्यबाट आर्थिक सहयोग पाएका छैनन् ।

प्राकृतिक हिसाबले नगरकोटभन्दा कम छैन दलचोकी । काठमाडौंको व्यस्त जीवनशैलीबाट शान्ति खोज्नेहरुका लागि नगरकोटभन्दा उत्कृष्ट गन्तव्य हो दलचोकी । नगरकोटमा निर्माण गरिएको भ्यू टावरले गर्दा त्यहाँ मानिसहरुको घुईंचो लाग्ने गर्छ । त्यही टावरले गर्दा नै त्यहाँ होटल व्यवसायहरु पनि फस्टाउन थाले । त्यसकारण आज मानिसहरु जन्मोत्सव मनाउनदेखि लिएर सूर्योदय र सूर्यास्त हेर्नसमेत नगरकोट आउने गर्दछन् ।

तर, दलचोकी त्योभन्दा पनि रमणीय हुन सक्नेमा दुई मत छैन । पर्यटनलाई आकर्षित गर्नकै लागि अहिले भ्यू टावरको निर्माण हुँदै छ । उक्त टावरको निर्माण भएपछि त्यसको माध्यमबाट सुन्दर हिमालसहित काठमाडौं भ्याली र हेटौँडासम्म देख्न सकिने छ ।

 

Dalchwoki