भिडियो सफलताको कथा

भट्टी पसलमा बनेको थियो विश्व साइकलयात्री पुष्कर शाहको विश्व भ्रमण योजना (भिडियोसहित)

भट्टी पसलमा बनेको थियो विश्व साइकलयात्री पुष्कर शाहको विश्व भ्रमण योजना (भिडियोसहित)

पुष्कर शाह, विश्व साइकलयात्री

गाउँका साथीभाइहरुसँग रक्सीको मातमै उनले निर्णय बनाए– विश्व भ्रमण गर्ने । त्यो पनि साइकल चढेर ।’ वरिपरि रहेका साथीभाइहरु गलल्ल हाँसे । ‘यो विश्व डुल्छ रे ! त्यो पनि साइकल चढेर । हैन यसलाई साँच्चै नै छ्याङ लागेछ,’ साथी भाइले उनलाई उडाउनुसम्म उडाए ।

गाउँको भट्टी पसलमा बसेर छ्याङको तालमा साइकल यात्री पुष्कर शाहले २०५५ सालमा गरेको निर्णय हो यो । मदिराको मातमा मानिस पागलजस्तै हुन्छ भन्छन् । मनका बह पोख्छन् र साँचो कुरा बोल्छन् भन्छन् । पुष्करको हकमा त्यो साँचो थियो । वर्षौँदेखि मनमा साइकल चढेर विश्व घुम्ने भूत सवार भएको थियो उनमा । १२ को पढाइ सकिएपछि आमाले छोरोले जागिर खाएर टन्न पैसा कमाओस्, पैसा कमाएर काठमाडौंमा घर किनोस्, कार चढोस् भन्ने सपना राखेकी बुन्थिन् । तर, छोरोको सपना भने साइकल चढ्ने थियो । उनो कुरा सुनेर आमा विरक्त भइन् ।

तर, छोरोको हठ आमाले मेटाउन सकिनन् । एक वर्षपछिको मौनता र जिद्दी पछि बल्ल आमाबाट संसार घुम्ने लाइसेन्स पाए उनले । विश्व घुम्न आमाले दिइन् एक सय रुपैयाँ । यतिमा त जहाजमा पुछ्ने टिसुपेपर त नआउला, कसरी घुम्ने विश्व ? तर उनले हिम्मत हारेनन् । २०५५ सालमा उनी आमाले दिएको १०० रुपैयाँ बोकेर साइकल चढी विश्व घुम्ने सपना लिएर अघि हिँडे ।

एघार वर्षको अन्तरालमा उनले साइकलकै माध्यमबाट १५० वटा देश घुमे । यो एघार वर्षको संघर्ष र साहसलाई एक अन्तर्वार्तामा व्यक्त गर्न सकेनन् उनले । गरुन् पनि कसरी ? पधेँरोबाट घर फर्किदा त मानिसले कति कथा बनाउन सक्छ ? उनको त १५० वटा देश घुमेका अनुभव । त्यो पनि साइकलमा यात्रा गरेर ।

कहिले जंगलको यात्रा गर्नुपर्ने हुन्थ्यो त कहिले समुन्द्रको । उनीसँग ठूला ठूला रेष्टुराँमा खाना खाएको अनुभव पनि छन् । खाना नपाएर भोकै बसेको अनुभव पनि । स्टारबक्समा कफी खाएर रमाएका क्षण पनि छन्, पानीसम्म पनि पिउन नपाएर भौतारिएका अवस्था पनि । अपहरण भएर मृत्युका संघारमा जुधेका अनुभव पनि छन् भने विदेशी युवतीसँग यौनक्रिडा गरेका र डेटिङ गएका अनुभव पनि । एघार वर्षको अन्तरालमा एघारवटा विवाहका प्रस्ताव आएको उनी खुलस्त भएर बताउँछन् ।

यीनै अनुभवहरुका संघारलाई सबै शुभेच्छुक सामु ल्याउन त उनले किताबै निकाले, ‘संसारलाई साढे पाँच फन्को’ । कितावबाट राम्रै चर्चासँगै विवाद पनि बटुले, कितावमा पाठकहरुलाई छाडा र अश्लिल कथा पस्किएको भनेर । यसबारेमा प्रश्न गर्दा उनले खुलस्त भएर भने, ‘समाजमा यौनका कुरा लुकाइन्छ । म त्यो मान्यता राख्ने पक्षमा छैन । यात्रामा जे भएको थियो त्यही लेखिदिएको हुँ । ती कुनै काल्पनिक घटना होइनन् । ’

एघार वर्षपछि नेपाल फर्किदाँ र आफ्नो माटो टेक्दाका अनुभव उनी शब्दमा व्यक्त गर्न सक्दैनन् । यहाँ आएपछि उनलाई सम्मान गर्नेको भिड थियो । उनका अनुभव सुन्न चाहनेहरुको घुइँचो पनि उत्तिकै । दोलखा चरिकोटमा जन्मिएका उनको यो साहसले जो कोहीलाई पनि चकित बनाउँछ ।

उनी गाउँमा पुगेपछि फेरि त्यही भट्टीमा पुगे । जहाँ एघार वर्षअघि बसेर उनले संसार घुम्ने निर्णय तत्काल गरेका थिए । त्यो एघार वर्षको अवधीमा उनी थुप्रै अनुभवले निखारिएका थिए । देश विदेशमा थुप्रै नाम र ख्याती कमाइसकेका थिए । तर, भट्टी र साथीहरुको माहोल उही थियो । साथीहरु उही अवस्थामा रक्सीको मातमा हाँसिरहेका थिए । उनी आफूलाई पनि भन्ने गर्छन्, ‘म एक सामाजिक जड्याहाँ हुँ ।’ रक्सी खाने मामलामा कुनै बारलाई सौतेनी व्यवहार गरेका छैनन् उनले । भएको कुरा लुकाउँदैनन् र निर्धक्कले बोल्ने उनको बानी छ ।

puskar shah mount everest climber