विदेश भिडियो

दार्जिलिङका नेपाली भन्छन्, ‘हामीलाई विदेशी भन्छन्, के बंगाली अरु देशमा छैनन् ?’ (भिडियोसहित)

दार्जिलिङका नेपाली भन्छन्, ‘हामीलाई विदेशी भन्छन्, के बंगाली अरु देशमा छैनन् ?’ (भिडियोसहित)

► दार्जिलिङमा नेपालीमाथि अत्याचार ।

► माग राखेकै कारण बंगाल सरकारले नेताहरुको घर जलाउने, तोडफोड गर्दै छ ।

► इन्टरनेट काटियो, मोबाइलमा पनि बोल्न डराउँछन् जनता ।

► सिबिआईको अत्याचारले जनता त्रस्त ।

► बोल्यो भने गरिखान पनि दिदैन सरकारले ।

► गोर्खालीको घरमा भेटिएको खुकुरीलाई पनि हतियार भन्यो ममता बनर्जी सरकारले ।

–हरिराम रिमाल

पशुपतिनगरबाट बिहानको खाना खाएर निस्केपछि दार्जिलिङ पुग्दा आठ बजिसकेको थियो । लखतरान परेर हामी होटल खोज्दै थियौं । इलामको पशुपतिनगरबाट दार्जिलिङ सम्मको ३१ किलोमिटर यात्रामा हामीलाई १२ किलोमिटरमा सवारी साधनबाट यात्रा गर्ने अवसर मिल्यो । बाँकी यात्रा पैदल पार गरेका थियौं । ‘पहाडकी रानी’को उपमा पाएको दार्जिलिङ त्यसदिन आन्दोलनमा थियो । आम हड्तालका कारण सडक, गल्ली, चौक चकमन्न थिए ।
दार्जिलिङमा धेरैजसो नेपाली नै छन् । तर आफन्त कोही थिएनन् । बसोबासका लागि होटल खोज्न थाल्यौं । एक होटलले अर्को होटलका लागि सिफारिस गरिदिए, तर बास दिएनन् । दार्जिलिङमा प्रभाव भएका एक मित्रको नाम लिँदा त्यसले उल्टो हानी नै गर्यो ।

आफ्नै बलमा, धेरै अनुरोधमा एक होटलमा बसोबासको प्रबन्ध गर्यौं । एउटा होटल भित्र थोरै उज्यालो देखेपछि हामीले होटलको ढोका ढकढक्यायौं । रातको पहिलो प्रहर ढल्दै थियो । यसपटक भने हामी निकै नरम स्वरमा एक रातको लागि मात्र भनेर कोठा लिन सफल भयौं । होटलका म्यानेजर भन्दै थिए ‘अनिश्चितकालीन बन्दले जनजिबन प्रभावित भैरहेको छ । हामी हाम्रा पाहुनाहरुलाई कुनै सुबिधा उपलब्ध गराउन सक्ने अवस्थामा छैनौं । फेरि स्वतन्त्र गोर्खाल्यान्ड राज्यको मागमा समर्थन जनाउदै होटल एसोसिएसन दार्जिलिङले सबै होटलहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेर जारी आन्दोलनमा ऐक्यबद्धता जनाएको रहेछ । जे भए पनि त्यो रात खाना खाएर निदायौं ।

एका बिहानै दार्जिलिङलाई कुहिरोले ढपक्क ढाकेको थियो । हामी चियाको सुर्को लगाउने धुनमा चोकमा निस्कियौं । बाटोको दुबै छेउ मान्छेको भिडभाड बढिसकेको रहेछ । एक पर्यटक भन्दै थिए ‘सिलगुढीको बस त पक्कै लाग्छ होला प्रहरीले स्कर्टिङ मै भए पनि दुई चार गाडी चलाउने कुरा छ ।’ दाजिलिङ ठप्प थियो । नेपालमा जस्तै स साना चिया पसल फाटफुट खुलेको कुरा सुनिएको थियो । तर देखिएनन् । हरेक जस्तो वस्तु र सेवाको मूल्य बढेको थियो ।

चिया पसल खोज्दै जाँदा एउटा गल्लीमा एक वृद्धलाई भेटायौं । ‘चिया पसल कतै छैन बा ?’ उनले हामी तीनको अनुहार नजिकबाट नियाले । अनुहारमा शंका छरिएको देखिन्थ्यो । हामीले नेपाली भाषा बोले पनि उनलाई दार्जिलिङका मान्छे हैनन् भन्ने सजिलै पर्यो । उनले जवाफको सट्टा प्रश्न नै गरे । ‘आप कहाँ से आए हैं ?’ मलाई हिन्दी बोल्न खासै आउँदैन । नेपालीमै भनेँ, ‘हामी नेपालबाट आएका हौं ।’

यति भनेपछि बुढाले आफ्नी बुहारीलाई हाम्रो लागि चिया बनाउन भने । अनि उनले आफ्नो दार्जिलिङ जीवन सुनाउन सुरु गरे । ३२ बर्ष अघि दोलखा जिल्लाबाट रोजगारीको लागि दार्जिलिङ पुगेका रहेछन् उनी । त्यहीँ विवाह गरे । सन्तान त्यतै जन्मे । नातिनातिना पनि छन् अहिले । बुढाको एउटै गुनासो छ, ‘लौ म त पछि आएको रे । मेरो सन्तती त सबै यहि माटोमा जन्मेका होइनन् र ? यी बंगालीहरुले हामीलाई विदेशी भन्छन् । के बंगाली चाहिँ बंगलादेशमा छैनन् ?’
..........

सडकका दुबै छेऊमा बाक्लो सुरक्षाकर्मी तैनाथ थिए । सेनाका गाडी साइरन बजाउँदै ओहोर दोहोर गरिरहेका थिए । दार्जिलिङको हिमालय दर्पण दैनिक किन्ने क्रममा साहुजीलाई सोध्यौं, ‘दार्जिलिङमा कुनै अप्रिय घटना हुँदै छ हो ?’ साहुजीले पनि बुढा बाकै जस्तो प्रश्न तेस्र्याए । ‘तपाईहरु कहाँबाट आउनु भएको हो र ?’

हामीले भन्यौं ‘नेपालबाट ।’

साहुजीले भने, ‘यहाँको स्थिति नबुझी आउनु भएछ । गल्ति गर्नुभयो ।’

मित्र माधवजीले भन्नुभयो, ‘हामी पत्रकार हौं । रिपोर्टीङ गर्न आएका हौं ।’

अनि उनले भने, ‘जोगिएर काम गर्नुहोला । बोल्ने कुरा पनि सोचविचार गरेर बोल्नु होला । पश्चिम बंगाल सरकारले जताततै सिआइडी परिचालन गरेको छ ।’

पश्चिम बंगाल सरकारले दार्जिलिङ आन्दोलनमा नेपालबाट भाडाका मान्छे ल्याएको, नेपालले आन्दोलनलाई सहयोग गरेको, नेपालबाट हतियार ल्याएको लगायतको आरोप लगाएको छ । उनले भने, ‘प्रहरीले तपाईंहरुलाई प्रमाणको रुपमा पक्राउ गर्न पनि सक्छ । त्यसैले हरताल अघि नै दार्जिलिङ घुम्न आएको, अलपत्र परेको , सिलगुडी पठाइदिन आग्रह गर्नूस । सकेसम्म नेपालबाट आएको र पत्रकार भन्दै नभन्नुस यहाँको स्थिति त्यत्ती राम्रो छैन ।’

दिउँसो सडकको एउटा किनारामा सुरक्षा फौज र अर्को किनारामा आन्दोलनकारी जम्मा भए । अघिल्लो रात गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको घरमा प्रहरीले छापा मारेर खुकुरी , खुडा लगायतका हातहतियार बरामद गरेको थियो । गोर्खा जनमुक्ति मोर्चाका नेताहरुलाई वारेन्ट जारी गरेको समाचारले नेपालीहरुलाई आक्रोसित बनाइरहेको थियो । मैले मेरो छेउमा रहेका सेनाका भूपू दाईसँग विमल गुरुङले शान्तिपूर्ण आन्दोलनमा जोड दिनु पर्ने, गुरुङ कै घरमा हतियार भेटिँदा आन्दोलन कमजोर हुन सक्ने धारणा राखेँ । उनले मलाई सोधिहाले, ‘तपाई बंगाली हो कि बेनर्जीको जुठो खाएर आएको हो ? गोर्खालीको घरमा खुकुरी हुँदैन ? त्यही खुकुरीलाई सरकारले हातहतियार मानेको छ । हाम्रो पहिचान, हाम्रो संस्कृति नबुझ्ने बंगालीसँग एक मिनेट पनि बस्न सक्दैनौं ।
..........

मध्याह्नको १२ बजेको हुनुपर्छ । विद्यार्थीहरुको समूह जम्मा हुँदै थियो । गोर्खाल्यान्ड लेखिएका प्लेकार्डहरु बन्दै थिए । तयारी हेर्दा विद्यार्थीहरु शान्तिपूर्ण गोर्खाल्यान्डलाई ऐक्यबद्धता जनाउने कार्यक्रम जस्तो लाग्थ्यो । हामीले केही विद्यार्थीहरुसँंग कुरा गर्यौं । प्रायः सबै विद्यार्थी भन्दै थिए– भारतीय संबिधानमा नै आफ्नो मातृभाषामा पढ्न पाउने निश्चित गरिएको छ । हामी हाम्रो मातृभाषा नेपालीमा पढ्छौं । हाम्रो राष्ट्रिय भाषा हिन्दी पढ्नै पर्यो । अन्तराष्ट्रिय भाषा अंग्रेजी पढ्छौँ त्यो बंगाली भाषा किन पढ्नु न हाम्रो त्यससँंग कुनै साइनो छ ? न त्यो पढेर हामिलाई कुनै फाइदा नै छ । त्यसैले हामी बालबालिकाहरु पनि हामीमाथी जबरजस्ति बंगाली भाषा लाद्न खोजिएको बिरोधमा सडकमा आउनुपरेको हो ।
................

एक रातको प्रतिबद्धता गरेर होटल लिएका हामीलाई केहि दिन होटल बसाइ लम्ब्याउनु थियो । म्यानेजरले एकरातको सहमति पनि होटल मालिकको अनुमतिमा गरेका थिए । अब हामीले होटल मालिकलाई भेट्न पर्ने भयो । हामीलाई बस्ने खाने प्रबन्ध मिलाइदिने आश्वासन दिएका नेपालका एक व्यवसायीलाई दार्जिलिङमा चरो मुसो कसैले चिन्दो रहेनछ । ‘अच्छा मान्छे’को फेला परेको अनुभूति पनि भयो ।

बसाइ त लम्ब्याउनै पर्ने थियो । होटल मेनेजरले मालिकसँग भेट गराइदियो । साहुजीले नेपाली भाषी हुनुको नाताले उनले हामीमाथि सहिष्णु व्यवहार नै दर्शाए । उनले भने, ‘भाइहरु पत्रकार हुनुहुँदो रहेछ । नेपालका पत्रकारले गोर्खालीको आन्दोलनलाई समर्थन नै गर्छन् । यसकारण तपाईहरु बस्नुहोस् । ’

उनले आफ्नो बारेमा पनि जानकारी दिए । उनका माथिल्लो तीन पुस्ता ओखलढुंगाबाट त्यहाँ पुगेको रहेछ । उनी चाहीँ भारतीय सेनाको जागिर निवृत्त भएपछि होटल चलाएर बसेका रहेछन् । दार्जिलिङ भारतमा पनि पर्यटन गन्तव्यको स्थल हो । पश्चिम बंगाल सरकारले दार्जिलिङबाट ठूलो रकम लैजान्छ । तर दार्जिलिङ अंग्रेजले छाड्दा जस्तो थियो, अहिले पनि त्यस्तै छ । विकासमा भारतको अरु क्षेत्र भन्दा दार्जिलिङ सुस्त छ । बंगालीहरुको शासनमा बस्नु परेकोले गोर्खालीहरु असन्तुष्ट छन् ।

गर्मीमा पनि सितल हुने दार्जिलिङ अहिले ठप्प छ । उनीजस्ता होटल सञ्चालकले दैनिक ३ देखि ५ लाखको व्यापार गुमाउँछन् । उनीहरुले अहिलेको आन्दोलनलाई अन्तिम मानेका छन् ।

">