पर्यटन

पर्यटक अाउन छाेडेपछि होटल व्यवसायी निराश

पर्यटक अाउन छाेडेपछि होटल व्यवसायी निराश

असार २ । धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गर्दैआएका बोमबहादुर पुन हिजोआज निराश छन् । धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि उक्त ठाउँ भएर पर्यटक आउन छोडेपछि उनी निराश भएका हुन् ।

पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेपनि पछिल्लो समय उनीहरुले हेलिकप्टर चढ्न थालेपछि सो क्षेत्र सुनसान बनेको छ । पदमार्गको स्तरोन्नती नहुँदा तथा सो क्षेत्रमा सञ्चारको सुविधा नभएका कारण पर्यटकले हेलिकप्टर रोजेका हुन् ।

पदमार्गअन्तर्गत बेनीहुँदै ताकम पुगेका पर्यटक अधिकांशले आधारशिविरसम्म पुग्नका लागि विभिन्न ट्रेकिङ एजेन्जीसँगको समन्वयमा हेलिकप्टर चढ्ने गरेका छन् । पदमार्गलाई लक्षित गरी सञ्चालन गरिएका होटल व्यवसायी समस्यामा परेका छन् ।

“पदमार्गलाई व्यवस्थित तथा सञ्चारको सुविधा उपलब्ध गराउन नसके हाम्रो व्यवसाय धरापमा पर्छ,” उनले भने । धौलागिरि पदमार्ग भएर असोजदेखि मङ्सिरसम्म तथा फागुनदेखि जेठसम्म पर्यटकको बढी आवतजावत हुन्छ । तर वर्षौँदेखि दुर्गममा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दैनिकी चलाउन नसक्ने अवस्थामा पुगेका पुन बताउँछन् ।

धौलागिरि पदमार्गभएर बर्सेनि एक हजार ५०० भन्दा बढी पर्यटक आउने जाने गरेका छन् । पछिल्लो समय हेलिकप्टरको प्रयोग हुन थालेपछि यहाँका होटल व्यवसायी चिन्तित बनेका छन् । धौलागिरी पदमार्गअन्तर्गत इटाली आधार शिविरमा २७ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका हरि तिलिजा पर्यटकको सङ्ख्या घट्दै गएपछि आफूहरु समस्यामा परेको बताउँछन् ।

हिमाल आरोहणमा जाने पर्यटकले पदयात्रा गरेर आधारशिविरसम्म पुग्न करिब ६ दिन लाग्छ । पर्यटकसँग सामान धेरै भएका कारण भरियाको अभावमा उनीहरुले हेलिकप्टर चार्टर गर्दैआएका छन् । पदमार्गअन्तर्गत सल्लाघारी, तलित्रेखोला, नौलोवन, म्याग्दी नदीको मुहानलगायत खोलामा झोलुङ्गे पुल छैन ।

“भिर पहिरोमा साँघुरो बाटोमा पर्यटकले जोखिम मोलेर हिँड्न चाहँदैनन्,” तिलिजाले भने । स्थानीय बासिन्दाले काठको अस्थाई साँघु बनाएर आवतजावत गर्ने गरेका छन् ।

धौलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएकी थमसरा पुन धौलागिरि पदमार्गको विकासका लागि गुरुयोजना तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । पर्यटनसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पदमार्ग र सञ्चार क्षेत्रको विकास र पहुँच विस्तार गरिने उनको भनाइ छ ।