समाज भिडियो

अमेरिका बसाईको २० वर्षे अनुभवः नेपालमा भन्दा बढी दुःख छ (भिडियाेसहित)

अमेरिका बसाईको २० वर्षे अनुभवः नेपालमा भन्दा बढी दुःख छ (भिडियाेसहित)

अमेरिकास्थित नेपाली समाज टेक्सासकी उपाअध्यक्ष यमुना भट्राई २० वर्षदेखि अमेरिकामा छिन् । अमेरिकामा रहेर व्यापार व्यावसायमा रहेकी उनी समाजसेवामा समेत सक्रिय छिन् । अमेरिकामा रहेका धेरै नेपालीहरुसँग काम गरेको अुनभव पनि छ उनीसँग । २० वर्षे लामो अमेरिका बसाई, अमेरिकामा नेपालीहरुको अवस्था र उनको संस्थाले नेपालीहरुको लागि गरेको कामको बारेमा उनले नेपाल आजसंग कुरा गरेकी छिन् ।

अमेरिका प्रवेश

यमुनाले नेपाल दुरसञ्चार संस्थानमा काम गरेको ८ वर्ष पुगिसकेको थियो । उनको श्रीमान अमेरिकामा थिए । त्यही नै उनको अमेरिका छिर्ने कारण बन्यो । श्रीमानको डिपेन्डेन्टमा उनी अमेरिका पुगिन् । उनी अमेरिका पुग्दा अहिलेजस्तो जताततै नेपालीहरु भेटिदैन थिए । एउटा पुरै शहरमा खोज्दा पनि नेपालीहरु पाउन मुस्किल थियो । किनकि, त्यो बेला अमेरिका पुग्न अत्यन्तै गाहे थियो ।

२० वर्ष अगाडि उनी अमेरिका पुग्दा ग्रिन कार्ड र डिभी भर्ने चलन थिएन् । त्यसैले अमेरिकाभर २ सय भन्दा कम मात्रामा नेपालीहरु थिए । अमेरिकामा नयाँ जाने नेपालीहरुलाई काम खोज्न र त्यहाँ घुलमिल हुन अत्यन्तै गाह्रो थियो । आफ्नो व्यवस्था आफै गर्नुको विकल्प थिएन् ।

पहिलाको र अहिलेको अमेरिका

अमेरिका जाने नेपालीहरुको लागि पहिले भन्दा अहिले धेरै सजिलो छ । धेरै नेपालीहरु पुगेका कारण अमेरिकीले हेर्ने दृष्टिकोण परिवर्तन आएको छ । अहिले अमेरिकामा नेपालीहरुलाई काम पाउन गाह्रो छैन । पहिला जाने नेपालीहरुले धेरै संस्था खोलेका छन् । त्यसैले नयाँ जानेहरुको लागि अहिले सजिलो भएको छ । उनका अनुसार नयाँ जाने नेपालीहरुलाई एयरपोर्टमै लिन जानेसम्मको व्यवस्था छ । रुम खोज्न, काम खोज्न र अन्य प्रशााशनिक कामको लागि पनि नयाँ जानेहरुले पुरानाहरुबाट सहयोग पाउँछन् । यस्तो सहयोग त्यहाँ नेपालीहरुले खोलेको संस्थाले गर्दै आएको छ ।

भट्राई अमेरिकामा गएर आफ्नो व्यापार व्यावसाय लागिन् । नेपालबाट अमेरिका गएर व्यापार गर्न सजिलो थिएन् । धेरै नेपालीहरु त्यहाँ व्यापारमा असफल भएका थिए । सफल हुने उत्तिकै थिए । तर ,उनी असफल भइनन् । धेरै संर्घष गरेकै कारण सफल हुन सकिन् ।

सस्थासंग आवद्ध र गरेका काम

व्यापार व्यावसायमा प्रगति गर्दै गएपछि नेपालीहरुलाई सहयोग गर्ने नेपाली समाज टेक्सास भन्ने सस्थामा आवद्ध भइन् । सस्थामा बसेर उनले अमेरिकामा पुगेर दु ःख पाएका नेपालीहरुलाई सहयोग गरिन् । उनको जस्तो सस्थाहरु अमेरिकामा धेरै थिए । ती सस्थाहरुले नयाँ जाने नेपालीहरुलाई त्यहाँ बस्न र काम गर्ने वातावरण मिलाईदिन्थे ।

कतिपय समयमा नेपालीहरु दुर्घटनामा पर्ने गर्छन् । अमेरिकाबाट शव नेपाल ल्याउन धेरै रकम लाग्छ । त्यसैले कतिपय नेपालीहरुको शव नेपालसम्म आइपुग्दैन् । उनी कार्यरत सस्थाले दुर्घटनामा परेर मृत्यु भएकाहरुलाई नेपाल फर्काउन मद्यत गर्छ । नेपाली समाज टेक्सासले अमेरिकामा मृत्यु भएकाहरुलाई नेपाल फर्काइदिएको धेरै उदारण उनीसँग भएको बताउछिन् ।

अमेरिकामा रहेका नेपालीहरुका लागि नेपाली समाज टेक्सासले विशेष चाडपर्वहरुमा विभिन्न कार्यक्रम गर्छ । दशै तिहार होस, या अन्य चाडपर्व नेपालबाट कलाकार लगेर त्यहाँ सास्कृतिक कार्यक्रम हुन्छ । त्यस्ता कार्यक्रममा सबै नेपालीहरु उपस्थित हुन्छन् । उनीहरुले सस्कार र धर्म बचाउनको लागि पनि त्यहाँ धेरै काम गरेका छन् ।

धर्म सस्कृतीको जर्गेना र मन्दिर निर्माण

सामान्य कामदेखि भैपरी आउने विभिन्न अवस्थामा नेपाली समाज टेक्सासले सहयोग गरेको छ । ‘नेपाली समाज टेक्सासले अमेरिकामा रहेका नेपालीहरुलाई मात्र हैन, नेपालको लागि पनि धेरै कामहरु गरेको छ ।’ उनले थपिन्, ‘ भुकम्प आएको बेला होस् या अन्य अवस्थामा हामीले विदेशमा बसेर नेपालको लागि केही न केही गरिरहेका छौ ।’

नेपालबाट गएपछि नेपालको माया झनै लाग्ने भट्राई बताउछिन् । त्यही कारण नेपालीहरु एकजुट भएर सस्थामा आवद्ध हुने गरेको उनको तर्क छ । उनका अनुसार विभिन्न चाडपर्वमा कार्यक्रम गर्दा नेपालको मायाको कारणले धेरै नेपालीहरु जम्मा हुने गरेका छन् । त्यहाँ जम्मा भएर उनीहरुले एकअर्कासंग रमाइलो गरेर चाडपर्व मनाउँछन् ।

डेलास नेपाली समाजले अमेरिकामा पहिलोपटक नेपाली मन्दिर बनाएको छ । पहिला साधारण घर भएकोे ठाँउलाई उनीहरुले ६ महिना अगाडि गजुर राखेका छन् । हप्तामा एकदिन उक्त मन्दिर सत्यनारायणको पुजा हुने गर्दछ । त्यहाँ मन्दिरमा धेरै नेपालीहरु जाने गरेको उनी बताउछिन् । उनको अनुसार त्यस्तो प्रकारको मन्दिर अमेरिकाको अन्य शहरहरुमा नेपालीहरुले बनाउन लागेका छन् ।

चाडै आफ्नो देश फर्कन नसक्नुको कारण

अमेरिका छिरेपछि कतिपय नेपालीहरु नेपाल किन फर्कदैनन् ? उनी भन्छिन्, ‘अमेरिका सोचेजस्तो छैन् । नेपालमा भन्दा अमेरिकामा दुख धेरै छ । यहाँ ऋण गरेर गयो, तिर्न ५ वर्ष भन्दा बढी लाग्छ । चोर बाटो भएर गएकाहरुलाई ऋण तिर्न १० वर्ष भन्दा बढी लाग्छ ।’ उनले थपिन्, ‘त्यहाँ गएपछि हामी जन्जालमा फस्छौ । उम्किएर नेपाल फर्कदा वर्षौ वितिसकेको हुन्छ । बाध्यताको कारण मानिसहरु नेपाल फर्कन सक्दैनन् ।’

उनका अनुसार अमेरिकामा नेपालीहरुलाई व्यवहारिक रुपमा हेला गरेको देखिदैन् । तर, यथार्थमा अमेरिकीहरुबाट नेपालीहरु पीडित छन् । सबै क्षेत्रमा काम गर्ने नेपालीहरुले कुनै न कुनै हिसावले पीडित भएको अनुभव गरेका छन् ।

केही समयपछि उनी नेपालमै आएर केही गर्ने सोच बनाएको बताउछिन् । नेपालमै आएर समाजसेवामा लाग्ने उनको लक्ष्य छ । वार्षिक रुपमा २ करोड भन्दा बढी रकम भित्राएर नेपालमा समाजसेवा गर्ने लक्ष्य स्वरुप उनले एउटा सस्था दर्ता गरिसकेकी छिन् । त्यही सस्थाबाट नेपाल आएपछि उनी समाजसेवामा लाग्नेछिन् ।

विद्यार्थीहरु एउटै रुममा १५ जनासम्म पनि बसेका छन्

उनको अनुसार अमेरिका जाने नेपालीहरुको लागि अवसर र चुनौती बराबर रहेको छ । पढ्न भनेर गएकाहरु काम गरेर बसेका उनले देखेकी छिन् । ‘पढ्न जानेहरु पढ्न सकेका छैनन् । १५ जना भन्दा बढी विद्यार्थीहरु एउटै कोठामा बसेका कारण पढ्ने वातावरण पाउदैनन् ।’ उनी भन्छिन्, ‘यताबाट पढेर गएकाहरु पनि उता सुरुमा राम्रो काम पाउदैनन् । राम्रो काम पाउन फेरि उतै पढ्नु पर्ने भएकाले पढेर राम्रो काम गर्नेहरु एकदम थोरै छन् । किनकि, पढ्न भनेर गएका आधिजसो विद्यार्थीहरुले बीचमै पढाई छाडेका छन् ।’

उनलाई अमेरिका भन्दा नेपाल राम्रो लाग्छ । ‘छोडेर गएको २० वर्षमा नेपाल धेरै परिवर्तन भइसकेको छ । अमेरिका भन्दा स्वतन्त्र र भरिपुर्ण देश छ हाम्रो । उनी भन्छिन्, ‘अमेरिकामा भन्दा नेपालीहरु सुखी र खुसी छन् । यहाँ अपार सम्भावना छ । जे चाह्यो त्यो गर्न सकिन्छ । ’

नेपालमा व्यवसाय गर्न चुनौती

उनको अनुसार अमेरिकाबाट नेपाल फर्केर केही गर्छु भन्नेहरुको लागि पनि धेरै ठुलो चुनौती छ । लगानी, वातावरण, निती नियमको कारणले गर्दा अमेरिकाबाट नेपाल आएर लगानी गर्न गाह्रो रहेको उनको तर्क छ ।

उनी अमेरिकामा धेरै नेपालीहरुको अवस्था नाजुक रहेको बताउछिन् । उनको अनुसार अमेरिकामा जानुपहिला पढेर बुझेर गएमा राम्रो गर्न सकिन्छ । कसैले सोचेजस्ता, भनेजस्तो, र देखेजस्ते अमेरिका नभएकाले जानुपहिला राम्रासँंग बुझेर जान उनको सुझाव छ ।

texas nepal nepal usa students