विचार

मनमोहन अधिकारी बोकाको रगत टेकेर बालुवाटार प्रवेश गर्ने कम्युनिष्ट थिए

मनमोहन अधिकारी बोकाको रगत टेकेर बालुवाटार प्रवेश गर्ने कम्युनिष्ट थिए

शिव फुयाँल

नेपाली समाज कस्तो बनाउने र कसरी बनाउने भनेर हिजो आज व्यापक बहस छलफल चलिरहेको छ । सामन्तवादी समाजलाई फेर्ने कुरा २००७ सालको क्रान्तिबाट सुरु भएको थियो । एउटा प्रयत्न समाज फेर्ने पुँजीवादी क्रान्तिको माध्यमबाट र अर्काे प्रयत्न नयाँ जनवादी क्रान्तिको माध्यमबाट निरन्तर चलिहरे पनि नेपाली समाज बदल्ने कुरामा मात्रात्मक परिवर्तनहरु मात्र भए । गुणात्मक परिवर्तनको बाटोमा नेपाली समाज पुग्न सकेन् । पुग्न नसक्नुमा पुँजीवादी विचारधारा राख्ने पार्टी नेपाली काँग्रेस र नयाँ जनवादी विचार बोक्ने कम्युनिष्ट पार्टीहरु नेपालमा आफूले स्विकार गरेको विचारधारा भन्दा समाजमा चलिरहेको यथास्थितिवादी विचारलाई नै आफ्नो जिवनकालमा सम्पूर्णरुपमा अवलम्बन गरे ।

जहानीय राणा शासनको अन्त्य गरेर व्यक्तिलाई स्वतन्त्रता दिने प्रजातन्त्रिक अभ्यास गर्ने र प्रजातन्त्रको स्थापना गर्र्ने उदेश्य लिएको नेपाली काँग्रेस व्यवहार न प्रजातान्त्रिक हुन सक्यो न त्यसले प्रजातन्त्रको रक्षा र विकास नै गर्न सक्यो । नेपाली काँग्रेसले दुबै गर्न नसकेको इतिहास साक्षी छ । २०१७ सालमा राजा महेन्द्रले विपीलाई प्रधानमन्त्रीबाट अपदस्त गरेपछि २००७ सालको प्रजातन्त्रिक उपलब्धि गुम्न पुग्यो । नेपाली समाज जहानीय शासनलाई पराजित गरेको १० बर्षमा नै निरंकुश राजतन्त्रको दिशामा अघि बढ्यो । राजा महेन्द्रले २००७ सालमा प्रजातान्त्रिक अभ्यासमा गएको नेपाली समाजको विरुद्ध निंरकुश राजतन्त्रको अभ्यास गरे ।

समाजको रुपान्तरण गर्ने काम सरल र सजिलो हुँदैन् । यथास्थितिमा नै आम मानिसहरु आफ्नो जीवन निर्वाह गरिरहेका हुन्छन् । तर यथास्थितले समाजमा बदलिएको परिस्थितिलाई सहन गर्न सक्दैन् ।

त्यसै गरी नेपाली समाजमा पञ्चायती व्यवस्था पनि धेरै लामो समयसम्म चल्न सक्ने कुरै थिएन् । २०४६ सालमा नेपाली काँग्रेस र बाममोर्चा मिलेर संयुक्त जनआन्दोदनका बलमा राजालाई घुँडा टेकाई फेरि निरंकुश राजतन्त्रबाट संबैधानिक राजतन्त्रमा नेपाली समाजलाई ल्याउन सफलता मिल्यो तर पनि राजनीतिक दलहरुले जनताको विश्वासलाई कायम गर्ने शक्ति गुमाउँदै जान थाले । जंगलबाट भोकाएर आएको बाघले बाख्रको खोरमा पसे जस्तै व्यवहार नेपाली काँग्रेसबाट हुन थाल्यो । काँग्रेसले २०४८ मा भएको निर्वाचनमा बहुमत पाएर सरकार बनाएको भए पनि पाँच बर्ष सरकार चलाउन सकेन् । ‘७१ रे’ र ‘३६ से’ को झगडा र गिरिजाप्रसाद कोइरालाका सनकमा संसद बिघटनको घट्नाले के प्रष्ट पार्यो भने नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी बन्न सक्दैन र पुँजीवादी व्यवस्था स्थापना गर्न सक्ने हैसियतमा पुग्न सक्दैन ।

 

लेखकः  शिव फुयाँल

यता, बामपन्थी शक्ति भित्र एमाले निकै लोकप्रिय पार्टी बन्दै थियो । कम्युनिष्ट आन्दोलन नेपालमा जबरजस्त अघि बढिरहेको र नयाँ जनवादी विचारका आधारमा अगाडि बढ्दै छ नेपाली समाज भन्ने निष्कर्षले देशी बिदेशीहरुको षडयन्त्रद्वारा मदन भण्डारीको हत्या भयो ।

नेपालमा जननेताका रुपमा स्थापित भएका भण्डारीको हत्यापछि एमालको राजनीतिक चरित्र नै बदलियो र कम्युनिष्ट चरित्रमा रहन नसक्ने अवस्थामा एमाले पुग्यो ।

२०५० जेठ ३ गते मदन भण्डारीको हत्या भएपछि हत्याको छानबिन गर्न न्यायाधीशको संयोजकत्वमा आयोग बनाउनुपर्छ भन्दै दबाव दिन भएको आन्दोलनमा थुप्रै नागरिकहरुले त्यतिबेला ज्यान गुमाएका थिए ।

पहिला जनतालाई आन्दोलनमा ल्याएको एमाले पछि अरु आन्दोलन गरिरहेका राजनीतिक दलहरु छोडेर काँग्रेससँग सम्झौता गरि मदन भण्डारीको हत्यालाई दुर्घटनाका रुपमा परिभाषित गराउने बाटोमा पुग्छ ।

द्वन्द्वात्मक भौतिकवादी विचार मानेको कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीको महासचिव मर्दा १३ दिने किरिया बस्ने र देशैभरी अस्तु लैजान खुल्ला मञ्चको शोकसभाबाट आव्हान गर्नु र कम्युनिष्ट नेताकी श्रीमतीले सेता लुगा लगाएर भोट माग्नुले मदन भण्डारीसँगै एमालेको वैचारिक धाराले समेत मृत्यु वरण गरेको बुझ्न कठिन हुन्न ।

विचारका क्षेत्रबाट हेर्दा मनमोहन अधिकारी २०५१ सालमा प्रधानमन्त्री बनेपछि बालुवाटारमा साइत हेरेर कालो बोकाको बलि दिएर रगतमा टेकेर प्रवेश गर्नुले कम्युनिष्ट विचारका आधारमा ठुलो स्खलन आईसकेको प्रष्टै हुन्थ्यो ।

मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि पुँजीवादी व्यवस्थामा हुन सक्ने केही सुधारवादी कामहरु त भए तर समाजवादको विचारलाई त्यसले विस्तारै ध्वस्त पार्दै लग्यो । एमालेको पुँजीवादी व्यवस्था अन्तर्गत नै गरेको सामान्य सुधारकै कारण काँग्रेस अतालियो र पुर्वपञ्चहरुको बलमा एमाले सरकारलाई विस्थापित गरिदियो । एमाले सरकारका गतिबिधीलाई रोक्न त्यतिबेलाको सर्वाेच्च अदालतले राजनीतिक फैसला गर्यो । अदालतको काम राजनीतिक नभएर कानुनी आधार खोज्ने थियो । त्यसकारण नेपालमा राजनीतिक स्थिरता कायम हुन नसक्ने ठाउँमा पुर्याउन सर्वाेच्च अदालतको भूमिका रहन गएको छ ।

२०५२ सालमा एमाले सरकार बिघटन भएपछि एमालेको ध्यान जसरी पनि सरकारमा जानुपर्छ भन्नेतिर गयो र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाई एमाले सरकारमा सामेल भयो । यो बामपन्थी आन्दोलनको ठूलो स्खलन थियो ।

त्यसपछि नेपालमा कुनै पनि सरकार एक बर्षभन्दा धेरै समय टिक्न सकेको छैन् । काँग्रेस झन के कम उसले सुर्यबहादुर थापालाई प्रधानमन्त्री बनाईदियो । हिजो जसकाबिरुद्ध संघर्ष गरियो उसैलाई काँधमा बोकेर हिड्ने प्रतिष्पर्धा गरे काँग्रेस र एमालेले ।

त्यसले लोकतान्त्रिक आन्दोलनमा काँग्रेसको स्खलन भयो । नेपाली काँग्रेसको प्रस्तावमा महाकाली नदी भारतलाई सुम्पिएर काँग्रेस एमालेले मिलेरै राष्ट्रघात गरे ।

एमाले र काँग्रेस अब पार्टी मात्रै फरक रहन पुगे । सबै कुरा विचारमा एउटै हुन पुगे । एमाले न कम्यनिष्ट रहन सक्यो न त लोकतान्त्रिक नै । यो त केबल अवसरवादी पार्टीमा बदलिन पुग्यो ।

नेपालमा पुँजीवादी व्यवस्थाको अन्त्य गर्दै जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै २०५२ सालबाट जनयुद्धका नाममा शसस्त्र संघर्षमा होमिएको माओवादी ठूलै शक्तिका रुपमा नेपाली समाजमा उदायो । यसले गाउँमा अधिकारबाट बञ्चित उत्पिडित, दलित, जनजाति, मधेसी, महिला सबैलाई आफ्नो अधिकारका लागि लड्न त सिकायो तर त्यो लडाईलाई राजनीतिकरण गर्न सकेन् ।

गाउँमा माओवादीभन्दा भिन्दै विचार बोक्नेहरुलाई टिक्न नदिने र राजनीतिक काम कम र फौजी काम ज्यादा गर्न पुग्यो । नेपालमा माओवादी शक्ति जनताको आसाको केन्द्र बन्दै थियो र लगातार अगाडि बढिरहेको थियो । फलस्वरुप यो माओवादी शक्तिलाई नेपाली समाजमा स्थापित हुन नदिन संसारका शक्ति केन्द्रहरु एक भएर लागे । कहिले संकटकाल लगाएर त कहिले सामुहिक हत्या गराएर ।

त्यसका बावजुद पनि माओवादी आन्दोलन तिब्र गतिले अघि बढिरहयो । माओवादी युद्धको अन्त्यका लागि त्यति बेला सबै खाले प्रयासहरु भएका थिए । त्यसमध्ये प्रतिगामी सोचबाट माओवादी युद्ध रोक्न राजदरबार हत्याकाण्ड रचियो र राजा बीरेन्द्रको बंशनास गरी ज्ञानेन्द्रलाई राजा बनाई जनताको सिमित राजनीतिक अधिकार पनि नेपाली काँग्रेसका नेता शेरबहादुर देउवामार्फत संसद विघटन गरी राजाको हातमा सुम्पिने काम भयो ।

राजदरबार हत्या काण्डपछि नेपाली समाज सम्पुर्ण रुपमा राजतन्त्रका बिरुद्ध उभिन पुग्यो । र गणतन्त्रको मार्ग प्रशस्त भयो । संबैधानिक राजतन्त्रमा रहेको समाज एकाएक गणतन्त्रको दिशामा गएपछि आम जनताको भरोसाको केन्द्र स्वभाविक रुपमा माओवादी हुन पुग्यो ।

यस्ता सबै घट्नाहरुका बेलामा अदालत सबै कुरामा आँखा चिम्लिरहेको थियो । राजा ज्ञानेन्द्र आफैँलाई साथ दिईरहेको शेरबहादुर देउवा र एमाले जो आधा प्रतिगमन सच्चियो भनेर दरबारको नयाँ खेताला भएको शक्ति थियो, दुबैलाई तिमीहरुको केही काम छैन भनि मन्त्रिपरिषदको अध्यक्ष आफैं भएर नेपाली समाजमा सम्पूर्ण रुपमा तानाशाही सोचका आधारमा अघि बढे ।

यसरी उनले तत्कालीन प्रजातान्त्रिक काँग्रेस र एमाले दुबैलाई अपमानजनक ढंगले सडकमा फालिदिए । यो घट्नाले माओवादीलाई गणतन्त्रका दिशामा आन्दोलन लैजान र नेपाली समाजलाई संकटबाट पार लगाउन सकिन्छ भन्ने विश्वास भएपछि राजाको कुका विरुद्ध आन्दोलनरत संसदवादी र माओवादीबीच १२ बुँदे सम्झौता भयो । त्यसकै जगमा २०६२/६३ सालको जनआन्दोलनको विकास र सफलता सम्भव भयो । र त्यसकै जगमा संबिधान सभाको निर्वाचन र गणतन्त्र नेपालको स्थापना पनि भयो । यी सबैमा जनताको आशा र भरोसा भएको शक्तिका रुपमा माओवादी पार्टी आयो ।

जनताको आशा र भरोसा भएको पार्टीले विचारधारा, संगठन र जनसेवामा जुन ढंगले काम गर्नुपर्ने थियो त्यो गर्न नसक्नुमा समाजवादी विचारको न्युनता र पुँजीवादी विचारधाराको व्यक्ति प्रधान हुने कुरा मुख्य हुन पुग्यो माओवादीमा । एकातिर सबै प्रतिगामी शक्तिहरुको घेराबन्दी र अर्काेतिर माओवादी सोच, व्यवहार जनताले आस गरेको भन्दा ठीक विपरित हुन पुग्यो । यहि कारणले एक पछि अर्काे असफलता हुँदै पार्टी विभाजनसम्म पुगेर माओवादी शक्ति कमजोर हुन पुग्यो ।

द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त बोकेको माओवादी पार्टीमा, जसको उद्देश्य समाजवाद हुँदै साम्यवादसम्मको छ, पार्टीको विचारधारा दैनिक जीवन व्यवहारमा सामन्तवाद देखापर्न थाल्यो । पार्टीका मुख्य नेताहरुमध्ये कोही भैसी पुजा गर्न थाले र कोहि अस्पताल चलाउने नाममा पुराण लगाउने र मनकाममना दर्शन देखि चौरासी पुजा, कोही चर्चमा गएर प्रार्थना गर्न थाले । उनीहरुले द्वन्द्वात्मक भौतिकवादी धारका विरुद्ध धर्मका आधारमा दैनिक गतिबिधी गर्न थाले । माओवादीले जनताको मौनतालाई कमजोरी ठान्दै प्रतिगामी शक्तिहरुलाई खुसी पार्न खोजेकाले माओवादीलाई कमजोर र शक्तिहिन तथा आफु जस्तै बनाउन खोज्ने प्रतिगामी षडयन्त्र सफल पार्न माओवादीलाई नै प्रयोग गरेको देखिन्छ ।

संबिधान सभा असफल पर्नेदेखि प्रधानन्याधीसलाई मन्त्रीपरिषदको अध्यक्ष प्रधानमन्त्री बनाउनेसम्मका सबै योजनामा माओवादीलाई नै प्रयोग गर्दै दोश्रो संबिधान सभामा माओवादीलाई ध्वस्त पार्ने सफलता प्रतिगामीतत्वलाई मिलेको देखिन्छ ।

यी तथ्यहरुले के कुरा स्पष्ट पारेको छ भने आफ्नै नेतृत्वमा २००७ सालको क्रान्ति र २०४६ सालको आन्दोलनबाट प्राप्त राजनीतिक अधिकार दरबारले खोस्दा काँग्रेसलाई नै प्रयोग गरेको र काँग्रेसले दुबै आन्दोलनको उपलब्धि जोगाउन नसकेको देखिन्छ । विचारधारामा सामन्तवाद नै रहेकाले नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा प्राप्त गरेको उपलब्धि बचाउन नसकेको हो ।

एमालेले कम्युनिष्ट विचार छोडेपछि कुनै विचार नै नभएको पार्टी बन्न पुग्यो र तत्कालिन फाइदामा रहेर मात्रै निर्णय गर्ने ठाउँमा पुग्यो । उसका निर्णयहरु हेर्दा सबै गलत सावित भएका छन् । माओवादी जुन अवस्थाबाट आयो,त्यो सिद्धान्तलाई समाउदाँसम्म ठीक थियो । जब माओवादी पार्टीले सिद्धान्तलाई भन्दा व्यवहारलाई जोड दिँदै विचारधाराका आधारमा संगठन र संगठनका आधारमा जनताको काम गर्न छोड्दै गयो तब पुँजीवादी विचारधाराको व्यक्तिलाई प्रधान मान्ने सिद्धान्तका आधारमा हिड्दै समुदायलाई प्रधान मान्ने समाजवादी विचारलाई कहिँ पनि मान्यता नै दिएन् ।

त्यसैले अब यो शक्तिबाट पनि नेपाली समाजमा उसले परिवर्तनको आशा गर्न सकिँदैन् । केहि मान्छेहरुलाई अझै पनि माओवादीलाई परिवर्तन गराएर नेपाली समाजको परिवर्तनको नेतृत्वदायी भूमिकामा स्थापित गराउन सकिन्छ कि भन्ने अपेक्षा रहेको देखिन्छ ।

आज पुराना शक्तिहरुबाट नयाँ समाज चल्न सक्दैन भन्ने पुष्टि भएको र आफूले जुन विचार बोकेको छु भन्ने दावी राजनीतिक पार्टीहरुले गर्छन । तिनीहरुले त्यो विचार किन लिन सकेनन् ? त्यसको खोजी हुनुपर्छ । प्रजातान्त्रिक बिधी मान्नेहरुले पनि यो कुरा प्रजातान्त्रिक हुन्छ र यसको आवश्यकता यो यो कारणले छ भनेर पुष्टि गर्नु पर्छ ।

द्वन्द्वात्मक भौतिकवादी विचारका आधारमा समाजवादको निर्माण गर्ने र नयाँ सामाजिक व्यवस्था स्थापना गरि समाज फेर्नुपर्छ भन्ने कुराको आधारमा अघि बढ्ने हो भने यो निष्कर्ष निस्कन्छ कि हिजोको आवश्यकताका आधारमा आएको विचार, संगठन र सोँच भन्दा माथि उठेर विज्ञान र प्रबिधीलाई आधार मान्दै नयाँ संगठन र समुदायलाई मुख्य केन्द्र बनाउने राजनीतिक प्रणाली स्थापनाका लागि युवाहरु किन नलाग्ने ? नयाँ समाज बनाउन नयाँ युग, उत्पादक शक्तिको भूमिका र त्यसका आधारमा समाजमा पैदा हुने घट्नाहरुलाई मसिनो ढंगले हेरिनुपर्छ ।

बदलिएको विश्व परिवेश, बदलिएको उत्पादन प्रणाली एंव उत्पादन सम्बन्धका आधारमा त्यसअनुरुप विचारसहितको संगठन निर्माण गरेर मात्रै समाजवादी व्यवस्थामा जान सकिने कुरा तथ्यहरुले स्पष्ट पारेकै छन् ।

madan bhandari manmohan