समाज कभर स्टोरी मेरो परिवार मेरो कथा परिवार

जो हप्तामा ३० घण्टा सुतेर, २५ हजार कमाउछन्

सागर बुढाथोकी

जो हप्तामा ३० घण्टा सुतेर, २५ हजार कमाउछन्

‘केही पाउनु छ भने केही गुमाउनुपर्छ ।’

एकछिन रोकिदै उनी फेरि बोले –‘यो भनाईको अर्थ त्यसले राम्रोसँग बुझ्छ, जसले थोरै पाउन धेरै मेहनत गरेको छ ।’

विकाश मानन्धर बोलिरहेका छन् । भक्तपुर कमलविनायकको एसके ईटाभट्टामा हामीसँग कुराकानी गर्दै पसिना बगाइरहेका छन् । कामसँगै कुराकानीको क्रमलाई अगाडि बढाउदै उनले भने–‘हामीहरुले थोरै पाउन थोरै गुमाएको छौँ ।’

उनी यसरी बोलिरहँदा रातको १२ बजेर ५४ मिनेट गएको थियो । धमाधम मुछेर थुपारिएको माटोबाट ईटा बनाइरहेका थिए । कामसँगै हामीलाई उनको कथा सुनाइरहेका थिए ।

उनी खाना खाएर ८ बजे ओछ्यानमा पुग्छन् । निदाउने बेलासम्म ९ बजिसकेको हुन्छ । रातको ११ नबज्दै उठेर ईटा बनाउने काम सुरु गर्छन् । ‘म मात्रै होइन, ईटा भट्टामा काम गर्ने सबैलै निरन्तर २० घण्टा काम गर्छन् ।’ उनले थपे– ‘जति काम गाह्रो छ, पैसा पनि धेरै नै छ । तर, पैसाकै लागि भनेर यो काम सबैले गर्न सक्दैनन् ।’

दैनिक ४ घण्टाको हिसावले उनीहरु हप्तामा लगभग ३० घण्टा मात्र सुत्छन् हप्तामा सातैदिन काम गर्नुपर्ने भएकाले आराम गर्न कुनै विशेष चाडपर्व कुर्नुपर्छ । काम गर्ने नसक्ने भयो भने केही समय आराम पनि गर्छन् । औसत रुपमा उनीहरु हप्तामा ३० घण्टा मात्र सुतेर २५ हजारसम्म कमाउने सार्मथ्य राख्छन् ।

राति ११ बजे ईटा बनाउन सुरु गरेर उनीहरु विहानसम्म काम गर्छन् । ईटा बनाउदै, चाङ लगाउदै र फेरि बनाउदै उनीहरुको दैनिकी बित्छ । यो बीचमा खाना खाने बेला मात्र आराम गर्छन । यसरी काम गर्दा दैनिक २ जनाले ३ देखि ४ हजारसम्म ईटा बनाउछन् । त्यो हिसाबले २ जनाले मासिक ८० देखि १ लाखसम्म कमाउन सक्छन् । तर, विविध समस्याको कारणले काम गर्ने मध्ये थोरै परिवारले मात्र यति धेरै पैसा हात पार्छन् ।

‘काम जस्तै दाम पनि राम्रै छ, पैसा पनि बच्छ ।’ विकाशले भने–‘ बिरामी परिएन र पानी परेन भने हामीले त्यो भन्दा बढी कमाउन सक्छौ । औसत कमाई त्यस्तै हो । त्यही भएर वर्षमा ६ महिना दुःख गर्छौँ ।’

विकाश काम गर्नको लागि एक्लै छैनन् । उनीसंग श्रीमती, दाजु सागर र भाउजु पनि संगै बस्छन् । उनीहरु जस्तै एसके ईटाभट्टामा काम गर्न ६० भन्दा बढी परिवारहरु बसेका छन् । बस्नको लागि ईटाभट्टामै ईटाको टहरा बनाएका छन् । उपत्यकामा सञ्चालित सबै ईटाभट्टामा परिवार सहित बस्ने ब्यवस्था गरेको हुन्छ ।

तस्बिरः गगन थापा

‘दिनहुँ२० घण्टा माटोको शारीरिक काम गर्न कसरी सकिन्छ ?’ यस्ता जिज्ञासा राख्ने धेरै छन्–‘यो हाम्रो पुख्र्यौली पेशा हो । सानैदेखि यो काम गर्दै आईयो । बानी परियो गर्न सकिन्छ ।’ मध्यरातमा सागरले पसिना पुछ्दै जवाफ दिए – ‘यो काम बाहेक अरु विकल्प छैन । जिउ दुख्दा औषधिको रुपमा जाँड खाएर काम गर्छौँ ।’

रामेछाप खनियापानी गाबिस रुपाकोट घर भएका उनीहरु सानै उमेरदेखि ईटाभट्टामा काम गर्दै आएका छन् । विकाश अहिले २२ वर्षको भए । उनी ८ वर्षदेखि ईटाभट्टामा काम गर्दै आएका छन् । २६ वर्षीय सागरले १२ वर्षदेखि ईटाभट्टामा काम गर्दै आएको बताउछन् ।

ईटाभट्टामा वर्षमा ६ महिना मात्र काम हुन्छ । बाकी ६ महिना वर्षातको समय हुने भएकाले उनीहरु घर जान्छन् । उनको गाउ रुपाकोटको ५१ घरधुरीको परिवार ईटा भट्टामा नै काम गरेर जीवन निर्वाह गरिरहेका छन् ।

विकाश प्रत्येक वर्ष ईटाभट्टामा काम गर्न आउथे । पढ्ने बेलामा ईटाभट्टामा काम गर्न आउनु परेकाले पछिसम्म अरु कुनै काम गरेनन् । धेरै वर्ष त्यसरी नै बिते ।

उनलाई नेपालमा भन्दा धेरै कमाउने सनक चढेर आयो । उनी मलेसिया हानिए । मलेसियामा खेतीपाती गर्नुपर्ने भयो । महिनाको ९ सय रिंगेट आउथ्यो । त्यसैबाट खानेबस्ने र लेभीसमेत तिर्नुपथ्र्यो । नेपालमा कमाए जति पनि त्यहाँ कमाइ भएन् ।

मलेसियामा १२ घण्टाभन्दा बढी काम गरे । कतिदिन त खाना पनि खाएनन् । धेरैदिन सुतेनन् । बिरामी पर्दा बिदा लिन पाएनन् । मरुन्जेल दुःख गर्दासमेत कमाउन सकेनन् । त्यसैगरी त्यहाँ उनले ३ वर्ष बिताएर नेपाल फर्के । मलेसियाबाट आएको पर्सिपल्ट नै ईटाभट्टामा काम गर्न आए । अहिले भन्छन्– ‘अब त खानै नपाए पनि विदेश जान्न । बाचुन्जेल नेपालमै काम गर्छु ।’

विकाशको दाइ सागर पनि मलेसिया पुगेर आएका हुन् । उनी मलेसियामा १ वर्ष जति बसे । यहाँबाट मेडिकल पास भएर गएका उनी त्यहा मेडिकल फेल भए । गएको लगानी सबै डुबाएर नेपाल फर्के । अहिले उनी पुरानै ईटा बनाउने काम गरिरहेका छन् ।

मानन्धर परिवारको जस्तै रामेछाप जिल्लाको धेरै परिवारको पुख्र्यौली पेसा हो ईटाभट्काको काम । ‘हाम्रो गाउँको सबै जना हिउदमा भट्टामा काम गर्न आउछन् । बर्खामा मात्र घर जान्छन् ।’ विकाशले भने –‘कतिले सानो बालबच्चासँगै लिएर आउछन् । कतिले घरमै छोड्छन् । त्यसैले धेरैजसोले पढाइलाई निरन्तरता दिन सक्दैनन् ।’

विकाशको बुवा ३७ सालदेखि नै ईटाभट्टामा काम गर्थे । बुवासँगै उनीहरुले पनि ईटा बनाउने काम सिके । ‘बुवाले सकुन्जेल ईटाको काम गर्नु भयो । हामीले जानेको पनि यही हो ।’ विकाश भन्छन् –‘दुःख गर्यो भने अन्तभन्दा पैसा यसमै छ ।’
कसले गर्छ यस्तो काम ?

‘ईटाभट्टामा कामको प्रकृति धेरै प्रकारको हुन्छ । माटो मुछेर काचो ईटा बनाउने कामबाट ईटा बनाउने प्रक्रिया सुरु हुन्छ । बनाएको ईटा चाङ लाउने, ईटा पोल्ने ठाउँसम्म ओसार्ने काम छुट्टै मानिसहरुले गर्छन ।’ सागर भन्छन् – ‘काचो माटोबाट ईटा बनाउनेहरुले पोल्ने ठाउँसम्म ओसार्नु पर्दैन् । ईटा पोल्ने र निकाल्नेले छुट्टै हुन्छन् ।’

अहिले ईटा बनाउने काम गर्न पहिलाभन्दा धेरै नै सजिलो भएको छ । पहिला मध्यरातमा उठेर खाल्डोबाट माटो झिकेर आफँै मुछ्नुपथ्र्यो । माटो आफँै तयार गर्नुपथ्र्यो । ‘अहिले माटो तयारी गर्ने काम मेसिनले गर्छ । तयारी माटो हामीले ईटा बनाउने ठाउँसम्म ल्याइदिन्छ ।’ विकाश भन्छन्– ‘त्यसैले ईटा धेरै बनाउन सकिन्छ । ’

उनको कुरालाई निरन्तरता दिँदै विकाश थप्छन्– ‘जसरी कामको प्रकृति फरक फरक हुन्छ, त्यसरी नै पारिश्रमिक पनि फरक फरक आउने गर्छ । ईटा बनाउनेले प्रति ईटा १ रुपैयाँ पाउछ । त्यस्तै बोक्नेको प्रारिश्रमिक १ हजार ईटा बोकेकोे ३ सय निर्धारण गरेको छ । ईटा पोल्ने काम अत्यन्तै जोखिम र कम जनशक्ति भएकाले यो काम गर्नेहरुले अत्यन्त धेरै आर्जन गर्ने गर्छन ।’

फरक सम्प्रादय एउटै काम
सागरका अनुसार रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाका मानिसहरु मुख्य गरि ईटा बनाउने काम गर्छन । बोक्ने काममा दाङ, सल्यान पर्वत, प्युठान, रुकुम र रोल्पाका मानिसहरु आउछन् । ईटा पोल्ने काम भारत विहारबाट आएका र तराई मुलका मानिसहरुले गर्ने गरेका बताउछन् ।

मानन्धर परिवार जिन्दगी ईटासँग जोडिएको छ । जसरी ईटा–ईटा जोडिएर घर बन्छ । त्यसरी नै ईटाभट्टामा नै काम गरेर उनीहरुले घर चलेको छ । उनीहरु भन्छन्– ‘अरु मानिसहरु बेलुका सपना देखेर दिउँसो पूरा गर्नतिर लाग्छन् । हामी सपना देख्नको लागि राम्रोसँग निदाउन पाउँदैनौ । काम गर्दै सपना देख्छौ । काम गर्दै पूरा गर्छौँ ।’ उनीहरु जस्तै ईटा भट्टामा काम गर्ने अरु परिवार दैनिक ३ देखि ४ घण्टा मात्र सुत्छन् ।

भक्तपुर मस्तसँग निदाइसक्दा ईटाभट्टामा काम गर्नेहरु जागा नै रहन्छन् । राति ८ बजे सुतेर ११ बजे आँखा मिच्दै उठ्छन । ईटा बनाउन ठिक्क परेको माटो मुछ्दै उनीहरु ईटा बनाउने काममा तल्लिन रहन्छन् । ईटा बनाउँदा मध्यरातमा निस्केको ढ्याक्क ढ्याक्क आवाजले सुनसान बस्ती जागा रहेको अनुभूति गराउछ ।

नगरि काम पुग्दैन खान
ईटा बनाउने काम श्रीमान श्रीमती मिलेर नै गर्छन् । १८ वर्षीया विकाशको श्रीमती ५ महिनाको गर्भवती पनि छिन् । त्यस्तो अवस्थामा समेत उनी दैनिक २० घण्टा काममा खट्छिन् । सागरलाई पनि त्यसरी नै सघाउछिन् उनकी श्रीमतीले । विकाशको श्रीमती भन्छिन्–‘जीवन धान्न ईटा बनाईरहेका छौँ । अत्यन्तै गाह्रो भएपनि काम पर्ने बाध्यता हो ।’

विदेशबाट फर्केपछि सागरलाई लाग्न थालेका छ—‘जहाँ गएपनि काम नगरी खान पाइदैन ।’ त्यसैले उनी यो कामप्रति सन्तुष्ट छन् । जीवनप्रती कुनै गुनासो र राज्यप्रति प्रश्न पनि छैन । उनी आफ्नो जिन्दगीको आफँै जनता र आफैँ सरकार हुन् । उनलाई आफ्नो बाहेक अरु कुनै सरकारको विश्वास लाग्दैन । त्यसैले उनी दिनको २० घण्टा पसिना बगाएर ४ घण्टा मज्जाले निदाउँछन् । आफ्नो मेहनतले कमाएको सम्पत्तिमा गर्व गर्छन् । उनी भन्छन्– ‘विदेश गएर कमाउछु भनेर सपना देख्नु मुर्खता रहेछ । आखिर, सपना त सपना नै हुँदो रहेछ ।’

सागरको कुरामा विकाश सहमति जनाउछन् । भाग्यमा छ भन्दैमा डोकोमा दुःध दोएर अडिदैन भन्ने बुझिसकेका छन् । उनलाई भाग्यमा हैन, कर्ममा विश्वास छ । विकाश भन्छन्– ‘यहाँ काम हुने भनेको ६ महिना मात्र हो । त्यसैले यो ६ महिना ३ घण्टा मात्रै सुतेर मात्रै भएपनि कमाउनुपर्छ । उनले भने– ‘६ महिना गाउँमै खेतीपाती गरिन्छ । खेतीपातीले ३ महिना खाना पुग्दैन । यो काम विदेशको जस्तो गाह्रो पनि छैन । परिवारसँगै बसेर गर्ने भएकाले दुःख सँगै कमाई छ गाह्रो लाग्दैन् ।’

अहिले उनको घरमा आमा मात्रै छन् । बुवा बितिसके । उनका ४ जना दाजुभाइ नै ईटाभट्टामा काम गरिरहेका छन् । ५ वटा बहिनीको ज्वाई सबैले ईटा भट्टामा काम गरेर जीवन निर्वाह गरिरहेका छन् । भर्खरै मात्र बहिनीले श्रीमान गुमाईन् ।

२६ वर्षीय बहिनी आफ्नो बालबच्चाको साथ भट्टामा काम गरेर पेट पाल्दैछिन् । गाउँमा आमाले २५ वटाभन्दा बढी बाख्रा पालेर आफ्नो लागि आफैँ गरिरहेको सागर बताउँछन् । उनले भने – ‘हामी दाजुभाइको कथा उस्तै छ । हामी सबै जना विदेश कमाउन नसकेर ईटा भटमा काम गरिरहेका छौ ।’

ईटाभट्टाको काममा पैसा जस्तै चुनौतीको पहाडहरु धेरै छन् । कामको बेलामा पानी प¥यो भने बनाएको ईटा काम लाग्दैन् । त्यो बनाइसकेको नष्ट भएको ईटाको आधा मात्र पैसा आउछ । त्यसैले पैसा कमाउन पहाड फोड्नु जत्तिकै चुनौती छ । दिनरात नभनिकन काम गर्नुपर्ने भएकाले धेरै जना बिरामी पर्छन । बिरामी हुँदा काम गर्न नसकिने र उपचारमा खर्च हुने भएकाले उनीहरुले धेरै कमाए पनि बचाउन सक्दैनन् ।

पुख्र्यौली पेशाले निम्त्याएको समस्या
ईटाभट्टाको काम मानन्धर दाजुभाइको पुख्र्यौली पेशा हो । उनका बुवाआमाले यही काम गरेर उनीहरुलाई हुर्काए । उनीहरु पनि सानै उमेरदेखि ईटाभट्टामा नै काम गरेर हुर्केका हुन् । अहिले पनि उनीहरुजस्तै परिवारहरुसँग ईटाभट्टामा आउने बालबच्चाहरुको संख्यामा कमी आएको छैन् । देशको विभिन्न ठाउँबाट परिवारसहित ईटाभट्टामा काम गर्न आउने भएकाले यो संख्यामा कमी नआएको हो ।

परिवासँग ईटाभट्टामा काम गर्न आउनेभएपछि ती बालबालिकाहरुको ६ महिनाको पढाई छुट्छ । यता उनीहरुलाई पढ्ने व्यवस्था गरेको हुँदैन् । फलस्वरुप ती बालबालिकाहरु भविष्यमा गएर ईटाभट्टामा काम गर्ने मजदुर नै बन्न पुग्छन् । यसको ज्वलन्त उदारण हुन, विकाश र सागरका दाजुभाइ ।

अहिले देशभर ३१ वटा ईटाभट्टा सञ्चालन रहेको छ । ती ईटाभट्टामा लगभग ४० हजारभन्दा बढी कामदाहरु काम गरिरहेका छन् । एउटा ईंटा भट्टामा ३ सय देखि ७ सयको हाराहारीमा कामदार रहेका ईंटाभट्टा एसोसिएसनले उल्लेख गरेको छ ।

मौसमले ठगेको वर्ष
ईटाभट्टाको काम मौसममा भर पर्छ । घाम राम्रोसँग लाग्यो भने ईटा बनाउन केही गाह्रो हुँदैन् । घाम नलागिकन हुस्सु लाग्ने र पानी पर्ने भयो भने ईटा बनाउने काम रोकिन्छ । मौसमको खरावीले उनीहरुले यो वर्ष सोचे जस्तो कमाई गर्न सकेनन् । माघसम्म एकतमासले काम गरिरहेका उनीहरुलाई फागुन लागेपछि मौसमले साथ दिएन् । बेमौसमी वर्षातको कारण उनीहरुले सोचे जति कमाउन सकेनन् ।

ईटाभट्टामा काम गरेको सुरुवातको महिना मंसिरमा जादाँ उनीहरुले बताएका थिए । ‘६ महिनामा ४ देखि ५ लाख कमाइन्छ । यो कमाईले आफ्नो परिवारको धेरै समस्या समाधान गर्नुछ ।’ माघ र फागुनको पहिलो हप्तासम्म उनीहरु सोचे जस्तो कमाउनेमा आशावादी थिए । तर, यो वर्ष उनीहरुले भनेको जस्तो भएन् । वर्षातले गर्दा काम कम भयो । बनाएर तयारी अवस्थामा राखेको ईटा पनि वर्षातकै कारण नष्ट भयो ।

फागुन महिनामा परेको पानीले गर्दा उनीहरुले २० दिन मात्र काम गरे । फागुनमा बनाएको १५ हजार ईटा पानीकै कारणले नष्ट भयो । चैत्र महिनामा जम्मा १२ दिन मात्र काम गर्न पाए । १० हजार ईटा चैत्र महिनामा पनि नाश भयो ।

वैशाख महिना पनि बेमौसमी वर्षातको कारण उस्तै रह्यो । यो महिनामा उनीहरुले जम्मा १ दिन काम गरे । वैशाखको अन्तिम शाखासम्म चल्ने उनीहरुको काम पहिलो साता नपुग्दै वर्षातको कारण रोकियो । भक्तपुरको ईटाभट्को ६ महिनाको बसाई सकेर उनीहरु आफ्नो गृह जिल्ला रामेछाप फर्किए ।

ईटाभट्टाबाट फर्कदाँ उनीहरुले भट्टा मालिकसंग १ लाख ऋण लिए । जुन ऋण फेरि मंसिरमा आएर उनीहरुले काम गरेर तिर्नुपर्ने हुन्छ । घर फर्कदा साथमा २ लाख ५० हजार र बस्न खाना प्रयोग गरेको सामानहरु भए । ६ महिनापछि उनीहरु फेरि यसरी नै ईटभट्टामा आउछन्, काम गर्छन र फर्कन्छन् । उनीहरुको जीवनको चक्र वर्षौँदेखि यसरी नै चलिरहेको छ ।

ईटाभट्टा सागर बुढाथोकी