समाचार

रोल्पाको १५ करोड बजेट काटेको भन्दै आक्रोश, अर्थमन्त्रीकाे यस्ताे प्रष्टिकरण

रोल्पाको १५ करोड बजेट काटेको भन्दै आक्रोश, अर्थमन्त्रीकाे यस्ताे प्रष्टिकरण

उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको भौतिक पूर्वाधारको विकास र विस्तारमा वर्तमान सरकार विशेष प्राथमिकताका साथ लागेको बताएका छन् ।

रोल्पाको सडकका लागि छुट्याएको बजेट काटेको भन्दै जनस्तरमा आक्रोश बढेपछि अर्थमन्त्री समेत रहेका महराले यस्तो प्रष्टिकरण दिएका छन् ।

‘रोल्पा जिल्लाको विकासमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको छु, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना विषयलाई जोडेर आएको समाचारबारे प्रतिक्रिया दिँदै अर्थमन्त्री महराको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, कुनै पनि आयोजनामा बजेट कटौती गरिएको छैन ।’

‘लिबाङ-माडीचौर-जिनाबाङ’ सडकमा विनियोजित १५ करोड बजेट कटौती गरेर रोल्पाली जनतालाई धोका दिएको भनी गरिएको प्रचार भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तीनवर्षीय प्रक्षेपणका आधारमा उक्त सडक निर्माणका लागि आव २०७३/७४ (क्रमागत) मा एक करोड २० लाख बजेट विनियोजन भएको जनाउँदै विज्ञप्तिमा लिबाङ-लाप्चनखण्डमा निर्माण काम भइरहेको सचिवालयले जनाएको छ ।

‘लिबाङ-माडीचौर-जिनाबाङ’ सडक अर्थमन्त्रीको उच्च प्राथमिकतामा रहेको जनाउँदै अर्थमन्त्रीको सचिवालयले प्रधानमन्त्री दाहालले उक्त सडक निर्माण प्रक्रियालाई अगाडि बढाउने सार्वजनिक घोषणा गरेअनुसार हाल प्युठान सडक डिभिजन कार्यालयको अग्रसरतामा काम भइरहेको जनाइएको छ । सडक विभागको नेतृत्वमा उक्त सडकको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेकाले एक साताभित्रै उक्त कार्यले पूर्णता पाउने समेत प्रेस नोटमा उल्लेख छ ।

सडकको प्रतिवेदन तयार भइसकेपछि निर्माणका लागि आवश्यक बजेट विनियोजन हुने र निर्माण तीव्ररुपमा अगाडि बढ्ने जानकारी दिँदै अर्थमन्त्रीको सचिवालयले राजनीतिक पूर्वाग्रहकै आधारमा गरिएका प्रचारको बुझेर मात्रै धारणा नबनाउन रोल्पालीलाई आग्रह गरिएको छ ।

रोल्पा बजेट

विशेष