पर्यटन

मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी

मुक्तिनाथमा प्रख्यात बन्दै घोडचढी

वैशाख १५ । गत चैत अन्तिम साता भारतको मुम्बईबाट मुक्तिनाथ आएका रमेश सिंह घोडा चढेरै मुक्तिनाथको प्रवेशद्वारसम्म पुगे ।

 

काठमाडौंबाट आएकी सङ्गीता श्रेष्ठले पनि रानीपौवाबाट मुक्तिनाथ प्रवेशद्वारसम्म पुग्न घोडाकै सहारा लिइन् । सिंह र श्रेष्ठमात्र होइन, हिमालपारिको मुस्ताङस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने अधिकांश तीर्थयात्री र पर्यटकका लागि घोडचढी सुविधा नयाँ आकर्षण बनेको छ ।

‘उकालोमा हिँड्न दुःख हुन्थ्यो, घोडा चढेर सजिलै पुगियो,’ श्रेष्ठले भनिन्, ‘घोडा चढेर वरपरका दृश्य नियाल्दै, तस्बिर खिच्दा निकै रमाइलो भयो ।’

उकालो हिँड्न गाह्रो भएपछि श्रेष्ठ रानीपौवामा गाडीबाट झरेर घोडा चढेर मुक्तिनाथ पुगेकी हुन् । सिंहले पनि पहिलोपटक घोडा चढ्दा रमाइलो र सहज महसुस गरे ।

मुक्तिनाथ भ्रमण र तीर्थयात्राका लागि आउनेको सुविधाका लागि स्थानीय बासिन्दाले रानीपौवादेखि मन्दिर प्रवेशद्वारसम्म घोडचढी सेवा दिँदै आएका छन् । घोडाको संरक्षण, स्थानीयवासीलाई आयआर्जन र पाहुनाको सुविधाका लागि घोडचढी व्यवसाय प्रभावकारी बन्दै गएको मुक्तिनाथका गाउँ मुखिया सुरज गुरुङले बताए ।

दुई वर्ष पहिलेसम्म स्थानीयवासीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म उकालो हिँड्न नसक्ने, ज्येष्ठ र अशक्त तीर्थयात्रीलाई मोटरसाइकलमार्फत सेवा दिँदै आएका थिए । दुर्घटनाको जोखिम र घोडा लोप हुँदै जान थालेपछि मोटरसाइकल हटाएर दर्शनार्थीलाई घोडचढी सेवा उपलब्ध गराएको गुरुङको भनाइ छ ।

समुद्री सतहदेखि तीन हजार ८०० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ पुग्नका लागि उकालो बाटो हिँड्न लेक लाग्ने गर्छ । ज्येष्ठ र अशक्त नागरिकलाई यात्रा गर्न कठिन हुने गरेको छ । आर्थिक रुपमा सम्पन्न दर्शनार्थी हेलिकप्टरबाटै मन्दिर प्रवेशद्वारसम्म पुग्ने गरेका छन् ।

स्थानीयवासी रेशम थकालीका अनुसार मन्दिरमा जाँदा कतिपय हिँड्न नसक्ने बाध्यताले र नयाँ पुस्ताका युवायुवती रमाइलो तथा अनुभवका लागि घोडा चढ्ने गरेका छन् । अधिकांश युवायुवती मनोरञ्जनका लागि घोडा चढ्दै फोटो खिच्नका लागि मात्रै पनि ५०÷१०० रुपैयाँ दिएर घोडामा चढेर फोटो खिच्दै रमाइलो गर्छन् ।

विगतमा यातायातका साधन नपुगेका कारण जोमसोमलगायत स्थानबाट घोडा चढेर मन्दिर पुग्ने गरे पनि अहिले रानीपौवासम्म गाडीबाटै पुग्ने भएकाले त्यहाँबाट दर्शनार्थी घोडा चढ्ने गरेका छन् । घोडाचढी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले रानीपौवादेखि मुक्तिनाथ प्रवेशद्वारसम्म एकतर्फी रु ३०० शुल्क कायम गरेका छन् । पछिल्ला समयमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेका कारण एउटै घोडाबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको व्यवसायी दिनेश गुरुङ बताउँछन् ।

‘प्रत्येक घरबाट एउटाका दरले घोडा पालो लगाएर यात्रु बोक्न प्रयोग गरिन्छ,’ उनले भने, ‘मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पु¥याउन दैनिक १५० वटा घोडाले सेवा दिँदै आएका छन् ।’

परम्परागत समाजमा घोडालाई यातायातको साधनका रुपमा प्रयोग गरिन्थ्यो । सामान बोकाएर ओसारपसार गर्न र एक ठाउँबाट अर्को ठाउँमा पुग्न घोडा प्रयोग हुन्थ्यो । तर पछिल्लो समय सडक सञ्जालमा जोडिएपछि मुस्ताङका धेरैले घोडाको विकल्पमा मोटरसाइकल र गाडी प्रयोग गर्ने गरेका छन् ।

अन्य ठाउँमा लोप भए पनि मुक्तिनाथमा भने घोडा देख्न सकिन्छ । घोडचढी व्यवसायलाई जीवन्त राख्न मुक्तिनाथमा हरेक वर्षको जनैपूर्णिमाका दिन घोडा दौड प्रतियोगिता समेत आयोजना हुने गरेको छ ।

यहाँ प्रचलित परम्परागत यातुङ पर्वमा गरिने घोडा दौड प्रतियोगिता नै सङ्कटमा परेपछि रानीपौवाको युवा क्लबले घोडा संरक्षणका लागि मोटरसाइकलको विकल्पमा घोडाबाट यात्रुलाई सुविधा दिन पहल गरेको हो ।

मरुभूमि जस्तै देखिने पृथक् भू–बनोट, पृष्ठ भूमिका हिमाल, माटोका घर, हिमाली जीवनशैली, मुक्तिनाथ मन्दिर, ज्वाला माई, गुम्बा मुक्तिनाथ क्षेत्रका आकर्षण हुन् । धार्मिक आस्थाको साथै मुक्तिनाथको प्राकृतिक सौन्दर्य आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बनेको छ ।