समाज

दृष्टिविहीन विक दम्पतीले तीन छोरीलाई पढाउन सकेनन्

दृष्टिविहीन विक दम्पतीले तीन छोरीलाई पढाउन सकेनन्
फागुन–२७ । म्याग्दीकाे ताकम–३ रातमाटाकी ११ वर्षीया निरुता विक विद्यालय जान छाडेको पाँच महिना भयो । बाबा र आमा दुबै दृष्टिविहीन हुन् । घरपरिवारको आर्थिक अवस्था नाजुक छ र यसैकारण उनका दुई बहिनीले पनि पढ्न छाडेका छन् । दृष्टिविहीन दम्पती जलन र सुस्मिता विकका चार छोरीमध्ये तीन जना विद्यालय जाने उमेरका छन् । जेठी निरुता चार कक्षा, आठ वर्षीया माइली कमला दुई कक्षा र साइली ५ वर्षीया अञ्जली बालकक्षामा अध्ययन गर्दागर्दै विद्यालय छाड्न बाध्य भएका हुन् । विक दम्पतीका कान्छी छोरी इच्छा दुई वर्षकी छिन् । गाउँमा अरुको जग्गामा सामान्य घर बनाएर बस्दै आएका विक परिवार जग्गाधनीले पटक–पटक जग्गा किन्न या घर छाडी जान दबाब दिएपछि गाउँ नै छाडेर निस्किएका हुन् । दृष्टिविहीन सुस्मिताले भनिन् – “हाम्रो आफ्नै जग्गा थिएन । ससुराले गाउँमा पहिले रु ७ हजार तिरेर अरुको जग्गामा घर बनाउनुभएको रहेछ । अहिले जग्गाधनीले कि जग्गा किन कि छोड भने । हामीसँग पैसा नभएकाले घर छाडेर निस्क्यौं ।” जग्गाधनीले रु ८० हजार मागेपछि घरै छाडेको उनीहरु बताउँछन् । विक परिवार गत पुसदेखि म्याग्दी सदरमुकाम बेनी नजिकै पर्वतको लामखेतमा कोठा भाडामा लिएर बस्दैआएका छन् । मासिक रु एक हजार पाँच सय तिनुपर्ने साँघुरो र बिजुलीको समेत सुविधा नभएको कोठामा चार छोरीलाई राखेर बसेकी सुस्मिताले दैनिकी चलाउन नै मुस्किल भएको र अर्थाभावको कारण छोरीहरुलाई विद्यालय पठाउन नसकेको बताइन् । उनका श्रीमान् जलन नारायणगढमा एक दोहोरी साँझमा काम गर्छन् । मादल बजाउन सिपालु जलनले महिनामा जम्माजम्मी रु ३ हजार कमाउँछन् । आफूले कमाएको पैसाले चार सन्तानलाई दैनिक रुपमा खाना खुवाउनसम्म पनि नपुग्ने भएकाले छोरीहरुलाई विद्यालय पठाउन नसकेको उनी बताउँछन् । गरिब र पतिपत्नी दुबै दृष्टिविहीन भएका कारण छोरीहरुलाई विद्यालय पठाउन आवश्यक लत्ताकपडा, शैक्षिक सामग्रीको जोहो गर्न उनीहरुलाई समस्या छ । सुस्मिताले दुखेसो पोख्दै भनिन् – “हामीले केही पनि किनेका छैनौँ, किन्ने पैसा पनि छैन । घरखर्चको सामान श्रीमान्को तलब आएपछि दिउँला भनेर उधारोमा लिएर चलाइआएको छु । यहाँ वरपरका दिदीबहिनीले भाँडाकुँडा सहयोग गर्नुभएको छ । छोरीहरुलाई विद्यालय पठाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर केही उपाय निस्किएको छैन ।” राज्यले चौमासिक रुपमा दिने २ हजार ४ सय रुपैयाँ भत्ताले एक महिनाको घरखर्च धान्न पनि गाह्रो हुने गरेको उनी बताउँछिन् । गाउँमा घर छाड्न परेपछि बहिनीहरु र आमालाई होतारेर बजार झरेकी दृष्टिविहीन विक दम्पतीका जेठी छोरी निरुताले कतै काम पाए गर्ने सोच बनाएकी छन् । बिहान बेलुका काम गरेर भएपनि विद्यालयमा पढ्न जाने उनको धोको छ । कान्छी बहिनीलाई काखमा च्यापेर लामखेतको चौरमा बसेकी सुस्मिताले केही समय अगाडि स्थानीय एक होटलमा भाँडा र कपडा धुने काम गरेको तर मालिकले पैसा नदिएको गुनासो गरिन् । एक जना दाइले बङ्गुरको खोर सफा गर्ने काम लगाइदिने आश्वासन दिएपछि आशावादी बनेकी निरुताले बिहान र बेलुका अरुको काम गरेर भएपनि विद्यालयमा गएर पढ्ने इच्छा रहेको बताइन् । उनले भनिन् – “आमा केही गर्न सक्नुहुन्न । बहिनीहरुको हेरचाह सबै मैले नै गर्छु । उनीहरुलाई सँगै स्कुल लैजाने र ल्याउने गर्न पाए हुन्थ्यो भनेको ! केही गरेपनि पढ्न पाइएन । पढ्न निकै मन छ । पढ्न पाइन्छ कि पाइँदैन थाहा छैन ।” निरुताकी बहिनी अञ्जलीले वरपरका सबै विद्यालय जाँदा आफूलाई पनि विद्यालय जान हुटहुटी जागेको तर जान नपाएको बताइन् । अपाङ्ग सङ्घ म्याग्दीकी सदस्य सन्ध्या छन्त्यालले दृष्टिविहीन विक दम्पतीका छोरीहरुलाई शिक्षा लिने अवसरबाट वञ्चित हुन नदिन सहयोगी हातको खाँचो रहेको बताइन् । घरमूली जलनले कक्षा १२ सम्मको अध्ययन गरेपनि कतै अवसर पाएनन् । “बलेवाको जनता धन माविबाट मैले एसएलसी पास गरेको हुँ, त्यसपछि म्याग्दी क्याम्पसमा आएर दुःखजिलो गरी १२ कक्षासम्मको पढाइ पूरा गरेको थिएँ, अहिले छोरीहरुलाई स्कुल पठाउन नसक्दा निकै दुःखित छु” – उनले भने । जलन तीन वर्षको हुँदा दादुराको सङ्क्रमणले दुबै आँखा बन्द भएको थियो भने उनकी श्रीमती सुस्मिताको १३ वर्षको उमेरमा आँखाको ज्योति गुमेको थियो । कमल खत्री/रासस

दम्पती दृष्टिविहीन् म्याग्दी