कला साहित्य

कथाः ऊ

कथाः ऊ

एका बिहानै ऊ मस्त निन्द्रामा थियो । ऊ गहिरो निन्द्राबाट एक्कासि झस्किँदै उठ्यो । उसलाई अनुभव भयो की कसैले ऊमाथि अन्धा–धुन्द लाठीे प्रहार गरिरहेको छ । ऊ उठिसक्दासम्म पनि बारम्बार हातखुट्टामा लठिका झटारो बज्रिरहेकोनै छ ।

कसैले चर्को आवाजमा उच्चारण गरेको “चोर, भातमारा, अल्छिको पोको” जस्ता नाना भातिका शब्दका झटारोहरुले ऊसको मानसपटलमा आतङ्क मच्चाईरह्यो ऊत्र यी शब्दहरु प्रतिकार गर्ने कुनै आँट थिएन । केवल चुपचाप सुनिरहनु बाहेक उसँग अरु विकल्प थिएन ।

ऊ आफ्नै यही दैनिकीदेखि दिक्दार भईरहेको थियो । तैपनि उसमा अझै धैर्यधारण र सहनसिलताको सिमा बाँकी रहेकैले यी सबलाई पचाइरहेको थियो । एक वृक्ष झैँ सबै सही शितलता सबैमा छर्दैथियो । अटल अनि स्थिर । ऊ एउटा निष्ठावान् ब्यक्ति जसको दिनचर्या एउटा तोकिएको सिमाना भित्र बसेर हरेकको चाहना र कर्तब्यको पालनामै सुरु र अन्त्य हुने गर्दछ ।

ऊ सधै यहि झिनो आशाका किरणहरु बोकी हिँड्छ की एकदिन उसको मर्म बुझिदिने कोहि त भेटिएला । सधै, ऊ मुखदर्शक भएर आते–जाते बटुवालाई हेर्दै झ्यालमा टहलिन्छ । कहिले कौशि र बार्दलीबाट चियाई टोपल्छ । उसलाई त्यो घर नर्क सरी लाग्छ जहाँबाट न त ऊ मूक्त नै हुन सक्थ्यो न त सामान्य जीवन जिउन नै ।

ऊ मानद्वारा सञ्चालित एक मेसिन झै महसुस गर्छ आफूलाई । न कुनै निश्चित लक्ष्य न गन्तब्य । ज्ञान, सिप, र लगनका बावजुद पनि कुनै अकथित बाध्यताका कारण निष्क्रिय थियो ऊ बाहिरी संसारसँग ।

परिवर्तन नै संसारको नियम हो जो आफ्नो बिचारलाई कहिल्यै बदल्न सक्दैन त्यो मानवलाई असामाजिक प्राणि मानिन्छ ऊ जान्दछ । ऊ यो पनि जान्दछ कि परिवर्तित सोचहरुलाई उड्न दिनुपर्छ स्वतन्त्र आकाशमा । ऊ डुब्न चाँहन्छ स्वतन्त्रताको तलाउमा सदाको लागि जहाँ न कुनै विवशताको गन्ध होस् न त कर्तब्यको ।

सपनाको संसारदेखि फेरि वास्तविकतामा फर्किन्छ । इच्छा र चाहनाका पोकाहरु मनभित्रै गुम्स्याउँदै कर्तब्यको सुरूङ खन्न थाल्छ एउटा आशमा अन्धकार छिचोलि एकदिन उज्यालो आउँछ नयाँ बिहानीकाे सुरूवात हुनेछ । बेला–बेला ऊ आफ्नो कर्मलाई दोस दिन्छ । फेरि एकै छिनमा आफ्नै दरिद्रतालाई पनि झल्यास्स् सम्झिन्छ ।

ती दिनसम्झदा आफ्नै लाचार र गरिब आँखाहरु टिलपिलाउँछन् धेरैपटक । त्यो त्यहि गरिबी हो जसबाट ऊ टाढा भाग्न चाँहान्छ । उसलाई समयले छलेको छ भाग्यले पछारेको छ, बेजोडसँग । कहिले त सोच्छु, के दुई छाक खानु र एकसरो लगाउन पाउनु मात्रै जिन्दगी हो ? आजको कर्मले भोलिकाे त्यहिअनुसारको फल दिन्छ तर कर्मनै नगरे फल पनि पाइन्न ।

ऊ आफ्नो भविष्य सोच्दै चिन्तित हुन्छ । दुःखी हुन्छ निराशाका मैदानभरी छरपष्ट ती सुनौलाे सपनाहरु देख्दा । समयले निम्त्यनउने चुनौतिहरुसंग लड्न सिक्दैछ । एक प्रतिक्षारत सिपाही झैँ । इच्छा, आकांक्षा र कुनै कुराको चाँहाना त ऊ भित्र पनि हुदो हो । कुनै चिजको अभाव खड्किदा हो । तर, खै उसलाई कसले  यो सबै कुरा साेधने होला ?

आखिर ऊ एउटा दास न हो । सबैका हातका कट्पुतली, बास्तवमा ऊ एउटा कैदी हो, जो आरोपित भएकै कारण कठिन सजाय भोगिरहेको छ ।  ठूला–ठूला स्वरमा त्यो नर्किय कारागारबाट मुक्तीको माग राख्छ त्यी अबोध पर्खालहरुसंग ।  

आजको दिन पनि मैले कडा परिश्रम गर्नुपर्नेछ बदलामा भएनभएका कुराले गली गरिनेछ ।  यहि सोचाईका साथ उसको दैनिकी सुरु हुन्छ । मनभित्र अनेक सबालहरु जुलुस बनेर बिद्रोह गर्न थाल्छन् । हक–अधिकारका कुराहरु प्रश्नहरु पनि नतेर्सिने होइनन् तर सब बेकार लाग्छन ।

आखिर म एक घरेलु कामदार न हुँ । समाजका ती धनाद्य भनाउदाहरुका घरमा जो दिनरात मेहेनतका साथ काम गर्नुका बावजुत पनि हेपिन्छन् ।त्यसैले त उनीहरुलाई दास भनिन्छ । गरिब हुनुको परिणाम यहि हो त ? शोषित के गरिबमात्रै हुनुपर्छ त ? उसको मन भरि उठेका यी प्रश्नहरु संधै बेजवाफ नै रहे । मेहेनतको भूमिमा आशाको बिज रोपि गोडमेल गर्दैछ आजपनि ‘ऊ’ ।


चन्द्र राई

story