कभर स्टोरी समाचार

सात वर्ष साउदी जेल बसेर फर्केका वीरबहादुर भन्छन–‘हिन्दूहरुलाई टुक्रा-टुक्रा पार्छौँ भन्दै कुट्थे ’

सात वर्ष साउदी जेल बसेर फर्केका वीरबहादुर भन्छन–‘हिन्दूहरुलाई टुक्रा-टुक्रा पार्छौँ भन्दै कुट्थे ’

 


चरम बेराेजगारीका कारण वर्षेनी लाखैँ नेपाली युवाहरू खाडीका देशमा श्रम बेच्न जान बाध्य छन् । मीठाे सपना देखेर साहुकाे ऋण उठाएर गएका उनीहरूले भाेक प्यास नभनि ताताे गर्मीमा काम गर्न बाध्य हुन्छन् । अाेठमुख सुकाएर काम गर्दा पनि जाँदा लागेकाे ऋणसमेत तिर्न सक्दैनन् । त्यस्तै कतिपय युवाहरु बाकसमा प्याक भएरसमेत आएका छन् । विदेशमा बसेर काम गर्दागर्दै कतिपय नेपालीले बिना कसुर जेल सजाय भाेग्नु समेत परेकाे हुन्छ । त्यसकाे उदाहरण हुन भर्खरै साउदी जेलबाट छुटेर फर्किएका १० जना नेपाली । जेल सजाए भोगेका ती १० जनालाई नेपाल सरकारले अघिल्लो साता फिर्ता ल्याएको थियो । जेल छुटेर नेपाल आएपछि उनीहरुले प्रधानमन्त्रीसँग भेटेर जीवनरक्षाको राहत मागेका थिए । उनीहरु १० मध्ये नेपाल आजले वीरबहादुर बुढाथोकीसँग गरेको कुराकानीको सम्पादित अंश– मेरो नाम वीरबहादुर बुढाथोकी हो । घर ओखलढुंगामा पर्छ । म सन् २००७ मा साउदी गएको थिए । घरमा धेरै ऋण थियो । आम्दानीको श्रोत थिएन । बुबाअामा दुबै जना बिरामी भएकाले उपचार गर्ने खर्चसमेत थिएन । विवाहित भएकाले जिम्मेवारी पनि थपिएको थियो । विदेश नगई नेपालमा बसेर परिवार पाल्ने बिकल्प नै थिएन् । बुबाअामाको उपचार गर्छु, घरपरिवारलाई सुख दिन्छु, भएको सबै ऋण तिर्छु भनेर मैले विदेश जाने निर्णय लिएँ । विदेश जानको लागि सयकडा ३ मा ऋण लिएँ ।


सुरुको ५ महिना काम नै पाइएन् हामी यहाँबाट जादाँ १५० जना गएका थियौँ । साउदी पुग्दा सुरुको ५ महिना बिचल्ली परियो । कम्पनीले काम दिएन् । जंगलको झाडीमा टहरो बनाएर ५ महिना राख्यो । ५ महिनासम्म जम्मा दिनको ४ वटा रोटी दिन्थ्यो । एक एक वटा गरेर एक डाडु तरकारीसँग दिनमा ४ चोटी रोटी दिन्थ्यो । उनीहरुले दिने तरकारी भैसीको खोलेभन्दा पनि नमिठो र फोहोर हुन्थ्यो । बाँच्नको लागि त्योपनि खानुपथ्र्यो । ५ महिनापछि बल्लतल्ल काम दियो । तर,सुपर मार्केटमा भनेर लगेको बिल्डिङ बनाउने ठाउँमा काम दियो । त्यो काम गर्ने ठाउँ एकदम डरलाग्दो थियो । यहाँबाट ७ सय प्लस र २ सय तलब आउछ भनेको त्यहाँ त मात्र ३ सय दियो । त्यसैमा हामीले खानेबस्ने गर्नुपथ्र्यो । ड्युटी १० घण्टा भन्दा बढी गर्नुपथ्र्यो । त्यती थोरै तलबमा तेत्रो धेरै काम गर्दा घरको ऋण तिर्ने अवस्था थिएन । किन यस्तो काम लगाइस् भनेर हामीलाई पठाउने म्यानपावरलाई फोन गर्दा उसले केही जवाफ दिदैनथियो । नेपालमा फोन गरेको थाहा पाएर त्यहाँ काम लगाउने कम्पनीले अब नेपाल फोन गरिस् भने मारिदिन्छु धम्क्याे पनि । हामीले केही भाषा नबुझ्ने भएकाले जे भने पनि मान्नुपथ्र्यो । काम गर्दा पनि मरिने भन्ने डर थियो ।


घर फर्कन्छु भन्दा मारिदिन्छु भन्थ्यो त्यहाँ काम गर्दा घर फर्कने चान्स भएन । घर जान खोज्यो कि मारिदिन्छु भन्थ्यो । पैसा पनि खादै ठीक हुने । त्यो ठाउँमा काम गरेको एक महिनापछि हिम्मत गरेर भाग्न सफल भएँ । भागेपछि बल्लतल्लत अर्को कम्पनीमा काम पाए । यहाँ मासिक १५ सय तलब हुन्थ्यो । त्यो कम्पनीमा ८ महिना काम गरेँ। कमाई अलीअली भयो । विदेश अब जादिन जे गर्छु नेपालमै गर्छु भनेर घर फर्कने निधो गरेँ । पहिलाको कामबाट भागेको हुनाले घर फर्कन सजिलो थिएन् । घर फर्कनको लागि दलाललाई ४५ सय साउदी रियल बुझाएँ । उसले जसरी पनि घर फर्काइदिने विश्वास दिलाएकाे थियाे । तर, ४५ सय लिएर दलाल भाग्यो त्यतिबेलासम्म मैलै घर पैसा पठाएको थिइन । मसँग भएको सबै पैसा दलालले खाएर भाग्यो । म फेरि रित्तो भए । घर फर्कने चान्स भएन् । त्यसपछि फेरि अर्को कम्पनीमा बिल्डिङ तोड्ने काम पाएँ । काम नगरी सुख थिएन् । नत बाच्ने आधार थियो, नत घरमा पैसा पठाउन सकेको थिएँ । काम गर्न थालेको १५ दिन नपुग्दै प्रहरी आएर पक्राउ गरेर लग्यो । किन पक्राउ ग¥यो भन्ने मलाई केही थाहा थिएन् ।


यातनाले पलपल मरेर बाँच्यौ पछि थाहा भयो धेरै नेपालीहरुलाई पक्राउ गरेको रै'छ । तर, पक्राउ पर्ने कसैलाई पनि किन पक्राउ गरेको भने कारण थाहा थिएन् । हामीले भाषाको कारणले गर्दा पनि दुःख पायौँ । भाषा जानेको भए त्यत्रो यातना दिदैनथियो कि ! त्यसपछि धेरै नै यातना दियो । पाइपले पिट्यो । करेन्ट लगाएर यातना दियो । पानी, कोल्ड ड्रिङ्क्सहरू खुवाउँदै पिट्यो । कुट्दा कुट्दै बेहोस हुन्थेँ । होसमा आउन नपाई पिट्न सुरु गथ्र्यो । पानी छ्याप्दै कुट्थ्यो । टाउको तल र खुट्टा माथी पारेर कुट्थ्यो । त्यो बेला कुटेको सम्झिँदा अहिले पनि डर लाग्छ । अहिले जीउ राम्रो चल्दैन । शरीर पूरै बिग्रिएको छ । ज्यान धेरै कमजोर भइसकेको छ । लगातार ३ महिना कुट्यो । त्यसपछि सेन्टर जेल लगेर हाल्यो । जेल पुगेपछि कुटाई कम भयाे, तर यातना धेरै । त्यहा अरु नेपाली साथीहरुको हाल पनि उस्तै थियाे । नेपाली देखेर मनमा आशा बढ्न थाल्यो । तर, सबै साथीहरुलाइै छुट्टै ब्लकमा राखेको थियो । त्यसले गर्दा मानसिक यातना झनै बढेर गयो । त्यहाँ मान्छेहरु काट्दा रहेछन् । प्रत्येक दिनजसो कैदीहरुलाई काट्दो रहेछ । त्यो जेलमा भएका धेरै कैदीहरुलार्इ दसैँको बोका काटेको जस्तो दिनहुँ काट्दा रहेछ । सँगै रहेको साथी विहान ब्युझिदा हुदैनथियो । कुन साथीलाई कतिखेर लगेर काट्छ पत्तै नपाइने । दिनहुँ हामी त्रासमा नै बाच्नु पथ्र्यो । बोल्नेसम्म गर्न नपाइने ।


हिन्दू धर्म परिवर्तन गर भन्दै कुट्थे हामीलाइ जहिल्यै पनि पिट्दा धर्म परिवर्तन गर भन्दै पिट्थ्यो । हिन्दुहरु सबैलाई सिध्याइदिन्छौँ । अब कोही हिन्दू यहाँबाट बाँचेर जादैन भन्थे। हिन्दू जति सबैको टुक्रा टुक्रा पारेर मासु बनाउछौँ भनेर डर देखाउँथे । उनीहरुले हिन्दू धर्मको कारणले गर्दा पनि धेरै यातना दिए । उनीहरुले हिन्दूहरुलाई देखिसहदैनन् थिए । एक जना कैदीलाई लिन करिब २ सयको संख्यामा पुलिसहरू आउँथे । कति साथीहरु काटिए यकिन छैन । हामी ८ बजेपछि थोरै ढुक्क हुन्थ्यौ, आजको दिन त बाँच्न सफल भइयो । भोली के हुन्छ ठेगान हुदैन थियो । प्रत्येक दिन, प्रत्येक पल यसरी नै दोहोरिन्थ्यो । हाम्रो त्रास कहिल्लै कम भएन । जेलको खाना रोटी र एक डाडु तरकारी हुन्थ्यो, त्यो पनि फोहोर । हामी चार पर्खालभित्र थुनिएका थियौँ । प्रत्येक दिनको यातनाले बाँच्ने आश थिएन् । जेल परेको सात वर्षसम्म घाम त के आकाशसम्म देख्न पाइएन् । सात वर्षको समय एक युग बितेजस्तो भयो । विरामी बुवाआमाको तस्विर झलझली आँखामा आउँथ्यो । घरपरिवार देशको यादले छाती भक्कानो पथ्र्यो । गरिब देशमा जन्मिएर अर्काको देशमा अनाहकमा सजाइ भोग्नुपर्दा देशको नेताहरुलाई धिक्काथ्र्यौँ । यस्तो अवस्थामा पनि हामीलाई भेट्न कोही आएन् ।


दूतावासको कर्मचारीहरु मोज गर्न जाने रहेछन् हामी जेल पर्नुको कारण भारतीय नागरिकको हत्या गरिएको भनिएको थियो । त्यो को थियो, कहाँको थियो, त्यसको हत्या कहिले र कहाँ भएको थियो, मलाई त्यसको केही जानकारी थिएन् । अनाहकमा मलाई जेलमा थुनेको थियो । हामी त्यसरी अनाहकमा जेल पर्दा दूतावासको कर्मचारीलाई फोन धेरै ग¥यौँ । नेपाली दूतावासका कर्मचारी हाम्रो बारेमा थाहा पाए पनि केही नगरी फर्कन्थे । भोली तिमीहरूको सुनुवाइ हुँदैछ भनेर हामीलाई राति ८ बजेतिर खबर गरिन्थ्यो । दूतावासमा खबर गर्दा दूतावासका कर्मचारीले उल्टै गाली गर्थे । हामीले दूतावसको कर्मचारीर्ला धेरै पटक फोन ग¥यौ । उनीहरुसँग धुरुधुरु रोयौँ । उनीहरुले हाम्रो पनि जीवन छ, राति फोन गरेर डिस्र्टब नगर भन्दै फोन काट्थे । उनीहरुसँग मानवता भन्ने थिएन् । दूतावासको कर्मचारीहरु हरिश्चन्द्र घिमिरे, मानबहादुर थापा र एकजना अन्सारी थिए । उनीहरुले हामीलाई जति फोन गर्दा पनि गाली मात्रै गरिरहे । विदेशमा काम गर्ने कामदारलाई गाह्राे-साह्राे पर्दा सहयोगको लागि दूतावास हुन्छ भन्ने सुनेको थिए । त्यो हैन रहेछ, दूतावासको कर्मचारीहरु नेपाली युवाले रगत पसिना गाएर आएको रेमिट्यान्सको पैसाले मोज गर्न त्यहाँ बस्दा रहेछन् । हामीहरुले उनीहरुलाई आफ्नो आभिभावक जस्तै ठान्यौ, तर उनीहरु कहिल्यै हाम्राे पीडा बुझेनन् ।


घर भत्केको छ, श्रीमती अर्कैसँग हिडिछन् जसोतसो जेलबाट उम्केर आइयो । आफूलाई पनि सञ्चो छैन । घरमा बुवाआमा अत्यन्त बिरामी हुनुहुन्छ । भूकम्पले घर घत्केको रहेछ । विदेस जादा र अन्य ऋणको सयकडा ३ को ब्याज तिर्न नसक्ने भैसकेको रहेछ । यत्रो वर्षमा एक रुपैया कमाउन सकिएन । बिहे गरेको श्रीमती जेल परेको १४ महिनामा नै हिडिछन् । उनी हिड्नुमा मलाई केही गुनासो छैन् । किनकि, म बाँचेर फर्केर आउने आश नै थिएन् । अहिले घर पूरै भाताभुगं छ । ऋणमाथि ऋण छ, आम्दानीको श्रोत केही छैन । बस्नको लागि घरपनि छैन । बिदेश गएर अनाहकमा दुःख पाइयो । म त भन्छु अब नेपाली संसारको कुनै पनि देश जानु नपररोस् । नेपाल जस्तो मानवता भएको देश संसारमा अरु कुनै देश छैन । बिदेश गएपछि नेपालीहरुकै मानवता हराउदो रहेछ । जीवनरक्षको लागि हामीलाई सरकारले केही गरिदिनुपर्छ । अब हामीसँग सरकारको बाहेक कसैको आश छैन । आफैँले कही गर्ने अवस्था छैन । मिडियाको साथीहरु र अन्य सस्थाको व्याक्तित्वहरुले सहयोग गरे हामीले केही राहत पाउनेथियौ की !


यी हुन् उनीसँग साउदी जेलबाट छुटेका दश जना १. श्रीकुमार राई, भोजपुर २. भीमप्रसाद चिमोरिया, मोरङ ३. कृष्णबहादुर दमाई, नवलपरासी ४. भक्तबहादुर दर्जी, रूपन्देही ५. सोमबहादुर तामाङ, रसुवा ६. वीरबहादुर बुढाथोकी, ओखलढुङ्गा ७. दीपेन्द्र शर्मा, झापा ८. रामबहादुर तामाङ, नुवाकोट ९. केशरबहादुर नेपाली, तनहुँ १०. चन्द्रबहादुर गुरुङ, सुनसरी


साउदी जेलबाट छुटेका ओखलढुङ्गाका वीरबहादुर बुढाथोकीसँग नेपालअाजका लागि सागर बुढाथोकीले गरेकाे कुराकानी

bir bahadur budhathoki nepali kamdaar saudi arab jail