समाचार

जनकपुरको विकासका लागि सत्याग्रह

जनकपुरको विकासका लागि सत्याग्रह
माघ–२२ । आधुनिक जनकपुर निर्माण सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य कलामुद्दिन राईले शनिबार तेस्रो दिन पनि जनक चोकमा सत्याग्रह जारी राखेका छन् । यसअघि सोही विषयमा धनुषा र महोत्तरीबाट ‘जनताको साझा सवालमा एकता गरौँ, विकास र आर्थिक समृद्धिसहितको आधुनिक जनकपुरको निर्माण गरौँ’ भन्ने नारा लेखिएको कपडामा एक लाख हस्ताक्षर सङ्कलन गरी जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य गरिए पनि कुनै पहल नभएका कारण आमरण अनशन गरिएको जनाइएको छ । जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकरण, मठमन्दिरका जग्गाको समुचित व्यवस्थापनलगायत सातसूत्रीय माग पनि अघि सारिएको छ । आधुनिक जनकपुर निर्माणका लागि परिषद्का अध्यक्ष शर्माको संयोजकत्वमा विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, युवा सङ्घर्ष समिति, नागरिक समाज, राष्ट्रिय मुस्लिम गठबन्धनलगायत धार्मिक तथा सामाजिक सङ्घसंस्थासमेत रहेको १०१ सदस्यीय आधुनिक विकास निर्माण समिति पनि गठन गरिएको छ । रासस

जनकपुर विकास सत्याग्रह