प्रविधि

टेलिकमको अर्को धमाकाः प्रिपेड मोबाइलमा पनि फोरजी चल्ने

टेलिकमको अर्को धमाकाः प्रिपेड मोबाइलमा पनि फोरजी चल्ने

माघ २१ । नेपाल टेलिकमले प्रिपेड मोवाइलमा पनि फोर जी सेवा दिने तयारी गरेको छ । यो सेवा भोलि शनिबारदेखि लागू हुनेछ । काठमाडौं र पोखराका पोस्टपेड प्रयोगकर्ताकालागि मात्रै केही समय अघि नेपाल टेलिकमले यस्तो सुविधा दिएको थियो । अहिले भने प्रिपेड ग्राहकहरुकालागि पनि सेवा शुरु गर्न लागेको छ ।

गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर–जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।

‘भोलिबाटै फोर–जी सेवा पिप्रेड मोबाइलमा पनि विस्तार गर्ने अन्तिम तयारीमा छौं’ टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले भनिन्, ‘यसपछि हामी अन्य जिल्लामा यो सेवा विस्तार गर्न केन्द्रित हुनेछौं ।’ यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको टेलिकमले जनाएको छ । टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर–जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो। पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर–जी नेटवर्क उपलब्ध छ ।