राजनीति भिडियो

मैले के बिराएँ: देउवाले एमाले बनाए, जनताले घोडा चढाए ! (भिडियो सहित)

मन्जु मिश्र

मैले के बिराएँ: देउवाले एमाले बनाए, जनताले घोडा चढाए ! (भिडियो सहित)

नवराज सिलवाल प्रतिनिधी सभाका लागि ललितपुर निर्वाचन क्षेत्र न. १ बाट नवनिर्वाचित सांसद हुन् । उनको परिचय यतिले मात्र पूरा हुँदैन उनी नेपाल प्रहरीका पूर्व डिआइजी पनि हुन् । लामो समयसम्म प्रहरी संगठनमा राष्ट्रसेवकको रुपमा काम गरेका सिलवाल विशेष गरी प्रहरीको आइजी बन्ने समयमा विवादमा तानिएका थिए ।

उनले आइजीपी बन्नका लागि कार्यसम्पादन मूल्यांकन ‘कासमू’को कागज किर्ते गरेको भनेर आरोप लगाइयो । यसैबीच उनले प्रहरीबाट राजीनामा दिए र नेकपा एमालेमा प्रवेश गरे । पार्टी प्रवेश गरेसँगै उनले सांसदको टिकट पनि पाए । प्रत्यक्ष निर्वाचित साँसद भएपछि राजनीतिमा लागेको एकाध हप्ता मै सिलवाल नेता दरिएका छन् ।

निर्वाचन जितेको खुशी साट्न नपाउँदै सिलवालमाथि अदालतले कीर्ते कसुरको सन्दर्भमा प्रश्न उठाएको छ, र छानबिन गरी कारवाहीका लागि सरकारका नाममा आदेश जारी गरेको छ । बिजय र बिबादका कारण चर्चामा रहेका सिलवाल अब मन्त्री हुन्छन् वा गिरफ्तारीमा पर्छन् ? अड्कलबाजी चल्न थालेको छ । चर्चाको केन्द्रमा रहेका सिलवालसँग यी र यस्तै प्रश्नसहित गरिएको कुराकानीको सम्पादित अंश ।

प्रहरीदेखि जनप्रतिनिधी हुँदाको क्षणसम्म

मैले लामो समय प्रहरी संगठनमा बिताएँ । त्यहाँ हुँदापनि म जनताको सेवामा थिएँ । अब पनि जनताको सेवामा हुनेछु । म सधै‌ जनताको नजिक जान चाहने मान्छे हु, फरक के हो भने अहिलेको भूमिका झन धेरै नौलो हुनेछ । म अत्यन्त उत्साहित छु । ललितपुरका जनताप्रति म कृतज्ञ पनि छु ।

जीवनमा तीतो अनुभब एकैचोटी आयो: आइजिपी नभएकोमा धन्य छु ।

हुनत लामो समय भयो सार्वजनिक जीवन ब्यथित गरेको तैपनि पछिल्लो एक वर्ष भने मेरो जीवनमा चूनौतिको पहाड नै बनेर आयो । हरेक चूनौतीहरुको सामना गरिरहेको छु । विशेषगरी प्रधानमन्त्री शेरबहादुर देउवाको पूर्वाग्रही भाव, पूरै राज्यको शक्ति मेराविरुद्ध प्रयोग गरिरहनु भएको छ, त्यसले गर्दा उतारचढाब निकै आए ।

एकजना व्यक्तिविरुद्ध खनिएको खनिएइ गरेको देख्दा चाहीँ अचम्म लागेर आउँछ । उहाँ प्रधानमन्त्री हुनुहुन्छ, नेपाली कांग्रेसको पार्टी सभापति पनि हुनुहुन्छ, म बाहेक अन्य थुप्रै विषयहरु छन्, जुन कुरामा उहाँको ध्यान जानु पथ्र्यो तर बिडम्बना उहाँका सबै संयन्त्रहरु म माथि परिचालित छन् ।

एक किसिमले मलाई आइजिपी बन्न नसकेकोमा गुनासो पनि छैन । त्यो भन्दापनि बढी जिम्मेवारीहरु जनप्रतिनिधीको हैषियतले पूरा गर्नु पर्ने छ । बरु ती सम्पूर्णलाई एकप्रकारले धन्यवाद जसले मलाई आइजिपी हुन दिनुभएन । तपाईहरुले नदिनाले आज म जनताको नेता बनेको छु । यतिसम्मकी देउवाले प्रहरीको प्रमुखलाई र गृहमन्त्रीलाई प्रत्यक्ष रुपमा सिलवाललाई फसाउन निर्देशन दिएका छन् । हु‌ँदा–हुँदा प्रहरीले सिलवाललाई पक्राउ गर्यो, सिलवाल फरार भयो भनेर संचरकर्मीहरुले चलाएको हल्लाप्रति उदेक लागेर आएको छ ।

यतिसम्म कि सिनेमा बनाउने साथीहरुले तपाईको जीवनमा आधारित फिल्म बनाउनु पर्यो भनेका छन् । सोच्नुस न म माथि कति षडयन्त्र भएको होला ?

किर्ते कागज कासमू काण्ड

कार्यसम्पादन मूल्यांकनको कागज अत्यन्त गोप्य कागज हो त्यो कसरी दुईओटा हुन्छ ? फोटोकपी बाहिरियो । कसरी लिक भयो ? मलाई यसको जवाफ चाहिएको छ । हिजो अदालतले नवराज सिलवालको ‘कासमू’मा नम्बर १ परेको व्यक्ति हो भनेर तोक लाएको कुरा हो । गोप्य कागज कसरी परिवर्तन गर्न सकिन्छ ? मेरा विरोधीहरु मिलेर आफैँ टाईप गरेको पनि हुनसक्छ यस बारेमा मलाई थाहा छैन । त्यो छानविनको विषय हो । अदालतले सोही कुराको छानबिन गरी दोषीलाई कारबाही गर्नु भनेर आदेश दिएको हो । सिलवालले सरकारी कागज किर्तेगरी पद लिने दुस्साहस गर्यो भनेर फैसला गरेको भने होईन ।

यति धेरै प्रतिशोध एकजना मान्छेसँग ? आठ महिना अघि म नितान्त एक्लै थिएँ, आज सिंगो पार्टी छ मसँग । जनताको सहानुभूति छ । यसमा म विश्वस्त छु । जुन किसिमले प्रहरीले ममाथि रबैया देखाइ रहेको छ । दुःख लागेको छ । तर, अदालतको निर्णयमा मलाई चित्त बुझेको छैन तर पनि म बिधिको शासन र सर्वोच्च अदालतको सर्वोच्चताको सम्मान गर्छु ।

घोडचढी गर्दा बादशाहको ट्याग

निर्वाचन जितेपछि साथीहरुले हाम्रो क्षेत्रमा घोडचढीको प्रबद्र्धन गर्नु पर्छ भन्नुभयो । पर्यटकीय क्षेत्रको पनि प्रबद्र्धन गर्नु पर्छ भनेर विजयी भएपछि जनता लाई धन्यबाद दिन जाँदा साथीहरुको आग्रहमा घोडा चढेको हुँ । त्यसपछि त के के हो के के ! ‘हिजो भोट माग्दा चाहीँ धान काट्ने जितेपछि घोडा चढ्ने’ भनेर हल्ला गरियो । बास्तवमा म घोडचढी संघको उपाध्यक्ष पनि हुँ यस कार्यमा म दक्ष पनि छु । मैले ढुंगेधाराको पानी खाँदा पनि विपक्षीको धाराको पानी खायो भनेर प्रचार गरिएको छ । यो कस्तो संस्कारमा अगाडि बढिरहेका छौँ हामी ?

गृहमन्त्री भएपछि प्रतिसोध राख्दिन्

भोलि के हुन्छ भन्ने थाहा छैन्, गृहमन्त्री भएपछि म सुशासन र नियमिततामा ध्यान दिन्छु । ममा कुनै प्रतिशोध हुने छैन । सच्चा कानुनको पालना गर्ने छु । विशेषगरी भ्रष्टाचारको बिरुद्धमा मेरो कामहरु हुनेछ । तपाईहरुले तीन महिनामा परिवर्तन देख्नु हुन्छ ।

मलाई सरकारको, पदको लोभ छैन, जहाँबाट पनि जनताको सेवा गर्ने हो । म मन्त्री नभए पनि म एमालेको एक सिपाही र जनप्रतिनिधीको हैषियतले काम भने गरिरहन्छु ।

प्रचण्डले मलाई आइजिपी बनाउन खोज्नु भएको थियो

नेपाली कांग्रेस र त्यसका सभापति मात्र लागेका हुन् मेराविरुद्ध । तर माओवादी र प्रचण्डले ममाथि अन्याय भयो भनेर छलफल गर्नु भएको हो । उहाँले म आइजिपी भएको हेर्न चाहनु भएको हो । धेरैपटक देउवालाई मनाउने कोसिस गर्नुभो तर नवराज सिलवाल प्रहरी प्रमुख बनाउने हो भने सरकार ढालिदिने धम्की आयो प्रचण्डलाइर्, त्यसैले बाध्यता भयो उहाँलाई मलाई आईजिपी नबनाउन । एउटा प्रहरीको कारणले सरकारनै ढल्न त दिनु भएन भनेर उहाँ मौन बस्नु भएको हो ।

एमालेसँग निकटता

म पहिले देखिनै कम्युनिष्ट विचार वा एजेण्डा भएको मान्छे होइन । म एमालेमा कहिले पनि थिइँन । म शेरबहादुर देउवाको षडयन्त्रबिरुद्ध एक्लै लडेको बेलामा एमालेका अध्यक्ष केपी ओलीले साहारा दिनु भयो । म एक्लै लड्दै थिए एमालेको साथ पाएपछि मैले एमालेलाई विश्वास गर्ने अवसर पाएँ । प्रहरीमा राजीनामा दिएपछि पनि मलाई जनताको सेवा गर्न पुगेको थिएन त्यसकारण एमालेमा गएँ । पदको कुनै मुजाहिल्ला गरेको होइन । मेरो लोकप्रियता थियो, एउटै व्यक्ति माथि पटक पटक अत्याचार गरेको सोभो मान्छे भनेर जनताले पनि स्वीकारे । त्यसका लागि म एमालेसँग कृतज्ञ छु । उहाँहरुले मलाई जनता माझ जाने मौका दिनु भयो । इमानदारीतापूर्वक भन्छु, मैले जनताको विश्वासलाई ठेस पुर्याएको छैन

म अनुशासित र कर्तब्यनिष्ठ ब्यक्ति हुँ । मैले निर्वाचनको बेलामा बोलेको कुरा, प्रतिबद्धतापत्रलाई पूरा गर्ने शाहस पनि राख्छु र पूरा पनि हुने छन् । जनतासँग मेरो विनम्र अनुरोध के छ भने, मलाई फेरि फसाइँदैछ । म ईश्वरको नाममा भन्छु मैले कुनैपनि खाले कागजात किर्ते गर्न त के सोच्न पनि पाप ठान्छु । मविरुद्ध राज्यले सबै संयन्त्र प्रयोग गरिरहेको छ, मलाई जनप्रतिनिधि भएर संसदमा आएको हेर्न नसक्नेहरु नै मेरा विरुद्ध खनिएका छन् । त्यसमा मेरा पूर्वसहकर्मीहरु पनि छन् । बिशेष गरी प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ उत्रनु भएको छ । एक ब्यक्तिको विरुद्ध दलबल प्रयोग गरिरहनु भएको छ । तर म कुनै अपराधी होइन । दोषी को हो भन्ने बिषयमा एउटा स्वतन्त्र समिति बनोस भन्ने चाहना छ जसले न्याय दिलाउन सकोस । म बिधिको शासन, कानुन र न्यायपालिकाको सम्मान गर्छु । यस मामलामा म  निर्दाेश छु ।