पर्यटन

विश्व सम्पदा क्षेत्रमा विद्युतीय सवारी चलाउने योजना कागजमै सिमित

विश्व सम्पदा क्षेत्रमा विद्युतीय सवारी चलाउने योजना कागजमै सिमित

माघ–१५ । विश्वसम्पदा सूचीमा परेका केही स्थान र ठमेलमा विद्युतीय सवारीसाधन चलाउने योजना पाँच वर्षदेखि अलपत्र परेको छ । पार्किङ अभाव र साँघुरा सडकका कारण यो योजनाले पूर्ण रुप पाउन नसकेको हो ।

काठमाडौँ महानगरपालिकाले न्युरोड, वसन्तपुर, असन, इन्द्रचोक हुँदै ठमेलसम्म विद्युतीय सवारीसाधन सञ्चालन गर्ने योजना २०६९ मै अगाडि सारेको थियो । तत्कालीन समयमा पाँच महिना लगाएर सम्भाव्यता अध्ययनसमेत गरेको महानगरपालिकाले अहिले पनि पुरानै समस्या देखाउँदै योजना अगाडि बढाएको छैन । निजीबाहेक सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएर पर्यटकका लागि विद्युतीय गाडी सञ्चालनमा ल्याउन सके पर्यटकीय क्षेत्र ठमेल थप व्यवस्थित हुने अपेक्षा महानगरपालिकाको थियो ।

ठमेल पर्यटन विकास परिषद्का पूर्वसदस्य भवी शर्माले ठमेलमा विद्युतीय गाडी सञ्चालनका लागि सम्भावित प्रतिवेदन बनाएर डेढ वर्षअगाडि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीलाई बुझाए पनि कार्यान्वयनमा ढिलाइ भएको बताए । सातामा एक दिन ठमेललाई ‘फ्रि सवारी जोन’ बनाउने, पैसा तिर्न नपर्नेगरी विदेशी पर्यटकका लागि ठमेलदेखि दरबारमार्ग र लाजिम्पाटसम्म विद्युतीय सवारीसाधन चलाउने योजनासहीतको प्रतिवेदन शर्माले बुझाएका थिए । तर त्यो प्रतिवेदन अहिले कार्यान्वयन पक्षमा गएर थन्किएको छ । –अन्नपूर्ण दैनिकबाट