पर्यटन

पाटन दरबार क्षेत्रमा होमस्टे सञ्चालन सम्भव

पाटन दरबार क्षेत्रमा होमस्टे सञ्चालन सम्भव
माघ–१० । पाटन दरबार स्क्वायर क्षेत्र वरपरका पौराणिक एवम् ऐतिहासिक घरमा स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘होमस्टे’ पर्यटन विकास गर्न सकिने देखिएको छ । ललितपुर उद्योग वाणिज्य सङ्ले आयोजना गरेको ‘ललितपुरमा होमस्टे पर्यटन विकास गोष्ठी’ मा सहभागी वक्ताहरुले यस क्षेत्रमा होमस्टे पर्यटन विकास गर्न सके पुरातात्विक सम्पदाको अवलोकन गराउन सकिने जनाए । पर्यटनविद् डा सुरेन्द्रभक्त प्रधानाङ्गले होमस्टेबाट ललितपुरको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने पर्यटकको बसाइ लम्ब्याउन सकिने र ऐतिहासिक, सांस्कृतिक, कला, कौशल, जीवनशैली तथा स्थानीय वेशभूषाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गराउन सकिने र यसका लागि तीन दिनको कार्यक्रम दिन सकिने बताए । आयोजक सङ्घका अध्यक्ष सबिन श्रेष्ठले ललितपुर सहरमा होमस्टे सञ्चालन गर्न आवश्यक रहेको औँल्याए । ललितपुर नगरपालिकाका कार्यकरिणी अधिकृत भरतमणि पाण्डेले होमस्टेको महत्वबारे चर्चा गरेको सो गोष्ठीमा ४२ वटा टोल सुधार समितिका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । रासस

पाटन दरबार होमस्टे