कला साहित्य

चौध मन्त्री गिरफ्तार गरी बिहानै सिंहदरबार कब्जा ! रामप्रसाद राईको यस्तो बहादुरी

चौध मन्त्री गिरफ्तार गरी बिहानै सिंहदरबार कब्जा ! रामप्रसाद राईको यस्तो बहादुरी

 


सिंहदरबार कब्जा गर्नुभन्दा पहिले लप्टन रामप्रसाद राई, मेजर नारायणसिंह, अग्निप्रसाद खरेल, चन्द्रकर शाक्यलगायतबीच गोप्य छलफल र योजना बनेको गियो ।  

उनीहरुले सिंहदरबार कब्जा गर्ने योजना निर्माण गर्दा ‘रगतले सहीछाप गरेका थिए । तर, सिंहदरबार बिद्रोहपछि पक्राउ पर्ने डरले माटोमुनि गाडेर लुकाउँदा नष्ट हुन पुग्यो । रामप्रसाद राईका केही सहयोगीले माघ ११ गते शुक्रबार सिंहदरबार कब्जा गर्ने सुझाव दिएका थिए । किनभने, शनिबारको दिन सरकारी सेना विदामा हुने भएकोले विद्रोहलाई नोक्सान हुँदैन भन्ने तर्क थियो ।

पुष्पकर शाक्य अहिले पनि चुकचुकाउँदै भन्छन्, ‘हाम्रो बुबा र म रामप्रसादलाई भेट्न जेलमा गएका थियौँ । माघ ८ गते राति ११ बजे बिजुली निभेपछि सिंहदरबार कब्जा गर्ने भनेर हाम्रो बुबालाई भन्नुभयो । ‘मैनबत्ती तयार गरिराख्नु’ भन्नुभएको थियो । हाम्रो बुबाले माघ ८ गते सिंहदरबार कब्जा गर्नु हुँदैन भनेर सल्लाह दिनुभएको थियो । वहाँले मंगलबार विहान टुँडीखेलमा सेनाको कवाज हुन्छ, सेनाहरु जम्मा हुन्छ त्यसैले अप्ठेरो हुन्छ, शनिबार बिहान भए कवाज खेल्दैन, मान्छेहरु पनि घरमै हुन्छ त्यसदिन कब्जा ग¥यो भने राम्रो हुन्छ भन्नुभएको थियो ।

अग्निप्रसाद खरेलले मंगलबार साइत छ भनेर मंगलबार नै कब्जा गरेको हो । शुक्रबार राती कब्जा गरेको भए रामप्रसाद राईहरु सफल हुन्थे । उनीहरुको राज चल्थ्यो ।” गृहमन्त्रालयको स्पष्टीकरणलाई आधार मान्ने हो भने शनिबार अर्थात शुक्रबार बेलुका नै सिंहदरबार कब्जा गर्ने तयारी थियो । किनभने, माघ ८ गते मंगलबार २ बजे रक्षादलका जवानहरुबाट हतियार लिई अफिसरहरुलाई जिम्मा दिने आदेश दिइएकोले शनिबारको सट्टा मंगलबार सारिएको थियो । हतियार खोसिएपछि विद्रोह गर्नुको अर्थ नहुने ठानी मंगलबारकै दिन सिंहदरबार विद्रोह भएको हुन सक्छ अथवा हतियार खोस्ने आदेश र कब्जा गर्ने ‘साइत’ संयोग मात्र पनि हुन सक्छ । भू.पू. एस.पी. कर्मकुमार राई लेख्छन्, ‘सिंहदरबारभित्रकै मुक्तिसेनाहरुलाई आफ्नो समर्थनमा जुटाएर २००८ साल माघ महिनामा विद्रोह गर्ने योजना थियो ।

यो कुरा थाहा पाएर कतिपय आफ्नै मुक्तिसेनाभित्रका अवसरवादी साथीहरुले रामप्रसाद राईलाई क्रान्तिबाट भड्काएर तथाकथित शान्तिको बाटो लिने र राजनीतिक तवरले नै समाधान गर्ने सल्लाह दिए । तर यस कुरामा पूर्णतः असहमति जनाउँदै अधुरो रहेको क्रान्तिलाई जनताको खातिर पूर्ण गरेरै छाड्ने दृढ निश्चय देखाउनुभयो ।’ सरकारप्रति रक्षा दलको असन्तुष्टि चुलिँदै थियो । यही बेलामा रामप्रसाद राईलाई गिरफ्तार गरेर सेन्ट्रल जेलमा राखियो । राणा शासन ढाल्न पूर्व २, ३, ४ नम्बर र धनकुटा जिल्लामा सैन्य नेतृत्व गरेका आफ्ना कमान्डरलाई पुरस्कृत गर्नुको सट्टा उल्टै गिरफ्तार गरिएपछि रक्षा दलका रुपमा चिनिने जनमुक्ति सेनाहरु चरम असन्तुष्ट हुन पुगे र आफ्नो भविष्यमाथि अध्यारो बादल मडारिएको देखे ।

उनीहरुले रामप्रसाद राईलाई मृत्युदण्ड दिइने हल्लापनि सुने जुन कुरा उनीहरु कदापि देख्न र हुन दिन चाहँदैनथे । गिरफ्तार गरेर भद्रगोल जेलमा राखेको भोलिपल्टदेखि नै मुक्तिसेनाहरुले रामप्रसाद राईको टेबहालस्थित डेरामा हतियार गोलीगठ्ठाहरु ल्याएर राखे । अधिकतम हयिार ल्याए । त्यही हतियार प्रयोग गर्दै मुक्तिसेनाको एउटा समूहले रामप्रसादलाई सेन्ट्रल जेलबाट मुक्त ग¥यो । जनमुक्ति सेनाले रामप्रसाद राईलाई जेलमुक्त गरेर उनकै नेतृत्वमा सिंहदरबारमा बन्दी बनाइएका डा. के आई सिंहलाई छुटाइयो ।

सिंहदरबार बिद्रोहबारे जनतालाई आह्वान गर्ने हिसावले माघ ९ गते बिहानै देखि रक्षादलका बिद्रोही जवान, राष्ट्रिय महासंघका सदस्य, नेपाल कम्युनिष्ट पार्टी र किसान संघका केही सदस्य र कार्यकर्ताहरुसमेत जिपमा बसी क्रान्ति र शान्तिका लागि अपिल गरेका थिए । रक्षा दलका जवान मच्छेबहादुर राईका अनुसार त एउटा जिपबाट ‘अब नयाँ गणतन्त्र नेपाल भएको छ’ भन्दै प्रचार गरेका थिए । प्रचारका क्रममा चौधै मन्त्री गिरफ्तार गरिएकोसमेत बताइएको थियो । सिंहदरबार कब्जामा सहभागीमध्येका एक हैकमसिंह राई पनि सिंहदरबार विद्रोहपछि गरिएको प्रचारबारे यही कुरा बताउँछन् । उनका अनुसार त्यसबखत ‘पूरानो नेपाललाई नयाँ नेपाल’ बनाइयो भन्ने प्रचारप्रसार भएको थियो ।

उनकै शब्दमाः “बजारमा घोषणा गरेछन् । मलाई त थाहा पनि दिएनन् । म पर पोस्टिङमा थिएँ, नरशमशेरको दरबार श्रीमहलमा ।” घोषणा के गरेछन् भने, ‘आजदेखि नयाँ नेपाल बनाइयो । चौध मन्त्रीमण्डल गिरफ्तार । पूरानो नेपाललाई नयाँ नेपाल बनाइयो ।” यस सन्दर्भमा रामप्रसाद राईको नारायणहिटी राजदरबार घेराउ गर्नुपर्ने विचार स्मरणीय छ जुन प्रकारान्तरले गणतन्त्रको पक्षमा थियो ।

(२००७ का क्रान्ति योद्धा रामप्रसाद राईको जीबनीमा आधारित जननायक रामप्रसाद राई माझकिरातको क्रान्तिदेखि सिंहरबार विद्रोहसम्म नामक पुस्तकको अंश ।)

ram prasad rai