कभर स्टोरी

श्रीमती काठमाडौं फर्केपछि सिडिओ ‘बौलाए’, सुब्बा र बहिदारलाई थर्काउँदै रात–बिहान नागरिता बाँडे

श्रीमती काठमाडौं फर्केपछि सिडिओ ‘बौलाए’, सुब्बा र बहिदारलाई थर्काउँदै रात–बिहान नागरिता बाँडे

कर्मचारी प्रशासनमा उनलाई नचिन्ने सायदै कोही होला । राजनीतिमा चासो राख्नेहरुका लागि पनि उनी परिचित अनुहार हुन् । नेताले भन्दा बढी धाराप्रवाह बोल्ने उनी ६० पुग्न लाग्दा पनि तरुण देखिन्छन् । ‘३ करोड नेपाली मध्ये मलाई घुस दिएँ भन्ने कोही माइकालाल छ ?’ उनी खुलेयाम चुनौति दिन्छन् । अन्तरमुखी स्वभाव र कोठे काममै सीमित हुन रुचाउने कर्मचारीतन्त्रमा बर्हिमुखी स्वभावका उनी कागको बथानमा बकुल्ला जस्तो लाग्छन् । कर्मचारी प्रशासनमा बेग्लै छबी बनाएर सचिवबाट सेवा निवृत्त भएका उनी अहिले सूचना आयोगको प्रमुख छन् । उनी अर्थात कृष्णहरि बाँस्कोटा ।
बाल्यकाल र बिद्यालय धादिङको केवलपुरमा जन्मिएका बाँस्कोटाको परिवार राजसेवासँग पुख्र्यौली हिसावले जोडिएको छ । नाताले हजुरबुबा सरदार सोमप्रसाद बाँस्कोटा राणाजीको चाकडीमा भिँजेका थिए । बाँस्कोटा परिवारमा सोमप्रसादको नाम प्रतिष्ठित थियो । ठूलो मान्छे बन्न सके पुस्ता पुस्ताले सम्झदोरहेछ भन्ने कृष्णहरिलाई बाल्यकालमै छाप बस्यो । कृष्णहरि दाइ, दिदी, बहिनी र भाइ सबै भएका भाग्यमानी हुन् । अहिलेको फिटनेस हेर्दा उनी केटाकेटीमा रोगी थिए रे भन्दा विश्वास लाग्दैन । रोगकै कारण उनी ६्र/७ बर्षसम्म बिद्यालय जान पाएनन् । अन्यत्र विद्यालय कुन चरीको नाम हो भन्ने समयमा केवलपुरमा विक्रम सम्बत १९९२ मै बिद्यालय खुलेको थियो । शिक्षाको महत्व सो क्षेत्रमा पहिल्यैदेखि थियो । ‘कृष्णहरिको पढाइ ढिलो हुने भयो ?’ परिवारमा सुर्ता थियो । उनी पढ्नमा मेधावी निस्किए । बर्षैपिच्छे उनी १ कक्षा बढी फड्को मार्न थाले । बाल्यकालमा ब्यथाले च्यापेको मेधावी छोरालाई जागिरे बुबाले आफुसँगै लिएर हिड्न थाले । बुबाको जहाँ सरुवा हुन्थ्यो, कृष्णहरि त्यहीं पुग्थे । काठमाडौँ, नुवाकोट, काभ्रे, बर्दिया र चितवनमा उनले बिद्यालयस्तर पढे । एक हिसावले बिद्यालय पढ्दै गर्दा उनले देश छिचोले ।
हाजिरजवाफ, निवन्ध, कविता प्रतियोगितामा उनी सधैँ सहभागी हुन्थे । ‘कृष्णहरिपनि छ रे’ भनेपछि अरुको सातो गइहाल्थ्यो । चाहेरपनि उनी खेलमा भाग लिन पाएनन् । खेल्दा केही होला कि भनेर बुबाले हप्कीदप्की गर्ने भएकाले उनी खेलबाट बिमुख भए । पौडन उनलाई रत्तिभर आउँदैन । बागमती, त्रिशुली, बबई र नारायणीजस्ता नाम चलेका नदी छेउछाउ बाल्यकाल बिताएपनि उनी नदीसँग अपरिचितजस्तै रहे । उनलाई बाल्यकालमा पौडी नसिकेको र खेल खेल्न नपाएकोमा अहिले पनि थकथकी लाग्दछ । कृष्णहरिले एसएलसी दिँदा बुबा हरिहर भूमि सुधार कार्यालयमा सुब्बा थिए । आइए पनि उनले चितवनमै पढे । दोस्रो बर्षको परीक्षा दिएपछि उनी बुबासँगै कार्यालय जान थाले । टाइपिङ पढेका उनले स्वंयसेवी हिसावले टाइप गरिदिन थाले । केही दिनमै उनी टाइप गर्नमा उस्ताद भए । धेरैको नजर उनमा प¥यो । दलाल, कर्मचारी र लेखापढी गर्नेहरुले उनलाई काम पनि गराउने, मासु चिउरापनि खुवाउँने गर्न थाले । खसीको मासु र झोलमा चिउरा हालेर मुठीबाट रस चुहाउँदै खाएको सम्झदा उनी पानी पानी हुन्छन् । घटनालाई उनी यसरी व्याख्या गर्छन कि सुन्नेले पनि घुटुक्क नपारी धरै पाउँदैन । भूमि सुधार कार्यालयमा पाँच जना खरिदार थिए । उमेरले छिप्पिसकेका उनीहरुलाई सुब्बा हुने धोको थियो । उनीहरु प्राय लोकसेवाको परीक्षाका बारेमा कुरा गर्थे । एक दिन कुरै कुरामा उनीहरुले फर्म दर्ता गरेर आएको बताए । कृष्णहरिले परीक्षाका बारेमा बुझे । संयोगपनि कस्तो ! ठीक त्यही बेला उनको दोस्रो बर्षको परीक्षाफल पनि प्रकाशित भयो । उनी मेरिट अर्थात उत्कृष्ट अंकसहित पास भए । क्याम्पस प्रमुख देवीलाललाई जो जससँग सम्बन्धित छ भन्ने ब्योहोराको पत्र लेख्न लगाएर उनी हेटौंडा गए । परीक्षा दिनुभन्दा पहिले मार्कसिट र प्रमाणपत्र बुझाउने कबुल गरेर उनले परीक्षा फर्म भरे । म्याद गुज्रिसकेकाले उनले दोब्बर दस्तुर तिर्नु पर्यो । ‘कुन किताब पढ्नु पर्छ ?’ उनले आफुसँगै परीक्षा दिन लागेका बुबाका साथीलाई सोधे । ‘कति पटक दिँदा त नाम निस्केन । केही महिना पछि परीक्षा हुँदैछ । केक्केन नाम निकाल्ने जस्तो ।’ अंकलले च्याठिंदै भने, ‘नायब सुब्बाको गाइड पढ्ने ।’ जोशी पुस्तक पसलबाट उनले गाइड ल्याए । त्यतिबेला गाइड किन्न २८ रुपैयाँ तिर्नु चानचुन थिएन । परीक्षा दिन लागेको भन्दा खुशी भएका बुबा २८ रुपैयाँ निकाल्न पर्दा अनकनाएको कृष्णहरि अझैँ सम्झन्छन् । ‘भूमी सुधार कार्यालयमा काम गर्ने भएपनि बुबाको कमाइ त्यति नभएको त्यो घटनाले पनि पुष्टि गर्छ ।’ कृष्णहरि बुबाबारे सफाइ दिन्छन् । एक महिनामै उनले सात सय पेजको गाइड पानी पारे । दोहोराइ तेहराइ पढे । बुबाका पाँचजना साथीसहित उनी परीक्षा दिन हेटौडा गए । नीलम होटेलमा तीन तीन जना बाँडिएर दुईवटा कोठामा बसे । उनको मनले भन्थ्यो, ‘बुढाहरुको बिजोग हुनेभयो । नाम मेरै निस्किने हो ।’ त्यसमाथि परीक्षाको अघिल्लो साँझ एक जनाले अर्कै किताव पढिरहेको देखे । ‘अंकल तपाईले परीक्षा दिने होइन ?’ कृष्णहरिको प्रश्न सकिन नपाउँदै उनले प्रतिप्रश्न गरे, ‘के भनेको ? किन नदिने ?’ कृष्णहरिले फेरि प्रश्न गरे, ‘परीक्षा दिने भए नायबसुब्बाको गाइड नपढेर के पढ्या यो ?’ त्यसपछिको जवाफले कृष्णहरिलाई सिताङ्ग बनायो । ‘गाइडमात्र पढेर हुन्छ । लोकसेवाले जेपनि सोध्छ । सामान्यज्ञानका कति किताव छन् ।’ अंकलको यो उत्तर कृष्णहरिका लागि भारी पर्यो । उनी रन्थनिए । अघिसम्म बुढाहरुको बिजोग हुने कल्पना गरिरहेका कृष्णहरि हारको नजिक पुगे । ‘आ’ निस्के निस्केला, ननिस्के ननिस्केला ।’ उनले मनशान्ति गर्ने प्रयास गरे । परीक्षा गजब्बै भयो । हाजिरजवाफमा भाग लिँदाको पढाइ पनि काम लाग्यो । नतिजा आउँदा टिममा उनीमात्र पास भए । अरु जिल्लाराम !
नायबसुब्बाका रुपमा काठमाडौँ सामान्य प्रशासन मन्त्रालयमा पोष्टिङ भए । सुब्बा भइसकेपछि पनि उनको मानसपटलमा सामन्यज्ञानको कितावले तरंगित बनाएको घटना घुमिरह्यो । शंकरप्रसाद चौलागाईले लेखेको सामान्यज्ञान उनले पहिलो पटक नीलम होटेलमा देखेका थिए । अधिकृतमा पनि सामान्यज्ञान सोधिन्थ्यो । निबन्धको पनि परीक्षा हुन्थ्यो । उनले बजारमा भेटिएसम्मका सामान्यज्ञान बटुले । भारतको सामान्यज्ञानपनि झिकाए । त्यसपछि त्यहींबाट प्रश्न उत्तर झिकेर नयाँ सामान्यज्ञानको किताव बनाए र छपाए । ‘जागिरे’ भन्ने निवन्ध संग्रहपनि प्रकाशित गरे । एक्स्पोजरको महत्व उनलाई उतिबेलै रहेछ । किताबको पछाडिपट्टिको गातामा चिटिक्क परेको तस्विर छापेका थिए । प्रकाशकले उनलाई बधाइ दिए, ‘सबैले तपाईकै किताव खोज्छन् ।’ अधिकृतको पाठ्यक्रममा आधारित किताव लेख्ने कृष्णहरि आफु भने सुब्बामात्र थिए । अधिकृतको परीक्षा दिन उनी मंगलबजारस्थित कन्या बिद्यालय गए । परीक्षा शुरु हुन आधा घण्टा बाँकी थियो । सबैको हातमा कृष्णहरिको किताव थियो । उनी लाजले भुतुक्क भए । ‘लेखक नै परीक्षा दिन आएको कसैले चाल पायो भने ?’ कृष्णहरि भन्छन्, ‘एकातिर चाल पाउलान भन्ने डर, अर्कोतिर आफ्नो किताव पढेर अरु पास हुने कितावै लेख्ने म चाहीं फेल हुने त होइन भन्ने लाग्यो ।’
अधिकृतदेखि सहायक सचिवसम्म अधिकृत परीक्षा पनि कृष्णहरिले दाहोराएर दिनुपरेन । ०४१ सालमा अधिकृत पास गरेपछि उनले सामान्य प्रशासनमै पोष्टिङ हुन चाहे । सुब्बा हुँदापनि उनी अधिकृत र अधिकृतभन्दा माथिको समकक्षीकै स्थान पाउँथे । सोही कारणपनि उनलाई सामान्य प्रशासन मन परेको थियो । अधिकृत भएपछि उनी एक बर्षे कोर्ष गर्न इटाली गए । उनी सहायक सचिवको तयारीमा थिए । त्यतिबेलासम्म सहायक सचिवपछि उपसचिव हुन्थ्यो । ०४६ सालमा हुनुपर्ने सहायक सचिवको परीक्षा जनआन्दोलन र बदलिएको परिस्थितिका कारण रोकियो । ०४८ सालमा भएको परीक्षाबाट उनी सहायक सचिव भए । उनी माइती मन्त्रालयमा पोष्टिङ भए । भूमिसुधार कार्यालयमा स्वयंसेवी हुँदै जागिरे जीबनमा प्रवेश गरेका उनी भूमि सुधार मन्त्रालयमा हाकिम भए । एक बर्ष भएको थियो पोष्टिङ भएको, तक्माका लागि कर्मचारी छनौट गर्ने कुरा आयो । ०३३ सालदेखि उपसचिव भएपनि सरकारले केही नहेरेको भनि हरिमान थैव उनीसँग गुनासो गर्थे । सचिवसँग उनले थैवको नाम प्रस्ताव गरे । कृष्णहरिले हप्की खाए । अन्तिममा तक्मा कृष्णहरिले नै पाए । २०४९ साल कात्तिक २१ गते कर्मचारी ऐन पारित भयो । ऐनले सहायक सचिवको दर्जा नै हटायो । बहालवाला सहायक सचिव स्वतः उपसचिव हुने व्यवश्था गरियो । कृष्णहरि प्रतिष्प्रर्धा नगरी हुलमुलमै उपसचिव भए ।
सिडिओका रुपमा सनसनी सुब्बादेखि सहायक सचिवसम्म हुँदा कृष्णहरि कार्यकारी पदमा कहिल्यै बसेनन् । भूमिसुधार मन्त्रालयमा हुँदा नागरिक बडापत्रको प्रारुप बनाउने कामबाहेक स्मरण योग्य काम गर्ने अवसर पाएनन् । उपसचिव भएपछि उनी सिडियो भए । उनी जुम्लाको सिडियो भएको समाचार गोरखापत्रमा छापियो । जुम्ला कहिल्यै नपुगेका कृष्णहरिले जुम्लाका सिडिओसँग सबै सोधीखोजी गरे । गृहमन्त्रालय पुगेपछि उनले थाहा पाएः उनी अछामको सिडिओमा पोष्टिङ भएका रहेछन् । २०५१ सालमा उनी मुस्किलले ३५ बर्षका थिए । जिल्लाको कार्यकारी पदमा बहाल हुन जाँदैथिए । उनलाई गृहप्रशासनसम्बन्धी कुनै अनुभवपनि थिएन । जे त पर्ला भन्ने हक्की स्वभाव नै उनको साथी बन्यो । उनी अछाम हानिए । जहाज साँफेबगर ओर्लियो । केही मान्छे ओर्लेका मात्र के थिए । एउटा सिपाही गर्जियो, ‘अछामको सिडिओ भएर को आएको छ, हँ ?’ कृष्णहरिको मनमा चसक्क भयो, ‘आउँदा आउँदै केही भएछ क्यारे । पक्राउ गर्न पो आयो कि ?’ उनले जवाफ फर्काए, ‘म झर्दै छु । माथि नै छु ।’ डराइ डराइ उनी ओर्लिए । मुड्काउँला झैँ सिपाहीले हात उठायो र भन्यो ‘जय नेपाल सा’प’ । त्यसपछि बल्ल उनले सिडिओको मान बुझे । सिडिओ कार्यालय सामन्य थियो । अछामी राजाको पूरानो दरबारलाई नै सिडिओ कार्यालय बनाइएको थियो । उनीसँगै जोशी थरका सुब्बा र ऐर थरका बहिदार कार्यालयमै बस्थे । प्रहरीले उनलाई पहरा दिन्थ्यो । दैनिकी फेरियो । सिडिओ भएको केही समयपछि श्रीमती सुनिता सिलवालपनि अछाम आइन् । केही दिन बसेर फर्किइन् । त्यतिन्जेल उनले जिल्लाको अवस्था बुझिसकेका थिए । देखेभेटेकासँग उनी बोल्थे । बोलक्कड स्वभावका कृष्णहरि चाडैँ नै जिल्लावासीका माझ चिनिए । एक दिन उनी कोठामा चिया पिएर बसिरहेका थिए । कसैले ढोकाको चरबाट चिहायो । ‘को हो ?’ उनी कड्किए । हेर्ने मान्छे जोडले दौडियो । कृष्णहरिले प्रहरीलाई आदेश दिए, ‘त्यसलाई समातेर ल्याओ ।’ त्यो मान्छे कान्ला कान्ला भाग्यो । प्रहरीपनि पछि पछि लाग्यो । केहीबेरमा प्रहरीले घिच्याउँदै उसलाई सिडियोसा’बको सामुन्ने उभ्याए । ‘के हो ? किन हेरेको ? किन भागेको ?’ कृष्णहरिले एकपछि अर्को प्रश्न तेर्साए । ती मान्छेले काँप्दै जवाफ फर्काउँदै गए । जवाफ सुन्दै गएपछि कृष्णहरिको सिडियोरुपी रवाफ कम हुँदै गयो, मानवताले पगाल्दै गयो । उनी रामारोशनबाट नागरिकता बनाउन आएका रहेछन् । अघिल्लो साँझ आएर होटेलमा बसेका उनलाई बिहानै निन्द्राले छाडेछ । सिडिओ कार्यालयमा कोही छ की भनेर हेर्न आएका रहेछन् । कृष्णहरिको डाँको सुनेपछि डरले सुइकुच्चा ठोकेका रहेछन् । बेलैमा नागरिकता बने घरमै गएर खाने ईच्छा रहेछ । होटेलमा खाने पैसा रहेनछ । आछामीको पीडादायी कथा सुनेपछि कृष्णहरिले सोधे, ‘अहिले नागरिकता दिएँ भने घर कतिबेला पुग्नुहुन्छ ?’ ‘खाना खानेगरी २ बजे घर पुग्न सक्ने जनाए ।’ ती आछामीले बिन्तिभावमा जवाफ फर्काए । कृष्णहरिले बहिदार र सुब्बालाई बोलाए । ‘यीनलाई नागरिकता दिन पर्यो ।’ खाना बसालेर आएका उनीहरु कृष्णहरिको उर्दी सुनेपछि मुखामुख गर्न थाले । अड्डा नखुली सरकारी काम गर्ने चलन नभएको सुनाए । उनले ती अछामीको कष्ट कहँदै नागरिकता बनाइदिनुपर्ने जनाए । सुब्बा र बहिदार तयार भए । तर उनीहरु मध्ये बहिदार ऐरले प्रश्न उठाए, ‘दरखास्त नहाली कसरी नागरिकता दिने ? लेखापढी गर्ने कोही आएको छैन ।’ कृष्णहरिले गाँठो फुकाइदिए, ‘प्रशासन कार्यालयमा अब बाहिरका मान्छेले लेखापढी गर्दैनन् । आजै लेखेर दिन्छु । अबदेखि हेल्प डेस्कमा तपाई बस्ने । तपाईले नै लेखापढी गरिदिने ।’ बहिदारसँग अर्को विकल्प थिएन । आठ बज्दा नबज्दै ती आछामीले नागरिकता पाए । भोट माग्न गएको नेताले मतदातासँग भोट माग्दाको क्षणझैँ कृष्णहरिले उनलाई गर्लम्म अँगालो मारे । हात मिलाए र बधाइ दिए । ‘तुम्रो जय होस् ।’ एक सासमा कृष्णहरिलाई आशिष दिँदै ती आछामी बिदाइ भए । ०५१ सालमा घटना र बिचार एकदमै लोकप्रिय थियो । साँझ भएपछि जिल्लाभरिका कार्यालय प्रमुख सिडिओ कार्यालय परिसरमा जम्मा हुन्थे । घटना र विचार सिडियोसँगै बसेर सुन्थे । एक साँझ सबै उठेर गइसकेपछि पनि एक जना बसिरहे । कृष्णहरिका लागि उनी अपरिचित थिए । कुन ‘कार्यालयमा हो तपाई ?’ कृष्णहरिको प्रश्न सुन्न नपाउँदै उनले जवाफ फर्काए, ‘सिडिओ कार्यालयमा । आछामको सिडिओले जुनबेला पनि नागरिकता दिन्छ भन्ने सुनेर आ’को । सिडियो तुमी हो ?’ कृष्णहरिलाई पर्यो फर्साद । रात परिसक्यो, नागरिकता कसरी दिनु ? नदिउँ, जतिबेला पनि जनताको सेवा गर्ने छबी बिर्गेने भो । उनले बहिदार र सुब्बालाई बोलाए । ‘ अहिल्यै उहाँको नागरिकता बनाइदिनु ।’ सुत्ने तरखरमा रहेका कर्मचारी सिडिओको कुरा सुनेर अक्क न बक्क भए । ‘सिडियो फेरी बौलायो, रात बिहान नभनी नागरिकता दिन थाले । सुत्नपनि नदिने भए । सायद त्यस्तै सोचे होलान् ।’ कृष्णहरि कर्मचारीको मस्तिष्क पढेझैँ भन्छन् । ‘यति राति त कसरी दिनु ?’ कर्मचारी अनकनाए । ‘किन नमिल्ने ? हस्ताक्षर गर्ने सिडियो मै हुँ । लेख्ने कर्मचारी तपाई हुँदै हुनुहुन्छ ।’ कृष्णहरिले कर्मचारीलाई पाठ पढाउन थाले, ‘कार्यालय समयभन्दा बाहिर कि सिडिओ र कर्मचारी हुनुभएन । क्वार्टरमा बसेकै परिआए काम गर्ने भनेर हो ।’ कर्मचारीले रातिमा नागरिकता दिन मिल्दैन भनेझैँ गरी मसिनो स्वरले जवाफ फर्काए । कृष्णहरिले भने, ‘सिडिओसँगको अन्तरक्रियामा सिडिओ भनेको जिल्लाको राजा भन्ने तपाईहरु नै होइन । लौ, राजाको आदेश भयो । नागरिकता लेख्नोस् ।’ यसैगरी कृष्णहरि कर्मचारीको नजरमा पटक पटक बौलाइरहे । उता उनको तरक्कीका बारेमा जिल्लाभर चर्चा हुन थाल्यो । सानो काम गर्दापनि ठूलै चर्चा पाइने जागिर खाएकोमा कृष्णहरि दंग परे ।
अम्बा र दहीको कथा कृष्णहरि एकदिन कार्यालयमा बसिरहेका थिए । पाको उमेरका एकजनाले उनको टेबुलमा मुक्कि हानेझैं गरी अम्बा बजारे । ‘सिडिओ, लौ अम्बा खाऊ’ ती व्यक्तिे आदेश दिए । उमेरको सम्मान गर्दै उनले अम्बा कपाकप खाइदिए । खाइसकेपछि सोधे, ‘किन खुवाएकोे अम्बा ?’ ‘तुमी हाम्रो राजा हौँ । राजदरबारमा बसेका छौँ । राजालाई नचखाइ हामी केही खान्नौँ । घरमा केटाकेटीले खाइदेलान भन्ने पीर भयो । त्यही भएर ल्याएको ।’ ती व्यक्तिको कुरा सुनेपछि कृष्णहरि भावविह्वल भए । एक दिन सानो ठेकीमा दही आइपुग्यो । व्यक्ति फरक थिए तर शैली उस्तै थियो । कृष्णहरिले केही नबोली दही खाए । सडेको दही बेस्मारी गनाएको थियो । उनलाई उल्टी होला झैँ भयो । पानी मगाएर खाए । थारो भैंसी ब्याएकाले ‘देउता’लाई चखाउन ल्याएका रहेछन् । महिनौँ देखि नमाझेको ठेकीमा दही जमाएकाले गन्याएको रहेछ । देउतालाई दही नचखाएसम्म मही मोथ्न हुँदोरहेनछ । यस्ता अनेक किस्सा कृष्णहरिले आछाममा देखे भोगे । गर्मीको महिनामा झाडा पखला फैलियो । कृष्णहरि डाक्टर लिएर घरघर गए । नेताजस्तै बिरामीलाई छामछुम गरेर आश्वासन दिए । औषधीपनि दिए । तर बिरामीले सुँई नलगाइ नहुने जिद्धि गरे । ‘लाइदिनोस् सुँँई’ प्रशासनका कर्मचारीलाई आदेश दिएझैँ उनले डाक्टरलाई भने । झाडा पखलाको सुँई छैन भन्ने कृष्णहरिलाई के था ? ‘यही सलाइनपानी अलिकति हालेर लगाइदिनोस्, यिनीहरुलाई मनोवैज्ञानिक असर पर्छ ।’ कृष्णहरिले जुक्ति निकाले । नभन्दै त्यस्तै भयो । उनी सिडिओ हुँदाको साल झाडापखला नियन्त्रण भयो । उनले साँफेबगरदेखि मंगलसेनसम्म हेलिकप्टर चल्ने बनाए । रक्सी नियन्त्रणका लागि उनले मान्छेका पछि पछि सुराकी लगाए । रक्सी सेबन गर्नेबाट उठाएको ५ लाख जरिवाना कलेजलाई दिए । जिल्ला प्रशासन कार्यालयमा कार्पेट हालेर दुनियाँलाई चकित पारे । जिल्लामा बिजुली उत्पादनका लागि बहश छेडे । बिजुली उत्पादन हुनुभन्दा पहिले नै कार्यालय र घरमा वायरिङ गर्न लगाए । उनी फुर्सद भयो कि बजारतिर निस्कन्थे । खेत खलियान जहाँ पुग्यो त्यही काममा सघाएझैँ गर्थे । उनी कहिले अभिनेता त कहिले नेता झैँ प्रस्तुत हुन्थे । राजाजस्तो सिडिओका अनेक सनक देखेका अछामी दंग पर्दै उनको चर्चा गर्थे । सात महिना नपुग्दै कृष्णहरिको सरुवा भयो । उनको सरुवा हुँदा उनकै शब्दमा कम्तिमा १०० ठाउँमा उनको बिदाइ भयो । १९ बर्षपछि उनी तत्कालीन उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि भएर आछाम पुगे । खुला दिशामुक्त जिल्ला घोषणा हुँदै थियो । कृष्णहरि बोल्न थालेपछि ताली पड्केको पड्कै गर्यो । फर्कदा झाले भने, ‘तपाई सहभागी हुने कार्यक्रममा म जान्न । हामी बोल्दा कसैले ताली पिट्दैन । तपाई बोल्दा मकै पड्केजस्तो !’ (सार्वजनिक जीबनमा रहेका व्यक्तिहरुको अनुभुति धेरैका लागि उत्प्रेरणा बन्न सक्छ । तपाई वा तपाईको सम्पर्कमा पनि कोही उदाहरणीय हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । हामी अनुभुति प्रकाशित गर्नेछौँ । कृष्णहरि बाँस्कोटासँग सम्बन्धित अनुभवको दोस्रो भाग केही दिनपछि प्रकाशित गर्नेछौँ ।) प्रस्तुती : नारायण पौडेल सम्पर्कः narayanpoudel040@gmail.com

Krishna Hari Baskota president of information commission