कभर स्टोरी भिडियो मेरो परिवार मेरो कथा

वीपीलाई खुकुरी दलले आक्रमण गरेपछि राजा त्रिभुवनले के गरे ? रानुदेवीको संस्मरणमा ती दिन (भिडियोसहित)

वीपीलाई खुकुरी दलले आक्रमण गरेपछि राजा त्रिभुवनले के गरे ? रानुदेवीको संस्मरणमा ती दिन (भिडियोसहित)

आँखा धुमिल भइसके । गाला चाउरी परिसके । उमेर ८० नाघिसक्यो । तर, जोश उस्तै क्रान्तिकारी छ । सात सालको कुरा उठेपछि काँप्दै गरेका औँला ठोक्दै उनी ताल निकाल्छिन् । उमेरको अवरोधसँग जुध्दै उनी ६५ बर्ष पहिले गाएको गीतमा लय दिन्छिन् ।

 

आज देशको युद्धमा क्रान्ति हाम्रो एक पुकारा हो, लड्दा लड्दै मरे मरौँला यो एउटा नै नारा हो । खडा भयो जनतन्त्र आज लौ आऊ–आउ नेपाली, मातृभुमीले मुक्तकण्ठले डाक्छिन् आऊ गोर्खाली । जहाँ जहाँ छौँ दौडी आऊ तिम्रो आज सहारा हो, लड्दा लड्दै मरे मरौँला यो एउटा नै नारा हो ।

 

तिहारको रमझम भर्खरैमात्र सकिएको थियो । एक साँझ रानुदेबीका श्रीमान तिर्थप्रसाद  र जेठाजु युवराज घर आएनन् । राति गोला बारुदको आवाज आयो । उनले बुझिन् क्रान्ति शुरु भयो । दैलो ढप्प लगाएर रानुहरु घरभित्रै थपक्क बसे । तीन दिनपछि जेठाजुको खबर आयो ‘खतरा छ, घरमा नबस्नु ।’ त्यसपछि बखरीमा बस्न गए । त्यहाँपनि सुरक्षा चुनौति बढेपछि रानु परिवारका अन्य सदस्यसहित भारतको जोगबनी गइन् जहाँ उनका श्रीमान र जेठाजु युद्धबारे मन्थन गरिरहेका थिए । 

 

">

 

रानुदेवीको कोइराला परिवारसँग पूरानो सम्बन्ध थियो । वीपीका बुबा कृष्णप्रसाद र रानुकी सासू जनककुमारी भाइ भाइका सन्तान । त्यसैले रानु वीपी, तारणीप्रसाद नाताले मामा ससुरा भए । मामा ससुरा भएपनि रानु उनीहरुलाई मामा भन्थिन् । मामा शब्दको भिन्दै मोह हुन्थ्यो । त्यसो त तारणीप्रसाद कोइरालाका दाजु केशबप्रसाद कोइरालालले रानुदेवीकी दिदी नोनासँग विहे गरेका थिए ।

 

घरपट्टिकै नाता बलियो हुने भएकाले उनले तारणीप्रसादलाई भिनाजुको साटो काका भन्थिन् । दोहोरो नाताले सम्बन्ध झन् बलियो बनाएको थियो । रानुलाई माइतमा छँदा राजनीतिप्रति खाशै लगाव थिएन । विवाहसँगै उनको जीवन पूरै राजनीतिमय बन्दै गयो । उनी चाहेर पनि राजनीतिसँग टाढा रहन सक्ने थिइनन् । उनका श्रीमान आफैँ क्रान्तिमा होमिएका थिए । दिदी नोना राजनीतिमा रमिसकेकी थिइन् ।

 

मामा ससुरा मातृका र विपीको नेतृत्वमा क्रान्तिको झण्डा फहराइरहेको थियो । एक दिन तारणीप्रसादले भने ‘तँ गीत गा’ म गाना दिन्छु । रेडियोमा गाना पनि बजाउनुपर्यो ।’ रानुले गायनमा रुची राख्छिन् भन्ने तारणीलाई थाहा थियो । त्यतिबेलाका जमानामा बुहारी गीत गाउँदै हिडेको घरपरिवारलाई सैह्य हुन्थेन । रानुले घरसल्लाह गरिन् । ‘हुन्न’ कसैले भनेन । उनी भन्छिन्, ‘म घरको सल्लाहले रेडियोमा गएकी हुँ । कोइरालासँग नाता परेपछि त्यसैपनि स्वतन्त्रता भन्ने आइहाल्छ । एकदम स्वतन्त्र परिवारकी बुहारी थिएँ ।’

 

पौडेल थरकी रानु अधिकारीकी बुहारी भएर विराटनगर भित्रिएको एक बर्षपनि पुगेको थिएन, रेडियोमा गुन्जिन थालिन् । २००६ साल फागुनमा बिहे भएको थियो उनको । २००७ सालको कात्तिक अन्तिमतिर काँग्रेसले सशस्त्र क्रान्ति थाल्यो । विराटनगरमा रेडियो चलाइयो । रेडियोमा समाचारसँगसँगै सुरिलो भाकामा गीत आउन थालेपछि स्रोता दंग पर्थे । घरघरमा रेडियो भित्रिनसकेको त्यो जमानामा रेडियो सुन्न मान्छेहरु ठूलाबडाकोमा जम्मा हुन्थे । रानु स्रोताको आङै जिरिङ्ग हुने गरी क्रान्तिको विगुल फुक्थिन् ।

 

नेवार आऊ लिम्बू आऊ–आऊ गोरख राई, मधिशे, क्षेत्री, बाहुन आऊ तामाङ लक्षिन जगाई । जर्मन, इटाली सबै क्षेत्र गै खुन बगाउने गोर्खाली, आफ्नै जननी जन्मभूमीमा आगो सल्क्यो नेपाली । सबै जातिको रक्त मिलेको बग्ने एउटै धारा हो । लड्दा लड्दै मरे मरौँला यो एउटा नै नारा हो ।

 

आफ्नो गायनले कस्तो प्रभाव पार्यो भन्ने बारेमा उनी बेखबर थिइन् । तारणीले उनलाई हौस्याउँथे, उनी गाउँथिन् । गायन उनको सोख थियो । रेडियो माध्यम बन्यो । टाढा टाढाका मान्छे भेटिदाँ उनलाई पछिसम्म भन्थे ‘तपाईको गीतले हामीलाई क्रान्तिमा डोर्यायो ।’ रेडियोमा गीत गाउने उनी एक्ली थिइन् । पछि २ जना थपिए ।

 

शान्ति मास्केको नाम याद भएपनि अर्कीको नाम उनले भुलिसकिन् । ‘शिला हो कि गिता ? अनुहारको तस्बिर मानसपटलमा नाँचेपनि नाम बिर्सिएँ ।’ बुढ्यौलीभावमा उनी मुस्कुराउँछिन् ‘रेडियोमा काम गर्ने धेरै थिए । ती मध्ये हार्मोनियम बजाउँथे बौवा दाइले । नाम सायद कृष्णप्रसाद थियो ।’

 

रानुलाई अधिकांशको नाम याद छैन । आफूले गाएका गीत भने अझैँ कण्ठस्थ छन् । उनले रेडियोमा २ वटा क्रान्तिकारी र ३ वटा सामाजिक गीत गाइन् । प्रत्येक गीतमा भिन्दै भाव थियो, उद्देश्य एउटैः क्रान्तिको यात्रा ।

नेपाली अघि बढ हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई नेपाली । हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाइ सब मिली उद्धार गरौँ हाम्रो नेपाललाई पछि नसरौँ अबदेखि दुःख परेपनि पछि नसरौँ अबदेखि दुःख परेपनि नेपाली अघि बढ हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई

२००७ सालको आखिरीतिर प्रजातन्त्रको स्थापना भयो । नेपाल प्रजातन्त्र रेडियो काठमाडौँ सर्ने भयो । तारणीप्रसादले रानुलाई गीत रेकर्ड गर्न कलकत्ता पठाए । रानु व्यवसायिक गायक भन्ने धुनमा थिइन् ।


 

वी.पी. माथि खुकुरी दलको आक्रमण कलकत्ताबाट फर्केपछि उनी काठमाडौँ आइन् । बिद्रोही कमाण्डर विपी गृहमन्त्री भइसकेका थिए । त्रिपुरेश्वर क्वार्टरमा रानु–दम्पत्ति गृहमन्त्रीको अतिथिका रुपमा बस्यो । सुशीला (वीपी पत्नी) भारत गएकी थिइन् । वीपीकी आमा दिब्या र वीपी पुत्र प्रकाश क्वार्टरमै थिए । आफन्त भेट्नका लागि रानु–दम्पत्ति क्वार्टरबाट बाहिर निस्कनमात्र के लागेको थियो, खुकुरी दलको दलबल आइहाल्यो । गृहमन्त्रीमाथि दिनदहाडै आक्रमण शुरु भयो ।

 

‘तिमीहरु भित्र बस भनेर हामीलाई वीपीले कोठामा पठाउनुभयो । कृष्णप्रसाद भट्टराई सँगै हुनुहुन्थ्यो । क्वार्टरका सिसा फुटाइन थाल्यो । वीपीले राजा त्रिभुवनलाई फोन लगाउनुभयो । दरबारको टुकडी आएपछि दल भाग्यो ।’ वीपीमाथि भएको सांघातिक हमलाकी साक्षी रानुले सुनाइन् ।

 

वीपीको क्वार्टर असुरक्षित रहेको दरबारले बुझिहाल्यो । राजा त्रिभुवनले वीपीलाई स्वास्नीमान्छे लिएर दरबारमै आउन सुझाव दिए । आमा,रानुलगायतका स्वास्नीमान्छेलाई साथ लिएर वीपी दरबार पसे । जय नेपाल हल अघिल्तिरको गेटबाट रानु दरबार पसिन् । दरबारमा बन्दोवस्ती राम्रै थियो । तर घुम्न आएकी रानुलाई दरबारको बास कता कता खल्यो लाग्यो । बन्दी जीबन बिताउन परेको अनुभव भइरह्यो ।

 

उनले वीपीसँग अन्तै बस्ने जनाइन् । वीपीले उनलाई श्रीमान भएको ठाउँमा पुर्याइदिए । वीपीमाथि भएको आक्रमणको साक्षी हुन नपरेको भए रानुको जीबन अन्तै मोडिन पनि सक्थ्यो । काठमाडौँ यात्रा उनका लागि पहिलो गासमा ढुंगा जस्तो भयो । ‘आक्रमण देखेपछि म नर्भस भएँ । सायद त्यो घटनाले मलाई काठमाडौँसँग विर्कषित गरायो ।’ विराटनगर फर्कदाको स्मरण गर्दै उनी भन्छिन्, ‘म यतै रेडियोमा पनि काम गर्थे कि ? थाहा छैन ।’

 

विराटनगर फर्केपछि उनले शास्त्रीय संगीत सिकिन् । पढाइ अगाडि बढाइन् । घरगृहस्थीले पढाइ नियमित नभएपनि उनले एमएसम्म पढिन् । दुई दशकभन्दा बढी समय बालिका माध्यामिक बिद्यालयमा अध्यापन गरिन् । शिक्षण पेशाबाट बिदा भएपछि उनी जिल्लातहको राजनीतिमा सक्रिय भइन् । महिला संघ मोरङको पाँच बर्षसम्म नेतृत्व गरिन् । रानुका पाँच दिदीबहिनी खुब मिल्थे ।

 

तर, उनीहरुको राजनीतिक लगावमा समानता थिएन । जेठी नोना कोइराला नेपालको राष्ट्रिय राजनीतिमा स्थापित नाम हो । कमरेड जोयाका नामले परिचित छिन् माइली दिदी लिली उपाध्याय । साँहिली रानु भइन् । काइँली सरोज शर्मा राप्रपाबाट सांसद छिन् । कान्छी बहिनीलाई रानुले गुमाइसकेकी छिन् । रानुका दुई दाजु र एक भाइ मध्ये जेठा विजयप्रसाद उपाध्याय कमरेड दादाका नामले चर्चित हुनुहुन्थ्यो । कमरेड दादाको निष्ठावान क्रान्तिकारी छबि कहिल्यै धमिलो भएन । दाइ अम्बिकाप्रसाद उपाध्यायलाई राजनीतिप्रति उतिसारो मतलव थिएन । भाइ प्रकाश उपाध्यायलाई राजनीतिसँग सरोकार छैन ।

 

‘फरक फरक पार्टीमा भएका दिदी बहिनी र दाजु भेट हुँदा कस्तो गफ हुन्थ्यो ?’ प्रश्नको सहज उत्तर दिँदै उनले भनिन् ‘हामी राजनीतिको गफै गर्दैनथ्यौँ ।’ राजनीति रंग फरक हुँदा पानी बाराबार गर्ने एकथरी प्रवृत्तिका लागि रानुको परिवार पाठशाला बन्ने देखिन्छ । शुरु शुरुमा काठमाडौँ आउँदा रानु रेडियो नेपाल जान्थिन् । रेडियोको नेतृत्व शुरुमा उनै तारणीप्रसादले सम्हालेका थिए । तारणीप्रसादकै कार्यकालमा उनले रेडियोमा केही गीत रेकर्डपनि गराएकी थिइन् । पछिसम्म ती गीत बज्थे । २०१७ सालमा पंचायत स्थापना भएपछि उनका गीत बज्न छाडे ।

 

रेडियोबाट केही समय उनको स्वर हरायो । चौतर्फी आलोचना भएपछि पंचायतले उनका क्रान्तिकारी गीतबाहेकका अन्य गीत बजाउन थाल्यो । लामो समयसम्म उनी साँगेतिक क्षेत्रबाट हराइन् । घरव्यवहारको बाध्यताले उनलाई थिचेको थियो । काठमाडौँमा बसेर गायनमा लागिरहने अवस्थापनि रहेन । उनी ती दिन सम्झदा भावविह्वल हुन्छिन् । गीत गाउने उनको धोका पूरा हुन सकेन ।

 

‘जीबनमा सबैभन्दा ठूलो कुरा निरन्तरता हो । म निरन्तर गीतसंगीतमा लागेको भए केही अवस्य गर्न सक्थेँ । तर मैले निरन्तरता दिन सकिनँ । मलाई सधैँ थकथकी लागिरहन्छ ।’ उनी बिबशता बताउन कन्जुसाईँ गर्दिनन् । रानुको गीत गाउने धोको मरेको छैन । एक्लै हुँदा गुनगुनाइरहन्छिन् । शान्ति प्रक्रिया शुरु भएपछि उनले शान्ति गीत गाइन् । क्रान्ति गीतबाट शुरु भएको उनको गायन यात्रा शान्ति गीतमा पुगेर रोकिएको छ । ‘मनजस्तै कायाले साथ दिन्छ या दिँदैन ’ उनी भन्छिन् ‘कसैले भजन गाउन भन्यो भने गाउँला । गीत गाउन स्वास्थ्यले साथ देला नदेला ।’

प्रस्तुतिः नारायण पौडेल प्रतिक्रियाका

लागिः [email protected]

first radio singer ranu devi adhikari

विशेष