पर्यटन

तारेभिरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने

तारेभिरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने
माघ - १ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर महोत्सव शनिबार सम्पन्न भएको छ । तारेभिर महोत्सवको उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति, महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङलगायत राजनीतिक दलका स्थानीय नेताले तारेभिरलाई चट्टानी बगैँचा (रक गार्डेन) भएको पर्यटकीयस्थल बनाउन कार्ययोजनासहित अघि बढ्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए । सो अवसरमा स्थानीय तामाङ जातिको सांस्कृतिक झाँकीसहित मौलिक गीत र नृत्यको प्रदर्शन गरिएको थियो । निकुञ्जभित्र उपत्यकाको कङ्क्रिट जङ्गल र आकर्षक हिमाल देखिने सोे स्थललाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक विसं २०७१ माघ १ गते महोत्सव आयोजना गरिएको थियो । पर्यटकीयस्थल बनाउन घरवास (होम स्टे) को अवधारणा अघि सारेर गृहकार्य सुरु गरिएकै बेला २०७२ वैशाख १२ गतेको भूकम्पले यहाँका २६० घर ध्वस्त भएका थिए । घर भत्किए पनि स्थानीयवासीले महोत्सवलाई भने गत वर्ष र यस वर्ष पनि निरन्तरता दिएका छन् ।

तारेभिर नवीन्द्रराज जोशी