मेरो परिवार मेरो कथा

‘कमाण्डरसँग धरधरी रुदै एसएलसी दिने प्रस्ताव गरेँ’

‘कमाण्डरसँग धरधरी रुदै एसएलसी दिने प्रस्ताव गरेँ’

 


नुवाकोटको तुप्चे शैक्षिक दृष्टिले जिल्लामै अघि थियो । केटाकेटीका बीचमा पढाइ मै बढी प्रतिष्प्रर्धा हुन्थ्यो । अभिभावकपनि चोकतिर बसेर केटाकेटीको पढाइका बिषयमा गफिन्थे । यस्तै वातावरणमा हुर्कदै गरेकी प्रभा बोगटीको पढाइ तेज थियो ।

उनका दाजु रबि अब्बल विद्यार्थीको उदाहरण बनिसकेका थिए । दिदी प्रतिभाको पनि पढाइ उस्तै थियो । ‘पोष्टबहादुर दाइका केटाकेटीले राम्रो गर्ने भए ।’ अभिभावक र शिक्षक कुरा गर्थे । पोष्टबहादुर भुमिगत भएकाले पनि उनका छोराछोरीप्रति धेरैको स्नेहभाव थियो । प्रभा बाल्यकालमा बुबासँग त्यति झ्याम्मिन पाइनन् । २०४४ सालमा जन्मिएकी प्रभाले राजनीतिक दौडधुपका कारण बुबालाई राम्रोसँग देख्न पनि पाइनन् सानोमा । उनी बोल्न र चिन्न सक्ने हुँदासम्म बुबा अर्धभुमिगत हुँदै भुमिगत भइसकेका थिए । ‘भर्ना हुँदाको दिन बुबाको हात समातेर गएको रिमरिम सम्झना आउँछ । अरु त्यस्तो याद छैन ।’ प्रभाले बाल्यकाल सम्झिइन् । चण्डेश्वरी उच्च माध्यामिक विद्यालयमा बिद्यार्थीको घुइँचो लाग्थ्यो ।

सन्तानलाई पढाउनै पर्छ भन्ने चेतना विस्तार हुँदै गरेको बहुदल स्थापना भएपछिको बेला थियो त्यो । कक्षा ४ सम्म उनी कक्षामा दोश्रो हुन्थिन् । प्रभाले बाल्य इख सम्झदै भनिन् ‘मलाई दशैं र चाडपर्वमा पहिलो हुनु भनेर सबैले आशिष दिनुहुन्थ्यो । मनमनै जसरी पनि पहिलो हुन्छु भन्ने अठोट लिएकी थिएँ ।’

आमा भुमिगत हुँदा


नजिकैको त्रिशुलीमा यस बीचमा थुप्रै पानी बगिसकेको थियो । समय उस्तै रहेन । उनको घरमा नियमित जसो प्रहरीले घेरा हाल्थ्यो । दर्जनौं गाडी फेर्दै लुक्दै छिप्दै कहिले रुपडिया त कहिले बहराइच पुगेर बुबालाई भेट्दा उनले सानैमा धेरै कुरा बुझ्न पाइन् । पहिले पहिले मध्यरातमा आएर झिसमिसेमा टाप कसिसक्ने बुबा घरमा आउन छाडिसकेका थिए । आमा र उनीहरुसँग सुरक्षाकर्मी केरकार गर्थे, ‘कहिले हो आउने ? कहिले गएको ?’ जापानिज संस्थाको बृक्षारोपण सम्बन्धी संस्थामा काम गर्ने राममायालाई घरदेखि अफिससम्म प्रहरीले पिछा गथ्र्यो । एक दिन उनी घर फर्किनन् । ‘अफिसको कामले बाहिर गएकी हुन् । केही दिनमा आउछिन् ।’ कक्षा पाँचमा पढ्दै गरेकी प्रभालाई फुस्ल्याइयो ।

दिन बिते, हप्ता बिते, महिना बिते तर रामामाया फर्कदै फर्किनन् । प्रभालाई आमाको यादले सताउन थाल्यो । आमासँग एक रातपनि नछुट्टिएकी प्रभालाई रात कटाउन सबैभन्दा गाह्रो हुन्थ्यो । राति उठेर रुने गर्थिन । बाटोमा कोही महिला साडी लगाएर आउँदै गरेको देखे आमा भन्ठानेर दौडन्थिन् । निराश हुँदै फर्कन्थिन् । उनको स्वभावमा पनि परिवर्तन आयो । चञ्चल स्वभावकी फरासिली प्रभा एकोहोरो घोरिन थालिन् । किताव देखे खाउँला झैं झम्टने उनलाई पढ्न मन लाग्नै छाड्यो । उनी दोश्रोबाट एकै पटक सातौ हुँदै चौधौंमा पुगिन् । पहिलो हुने सपना के भो के ।

आमा नहुँदाको घर


बुबाआमा दुबै भुमिगत भएपछि उनीहरुको रेखदेख फुपु दिदी र हजुरआमाले गर्न थाले । नजिकै तलपट्टि काका काकीको घर थियो । उनीहरुको स्याहारमा कमी थिएन तर आमाको माया र काख भएन । दुई दिदीबहिनी उस्तै थिए । स्कुल जाने बेला भएपछि खुरुर्र काकीकोमा दौडिन्थे । काकीले दुई चूल्ठी बाटेर फूलजस्तो बनाएर रिवन कसिदिन्थिन् । सानैदेखि सरसफाइमा ख्याल गर्ने उनीहरु चिटिक्क परेर विद्यालय जान्थे । दाइ रबि ठूलो कक्षामा पढ्ने भएकाले पहिल्यै गइसकेका हुन्थे । स्कुलबाट शिरानमा रहेको घर प्रष्ट देखिन्थ्यो ।

उनीहरु विद्यालयमा हुन्थे । घरमा सुरक्षाकर्मीले घेरा हाल्थे । उनीहरु बेसीतिर लुक्न जान्थे । चाडबाडको बेला प्रहरीको निगरानी झनैं बढ्थ्यो । दाइ विद्यार्थी संगठनमा सक्रिय थिए । विस्तारै प्रतिभा र प्रभामा राजनीतिक चेतना पलाउन थाल्यो । बुबा आमा भुमिगत भएकाले माओवादी जनयुद्धप्रति उनीहरुको माया हुने भइहाल्यो । विद्यार्थीका कार्यक्रममा उनीहरु सहभागी हुन थाले । कक्षा ९ मा पढ्दै गर्दा मनकामना गाविसको सात दोबाटो विद्यालयमा डेड घण्टा हिडेर संगठन विस्तार गर्न गएको र पिंडौला करकरी खाएको प्रभाले कहिल्यै भुल्दिनन् । त्यतिन्जेल दाई एसएलसी पास गरी क्याम्पस पढ्ने भइसकेका थिए ।

prabha-bogati-nepalaaja-3

विद्यार्थी संगठनमा लागेका रबि बेलाबेला पक्राउ पर्थे । उनलाई ‘पढाइ राम्रो छ, युद्धमा लागेर के पाइन्छ ? मर्न किन खोजेको, बरु युरोप अमेरिका पठाउछौँ’ भनेर फकाउने प्रयास गरिन्थ्यो । पढाइमा तेज रबिमा क्रान्तिकारी चेतना बेग्लै थियो । आफुलाई फकाएर बुबालाई बदनाम गर्ने र माओवादी नेताका छोराछोरी यस्ता भन्दै आम कार्यकर्तापंक्तिलाई हतोत्साहित बनाउने नियत उनले बुझिसकेका थिए ।

रबि ‘मर्न तयार छु’ भन्थे । २०५८ सालको कात्तिकमा शान्ति प्रक्रिया चलिरहेको थियो । रबि बुबाआमालाई भेटेर फर्किएका थिए । उनले दुई बहिनीलाई भुमिगत हुन सल्लाह दिए । उनीहरुले एक स्वरमा पढाइ नसकी भुमिगत नहुने जवाफ फर्काए । बोगटी परिवारको संस्कारमा करकाप भन्ने हुँदैनथ्यो । रबि ‘ल त नि’ भन्दै कार्यक्षेत्रमा लागे । ‘दाइलाई सायद परिस्थितिका बारेमा बुबाले अवगत गराइसक्नुभएको थियो ।

केही दिनमा माओवादीले सेनाको व्यारेकमा हमला गर्‍यो, देशमा संकट लाग्यो । त्यसपछि हामीमाथि धरपकड झन् बढ्यो । मैया दिदी (फुपुदिदी) लाई पनि पक्राउ गर्‍यो ।’ प्रभा भावुक भइन् । एसएलसी दिन गएकी प्रतिभा दिदीमाथि सुरक्षाकर्मीको निगरानी थियो । अन्तिम दिनको परीक्षा नदिइ प्रतिभा भुमिगत भइन् । त्यसपछि प्रभा घरमा एक्लै भइन् । दशमा पुगेकी उनलाई कम्तिमा एसएलसी गर्छु भन्ने थियो । तर परिश्थिति अर्कै बन्यो । रुकुमका नेता हेमन्तप्रकाश ओलीकी छोरीलाई सेनाले स्कुलबाटै लगेर मारेको थियो ।

एक्ली प्रभामाथि सुरक्षा खतरा बढ्दै गयो । २०६० साल जेठमा पुष्प काकाले सबेरै प्रभालाई लिएर निस्कनुभयो । गाडी परिवर्तन गर्दै गर्दै उनीहरु नेपालगंज पुगे । ‘संकटकालको बेला बुबासँग कुनै सम्र्पक थिएन । तुप्चेमा फोन गरेर बुबाले काकालाई लोकेशन र सम्र्पक व्यक्तिको जानकारी गराउनुभएको थियो । त्यो पनि अलमल भयो । नेपालगंजमा चिनेको भनेको पर्यटन अंकल हुनुहुन्थ्यो । त्यही बस्यौँ ।’ चौतर्फी सेना परिचालन भएको समयमा अपरिचित ठाऊँको यात्रा विवरण सुनाउँदै प्रभाले भनिन् । केही दिन उनीहरु पर्यटन अंकलको घरमा बसे । सेनाले सुइँको मात्र पाए जुन बेला जेपनि हुन सक्थ्यो । बल्लतल्ल बुबाको स्टाफ (सुशील गौतम, हाल सत्य पहाडीको सचिवालय ) सम्र्पकमा आइपुगे । रुपडिया हुँदै प्रभा प्रवास कार्यक्षेत्रमा लागिन् । प्रभालाई नेपालगंजमा छाडेर पुष्प फर्किए ।

पूर्णकालिन राजनीतिको आरम्भ


पोष्टबहादुर बोगटीको गजबको शैली थियो । विषयवस्तु प्रष्ट राख्ने र निर्णय गर्ने स्वतन्त्रता सम्बन्धित व्यक्तिलाई नै छाड्ने । छोराछोरीको हकमा पनि त्यही लागू हुन्थ्यो । प्रभाले बुबासँग छलफल गरिसकेपछि पढाइ छाडेर भुमिगत हुने निर्णय गरिन् । पोष्टहादुर एक महिने अभियानका लागि नेपाल फर्कने तयारीमा थिए । ‘मलाई जवहारलाल नेहरुले छोरी इन्दिरालाई लेखेको किताव, रातो तारा, द्वन्दात्मक भौतिकवाद सम्बन्धि आधारभुत ज्ञान, सुरेन्द्र केसीले नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा लेखेका किताव दिएर छाड्नुभयो ।’ भुमिगत जीबनको प्रारम्भ सम्झदै प्रभाले भनिन्, ‘बुबा फर्केपछि दाइलाई पनि त्यतै बोलाउने र तिहार सँगै मनाउने कुरा भएको थियो । दाइलाई तिहार बिछट्टै मन पथ्र्यो । परिवारका पाचै जना सँगै बस्न नपाएको पनि जुग भइसकेको थियो ।’ बुबा नेपाल गएको केही दिनमा दिदी प्रतिभा पनि नेपालबाट लखनउ आइपुगिन्

। प्रभाले बुबाले दिएका किताब पढेर भ्याइन् । सँगै, नियमितरुपमा पत्रपत्रिका पढ्न थालिन् । बुबा आमा र दिदीसँगको पुर्नमिलनले प्रभामा भिन्दै उर्जा थपियो । दिदीबहिनी दाइलाई बोलाएर तिहारसँगै मनाउने बारेमा योजना बुन्थे । पोष्टबहादुर एक महिने अभियान सकेर फर्किए । तर, सिधैं डेरामा आएनन् । झण्डै आधा घण्टाको दूरीमा रहेको निर्मल आचार्य (पछि प्रतिभाका श्रीमान) को डेरामा गए । शुरुमा प्रतिभालाई बोलाइयो, त्यसपछि आमा र प्रभालाई । बुबाले युद्ध किन थालिएको र युद्धमा के पनि हुन सक्छ भन्ने बारेमा पृष्ठभूमीसहित विषयवस्तु राख्न थाले । अन्त्यमा उनले सुनाए, ‘रबि धादिङमा सहिद भयो । असार ७ गते सेनाले घेरा हालेर ....।’ पोष्टबहादुर रोकिए । प्रभा, प्रतिभा र राममाया (आमा) रुन थाले । रुन पनि जोडले हुदैनथ्यो, बाहिर आवाज जाला र भारतीय सुरक्षाकर्मीले सुइँको पाउलान् भन्ने डर हुन्थ्यो ।

साँझसम्म निर्मलकै डेरामा बसेपछि बुबासहित उनीहरु फर्किए । ‘रबि दाइसँगै तिहार मनाउने कुरा त्यत्तिकै भयो । सो घटनाले हामीलाई अझ बढी पार्टीप्रति सर्मपित बनायो । दाइको रगत भन्ने भयो ।’ प्रभाको गला अबरुद्ध भयो । प्रभाले बुबाको स्टाफका रुपमा काम गर्ने निधो भयो । ‘प्राविधिक ज्ञान लिंदै गर । म नेपाल गएर आउँछु ।’ दिदी प्रतिभालाई लिएर पोष्टबहादुर नेपाल फर्के । पार्टीमा पोष्टबहादुर दिवाकर नामले परिचित थिए । सर्वाधिक खोजिमा रहेका नेताको सरलपनले प्रभा र प्रतिभालाई सधैं प्रभावित गरिरह्यो । सेती महाकाली अभियानमा बुबासँगै गएकी प्रतिभाले नेपाल नै कार्यक्षेत्र बनाउने निर्णय गरिन् । दाइको सहादतपछि प्रभा र प्रतिभामा राजनीतिको ज्वालामुखी दन्किएको थियो । बुबा फर्कने बेलासम्म प्रभाले कम्पुटर चलाउन जानिसकेकी थिइन् । सूर्य प्रकाश सुवेदी पथिकले उनको मेल आइडी बनाइदिए । उनमा सिक्ने क्षमता तिब्र थियो । केही दिनमै उनी कम्पुटर राम्रैसँग चलाउन सक्ने भइन् । बिहान १० बजे साइबर जाने, पत्रपत्रिका डाउनलोड गर्ने र बुबालाई ल्याइदिने उनको दैनिकी बन्यो ।

एक डेड बर्षको भारत बसाइमा उनले प्राविधिक ज्ञान सिक्ने मौका पाइन् । ०६१ सालमा पार्टीले सबै नेता नेपाल फर्कने निर्णय ग¥यो । बुबाआमा सँगै उनी पनि फर्किइन् । उनी जनमुक्ति सेनामा काम गर्न चाहन्थिन् तर १८ बर्ष पुगिनसकेकाले उनको चाहना पूरा भएन । केही समयपछि उनी सेनामा भर्ती भइन् । सुर्खेतमा उनले सैन्य तालिम लिइन् । त्यसपछि आठौं बिग्रेडमा छापामार भइन् । कम्पुटरको ज्ञान भएकाले उनलाई सेनाभित्र पनि प्राविधिक टिममा राखियो । त्यसै क्रममा उनले ब्रिगेडका गतिविधि र ब्रिगेड आवद्ध छापामारका समाचार र सन्देश लेखेर पार्टी च्यानल र संचारमाध्यममा पठाउन थालिन् । अप्रत्यक्षरुपमा उनी छापामारबाट पत्रकार बन्दै गइन् । उनी सेनामा जोडिइसकेपछि गणेशपुर, खारा र गण्डक अभियान जस्ता आक्रमण भए । गणेशपुरमा उनी संयोगले बाँचेकी थिइन् । आठौँ ब्रिगेडबाट उनको सरुवा पाचौँमा भयो । उनी रोल्पातिरै बस्न थालिन् । यही मेसोमा शान्ति प्रक्रिया शुरु भयो । उनी दहबनको पाचौँ डिभिजनमा सूचीकृत भइन् ।

एसएलसी दिने भोक


युद्धकालको आखिरीमा उनी प्रेम र बिबाहबन्धनमा बाँधिइन् । क्यान्टोनमेन्टमा बस्दै गर्दा सम्बन्ध विच्छेद भयो । ‘सम्बन्ध सहज नहुँदा बिच्छेद हुनु स्वभाविक थियो ।’ उनले सो प्रसंगलाई हतारमा बिट मारिन् । दुई ठूला नेताका छोराछोरीको सम्बन्धमा आएको उतारचढावले कतै राजनीतिक सम्बन्ध तलमाथि पर्ने त होइन ? आंशका ब्याप्त थियो । तर, बोगटी परिवारले राजनीतिक सम्बन्धलाई पारिवारिक उतारचढावसँग रत्तिभर जोडेन । बरु, प्रभालाई केही गर्ने भोग जाग्यो । युद्धमा छँदा समय बितेको पत्तो हुँदैनथ्यो, ब्यारेकमा खाशै भुमिका केही थिएन । उनको मानसपटलमा चण्डेश्वरी मावि घुम्न थाल्यो । प्रभामा पढाइको भूत चढ्यो । माओवादीवृत्त अझ सेनामा औपचारिक शिक्षाप्रति बितृष्णा नै थियो । कतिपय भिडिजनमा त कमाण्डरले क्रान्तिकारी प्रमाणपत्र दिलाइने भन्दै प्रशिक्षण दिएका थिए । बाहिरफेर कसैले पढ्न थालेको थाहा पाए बाटो बिराएको रुपमा अर्थाइन्थ्यो ।

पार्टीले शान्ति प्रक्रियामा आएपछि औपचारिक पढाइका बारेमा के गर्ने भन्ने औपचारिक निर्णय गरेको थिएन । व्यक्तिपिच्छेका आआफ्नै बुझाइ बन्दै गयो । सेनामा औपचारिक पढाइप्रति नकारात्मक मनोविज्ञान छँदै थियो । शान्ति प्रक्रियामा आएपछि उनले पूराना साथी भेटिन् । बिए एम ए पढ्ने भइसकेका थिए । उनलाई कताकता नरमाइलो लाग्यो । ‘अब पढ्दा पनि हुन्छ, एक मनले भन्थ्यो । धत्, पार्टीमा ब्रुर्जुवा शिक्षा भन्छन्, के पढ्नु ? अर्को मनले रोक्थ्यो ।’ क्यान्टोनमेन्ट बस्दाको अनुभव सुनाउँदै प्रभाले भनिन् । झण्डै २ महिना उनी आफैँसँग युद्ध गरिरहिन र निष्कर्ष निकालिन्, ‘पढेरै छाड्छु ।’ पढ्ने कुरा स्वविवेकले हुँदैनथ्यो । पार्टी च्यानल र कमाण्डको कुरा आउँथ्यो । उनी कमाण्डरसँग पढ्ने प्रस्ताव गर्ने निष्कर्षमा पुगिन् ।

एसएलसीका लागि रुदै प्रस्ताव राख्दा


पाचौँ डिभिजनका सहकमाण्डर थिए विवेक मगर । सरल र दृढ स्वभावका मगरसँग उनले कुरा गर्न के शुरु गरेकी थिइन्, उनको आँखामा आँशु थामिएन । रुँदै बोल्न थालिन् । एकापट्टि ब्रुर्जुवाको बात लाग्नेवाला थियो, अर्को पट्टि कमाण्डरले हुँदैन भनिदिए एसएलसीको सपना चैट हुनेवाला थियो । दोसाँधमा परेकी उनीले आफुलाई थाम्न सकिनन् । ‘विवेक दाइसँग कुरा गर्न थालेपछि मेरो आँखाबाट आँशु आउन थाल्यो । रुँदै ‘एसएलसी दिन जान्छु’ भनेँ । उहाँले हास्दै बडो सहजताका साथ हुन्छ भनेपछि बल्ल ढुक्क भएँ ।’ त्यतिबेलाको सकस बिसाउँदै प्रभाले भनिन् । कमाण्डरबाट स्विकृति लिएपछि उनी काठमाडौँ आइन् । दिदी प्रतिभाको पनि एसएलसी छुटेको थियो ।

दुबैले बुबालाई भेटे । बुबाले ‘तिमीहरुले मलाई सधैँ साथ दियौँ, पढाइ पनि छाड्यौँ । अब त पढ्दा भइहाल्छ नि ।’ भनेर स्विकृति दिएपछि उनीहरु फुरुङ्ग भए । बर्षौपछि उनीहरु चण्डेश्वरी उच्च माबि तुप्चे लागे । प्रतिभाले टेष्ट पास गरिसकेकाले सिधैं एसएलसी दिन पाउने भइन् । प्रभाले टेष्ट दिन पर्ने भयो । प्रभा र प्रतिभाले एसएलसी दिने कुराले सरहरु औधी खुशी भए । हाजिरलगायतका प्राविधिक कुरा मिलाइदिए । प्रभा टेष्टको तयारीमा लागिन् । एक महिनाको तयारीपछि टेष्टमा उनले राम्रै गरिन् । ‘तिम्रो लेखन क्षमता र प्रस्तुति राम्रो छ । विषयगत ज्ञान बढाउन सके एसएलसीमा राम्रो गर्न सकिन्छ ।’ सरहरुले उत्साह थपे । नभन्दै प्रभा एसएलसीमा प्रथम श्रेणीमा पास भइन् ।

प्रतिभाले पनि सफलता हासिल गरिन् । प्रभा त्यसपछि सामाखुशीको स्वेत सदनमा प्लस टु पढ्न थालिन् । आफु १० मा पढ्दा ३/४ कक्षामा पढ्ने भुराभुरी सहपाठी भइसकेका थिए । राजनीतिक चेतना, युद्धको पृष्ठभूमी र जीबनमा आएका उतारचढावले उनलाई जस्तो परिस्थितिको पनि सामाना गर्न सक्ने बनाएको थियो । उनी पार्टीमा पारिवारिक कारणले पनि चर्चित थिइन् । उनको पढाइका बारेमा मूलधारका संचारमाध्यमले समेत समाचार बनाए । सकारात्मक समाचारले उनलाई थप हौशला मिल्ने गथ्र्यो । उनले स्वेत सदन टप गरिन् ।

व्यवसायिक पत्रकार र समाचार वाचिका


कक्षा १२ को परीक्षा दिएर बसेको खाली समय थियो । हिमालय टेलिभिजनपनि त्यही बेलामा खुलेको थियो । माओवादी युद्धमा पत्रकारिता गरेका अग्रज मनरिषी धितालले उनलाई टेलिभिजनमा काम गर्दा राम्रो हुने सुझाव दिए । क्यान्टोनमेन्टकी लडाकु, माओवादी शीर्ष नेताकी छोरीले व्यवसायिक टेलिभिजनमा काम गर्ने कुरा सहज थिएन । माओवादीप्रति आमरुपमा आंशका कायम नै थियो ।

त्यसमाथि नेताकी छोरी प्रभाका बारेमा आंशका नहुने कुरै भएन । टेलिभिजनले सर्त राख्यो, ‘राजनीतिक गन्ध देखिनुभएन ।’ उनले जवाफ फर्काइन्, ‘म सिक्न आएकी हुं । व्यवसायिकतालाई बुझ्ने छु ।’ चिनजानका साथीहरुका कारण उनलाई टेलिभिजन प्रवेश सहज भयो ।

prabha-bogati-nepalaaja-2

पोष्टबहादुर बोगटीकी छोरी टेलिभिजनमा रिपोर्टर भएको कुरा माओवादी पंक्तिमा आगोसरी फैलियो । पत्रकारिता जगतमा पनि प्रभाका बारेमा चर्चा चल्यो । उनलाई रिपोर्टिङमा जाँदा ‘उ बोगटीकी छोरी त्यही हो’ भनेर मान्छे खासखुस गर्थे । उनी यति सहजरुपमा प्रस्तुत हुन्थिन की विपरित खेमाका पत्रकारसमेत उनको व्यवहार र मिलनसारिताको प्रशंसा गर्थे । बिस्तारै उनी सबैसँग घुलमिल हुँदै गइन् । उनीसँगै झण्डै पाँच बर्ष टेलिभिजनमा काम गरेका निरजराज जोशी भन्छन्, ‘प्रभाजीको मन सधैँ माओवादी हुने नै भयो । तर, समाचार लेखनमा उहाँ व्यवसायिक धर्मभन्दा कहिल्यै बाहिर जानुभएन । माओवादी र स्वंय उहाँकै बुबाका बारेमा कति समाचार बने, उहाँ तरंगित हुनुभएन लेखनमा । बरु, व्यवसायिक भनेका कतिपय सम्पादक तहका व्यक्तिको लेखनमा पूर्वाग्रह देखिन्थ्यो ।’ टेलिभिजनमा उनी समाचारवाचकपनि भइन् ।

घरघरमा दर्शकले चिनाउँथे, ‘यो बोगटीकी छोरी हो ।’ नेताकी छोरीपनि बुम बोेकेर रिपोर्टिङमा हिडेको दुर्लब दृश्य प्रभाले सामान्य बनाइन् । बुबा सबैभन्दा ठूलो पार्टीको महासचिव र सरकारको मन्त्री हुँदासमेत उनी सामान्य रिपोर्टर झैं रिपोर्टिङमा व्यस्त रहिन् । ‘पत्रकारिता जगत भनेको आलोचनात्मक हुन्छ । माओवादी र स्वंय बुबाका बारेमा टिप्पणी गर्दासमेत मैले सामान्यरुपमा ग्रहण गरेँ । बुबाले सधैँ बिपक्षीलाई सुन्न सक्नुपर्ने बताउनुहुन्थ्यो । पत्रकारितामा मलाई बुबाको मार्गदर्शनले सधैँ सघायो ।’ पत्रकारिता जीबनका सुरुवातका दिन सम्झदै प्रभाले भनिन् । टेलिभिजनमा काम गर्दागर्दै उनले आर आर क्याम्पसबाट बिए सिद्धाइन् । टेलिभिजनमा काम गर्दै गर्दा उनको विवाह तुप्चेकै सुमन खड्कासँग भयो । घरव्यवहारकका कारण उनले टेलिभिजनलाई निरन्तरता दिन सकिनन् । तर उनको मन पत्रकारिताबाट टाढा रहन सकेन । उनले अनलाइन पत्रकारितामा कलम चलाउन थालिन् । सँगै, श्रीमानकै सरसल्लाहमा त्रिवि क्याम्पस कीर्तिपुरमा पोलिटिकल साइन्समा एमए पढ्न थालिन् । सेमेस्टर प्रणालीमा नियमित कक्षा गइरहनुपर्छ । टर्म पेपर बुझाउनुपर्छ । राजनीतिशास्त्रको कक्षामा राजनीतिक टिकाटिप्पणी हुने गर्दछ । विभिन्न क्षेत्रमा विशेषज्ञता हाशिल गरेका पाका विद्यार्थी उनका सहपाठी छन् । कोही माओवादीलाई बोलीपिच्छे घोचपेच गर्ने र उनैले लडेको माओवादी जनयुद्धलाई अपराधका रुपमा विश्लेषण गर्नेपनि छन् । उनी उनीहरुका कुरापनि धैर्यसाथ सुन्ने गर्दछिन् । ‘विचारलाई निषेध गर्न सकिदैन, परिवेश अनुसार आफुलाई ढाल्नुपर्छ । मैले त्यसै गरेकी छु ।’ हेर्दाहेर्दै उनी एम ए पास गर्ने चरणमा छिन् । पहिलो र दोस्रो सेमेस्टरमा उनले राम्रो अंकसहित सफलता हाशिल गरिसकेकी छिन् ।

पार्टीले गरेको कमजोरी र उनको सुझाब


माओवादी युद्धमा विद्यालय र क्याम्पस पढ्दै गरेका धेरै विद्यार्थी सहभागी भए । उनीहरुले पढ्न पाएनन् । कति परीक्षा छाडेर हिडेका थिए । पार्टीले शान्ति प्रक्रियामा आएपछि पढ्नलाई उत्प्रेरित गरेन । एक बिषयमात्र बाँकी रहेकाले समेत शान्ति प्रक्रियापछि मौका परीक्षा दिएनन् । अहिले धेरै पछुताउने गरेका छन् । क्षमता हुँदाहुँदैपनि शैक्षिक योग्यता नभएकै कारण कतिपयले नियुक्ति पाएका छैनन् । पार्टीले चाहेरपनि कार्यकर्ताको सेटल गर्न नसक्ने परिस्थिति सृजना भएको छ । ‘पार्टीले शान्ति प्रक्रियामा आएपछि आम कार्यकर्तालाई बदलिएको परिस्थितिअनुरुप पढ्न प्रेरित गर्नुपथ्र्यो । अहिले धेरैलाई समस्या परेको छ ।’ पढाइका लागि ‘बिद्रोह’ गरेकी प्रभाले भनिन्, ‘अझै केही बिग्रेको छैन । सुष्मा आन्टी (मोहन बैद्यकी श्रीमती)ले यही साल एसएलसी गर्नुभयो । अझैपनि समय छ । ख्यालख्यालमै पढेर सकिन्छ ।’

(प्रभा बोगटी माओवादी युद्धसँग जोडिएकी एक प्रतिनिधि पात्र हुन् । उनीजस्तै कैयौं व्यक्तिले युद्धका कारण पढाइ छोड्न बाध्य भए । प्रभाको कथा प्रेरणादायी बन्ने भएकाले उनको पढाइ पक्षमा केन्द्रीत रहेर यो आलेख तयार पारिएको हो । सम्पादक)


र यो पनि,

► ‘यसैलाई ईच्छापत्र मानेर तपाई नयाँ जीबन शुरु गर्न सक्नुहुन्छ’

► माओवादीमा नयाँ बहस – नपढेर लण्ठू भइयो, पार्टी मातहतको अध्ययन प्रतिष्ठानबाट प्रमाणपत्र लिनै पर्ने विधि बसालौँ (भिडियो सहित)


 

daughter of posta bahadur bogati Prabha Bogati
ADVERTISEMENT