मेरो परिवार मेरो कथा

आमालाई मृगौला दान गर्ने मन्त्रीकी छोरी (भिडियोसहित)

आमालाई मृगौला दान गर्ने मन्त्रीकी छोरी (भिडियोसहित)
avi-shree-nepalaaja
उनको नाम बिजया बिसी । युवा तथा खेलकुद मन्त्री दलजीत विश्वकर्मा श्रीपालीकी छोरी । विश्वकर्मा र श्रीपाली दुबै मिलाएर उनले छोटकरीमा आफ्नो थर बिसी लेख्ने गर्दछिन् । रुकुमको महत गाऊँकी बिजयाले सानै देखि दुःख झेलिन् । कारण उनका बुबा माओवादी जनयुद्धमा भुमिगत भए । माओवादीले युद्ध थाल्दा उनी पुग नपुग २ बर्षकी थिइन् । कहिले काहीं बुबा घरमा आएपनि मामा भनेर चिनाइन्थ्यो । उनले पछि सम्म बुबालाई मामा भनिरहिन् । उनी ६/७ बर्षकी मात्र थिइन् । घरमा रुवावासी भयो । उनले कारण के हो भन्ने पत्तो पाइनन् । शहिद परिवार भन्दै भेट्न आउँन थाले ‘कमरेड’हरु । उनलाई शहिद परिवारको अर्थ थाहा थिएन । विस्तारै थाहा पाइन् बुबा युद्धमा सहिद हुनुभएछ । आमाले अर्थाइन्, ‘बुबाको हत्याको बदला लिन म पनि युद्धमा जान्छु । तिमीहरु काइँला बा र काइँली आमासँग बसाओ ।’ आमा युद्धमा गएपछि बुबाको पत्र आयो, ‘बुबा त जिवितै हुनुहुँदोरहेछ ।’ पार्टीमा नाम जुधेकाले उनी मारिएकोे खबर फैलिएको रहेछ । संयोगपनि अचम्मको । ‘अघिल्लो दिन बुबा आउनुभयो, भोलिपल्ट आमा । आमालाई पत्तै थिएन बुबा जिवित रहेको ।’ बिजया युद्धको अपत्यारिला आयाम खोतल्दै गइन् । नाम चलेका माओवादी कमाण्डर दलजीत दम्पत्ति घरबाहिर थिए । सुरक्षाकर्मी घरमा आइरहन्थे । गास छाडेर छोरीहरु जंगल भाग्थे । घर नै आगो लगाइदिएपछि बस्ने ठाऊँसमेत भएन । त्यसपछि दलजीत र सुनकुमारीले छोरीहरुलाई अन्तै सेल्टर दिने निर्णय गरे । कान्छी छोरीलाई कैलालीका दीपक सापकोटाले आश्रय दिए । ३ छोरी लिएर सुनकुमारी कालीकोटको मालकोट लागिन् । मालकोटमा प्रकाश जनवादी विद्यालय संचालन भइरहेको थियो । त्यही सुनकुमारीले बालगृह संचालन गरिन् । कोडबाडामा सैनिक क्याम्प भएकाले पार्टीमा झरना नामले चिनिने सुनकुमारीलाई अर्को संकट आइलाग्यो । त्यसपछि उनले अझ दुर्गमतिर गएर बालगृह खोलिन् । बिजया प्रकाश जनवादी विद्यालयमै रहिन् । खासमा बिजयाको नाम अनिता थियो । उनी हरेक विधामा बिजयी हुन थालेपछि उनको नाम बिजया राखियो । ‘सरहरुले सबैलाई जित्ने बिजयी भएकाले तिमी बिजया हौँ भन्नुभयो । मलाई पनि मन प¥यो ।’ बिजयाले नाम परिवर्तनको किस्सा सुनाउँदै भनिन्, ‘मालकोटमा बस्दा फेरी बुबा सहिद भएको खबर आयो । बुझ्दा होइन रहेछ । बुबाको पार्टी नाम प्रशान्त भएकाले प्रशान्त कोही मरे खबर हाम्रोमा आउँथ्यो । प्रशान्त फेरी कमन नाम थियो युद्धमा ।’ कैलालीमा रहेकी बहिनीलाई पनि कालिकोट नै ल्याउने कुरा भयो । बिजयालाई साथमा लिएर सुनकुमारी छोरी लिन गइन् । एउटा घरमा बिजयालाई छोडेर सुनकुमारी कता गइन कता । सायद पार्टीको सम्र्पकमा । एउटी बच्ची विजयालाई फुपु भन्दै बोलिरहेकी थिई, उनीहरु दिनभर सँगै खेले । साँझ बिजयाले आमालाई बहिनीका बारेमा सोधिन् । आमाले फुपु भनेर बोलाउने त्यही बच्ची नै बहिनी भएको बताइन् । ‘हामी कस्तो अवस्थामा थियौं । न बुबालाई बुबा भन्न पाउने न दिदीबहिनीको चिनापर्ची हुने । त्यतिबेला म रोएँ ।’ यसो भन्दै गर्दा भावुक स्वभावकी बिजयाको गला अबरुद्ध भयो । शान्ति प्रक्रिया पछि
शान्ति प्रक्रिया शुरु भयो । उनीहरु मालकोटबाट रुकुम रोल्पा फर्के । बीचमा जाजरकोटको कम्युनमा केही समय बसे । त्यसपछि बिजया रोल्पाको थवाङमा पढ्न थालिन् । उनले बल्ल चाल पाइन् बुबा त पढ्नमा तेज रहेछन् । उनी पढ्नमा पनि नामी रहेछन् । ‘तिम्रो बुबाजस्तै बन्नुपर्छ । अहिलेसम्म उसको रेकर्ड कसैले तोडेको छैन । पढाइमा त अंचल टप गरेको हो । खेलमा उस्तै । उसको भलिबल खेल देखेर राजाले उसलाई बक्सिस दिए । उसले बिद्यालयका लागि काँडेतार मागेको हो ।’ शिक्षकहरु यसै भन्थे । थवाङ पढेका दलजीतका बारेमा बिजयाले बुझ्ने मौका पाइन् । माओवादीको लालकिल्ला थवाङको हावापानीले दलजीतलाई कमरेड, छापामार, कमाण्डर हुँदै मन्त्री बनायो । अन्यथा उनी अब्बल पेशाकर्मी र खेलाडी हुने रहेछन् । बिजयाको फेरिएको जीबन
एसएलसी पास गरेपछि बिजया नर्सिङ पढ्न काठमाडौं आइन् । बुबाआमा उनलाई भेट्न काठमाडौं आएका थिए । एक्कासी आमाको शरीर र खुट्टा सुनियो । जाँच गराउँदा उनको किड्नी फेल भइसकेको रहेछ । डायलसिस गरेपछि केही निको भयो । तर, हप्तैपिच्छे गर्दा झन्झण्टिलो । आमाको स्वास्थ्य अवस्था बिग्रदो थियो । यस्तैमा बिजयाको विवाह पहिले महत गाउँकै छिमेकी र हाल पोखरा बसाइ सराइ गरेका सिपाहीसँग भयो । ‘हिजो सेना दुस्मन लाग्थ्यो, आज सेना जीबनसाथी बन्यो ।’ पारिवारिक समायोजनका बारेमा खुलासा गर्दै बिजया मुस्कुराइन । आमालाई फेरी च्याप्यो । बिजयाले बिकल्प खोज्न थालिन् । आमालाई किड्नी दिने निधो गरिन् । उनले श्रीमानसँग सल्लाह मागिन् । ‘आमा बुबाको जीबन जोगाउनु हाम्रो अहोधर्म हो ।’ उनले सैन्य मन बुझिन् । त्यसपछि उनले आमालाई मृगौला दान गरिन् । मृगौला दिएको केही समयपछि फेरी समस्या देखियो । दिंदा सबै ठीक थियो । पछि आमाको शरीरले उनले दान गरेको मृगौला ‘रिजेक्ट’ गरिदियो । धन्न, उपचारपछि उनले दिएको मृगौलाले २० प्रतिसत भएपनि काम गरेको छ । आमा उनैले दिएको मृगौलाको भरमा बाँचिरहनुभएको छ । ‘आमालाई आंशिकरुपमा भएपनि स्वास्थ बनाउन सकेकोमा खुशी छु । आखिर म आमाको अंश न हुँ । आमा नभएको भए म हुन्थिन ।’ उनी भावुक भइन् । बुबा मन्त्री हुँदा
शान्ति प्रक्रियामा आइसकेपछि बिजयाको परिवारको संख्या बढ्यो । उनले नयाँ बहिनी पाइन् । बहिनी गर्भमा हुँदा आमाको स्वास्थ्यमा समस्या देखियो । सात महिनामै अप्रेशन गरे बहिनीलाई जन्माइयो । युद्धमा छँदा भन्दा शान्ति प्रक्रियामा आएपछिका पीडा घतलाग्दा छन् । युद्धको बेला उनी अबोध थिइन्, अहिले परिवारको पीडा बुझ्न सक्छिन् । ‘आमाको स्वास्थ्य स्थितिले सबैभन्दा बढी पिरोल्छ ।’ गहभरी आँशु राख्दै उनले मनको बह पोखिन् । पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा बुबा दलजीत मन्त्री बने । उनी मन्त्री बन्नुपनि संयोगको खेल रहेछ । आमा बिरामी नभएको भए बुबा सेना समायोजनमा जाने पक्कापक्की थियो । आमा एक्कासी बिरामी भएपछि आइसियूमा राखियो, भोलिपल्ट सेना समायोजनको टुंगो लाग्यो । युद्धको जग्जगीमा सेना देख्यो कि भागाभाग गर्ने बिजयाको जीबनमा भिन्दै दृश्य देखिन्छ । उनको जीबनसाथी सेना छन्, बुबाको सुरक्षामा सेना तैनाथ छ । सेना र सुरक्षाकर्मीको कडा पहरामा रहेको मन्त्री निवासमा उनीहरु बस्छन् । यसलाई बिजया स्वभाविक मान्छिन्, ‘हिजो हामी आआफ्नो ठाऊँबाट देशकै लागि भनेर लडेका थियौँ । बुझाइ मात्र फरक थियो । उद्देश्य एउटै रहेछ ।’ बिजयले जीबनलाई दुःखसुखको मिलनका रुपमा अर्थाइन् । ‘बुबा मन्त्री हुनुहुन्छ, सुखको कुरा । आमा बिरामी हुनुहुन्छ दुःखको कुरा । जीबन भनेकै दुःख र सुखको लुकामारी रहेछ ।’ युवावयमा प्रवेशमात्रै गरेकी बिजयाले जीबनको सार सुनाइन् ।

 

bijaya bc daughter of minister daughter who donated her kidney to her mother
ADVERTISEMENT