कभर स्टोरी भिडियो मेरो परिवार मेरो कथा

बिमलाको बयान ‘लालबाबु कालो र होचो भएर के भयो ? (भिडियो सहित)

बिमलाको बयान ‘लालबाबु कालो र होचो भएर के भयो ? (भिडियो सहित)

भारतीय प्रधानमन्त्री नरेन्द्रभाइ मोदीको प्रतीक्षा गर्दै शीर्ष नेताहरु ह्यात होटेलमा टहलिरहेका थिए ।

बिमला महत पनि त्यहीं थिइन् । उनले आफ्नो परिचय दिइन्ः म लालबाबु पण्डितको परिवार । फरासिली बिमलाले परिचय दिन नपाउँदै उनीप्रति नेताहरुले बेग्लै सम्मान दर्शाए । आरजु राणाले ग्वाम्लाङ्ग अँगालो हालिन् । शेरबहादुर देउवा पनि के कम एउटा फोटो खिचम भन्दै अघि सरे । त्यसपछि बिमलाले भेउ पाइन्, ‘सामान्य प्रशासन मन्त्री लालबाबुलाई जनताले मात्रै होइन, विपक्षी दलका नेताले पनि श्रद्धा गर्दा रहेछन् ।’ अमेरिकामा पढेकी आरजु र बेलायतमा पढेका शेरबहादुरको पठित जोडीबाट गजबको व्यवहार पाएपछि बिमलाले साँझ लालबाबुलाई सन्दर्भ सुनाइन् ।

व्यक्तिगत विषयमा उतिसारो नखुल्ने लालबाबुले आरजुको प्रसंशा गर्दै भने ‘संसदीय समितिमा आरजुले कर्मचारीले डिभिपिआर लिन नपाउने पक्षमा मत राखेकी थिइन् । म आफैं पनि अमेरिका बसेर आएकी हुँ, विदेशीको ग्रिनकार्ड र पिआर लिएको कर्मचारीले देशको सेवा गर्न सक्दैन भन्ने बुझेकी छु भनेर आरजुले तर्क गरेपछि धेरै सभासद् छक्क परेका थिए ।’ हिजोआज बिमलाको परिचय लालबाबुको परिवारको रुपमा स्थापित भएको छ । उनलाई पनि श्रीमानको नामले परिचित हुन पाउँदा गर्व लाग्छ । तर, यसो भन्दै गर्दा बिमलाको आफ्नै इतिहासप्रति अन्याय भएको छ । बिमला आफैं पनि राजनीतिक पृष्ठभूमी भएकी संर्घषशील नारी हुन् ।

">

बिमलाको बाल्यकाल र अचाक्ली संर्घष

महत परिवारको भएकाले बिमलालाई धेरैले ‘माइती नुवाकोट हो ?’ भनेर सोध्ने गर्दछन् । नुवाकोटे नेता दाजुभाइ (रामशरण र प्रकासशरण) सँग थर मिलेकै कारण यो प्रश्न उनलाई सोधिने गरिन्छ । त्यसमाथि लालबाबु असार पन्ध्रमा नुवाकोटमा हलो जोत्न गएपछि धेरैले ससुराली उतै रहेछ भन्ठाने । तर, त्यस्तो होइन । बिमला काठमाडौं उपत्यकाकी रैथाने हुन् । ललितपुरको भैंसेपाटीको सम्पन्न महत परिवारमा उनको जन्म भएको हो । गर्भे टुहुरी बिमला सम्पन्न परिवारमा जन्मे पनि संर्घष र अभावसँग बाल्यकालमै जुध्न विवश पात्र हुन् । बिमला गर्भमा थिइन् । बुबा सुरक्षा निकायमा जागिरे भएकाले बीरगंज जानुपर्ने भयो । औंलोको कारण उहाँको उतै निधन भयो । आमाले छोराछोरी र घरबार राम्रोसँग रेखदेख गर्नुभएन । कम्पाउण्ड र बगैंचासहितको घरमा बसे पनि बिमलाले सम्पन्नता अनुभव गर्न पाइनन् । विस्तारै बुबाको सम्पत्तिमाथि काकाले हैकम जमाउन थाले ।

दिदी, दाइ र बिमला तीनै जना भन्ट्याङभुन्टुङ थिए । जान्ने भएपछि उनीहरुले अधिकार खोज्न थाले । घरबाट विस्तापित बनाइए । तेह्र बर्षकै उमेरमा बिमला रोजीरोटीका लागि भौतारिनुपर्ने भयो । बिस्कुट फ्याक्ट्रीमा काम गर्नेदेखि सिलाइबुनाइसम्म गरेर उनले घरको गुजरा चलाउँन थालिन् । जसोतसो विद्यालय पनि गइरहिन् । एसएलीसम्म भएपनि पास गरिन् । आफ्नै काकासँग मुद्दामामिला चल्न थाल्यो । शक्तिशाली काकाका सामू असाहय बिमलाको संर्घष आफैंमा चुनौतिपूर्ण थियो । ‘आमाकै साथ थिएन.....’ यति भन्न नपाउँदै उनको वाक्य बस्यो । निकैबेर रोकिएपछि उनले थपिन्, ‘काकाकै छोरी कोपिलाले भित्रीरुपमा सहयोग गरेकी थिई । उसैको कारण हामी बाँचेका हौँ ।

उसले सहयोग नगरेको भए हामी उहिल्यै सिद्धिन्थ्यौँ ।’ गर्भ फरक भएपनि कोपिला र बिमलाको मन एउटै थियो । बहिनी भएपनि कोपिला आमाको भुमिकामा देखिइन । बिहे गरेर दक्षिणकाली गएपछि कोपिला थला परिन् । असाध्य भएपछि बिमला भेट्न गइन् । कोपिलाले रुँदै भनिन्, ‘तलाई देख्न मात्रै मेरो सास रोकिएको हो । तँ आइस्, अब म जान्छु ।’ कोपिलासँगको त्यो विछोड व्यक्त गर्ने सामाथ्र्य बिमलामा थिएन । उनले बिट मारिन्, ‘हामीले सर्वोच्वमा मुद्दा जित्यौँ । कोपिलाले आफ्नो बुबाले अन्याय गरेको भन्दै हामीलाई साथ दिएकी थिई । बहिनी भइकन पनि उ त मेरी आमा हो ।’

बिमलाका दाइको निधन पनि अल्पायुमै भयो । सानो भतिज छोडेर दाइ परलोक भएपछि मुद्दामामिला सबै बिमलाको काँधमा आयो । पहुँच र प्रभावका सामू ‘नाथे’ केटीको मुद्दा थियो त्यो । सर्वोच्वमा मुद्दाको फैशला हुँदा खुशीले उनी 'वान्स मोर' भन्दै चिच्याएकी थिइन् । दरबारबाट उनी घरबारबिहीन अवस्थामा पुगेको बेला थियो त्यो । सम्पन्न परिवारमा जन्मेर पनि विपन्न हुनुको पीडा उनले बुझेकी थिइन् । कोही दिनदुःखी देख्यो कि सेवामा जुटिहाल्थिन् । औषधीमूलो गर्नतिर लागिहाल्थिन् । जसका कारण उनको एकसाथ दुईवटा छबी बन्योः संर्घषशील र दयावान नारी । टोलमा उनलाई नचिन्ने कोही भएन । २०२२ सालमा जन्मेकी बिमला आफ्नो उमेरभन्दा बढी पाको भइसकेकी थिइन् ।

गाह्रोसारो परेका छिमेकीहरु उनीसँग सहयोग माग्न र सुझाब लिन आउँथे । घरव्यवहारकै कारण उनले बिहेबारीका बारेमा सोच्न पाइनन् । यस्तैमा एक दिन दामोदर खड्काले भेट्न बोलाए । एमालेका नेता खड्काले सोझै प्रस्ताव गरे, ‘भान्जी चुनाव जित्नै पर्ने छ । तपाईं वडाध्यक्षको उम्मेदवार हुनुपर्यो ।’

राजनीतिप्रति खाशै रुची नभएकी बिमलासमक्ष सो प्रस्ताव अकस्मात आएको थियो । उनले जवाफ फर्काइन्, ‘राजनीति साजनीति नगर्ने मामा । हात जोड्दै भोट माग्दै हिड्न मन छैन ।’ खड्का, रामहरि केसीलगायतको जोडबलमा उनी ०५४ सालको स्थानीय निकायको उम्मेदवार भइन् । काकाका छोरा मदन महत काँग्रेसबाट उम्मेदवार थिए । उनलाई चुनाव हार्नेभन्दा पनि मदनसँग हार्ने कुरा बढी पीडादायी हुनेवाला थियो । ‘लामो कपालवाली त्यही दुब्ली अग्ली केटी हो उम्मेदवार ?’ धेरैले यस्तै प्रश्न गर्थे । उनले बाजी मारिन् । हेर्दाहेर्दै बिमला वडाध्यक्ष भइन् । दुब्ली पातली ख्याउँटे ३२ बर्षिया बिमलाको दौडधुप वडाध्यक्ष भएपछि झनैं बढ्यो । एमालेको सरकारले बृद्धभत्ता, विधवा भत्ताको व्यवस्था गरेको थियो ।

उनी हाम्रो कोशेली भन्दै भत्ता बुझाउँन घरघर जान्थिन् । बुढाबुढी ‘छोरी आयौँ’ भन्दै सुम्सुमाउन थाल्थे । उनी भत्तासँगै बिस्कुट पनि दिन्थिन् । बुढाबुढीको आँखाबाट खुशीको आँखा चुहिन्थ्यो । बुबालाई गर्भमै गुमाएकी र जिवितै भएपनि आमाको माया नपाएकी बिमलाका आँखा पनि रसाउँथे । यसो गर्दागर्दै उनी धेरैको आँखाको नानी भइन् । दुनियाँको सेवा गर्दागर्दै उनी बुढीकन्य भइसकेकी थिइन् ।

लालबाबुसँग बिहे

‘दुःख दबाएर हास्न सक्ने खुबी राजनीतिमा झन काम लाग्दो रहेछ ।’

राजनीतिमा लागेपछि बोलक्कड बिमलाको वाकपटुता झनैं बढ्यो । गोरो बर्ण, अग्लो कद र लामो कपालका कारण उनी धेरैको नजरमा परेकी थिइन् । त्यसमाथि उनी फर्रर बोल्न थालेपछि मान्छेहरु हेरेको हे-यै हुन्थे । जीबनमा उनले धेरै चोट सहेकी थिइन् । तर उनी फक्रेको फुलझैं मुस्कुराउँथिन् । ‘दुःख दबाएर हाँस्न सक्ने खुबी राजनीतिमा झन काम लाग्दो रहेछ ।’ उनले वडाध्यक्ष हुँदाको अनुभव सुनाइन् । ‘अविवाहित हो रे यो ?’ चिनेपछि मान्छेहरु साउँती मार्थे । चिनेकाले ‘कहिले हो पुलाउ खान पाइने ?’ भन्दै विवाहका लागि दवाव दिन्थे । उनलाई भने विवाहका बारेमा उतिसारो मतलब नै भएन । बैंसमा उनले बाल नदिएकाहरु केटाकेटी लिएर हिंडेको भेटिन्थे । ‘खोइ त ? कहिले हो ? हाम्ले त यस्तो प्रगति गरिसक्यौँ ।’ साथीभाइले यसो भन्दा उनलाई कता कता चस्स हुन्थ्यो । तर, पनि मेसो मिलिरहेको थिएन । जस्तोतस्तो ठाऊँबाट आएको कुरा उनले सुन्दै नसुन्ने । यस्तो हुँदाहुँदै बेला घर्किसकेको थियो । तत्कालिन सांसद सुशीला नेपालले बिमलाको बिहेका लागि विशेष जोड गरिन् ।

छिमेकी भएका कारण पनि सुशीलाले बिमलासँग भेटेपिच्छे विहेको कुरा गर्थिन् । उनले लालबाबु पण्डितको कुरा ल्याइन्, ‘सांसद हो, अविवाहितपनि ।’ पार्टीकै कार्यकर्ता भएपनि बिमला लालबाबुलाई चिन्दिनथिन् । कुरा आएपनि खाशै अघि बढेन । एकदिन घनघोर पानी परिरहेको थियो । भैंसेपाटीमा वडाको कामले घुमफिर गर्दै गरेकी बिमला ओत लाग्न एउटा पसलमा छिरिन् । सो पसलमा पहिल्यै ३ जना ओत लागिरहेका थिए । पसल्नीले चिनाइन्, ‘उहाँ हाम्रो वडाध्यक्ष ।’ चिनापर्ची भएपछि ती तीनले मुखामुख गरे । पछिमात्र थाहा पाइन्, ती तीन जनामध्ये एक शेरधन राई थिए । भैंसेपाटीबाट फर्के लगत्तै शेरधनले लालबाबुलाई ‘छाड्नै नहुने’ भनेर उस्काएका रहेछन् । विहेका लागि पार्टीका क्षेत्रिय सदस्य गम्भीर रानाले फेरि कुरा चलाए । ‘पुलाउ खाने प्रस्ताव लिएर आएको ।’ जिस्केझैँ रानाले कुरा झिके । बिमला पनि के कम, ‘पुसमा आको कुरा फासफुस’ भन्दै टार्न खोजिन् ।

नामझैं गम्भीरले गम्भीर हिसावले तर्क गरे । त्यसपछि उनीहरु सुशीला नेपाललाई भेट्न गए । अग्लो कदकी बिमलाले केटाको हाइट सोधिन् । ‘तपाई केटाका अघि फुच्ची देखिनुहुन्छ’, गम्भीर हाँसे । ‘बिहे नगरेको केटा भए तपाईहरुले भनेपछि हुन्छ ।’ बिमलाला कुरा छिमोल्दिइन् । ‘रुन पर्ने र हुन पर्ने जे गरे पनि हुन्छ’, बिबाहको प्रसंग सम्झँदा उनको मुहारमा मुस्कान छायो, ‘कुरा अघि बढिहाल्यो । हाइटमा अल्झने कुरा भएन ।’ २०५९ जेठ २२ गते बल्खु कार्यालयमा ३७ बर्षे बिमला र ४३ बर्षिय लालबाबुका बीच जनवादी बिबाह भयो । सँगै, मुटुमा ढ्याँग्रो ढोक्ने गरी बाजा बजाएर बिहे गर्ने बिमलाको किशोरीकालिन सपनाको अन्त्य भयो । उनले घरबाटै दुईवटा दुबोको माला बनाएर लगेकी थिइन् । पूरै भैंसेपाटी बल्खुमा उर्लिएको थियो । बल्खुस्थित एमाले पार्टी कार्यालयको प्रांगढ खचाखच थियो । बिमलाको बिहेले उपत्यका र मधेशलाई जोडेको थियो ।

वर्णाश्रम व्यवस्था अनुसार फरक तहमा रहेका पण्डित र बिमला एकै हलका नरनारी भए । बास्तवमै उनीहरुको विवाह दुई व्यक्तिबीचको मिलनमात्र थिएन, दुई समाज, क्षेत्र र जातको सम्मिलन थियो । सर्लाही पुख्र्यौली भएका पण्डित मोरङबाट राजनीति गर्थे । बिहे गरेपछि बिमला मधेश झरिन् । उनले त्यहाँ अचम्मै लाग्ने गरी माया पाइन् । उनलाई सबैले छोरी र कमरेड भन्थे । बुहार्तन बेहोरेको अनुभव उनीसँग छैन । कालो बर्ण र होचो कदका लालबाबुसँग गहुँगोरी अग्ली महिला सँगै हिडेको देख्दा अपरिचितहरु फर्किफर्कि हेर्थे । परिचितहरु लालबाबुलाई ‘खुबसुरद भावी’ भन्दै बधाइ दिन्थे ।

कालोवर्णका लालबाबु प्रतिउत्तरमा मुस्कुराउँथे । उनी मुस्कुराउँदा सेता दाँत टलक्क टल्कन्थे । बिमला मख्ख पर्थिन । सासू सर्लाहीको धनगडामा बस्नुहुन्थ्यो । हेर्दै माया लाग्ने बृद्धवयकी सासुबाट बिमलाले आमाको माया पाइन् । ‘वहाँ बाँचेको भए म सजाएर राख्थे । मेरो धोको पूरा भएन ।’ हासो र आँशुको गजबको मिश्रण भएकी बिमला हास्दाहास्दै रुन थालिन् ।

जनआन्दोलनमा जेल र राजनीतिक जीबन बिमलाको बिहे हुँदा लालबाबु सांसद थिए । केही महिनामै राजाले शासनसत्ता हातमा लिए । सांसद पद खुस्कियो । कोटेश्वरमा दुईवटा कोठा भाडामा लिएर बसेका लालबाबु त्यसपछि बिराटनगर लागे । बिमलापनि साथमै रहिन् । राजाका बिरुद्धमा आन्दोलन चर्कदै गयो । लालबाबु दिनहुँ आन्दोलनमा हिड्थे । बिमला बिरामी थिइन् । उनको मन मान्दैनथ्यो । यस्तैमा उनीहरु दुबै जना पक्राउ परे । जनआन्दोलन सफल भएसँगै संसद पुर्नस्थापना भयो । पण्डित दम्पत्ति काठमाडौं फर्के ।

लालबाबु चर्चित सामान्य प्रशासन मन्त्री हुँदा बिमलाको साधना

लालबाबु कहिलेकाहीं घरमा निराशा व्यक्त गर्थे, ‘यस्ता त मन्त्री छन् यो देशमा । देश कसरी बन्छ ?’

लालबाबु पण्डित सुशील कोइराला नेतृत्वको सरकारमा सामन्य प्रशासन मन्त्री बने । उनले डिभीपिआर लिन नपाउँने गरी निजामति कर्मचारी ऐन संशोधन गर्ने निधो गरे । सो निर्णयले उनको छबी व्यापक बन्यो । रातारात उनी हाइहाइ भए । निर्णय लिएपछि पछाडि नफर्कने स्वभावका लालबाबु अघि बढिरहे । बाहिरफेर हाइहाइ कमाएका लालबाबु मन्त्रीहरुबाटै हैरान भएका थिए । बरिष्ठ मन्त्रीहरु नै लालबाबुलाई चुनौति दिन्थे, ‘हुटिट्याँऊले आकाश थाम्न खोजेजस्तो नगरे हुन्छ ।’ लालबाबु कहिलेकाहीं घरमा निराशा व्यक्त गर्थे, ‘यस्ता त मन्त्री छन् यो देशमा । देश कसरी बन्छ ?’ बिमला आफ्नो जीबन कहानी जोड्दै लालबाबुलाई हौस्याउँथिन्, ‘त्यति शक्तिशाली काकासँग त मैले हिम्मत हारिनँ, तपाई त आफैँमा नेता । आँटे सकिन्छ । जनताले साथ दिएकै छन् । सत्यको जित अवश्य हुन्छ ।’

लालबाबुलाई ज्यानमार्ने धम्की आएको खबर संचारमाध्यममा देख्दा उनको मन तरंगित हुन्थ्यो । मनमनै चित्त बुझाउँथिन्, ‘भुक्ने कुकुरले टोक्दैन, धम्काउँने कायर हुन् ।’ उनलाई कतिपयले कर्णप्रिय शैलीमा भाउजु भन्दै फोन गर्थे । साखुल्य बनेर उनलाई सम्झाउँथे, ‘गिरोहले चलाएको देश हो भाउजु, दाइलाई सम्झाउनुपथ्र्यो । परिवार नै सखाप पार्छन यिनीहरु ।’ उनी जवाफ फर्काउथिन्, ‘गिरोहले नै चलाइरहोस् भन्न खोज्नुभाको हो ?’ लालबाबु रातदिन काममा जोत्तिइरहने । कम्पुटरमा घोत्लिरहने । फोन उठाउन भ्याँइनभ्याँइ हुने । बिमलाको मन छटपटिन्थो, ‘यति गर्दापनि बुढाले आँटेको काम सफल भएन भने ?’ सानोमा बुढापाकाले भनेको झट्ट सम्झिइन्, ‘आशा पु-याउलान् भनेर खुट्टा पनि गलाइयो ।’ आशादेवीको मन्दिरका बारेमा उनले सुनेकी थिइन् । मन्दिर कहाँ छ भन्ने समेत थाहा थिएन । खोजि गरिन् र काभ्रे पुगेर प्रथाना गरिन्, ‘देशका लागि भगवान समक्ष आएकी छु । निजी कुरा माग्न आएकी होइन । शक्ति हेर्न आएकी हुँ । कर्मचारी ऐन पारित गराइदेऊँ । म लाखबत्ति बाल्नेछु ।’ बुढा लालबाबु बुढीको भाकलप्रति बेखबर थिए । कम्युनिष्ट बुढालाई मन्दिर धाएको कुरा भन्ने आँटसमेत उनमा रहेन । मन्त्रिपरिषद्ले विधयेक संसदमा पठायो ।

संसदले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठायो । बिमलाको छटपटी चुलियो । ‘कतै राष्ट्रपतिले रोक्ने हुन् की ?’ घरबाट बाहिर निस्केपछि सित्तिमित्ति लालबाबु फोन गर्दैनन् । एक दिन लालबाबुले फोन गरे, ‘ल तिमीलाई बधाइ । ऐन संशोधन भयो, भर्खर लालमोहर लाग्यो ।’ साँझ उनले लालबाबुलाई खुसुक्क लाखबत्ति बाल्ने योजनाका बारेमा सुनाइन् । लालबाबुले ‘तिम्रो इच्छा भए म के भनुँ’ भन्दै अवरोध पन्छाइदिए । २०७२ साउन ११ गते उनले लाखबत्ति बालिन् । देशका लागि लड्दालड्दै नास्तिक परिवारकी बिमला आस्तिक बनिसकेकी थिइन् ।

‘म अनाथ पनि होइन, माइती पनि कोही छैन ।’

होचो र कालो बर्णका बिरुद्धमा स्वाभिमानी उचाइ र सफा मन ‘म अनाथ पनि होइन, माइती पनि कोही छैन ।’ माइतीको सन्दर्भमा उनको यो अभिव्यक्ति आफैँमा शब्दभण्डार बनेको छ । बिहे गरेपछिका दिनमा पनि उनलाई संर्घषले छाडेको छैन । कम्पाउण्डसहितको झिंगटीले छाएको दरबारिया शैलीको घरमा जन्मिएकी उनी भाडामा बस्न अभ्यस्त भइसकेकी छिन् । ‘कहिलेकाही सारै साँघुरो भएजस्तो लाग्छ ।

बैठक कोठापनि छैन । तरपनि चलेकै छ ।’ उनले घरायसी व्यथा विसाइन् । ‘होचोसँग बिहे गर्दिन भनेर सर्त राख्ने तपाईको बिहे त होचैसँग भयो है ?’ प्रश्न सुन्न नपाउँदै उनी खित्का छोडेर हासिन् । ‘त्यतिबेला मैले जे भने त्यही गरे नि ’ सिलसिलेवार कुरा गर्न सक्ने बिमलाले कुटनीतिक जवाफ फर्काइन्, ‘उहाँको जस्तो हाइट भाको मान्छेकी श्रीमती हुन पाएकी छु । उहाँको स्वाभिमानी उचाइका सामू शारीरिक उचाइ त तुलना नै हुँदैन ।’ श्रीमानको छबीमा गर्व गर्दा ५१ बर्षिया बिमलाको मुहारमा भिन्दै चमक छायो । कुरैकुरामा एमाले नेता शंकर पोखरेलले कालो बर्ण र मधेशी मोर्चाको राजनीति जोडेर गरेको ट्विटको प्रसंग आयो । सन्दर्भ थियो लालबाबुको श्याम बर्ण । बिमलाले जवाफ फर्काइन, ‘उहाँले त्यस्तो लेख्दा मलाई चस्स भयो । तर शंकरजी नराम्रो मान्छे होइन । शब्द व्यवस्थापन राम्रो नभएको मात्रै हो ।’ ‘कालो लेख्दा त तपाईलाई चस्स भयो भने श्रीमान कालो हुँदा चस्स हुन्छ कि हुँदैन ?’ मौकामा चौका हान्ने हिसावले सोधिएको तितो प्रश्नलाई उनले स्वभाविकरुपमा ग्रहण गरिन् । ‘आ, गोरोले यहाँ के गरेका छन् र ? कालो भएपनि उहाँको दिल सफा छ । दिल सफा भएको मान्छे जति राम्रो कोही हुँदैन ।’ उनले श्यामबर्णका श्रीमानको बचाऊ गरिन् ।

बिमलाको परिवार सानो छ । बुढाबुढी र ‘छोरी’ बस्छन् । अर्चना उनका लागि छोरीमात्रै होइन, आमाजस्तै छिन् । एघार पढ्दै गरेकी अर्चनाले बिमलाको जन्मदिनको बेला (असोज २) मा भनिन्, ‘तपाई केही किन्नु न । मैले पैसा जम्मा गरेकी छु ।’ ‘माइती भने पनि यही, सन्तान भने पनि यही भइ ।’ यसो भन्दा बिमलाका आँखामा पुनः आँशु भरियो ।

अन्तरवार्ता छ भन्ने थाहा पाएपछि अघि नै भनेकी थिइ, रुने होइन नि । रोएको देखि भने रिसाउँछे ।

भित्र कोठामा अर्चना पढिरहेकी थिइन् । बिमलाले मलिन स्वरमा विस्तारै भनिन्, ‘अन्तरवार्ता छ भन्ने थाहा पाएपछि अघि नै भनेकी थिइ, रुने होइन नि । रोएको देखि भने रिसाउँछे । अति ख्याल छ उसलाई । आमाको माया नपाएकी मलाई भगवानले आमा पठाएजस्तो लाग्छ ।’ उनी किनमेल गर्न उति मन पराउँदिनन्। ‘बर्थडेमा केही किन न ?’ लालबाबुको प्रस्ताव उनले त्यसै टारिदिएकी रहिछन् ।

लालबाबु गम्भीर प्रकृतिका छन् । बिमला फरासिली स्वभावकी । कहिलेकाही फुर्सदमा तरकारीसम्म केलाइदिन्छन्, अघिपछि व्यस्तको व्यस्त । ‘कति कुरा भनुँला भन्ने लाग्छ ।’ उनले पण्डितप्रतिको दुखेसो व्यक्त गरिन्, ‘अन्तिममा अँ सम्म नभन्ने, अहिले त बानी परिसक्यो ।’ बुढाबुढीमात्र भएर घुम्न गएको रेर्कड छैन । सामान्य प्रशासन मन्त्री हुँदा उनी श्रीमानसँगै सिंगापुर गइन्, त्योपनि आफैँले हवाइभाडा तिर्ने गरी । ‘सिंगापुर बस्दा मलाई प्रचण्डजीको खुब याद आयो ।’ अनायशै उनले प्रधानमन्त्री प्रचण्डको प्रसंग निकालिन् । ‘किन ?’ प्रष्टिकरण दिंदै उनले भनिन्, ‘उहाँले सिंगापुर बनाउँछु भन्नुहुन्थ्यो, यस्तो पो रहेछ भनेर खुब सम्झे ।’ यो भन्दै गर्दा उनी मुस्कुराइन् ।

पछिल्लो समय साथीभाइसँगै उनीहरु गाईजात्रा र फिल्म हेर्न जाने गरेका छन् । आफ्नै बुढाका बारेमा गाइजात्रामा बहश हुँदा मज्जा आउँछ । ‘मेरो बुढा जस्तो बन्न मनोज गजुरेलले मोसो दल्नुप¥यो ।’ सेलिब्रेटी नेताकी श्रीमती बिमलाले गर्व गर्दै भनिन्, ‘गाइजात्रामा अरुलाई व्यंग्य हुन्छ, मेरो बुढाको प्रसंशा । यहाँभन्दा खुशी अरु के मा लाग्छ ?’ उनी अनुभवको कसीमा खारिएकी नारी हुन् । भन्छिन्, 'को मान्छे कस्तो हो भन्ने कुरा म छुट्टाउन सक्छु ।' लालबाबु मन्त्री हुँदा कतिपय नातो लाउँदै नजिकिन आउँथे ।

उनले किन आको भन्ने भेउ पाइहाल्थिन् । जीवन भोगाइलाई उनले काव्यात्मक हिसावले प्रस्तुत गरिन्, 'रबि नपुगेको ठाऊँमा कवि, कवि पनि नपुग्ने ठाऊँमा अनुभवि ।'

प्रस्तुतिः नारायण पौडेल 

interview with bimala pandit lalbabu pandit;s wife bimala pandit