अन्तरवार्ता

सबै गीत च्यातिदिएँ, आँशु बर्रर् झर्‍यो (भिडियो सहित)

सबै गीत च्यातिदिएँ, आँशु बर्रर् झर्‍यो (भिडियो सहित)

एघारजना दाजुभाइमा हुर्किएका थिए प्रशिद्ध लोकगायक कुमार बस्नेत । बाबुले पाँचवटी श्रीमती ल्याए । पाँच आमाका ११ छोरामध्ये कुमार दोस्रो नम्बरका थिए, अर्थात माइलो । कुमार सबैभन्दा जेठी आमापट्टिका थिए । हुने खाने परिवारमा भएका कारण उनका बुबाले धेरैपटक विवाह गरे । समय नै त्यस्तै थियो । त्यो जायज भयो । काठमाडौंको कमलपोखरीमा उनको जन्म भयो । कुमारका बाबु नेपाल नाटक संघका अध्यक्ष थिए । कालाकारितासँग जोडिएको परिवार थियो । परिवारिक वातावरणले उनलाई नाच्न, गाउन प्रेरित गर्यो । काठमाडौंको रैथाने, हुनेखाने परिवारकै सदस्य भएर पनि गायनमा आफ्नो नाम स्थापित गर्न कुमारले धेरै मेहनत गर्नु पर्‍यो । उनले कैयन गीत गाए । ती मध्ये केही रोमान्टिक गीत सदावहार छन् । यसकारण कुमार पनि ‘सदावहार’ नै छन् ।

कुमार बस्नेत नेपाली गायन र लोक संगीतको क्षेत्रको जबर्जस्त नाम हो । चाहेर पनि उनको नाम कसैले हटाउन सक्दैन । उनको कालमा उनले जे जति गरे त्यो अब जति गरे पनि त्यसलाई  अर्को व्यक्तिले प्रतिस्थापन गर्न सक्दैन । ‘उनकी छोरी तरुनी’, ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’ जस्ता उनका गीतहरु सुपरहिट भए । सानै उमेरमा उनले नाच्न गाउन थाले । विशेषगरि उनी गायक हुनु भन्दा पहिला ‘डान्सर’ थिए । विश्वका धेरै मुलुक पुगेर उनले नृत्य पनि प्रस्तुत गरे । देश विदेशमा कार्यक्रममा भोगेका कैयन रोचक घोचक घटना उनको सम्झनामा अझै ताजा छन् ।

‘उ बेलाका के कुरा, मेरो गीत भनेपछि युवतीहरु भुतुक्कै हुन्थे’ जवानीका रामान्टिक किस्साहरु खोतल्न शुरु गर्दै बस्नेतले भने, ‘ बैंशमा निक्कै हेन्डसम थिएँ । अहिले पनि उमेरअनुसार स्मार्ट र हेन्डसम नै छु ।’

(एक छिन हाँसो)

कुनै समय केटीको भेषमा नृत्य गर्दा एक युवकपछि लागेको प्रशंग उनले सुनाए । विभिन्न ठाउँमा नृत्य प्रदर्शन गर्ने क्रममा उनी केटीका रुपमा प्रस्तुत हुन्थे । एक युवक झुक्किएर कुमारलाई धेरै कार्यक्रममा पछि लागेछन् । नृत्य सकेर एक साँझ उनी युवतीको कपडा फेर्दै थिए । तीनै युवक टुप्लुक्क आइपुगे । सुन्दर युवती एक युवकमा परिणत भएको दृश्य आफ्नै अगाडि देखिरहँदा ती युवक अवाक् भए । बरफ पग्लेर पानी भएको जस्तो, सपनाको महल गल्र्याम्म ढलेजस्तो । ती युवकले ‘युवती कुमार’का विषयमा के के सपना सजाएका थिए, यकिन छैन । कुमारले भने, ‘युवक रुन थाले । भाई भनेर मलाई अंगालो मारे । एकछिन् भावुक भइरहे । अनि निस्किए कतै । फेरि भेट भएन ।’

कुमार बस्नेतका आवाज स्पष्ट, गायकी ‘क्याची’ र सपाट लाग्छ । उहिलेकै जमानाको कुरा गर्दा उनी डान्समा पनि माहिर नै थिए । नेपाली सांस्कृतिक टोलीमा रहेर धेरै मुलुक घुमे । देश देशका सांस्कृतिक भवनमा नाचे, गाए । भारतको असाममा सांस्कृतिका कार्यक्रम प्रदर्शन गर्ने तयारी भइरहेको थियो । प्रस्तुति शुरु गर्नै लागेको बेला एक नेपाली नै आएर कार्यक्रम नगर्न सचेत गराए । उनले धेरै देशका मान्छे त्यहा आएको र यस्तो जमघटमा नेपालीले नाचेर केही हुनेवाला छैन । नाचेर देशको इज्जत नबढ्ने उल्टो बेइज्जत हुने’ भन्दै निरुत्साहित गरे । कुमारले भने, ‘त्यो मान्छेको कुरा सुनेर धेरै दुःख लाग्यो । तर त्यसले भन्दैमा नृत्य रोक्ने हाम्रो कुनै योजना थिएन । साँझ कार्यक्रम भयो । खुब राम्रो प्रस्तुति दियौं । परिणाम हुनु के थियो– हामी नै प्रथम भयौं । ’

उनले विश्वका कुना कुना चहारे । धेरै देश पुगे । विदेशमा उनको पहिचान एक नेपालीको हुन्थ्यो । नेपालमा त्यही बेला ‘कुमार बस्नेत’ बनिसकेका थिए । विश्वको जुनसुकै कुनामा पुगे पनि देशको इज्जत र मर्यादामा आँच आउने कुनै पनि काम नगरेकोमा उनलाई गर्व छ । नृत्यमा रमाइरहँदा उनको परिवारमा भने उनको ‘करियर’ प्रति बुबाले चिन्ता गर्न थालिसकेका थिए । घुमफिर गर्न पाएकोमा कुमार विन्दास नै थिए । तर उनका बुवा चिन्तित । एक दिन उनका बुवाले बोलेको एकै वाक्यले कुमारको जीवनको मोड बदलिदियो । त्यो वाक्य के थियो ? कुमारले भने, ‘अहिले पो जवान छस्, तैले नाँचेको सबैले हेर्छन्, बुढेसकालमा बुढाले मर्काएको कम्मर कसले हेर्छ ?’

बुबाको वचन कुमारको मनमा खिल झै गड्यो । बुढेसकाल निश्चित थियो । त्यो सत्यबाट उनी भाग्न सक्दैन थिए । जुन कोणबाट तोलिँदा पनि बाबुको वचनमा खोट देखाउने ठाउँ भेटेनन् उनले । अन्ततः उनले नृत्य छाडे । त्यसपछि उनी नाच्नकै लागि भनेर स्टेजमा कहिल्यै उक्लेनन् ।

त्यही मोडबाट कुमारको गायनयात्राले लिक समायो । लोकसंगीतको क्षेत्रमा उनको रेलले तेज गति लियो । त्यो बेला कुमारलाई लोक गायक बन्छु भन्ने थिएन । उनको मनले जस्तो–जस्तो गीत मन पराउथ्यो, त्यस्तै गीत गाउँथे । त्यसैमा रमाउँथे । आधुनिक गीतमा झुमिरहेको बेला एउटा विदेशीले बोलेको शब्द उनलाई दिव्य उपदेश जस्तो बनिदियो । त्यो विदेशीले भनेको थियो, ‘मौलिक संस्कृतिमा तिम्रो देश संसारकै धनी छ, फेरि किन अरुको शैलीमा अल्मलिन्छौं ?’

वास्तवमै, विश्वका जुनसुकै कुनामा गएर नेपाली मौलिक गीत गाउँदा त्यहाँका मानिसलाई नौलो लाग्छ । आधुनिक, पप त उनीहरुकै देशमा छँदै छ नी । उनीहरुका शैलीका गीत हाम्रोलागि नौलो हो । उनीहरुका लागि होइन । नौलोपन नै मौलिकता हो । हामीले हाम्रो मौलिकता जोगाउनु पर्छ भन्ने कुमारले अठोट गरे ।

उनले आफ्नै लोकालयमा आधारित गीत गाउन शुरु गरे । तर त्यो त्यति सजिलो काम थिएन । किनभने आधुनिक गीतको चस्का पसिसकेको युवकको जीब्रोलाई लोकभाका समाउन समय लाग्यो । उनमा प्रतिभा थियो । भाका समाए । स्रोताले पनि मन पराए । देशभर रहेका लोकभाकालाई संकलन गरेर उनले स्रोतामाझ पस्किन थाले । गाउँका गीत सहरमा गुञ्जिन थाले । गाउँको दुःख, खुसी, जीवन गीतमार्फत सहरमा बसाई सर्न थाल्यो । गाउँ गाउँका स्रोतालाई कुमारले आफ्नै जीवन गाइदिएको जस्तो लाग्थ्यो । कुमारको गायनले काठमाडौंको साँघुरो दायरा नाघ्यो । गाउँ गाउँमा उनको गीत पुग्यो । जनजनको मनमा कुमार बस्न थाले । अनि बने लोकका गायक –लोकगायक ।

प्रतिबन्धमा परेको गीत

कुमारको गीत लोकभाकाको हुन्थ्यो । तर त्यसमा आधुनिकताको केही अंश पनि हुन्थ्यो । आधुनिक संस्कृतिमा उनले गीतबाटै प्रहार गर्थे । आधुनिकताका नाममा जथाभावि देखिने परिवर्तनलाई मन नपराउने र तिखो टिप्पणी मन पराउने स्रोताका लागि कुमारका गीत खास लाग्थे ।

‘छोरीभन्दा आमा तरुनी लिपिस्टक पाउडरले लान्छ क्यार घुमाउन झिल्के डाइभरले’

कुमारको यो गीतलाई आधुनिकतामा बञ्चरो हान्ने माध्यम भन्दा पनि हुन्छ । यो गीतको कथा बेग्लै रहेछ । यो गीतले विकृति पस्केको भन्दै प्रतिबन्ध लगाइएछ । धेरै समय बजाउन दिइएन । आखिर किन त्यस्तो भयो ? कुमारले छोरीभन्दा आमा तरुनी प्रशंग बेलिविस्तार लगाएः ‘एकपटक बिहेमा धादिङ गएको थिएँ । त्यहाँ छोरीहरुको भन्दा आमाहरुको नक्कल धेरै देखेँ । त्यो देखेर छोरीभन्दा आमा तरुनी गीत तयार पारेँ । समाजमा जे देखेँ त्यसैलाई गीत बनाएँ । समाजलाई उसको ऐना देखाइदिएको थिएँ । मैमाथि आइलाग्यो समाज । मैले समाजको स्वरुप होइन, चरित्र देखाइदिएको थिएँ । ऐनामा चरित्र देखियो भने मान्छेले त ऐना फुटाउँछ, अरुको के कुरा ! त्यो गीत लामो समय प्रतिबन्धमा पर्यो । तर स्रोताको जिब्रोमा भने गीत बसिसकेको थियो । औपचारिक ठाउँमा प्रतिबन्ध लागे पनि जनजनमा पुगिसकेकोले गीत जबर्जस्ती नै हिट भइदियो । यो गीत अहिले पनि चलिरहेको छ ।’

पाँच वर्ष डेटिङ

अघिल्लो पुस्ताका कुमारको प्रेम कहानी कम रोचक छैन । उनको प्रेम कहानी अहिलेकाहरुको केही फरक केही मिल्दो छ । । पाँच वर्षसम्म त प्रेम नै गरे । त्यसपछि मात्रै विवाह । प्रेम जीवन स्मरण गर्दै हुर्किसकेका छ सन्तान (तीन छोरा, तीन छोरी) सन्तानका पिता बस्नेत भन्छन्, ‘म केटीको पछि लाग्ने मान्छे थिइनँ । उनलाई म मन परेँछु । आफै बोल्न आइन् । कुरा भयो । कुराकानी र भेट बाक्लिन थाल्यो । सम्बन्ध प्रेममा बदलियो । पाँचवर्ष डेटमा बिताइयो । अनि विवाह भयो ।’

मरेपछि गरिने सम्मान

कलाकारहरुलाई मरणोपरान्त सम्मान गर्ने चलन छ नेपालमा । शवमा खादा ओढाउन सरकारी मान्छेहरु पनि पुग्छन् । ३ सयमा किनेको खादाको बिल ५ सयको बनाउँछन् । अनि के को सम्मान ? तितो सत्यलाई नजिकबाट नियालका यी गायकले भने, ‘यस्तो सम्मान किन चाहियो हामीलाई ? मरेपछि सामान्य नागरिक सरह दाहसंस्कार गरिदिए हुन्छ । बाचुञ्जेल नगरिकएको सम्मान मरेपछि काम छैन । ’ राज्यले जे गरे पनि जनताले भने कलाकारलाई सम्मान दिएको उनको अनुभव छ । बस्नेत भन्छन्, ‘नेताले नमस्कार पाउनुको विशेष अर्थ हुन्छ । कतिपयले बाध्यता, कसैले चाकडीका लागि कसैले स्वार्थका लागि नेतालाई नमस्कार गर्छन् । तर कलाकारलाई जनताले हृदयबाट नमस्कार गर्छन् । कलाकारसँग जनताले कुनै स्वार्थ राख्दैनन् । निश्वार्थ भावनाले माया गर्छन् ।’

सरकारले कलाकारको उचित सम्मान गर्न नसकेकोमा बस्नेतको गुनासो छ । ‘एउटा कलाकारले आजीवन कलाको माध्यमबाट राष्ट्रको सेवा गर्छ । तर राज्यले पैसा खर्च नगरी दिन सकिने सम्मान पनि दिँदैन । यो दुःख पक्ष हो ।’

मेरा आँशु बरर्र झरे, गीत आफैले च्याते

बस्नेतलाई विभिन्न समयमा धेरैले ९ सयवटा जति गीत गाइदिनु भनेर दिएका रहेछन् । एकसाँझ ती गीत ओल्टाइपल्टाइ हेरेछन् । ९ सय गीत कसरी रेकर्ड गर्ने ? समस्या सजिलै उभियो, समाधान थिएन । एउटा एल्बम निकाल्नै कम्तिमा ६० हजार खर्च लाग्छ । त्यसमा भाका कस्ले भर्ने ? धेरै बेरसम्म उनी घोरिए । जवाफ फुरेन । मन भारी भएर आयो । सास गुम्सियो । आवेग, पश्चातापले शरिरमा जलन भएजस्तो भयो । आँखाबाट आँशु बरर्र भए । ‘मलाई पाप नलागोस्’ भन्दै गीत च्यातिदिए । बस्नेतले भने, ‘मलाई त्यो दिन गायक भएकोमा धिक्कार लाग्यो । मैले अरुको सिर्जनालाई जनतामाझ पुर्याउन सकिनँ । धेरै दुःख लाग्यो । सोचेँ म कस्तो गायक ! ’

हरिवंश र मदनकृष्णले राजनीतिमा जान दिएनन्

राजनीतिमा गएको भए कुमार बस्नेत अहिलेसम्म मन्त्री बनिसक्थे । उनको आत्मविश्वास पनि यस्तै छ । तर उनी राजनीतिमा प्रवेश गरेनन् । आखिर किन त ? उनले भने, ‘मलाई झुट बोल्न आउँदैन । घुस खान नैतिकताले दिँदैन । राजनीतिमा यी दुवै काम गर्नुपर्छ ।’ कुमारको यो विशेषता थाहा पाएका हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले उनलाई राजनीतिमा जानबाट रोकेछन् । उनी भन्छन्, ‘राजनीतिमा गएको भए, अहिले पाएको सम्मान बाँकी हुन्थ्यो हुन्न थियो थाहा छैन । जे गरेँ ठीक गरेँ ।’ प्रस्तुतिः कञ्चन न्यौपाने

interview of kumar basnet