मेरो परिवार मेरो कथा

उपत्यकाकी हरिमाया र मधेशका महेशको २६ बर्ष पूरानो यो जीवन यात्रा

उपत्यकाकी हरिमाया र मधेशका महेशको २६ बर्ष पूरानो यो जीवन यात्रा

‘म काठमाडौं आउँदा मधेस आन्दोलन भइसकेको थिएन । अधिकारको लडाई पनि भएको थिएन । तर, मलाई काठमाडौंले ज्वाईं बनायो ।’ बेन्चमा पलेंटी कसेर उनी जीबन कथा फुकाउँदै गए ।

उनको सानो चिया पसलमा हरिमाया चिया पकौडा बनाउन व्यस्त थिइन् । सँगैको मासु पसलबाट टक्टक् आवाज आइरहेको थियो । दर खानका लागि माइत हानिएका महिलाहरु बाटोमा हतार गरेको देखिन्थे ।

सप्तरीका महेश सिंहको जीबन आफैंमा एउटा कथा हो । उनको जन्म आर्थिक अवस्था नाजुक भएको परिवारमा भयो । त्यसमाथि उनी सानै छँदा आमा बित्नुभयो । बुबाको माया उनले पाउन सकेनन् ।

बाह्र तेह्र वर्षसम्म उनी परिवारमा दुःख सहेर नै बसे । जेनतेन गरे सात कक्षासम्म पढे । त्यसपछि घरमा बस्ने स्थिति रहेन । पढ्ने वातावरण पनि भएन । उनले घर छाडे ।

घर छाडेर कहाँ जाने ? कुनै गन्तव्य थिएन । डुल्दाडुल्दै उनी धरान पुगे । होटलमा काम गर्न थाले । अरुले पकाएको हेर्दाहेर्दै उनी आफैं पनि पकाउन जान्ने भए । साथीभाइ सबैले हौस्याए, ‘महेशले पकाएको मिठो ।’

धरान उनका लागि ट्रान्जिटमात्र थियो, गन्तव्य थिएन । उनलाई धरान साँघुरो लाग्न थाल्यो । आफुसँगै होटेलमा काम गर्ने साथीसँग उनी काठमाडौं हानिए ।  सप्तरीको गाऊँ छाडेको ६ महिना पुग्दा नपुग्दै उनी काठमाडौं शहर पसेका थिए । उमेर भर्खर किशोरवयमा प्रवेश गर्दै थियो । ट्रकमा बसेर काठमाडौं छिर्दै गर्दा उनको मनमा अनेकथरि कुरा खेलिरहेका थिए । तंरगित महेश मकवानपुर पुग्दा न न पुग्दै मरिन्छ कि क्या हो भन्ने स्थितिमा पुगे । एक नासले गोली चल्न थाल्यो । त्यति बेला उनले केही सोधेनन् । डराएर दुई हात मुठ्ठी पारेर छाती च्यापे । गोलीको आवाज सुन्न छाडेपछि मात्र उनले राम्रोसँग सास फेरे ।

कुलेश्वरमा झारिदियो ट्रकले । कहाँ जाने भन्ने थिएन । जहाँ गइएला गइएला भन्दै उनीहरु हिड्न थाले । कालीमाटी हुँदै उनीहरु बसन्तपुर पुगे । मन्दिरै मन्दिरको क्षेत्रमा ठेलम ठेलम काठमाडौंको वास्तविक तस्बिर देख्दा महेश अवाक् भए । ‘कहाँ को सप्तरी कहाँ को काठमाडौं ?’ उनको मनले वेस्मारी तुलना गर्न थाल्यो, ‘बैठ्ना यसिन जग्गामा हो ।’ दिनभरिको चहलपहलले महेश काठमाडौंसँग मन्त्रमुग्ध थिए । जब रात प¥यो, समस्या गुजिल्टिएर आयो । ‘कहाँ जाने कस्कोमा जाने ?’ कुनै ठेगान थिएन । धन्न साथी थियो । उनीहरु यताउता भौतारिरहे ।

भुस्याहा कुकुरले घरिघरि झम्टन्थे । घुमिफिरी रुम्जाटार भनेजस्तो उनीहरु जति घुमे पनि फेरि बसन्तपुर नै आइपुग्थे । बैशाख जेठको मौसम, धन्न काठमाडौं कठ्यांग्रिएको थिएन । हनुमानढोका अगाडिको पेटीमा उनीहरु पल्टिए । अघिल्लो रातको ट्रक यात्रा र दिनभरीको हिडाईले गलेका महेश भुसुक्क निदाए ।

मध्यरातमा कसैले उनीहरुलाई हकार्‍यो, ‘को हो, किन सुतेको यहाँ, उठ्’ । आँखा मिच्दै महेशहरु उठे । सोच्दै नसोचेको दृश्य देखियो । हतियारधारी समुहले उनहरुलाई घेरेको थियो । महेशले सकी नसकी आफ्नो बेलिविस्तार लगाए । ‘भोलिदेखि यहाँ नसुत्नु । देशकाल राम्रो छैन ।’ कमाण्डरले यसो भनेपछि सो समूह दुबै दिशामा बन्दुक सोझाउँदै अघि बढ्यो ।

त्यसपछि महेशको निन्द्रा चट् । ‘मकवानपुर मे बन्दुक चल्ल, यहाँ भी यैसन हुंँइल । सायद जिइना धेर नाही हो ।’ यस्तै सोच्दा सोच्दै महेशलाई आमाको न्यानो काख याद आयो । आमा भइदिएको भए यो रातमा यस्तो अवस्था हुंँदैनथ्यो । निन्द्राले छाडेको उनका उजाड आँखामा आँशु भरियो ।

भोलिपल्ट बिहान उनले वास्तविक कुरा थाहा पाए । देशमा आन्दोलन चलिरहेको रहेछ । २०३६ सालको विद्यार्थी आन्दोलनताका उनी काठमाडौं छिरेका रहेछन् । सामान्य प्रर्दशनबाट शुरु भएको आन्दोलन देशव्यापी बन्दै थियो । उनलाई जनमत संग्रह भन्ने ठ्याक्कै थाहा छैन । तर, उनी काठमाडौं आएको केही समयपछि चुनाव भएको उनको स्मृतिमा धुमिल गरी बसेको छ । त्यतिबेला उनलाई के था ? परिवर्तनको लहर शुरु भएको मौसममा उनी काठमाडौं हानिएका थिए ।

भोलिपल्ट उनलाई काठमाडौं अघिल्लो दिनको जस्तो रमाइलो लागेन । रात कसरी बिताउँने भन्ने चिन्ताले सताइरह्यो । उनी छट्पटीमा थिए । कुनै उपाय पत्ता नलगाए राति बेहाल हुंँने उनले बुझिसकेका थिए । यस्तैमा उनले चिनेचिने जस्तो लाग्ने एकजनालाई रिक्सा चलाइरहेको देखे । महेशले रिक्साचालकलाई पछ्याए ।

सप्तरीतिरकै रिक्साचालकले महेश र साथीलाई बडो प्रेम दर्शाए । सुन्धरामा रहेको रिक्सा साहुको पसलमा लिएर गए । महेशले रिक्सा मर्मत गर्ने काम पाए । साथीले रिक्सा चलाउन पाउँने भए । सो वापत उनीहरुले खान र बस्न पाउने भए । महेशलाई जिन्दगी पार लागेको अनुभूति भयो ।

विस्तारी महेशलाई जीबन यसरी चल्दैन भन्ने लाग्यो । भारत असामका साथी पनि घर फर्कने सुरमा थिए । प्रिय साथी घर फर्कने कुराले उनलाई वेचैन बनायो । उनी पनि बल्खुबाट ट्रक चढेर बीरगंज लागे ।  ‘मेरो लागि न कोही रुने मान्छे थिए । न म कसैका लागि रुनु थियो ।’ फगत एक्लो जिन्दगीको कथा सुनाउँदै गए महेश । विरगंजमा उनले धरानमा काम गर्दाको अर्को साथी भेटे । उसँगै मिठाइ पसलमा काम गरे । तर, धेरै टिक्न सकेनन् । त्यसपछि उनले पान पसल खोले । ३/४ बर्ष यसरी नै चल्यो । तर, उनको मन फुरेन । उनी नारायणगढतर्फ लागे ।

बाटोमा चिया बेच्न थाले । पूर्वपश्चिम काठमाडौं बस सेवाका कारण रातभर नारायणगढ चालू रहन्थ्यो । फुटपाथको पसलले जीबनको भार थेग्दैन भन्ने निष्कर्षसहित उनी फेरि काठमाडौं लागे । काठमाडौंमा पनि उनको मन बसेन । उनी भारतको नयाँदिल्ली गए । एक बर्ष मिठाइ पसलमा काम गरे । दिल्लीले दिल बसाल्न सकेन । ०४५ सालको भुकम्पका बारेमा दिल्लीमा गाईंगुंइ सुनेका थिए । कताकता उनलाई काठमाडौं फर्किन मन लाग्यो ।

नेवारका ज्वाईं

काठमाडौं आएपछि उनले घर प्लाष्टर गर्ने मजदुरी गर्न थाले । मिठाइ पसलमा पनि काम गर्दै रहे । किशोरवय शुरु हुँदानहुँदै घर छाडेका उनको फिरन्ते जीबन व्यवस्थित भइसकेको थिएन । २३/२४ बर्षको भइसकेका उनी भोलिका लागि चिन्तित हुंन थालेका थिए । १० बर्ष भौतारिए पनि उनको स्थिति हाता लाग्यो सुन्य भनेजस्तै थियो ।

चिया काठमाडौंमा खुब चल्थ्यो । मानिसहरु घरमा भन्दा बाहिरै बढी चिया पिउँने । कसैलाई कुर्न प¥यो वा कसैसँग गफ गर्न प¥यो भने चिया नै चाहिने । काम पनि भारी नहुंँने उनले चिया पसल खोल्ने सुर कसे । सटर लिने क्षमता थिएन । उनले लगनखेलमा बाटोमै चिया पसल खोल्ने निधो गरे । छेवैको मासु पसलसँग अनुमति लिएर उनले फुटपाथमा चिया पसल थापे ।

यही चिया पसल नै उनको जीबनमा परीवर्तन ल्याउने माध्यम बन्यो । ‘मर्स्याले बनाको चिया मिठो छ ।’ चिया पिएपछि यस्तै प्रतिक्रिया आउँथ्यो । उनी मख्ख पर्थे । वरिपरिका पसले उनका स्थायी ग्राहक बने । बिहान बिहान उनको चिया खाने र राजनीतिक गफ चुट्नेको भीड लाग्थ्यो । ४६ सालको जनआन्दोलनको पृष्ठभूमि बन्दै रहेछ । चिया पसलबाट आम्दानी राम्रो भएपछि उनले मिठाइ पसल खोले । उनलाई देखाएर रैथानेले छोरालाई गाली गर्थे, ‘मर्स्याले कति दुःख गरेर चिया पसलबाट मिठाइ पसल खोलिसक्यो । टिमीहरुको चाल भने यस्टो ?’

महेशको पसलको पारिपट्टि फुटपाथमै किराना पसलका सामान राखेर रैथाने एक जोडी बस्थ्यो । लगनखेलकै नेवार भएपनि उनीहरुको आर्थिक अवस्था नाजुक थियो । महेश र उनीहरुका बीचमा बिस्तारै हिमचिम बढ्यो । कुराकानी हुन थाल्यो । दुबैको धरालत एउटै भएर होला, त्यो जोडीले उनलाई मर्स्या नभनेर महेश नै भन्थ्यो । उनी परिवारको सदस्यजस्तै बन्दै गए ।  साँझ नेवार दम्पत्ति महेशको पसलमा चिया खाएरमात्र घर फर्कन्थे ।

एक साँझ नेवार दम्पत्तिले महेशलाई जिस्काउँदै भने ‘के हो महेश बाबु, बुढो भईसक्यो बिहे गर्नु पदैन ? एक्लै काम गरिरहेका छौ । बिहे गरेपछि सहयोग त हुन्छ ।’ महेशले पनि जिस्किदै जवाफ फर्काए ‘मसँग को विहे गर्छ र हजुर घरको न घाटको मान्छेलाई, कोही गर्नेछन भने खोजिदिनुस् आफै ।’

यसरी नै विहेको कुरा दम्पत्तिले प्रायः झिक्न थाले । महेशले ख्यालख्यालमै जवाफ फर्काए, ‘केटी खोज्न किन दुःख गर्नुहुन्छ ? दिनुस न आफ्नै छोरी राम्रोसँग पाल्छु ।‘ साहुसाहुँनी केही नभनी आफ्नो बाटो लागे । महेशलाई रिसाएकी भन्ने डर लागिरह्यो । किनकी उनीहरुको बिहे सम्भव थिएन । महेश मधेसी मूलको, यता केटी काठमाडौंको रैथाने नेवार । भन्न त भनियो, तर ठाऊँ नै छाडेर हिड्न पर्ने हो कि भन्ने चिन्ताले महेशलाई सतायो । भेट्दा बित्तिकै ‘जिस्केर भनेको हो है’ भनेर प्रष्टिकरण दिने योजना महेशले बुनिसकेका थिए ।

साहुसाहुनी उनको पसलमा आए । महेशको शीर निहुँरिएको थियो । ‘महेश बाबु ज्वाईं बन्ने हो त ?’ बडो हसिलो शैलीमा साहुले सोधे । उनी त छक्कै परे । ‘मान्नुहुन्छ भने बन्ने, किन नबन्ने । महेश बोलेपछि बोल्यो बोल्यो ।’ महेश दृढ सुनिए ।  ख्यालख्यालमै उनी शाही परिवारको ज्वाईं बने । १५ बर्षीय हरिमायासँग २३ बर्षका महेशको विवाह भयो । नेवारले छोरी मधेसीलाई दिएको कुरा ललितपुरभरि फैलियो । जात र क्षेत्रसँग उनलाई मतलब थिएन । ०४७ सालमा उनको बिहे भयो ।

बिहेपछि महेशलाई जिम्मेवारी थपिएको र साहस पनि बढेको अनुभूति भयो । नेवार समुदायका अन्यले नि जिस्केरै किन नहोस ‘मर्स्या ज्वाईंसाप’ भन्थे । बिहेपछि महेशको जीबन व्यवस्थित बन्यो । व्यापार पनि राम्रै चल्न थाल्यो ।

स्काउटको बासदेखि सास्तीसम्म

लगनखेलमा उनको पसल नजिकै स्काउटको अफिस थियो । स्काउटका कर्मचारीले कार्यालयको रेखदेख गर्न अह्राए । २०४९ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले फुटपाथमा व्यवसाय गर्न नदिने नीति ल्यायो । व्यवस्थामा परिवर्तन आएको महेशले त्यसपछि अनुभव गरे ।

स्काउटले उनलाई कार्यालय पनि रेखदेख गर्ने सर्तमा आफ्नै परिसरमा टहरो बनाइदियो । उनी मनकामना मन्दिर गएका थिए । फर्कदा छिमेकमा चोरी भएको थाहा पाए । पुलिसले उनलाई आशंका गर्‍यो । उनलाई आफु मधेसी भएकै कारण हेपिएको महशुस गरे । चोर्दै नचोरी उनले १५०० हर्जना दिए । चोरको बात फैलनभन्दा हर्जना सस्तो थियो ।

स्काउटले उनीसँग केही सामान हराएमा क्षतिपूर्ति दिने कागज गरायो । केही दिनमै स्काउटबाट सामान हरायो । उनीसँग हर्जना लिने गरी वहस चल्यो । बेकसुर भए पनि महेश बाध्यता थिए । तर, स्थानीय शिक्षक रामप्रसाद अमात्यका कारण उनी जोगिए । स्काउटकै कर्मचारी ईन्द्रनाथ र अशोक नरसिंहाले हराएको सामान लैजादै गरेको उनले देखेका थिए । पोल खोलिदिए ।

स्काउटको जग्गा सार्वजनिक थियो । स्काउटसँग लालपूर्जा थिएन । स्काउटले कसैलाई नभन्नु भन्दै जग्गापासका लागि मन्जुरनामा देखि धेरै कागजात मिलायो । जग्गा पास भएपछि स्थायीरुपमै बस्न दिने वाचा स्काउटका अधिकारीले गरेका थिए । स्काउटको नाममा जग्गा आएपछि आफुलाई कसैले हटाउन नसक्ने बुझेपछि उनी हात धोएर स्काउटको काममा लागे ।

जब स्काउटको नाममा लालपूर्जा आयो, व्यवहार फेरियो, अनेक बाहना बनाउन थालियो । जसोतसो उनी २० बर्ष त्यही बसे । ०६७ सालमा उनी बाहिर रहेको बेला उनको टहरा खाली गरी ताल्चा ठाकियो । झण्डै तीस लाखको सरसामन यसबीचमा उनले जम्मा गरेका थिए । सबै हिनामिना भयो । त्यसपछि उनले प्रशासनदेखि न्यायलयको ढोका ढक्ढकाए । तर, सुनिदिने कोही भएन ।

बर्तमानमा महेश

पछिल्लो समय महेश व्यवहारिक बन्धनले थला परेका छन् । ३ जना छोरी हुर्किसकेका छन् । छोरा भर्खर ३ बर्षको छ । कलेज र स्कुल पढ्ने छोरीहरुको शुल्क तिर्नै धौधौ छ । बानेश्वरस्थित पञ्चकुमारी मन्दिर जाने भित्री गल्लीमा उनको एउटा सानो चिया पसल छ । सँगैको मासु पसलमा महेशले सहयोग गर्छन ।

आम्दानी उतिसारो छैन । तरपनि उनले हरेश खाएका छैनन् । उनका लागि सबभन्दा ठूलो सुख भनेको दाम्पत्य जीबन हो । २६ बर्षको वैवाहिक जीबनमा श्रीमतीसँगको सम्बन्ध सधैं प्रेमपूर्ण रह्यो । क्षेत्र र भुगोलले उनीहरुको भावनालाई छेकबार लगाउन सकेन । दुःखसुख बाँडेर जिइरहेका छन् । जस्तै पीडा हुँदा पनि श्रीमतीले साथ दिइरहेकी छिन् । उनीहरु दुई जना दुःखसुखका गफ गरिरहेका हुन्छन् । छिमेकका महिलाहरु दंग पर्दे हरिमायालाई सुनाउँछन्, ‘आफ्नालाई त गफ के हो थाहा छैन, तिम्रो त कति मजाको हुनुहुन्छ ।’

हरिमायाले दुःख बिसाइन्, ‘लगनखेलको मिठाइ पसल त्यस्तो चलेको थियो । सानसँग बसिएको थियो । दुःख भन्ने थिएन । दैब लागेपछि दुःख लुकाउन यहाँ आइयो । यहाँ पसल नै चल्दैन ।’ हरिमाया महेशजस्तो समझदार श्रीमानसँग विहे गर्न पाएकोमा गर्व गर्छिन् । उनलाई छोरीहरुको चिन्ता छ । ‘छोरीहरुको कसरी पार लाउने । आफुले पढ्न नपाए पनि यिनीहरुलाई भनेजति पढाउँन पाए हुथ्यो भन्ने लाग्छ ।’ छोरीको प्रसंगमा हरिमायाको स्वर मलिन भयो । आँखा रसाए । उनी भुंइतिर हेरिरहिन् ।

हरिमाया भावुक बनेपछि महेशले कुरा टुंग्याउन खोजे । हरिमायाको कुममा धाप मार्दै महेशले बीट मारे, ‘दुःख धेरै छ हजुर । उसलाई जीबनभर सुखी राख्ने मेरो वाचा हो । कहिलकाहीं दुःख पनि भयो । तर भगवान कसम हरिमायाको साथका कारण मलाई कसैले हर्न सक्दैन ।’

प्रस्तुतिः सागर बुढाथोकी

harimaya ra mahesh
ADVERTISEMENT