मेरो परिवार मेरो कथा

निर्दोष व्यक्ति छ बर्षदेखि कारागारमा, राष्ट्रपतिकै साथी न्यायका लागि रुँदै सडकमा (भिडियो सहित)

निर्दोष व्यक्ति छ बर्षदेखि कारागारमा, राष्ट्रपतिकै साथी न्यायका लागि रुँदै सडकमा (भिडियो सहित)
deepa-gautam-nepalaaja बाहिरफेर तीजको रन्को थियो । छेवैको घरमा छाएको तीज दिपा गौतमको कोठामा प्रष्टै सुनिन्थ्यो । उनी नख्खु कारागारबाट हतार हतार फर्केकी थिइन् । भलै श्रीमानलाई भेट्न जाँदा दीपाले रातो कपडा लगाएकी थिइन्, पशुपतिको छेवैमा बस्ने उनलाई तीजले छोएको थिएन । । चाडपर्व आउँदा उनी नजिकैको पशुपतिभन्दा पहिले नख्खु पुग्ने गर्दछिन् । नख्खुमा उनका पति विश्वनाथ गौतम ६ बर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । तेह्रथुम बसन्तपुरबाट काठमाडौं आएको धेरै भएको थिएन । बसन्तपुरमा उनीहरुको होटल व्यवसाय राम्रै चलेको थियो । तर, द्वन्द्वको राप र तापले उनीहरुलाई पनि छोयो । स्थिति असहज भएपछि उनीहरु काठमाडौं आए । गौतम दम्पत्तिलाई तीन छोरी र एक छोराको लालनपालन गर्न असाध्यै गाह्रो भइरहेको थियो । पूर्व जाँदा यूनिटी लाइफ इन्टरनेश्नल लिमिटेडका संचालकहरु उनको होटलमा बस्थे । काठमाडौंमा आएपछि भेट भयो । केही समयपछि विश्वनाथ गौतम निर्देशकका रुपमा यूनिटीमा जागिरे भए । विश्वनाथमा साहित्य चेतना थियो । राजनीतिक पहुँच र पृष्ठभूमी थियो । त्यसैले उनको स्टाटस ‘मेन्टेण्ड’ गर्न उनलाई निर्देशकको पद दिइएको थियो । २०६६ असारमा विश्वनाथ मासिक तलब ५० हजार र फिल्ड भत्ता पाउँने गरी युनिटीमा आबद्ध भए । गौतम परिवारको सकस कम हुँन थाल्यो । छोराछोरीलाई उच्चा शिक्षा दिलाउने अभिष्ट पूरा हुँदै थियो । unity-life-insurance-nepalaaja-1 यस्तैमा यूनिटीका बारेमा अनेक समाचार छापिन थाले । सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए । उनको निर्देशनमा युनिटीबारे छानबिन समिति बन्यो । छानबिन समितिले युनिटीले गैरकानूनीरुपमा संचालन गरिएको ठहर ग¥यो । र, संचालकलाई दोषि ठहर्यायो । यतिन्जेल त ठीकै थियो । तर, राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक राममणि दुवाडी संयोजकत्वको तीन सदस्यीय छानबिन समितिले विश्वनाथलाई पनि संचालक समिति सदस्य भनी प्रतिवेदन बुझायो । यही प्रतिवेदनका आधारमा विश्वनाथ गौतमसमेतलाई विभिन्न जिल्लामा मुद्धा चलाइयो । विश्वनाथ गौतमले युनिटीको चलअचल सम्पत्तिको फेहरिस्त बोकेर नेता र सरकारी अड्डा धाउँन थाले । उनको तर्क थियो, ‘युनिटीको चलअचल सम्पत्ति अरबौंको छ । यसैबाट नेटवर्कका सदस्यलाई तिर्न पर्ने पैसा तिर्न सकिन्छ । यसको उपयोग गरौं ।’ बैंकमा करोडौं रकम फ्रिज भइरहेको थियो । सम्पत्ति अनेक व्यक्तिको तजबिजमा पुगेको थियो । जग्गाजमिनमा जोतपोत अर्कैले गरिरहेका थिए । खास संचालकहरु वेपत्ता थिए । कर्मचारी भएको र निर्दोष भएका नाताले आफुले विषय पार लगाउन सक्ने भन्दै विश्वनाथ काठमाडौंमै धाइरहेका थिए । तर, जिल्ला अदालत ललितपुरले उनलाई संचालक ठहर गर्यो। दुवाडी प्रतिवेदनलाई आधारमानि उनीसँग १ करोड ६ लाख बिगो र सोही बराबरको जरिवाना तथा ३ बर्ष कैद सुनाइयो । त्यसपछि सुनसरी जिल्ला अदालतले मुद्धाको फैसला सुनायो । २ करोड २३ लाख बिगो र सोही बराबरको जरिवाना तथा ३ बर्ष कैदको फैसला सुनायो । जागिर खाएर केही लाखमात्र बुझ्न नपाउँदै उनको थाप्लोमा करोडौंको बज्रपात पर्यो । कास्की, बर्दिया र चितवन जिल्लामा परेको मुद्धामा उनले सफाइ पाए । पाँचथरमा अरुलाई सफाइ दिएपनि उनको मुद्ध मुल्तवीमा राखियो । ललितपुर जिल्ला अदालतको फैसला उपर विश्वनाथले पुनरावेदन थिए । अहिलेपनि उनको पुनरावेदन विचाराधीन छ । संचालकका रुपमा श्रीमान जेल परेपछि दिपाको परिवार तहसनहस भयो । विश्वनाथ आफु निर्दोष रहेकाले केही नहुंनेमा निश्चिन्त थिए । तर, बर्बाद भइसकेको थियो । त्यसपछि दिपा प्रमाण जुटाउन लागिन । unity-life-insurance-nepalaaja-2 दिपाले कम्पनी रजिष्ट्रार कार्यालयबाट यूनिटीका संचालक को को हुन् भन्ने कागजात झिकाइन् । कम्पनी रजिष्ट्रार कार्यालयले कारागार व्यवस्था विभाग र गृहमन्त्रालयलाई गौतम युनिटी मातहतको कुनैपनि संस्थाको संचालक नरहेको फेहरिस्थ पठायो । २०७१ साल चैत्र ११ गतेको कम्पनी रजिष्ट्रार कार्यालयको गोप्य पत्र दीपाको हातमा परेपछि उनले न्याय पाऊँने विश्वास लिइन् । उनले गृहमा विश्वनाथको रिहाइका लागि निवेदन दिइसकेकी थिइन् । unity-life-insurance-nepalaaja-3 गृह मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाले कम्पनी रजिष्ट्रार कार्यालयको पत्रको व्यहोरासहित मुद्धा फिर्ताका लागि महान्यायाधिवक्ताको कार्यालयसँग राय माग्यो । महान्यायाधिवक्ताले विश्वनाथ गौतम निर्दोष रहेको स्विकार गरेपनि मुद्धा फिर्ता लिन नसकिने व्यहोराको राय दियो । यसका लागि २ वटा तर्क पेश गर्यो   १) अदालतमा बिचाराधीन मुद्धा भएकाले २) एउटै मुद्धामा धेरै अभियुक्त रहेकाले कुनै एकको मुद्धामात्र फिर्ता लिन नमिल्ने । महान्यायाधिवक्ताको सो पत्र देखाउँदै गृहका अधिकारीले दिपालाई जवाफ फर्काए, ‘हामीले प्रयास गरेकै हो । महान्यायाधिवक्ताको कार्यालयले यस्तो पत्र दियो । विश्वजी निर्दोष हो तर उहाँलाई न्याय दिने कुरा हाम्रो वसमा छैन ।’ ०७२ साल जेठ २३ गतेको महान्यायाधिवक्ताको कार्यालयको पत्रले दिपाको मनमा नराम्रोसँग चोट पुर्यायो । unity-life-insurance-nepalaaja-4 दिपाले सरकारी अधिकारीहरुसँग विश्वनाथलई युनिटीको संचालक समिति प्रमाणित गर्न माग गरिन् । ‘संचालक नै हो भने संचालकको प्रमाणपत्र पाउँ, कारागार र जरिवाना भोगौंला ।’ दिपाको तर्क अकाट्य थियो । उनीहरु नत संचालक समितिको सदस्यको आधिकारिता दिन सक्थे नत सदस्यका रुपमा पूर्पक्षमा रहेका विश्वनाथलाई रिहा गर्न नै । राज्य कतिसम्म अबुझ हुँदोरहेछ भन्ने दिपाले जति सायदै कसैले अनुभुति गरेको होस् । नेताको घर दैलो श्रीमान विश्वनाथ गौतमलाई नखाएको विष लागेको थाहा पाइसकेपछि दिपा एकसाथ दाहोरो मनस्थितिमा थिइन् । एकातिर राज्यसंयन्त्रप्रतिको आक्रोश थियो भने अर्कोतर्फ श्रीमानलाई न्याय दिलाइ छाड्ने भोक । कर्मचारीले उनलाई सुझाए, ‘राजनीतिक नेतृत्वले चाह्यो भने निकास निकाल्न सक्छ ।’ ०३९ सालमा १५ बर्ष लाग्दा नलाग्दै दिपा मालेको भुमिगत राजनीतिमा सक्रिय थिइन् । विद्यादेबी पाण्डे (हाल राष्ट्रपति) एउटै तहमा संगठित थिए । विद्यासहित पूर्वका नेताहरुसँग उनको राम्रै चिनजान थियो । उनले समस्याको गुजुल्टो तत्कालिन एमाले उपाध्यक्ष विद्यादेबी भण्डारीसँग फुकाइन् । बिद्याले आफु पदमा नभएकाले केही गर्न नसक्ने बताइन् । त्यसपछि उनी सिपी मैनालीको मा पुगिन् । मैनालीले विश्वनाथ पक्राउ परेको विश्वास गर्नै सकेनन् । मैनालीले तत्कालिन गृहमन्त्री बामदेब गौतमलाई हस्तलिखित पत्र नै लेखिदिए । ‘गैरकानूनीरुपमा राज्यले थुनामा राखेपछि थुनामुक्त गर्न कानूनी बाटो छैन भन्न मिल्छ ?’ अनेक तर्कसहित मैनालीले कडा प्रश्न तेर्साए । unity-life-insurance-nepalaaja-5 यस्तैमा उनले नेपाली काँग्रेसका नेताहरुलाई भेटिन् । काँग्रेसका मुख्य सचिव ऋषीकेश तिवारीले गृह सचिवलाई पत्र नै लेखेर मुद्धा फिर्ता गर्न अनुरोध गरे । विश्वनाथ गौतम निर्दोष रहेको व्यहोरा बुझेपछि तत्कालिन प्रधानमन्त्री सुशील कोइराला भक्कानिए । उनले तत्काल कानून संशोधन गरेर भएपनि विश्वनाथलाई थुनामुक्त गर्न आदेश दिए । यतिन्जेलमा संविधानको चटारो शुरु भइसकेको थियो । त्यसपछि सरकार हटिहाल्यो । २०७२ साल मंसिरमा युनिटीका अध्यक्ष कासिराम गुरुङले दिपालाई एउटा प्रष्टिकरण पत्र दिए । जुन पत्रमा गुरुङले आफु अध्यक्ष रहेको संस्थाका संचालकको व्यहोरा खुलाएका थिए । उनले प्रष्टै लेखेका छन्, ‘विश्वनाथ गौतम विसुद्ध कर्मचारी रहनु भएको र यस कम्पनिको संचालक समितिको पदाधिकारी नभएको ब्यहोरा प्रमाणित गर्दछु ।’ गुरुङको पत्रले दिपालाई झन् ठूलो आधार दियो सो पत्र लिएर उनले तत्कालिन गृहमन्त्री शक्ति बस्नेतलाई भेटिन् । unity-life-insurance-nepalaaja-6 नेकपा एमालेका अध्यक्ष केपी ओली विश्वनाथलाई ज्वाईं भन्थे । दिपालाई उनी सम्झाउँथे, ‘ज्वाईंलाई छुटाउने जिम्मा मेरो भो । म प्रधानमन्त्री बन्दै छु । अब तिमी आत्तिन पर्दैन ।’ प्रधानमन्त्री ओलीलाई नाकावन्दीले हायलकायल पारेको थियो । यस्तो बेलामा व्यक्तिको मुद्धा लिएर के जानुभन्दै दिपा खुम्चिइन् । नाकावन्दी हटेपछि दिपा ओलीलाई भेट्न गइन् । ओलीले भने, ‘ज्वाईं छुटाएर पुण्य कमाउन लेखेको रहेछ ।’ एमालेले पनि विश्वनाथ निर्दोष रहेको पत्र दिइसकेको थियो । ओलीले तत्कालिन गृहमन्त्री बस्नेत र कानूनमन्त्री अग्नी खरेललाई बोलाए । बस्नेतलाई माओवादी अध्यक्ष प्रचण्डले दिपाका श्रीमान अन्यायमा परेको बिफ्रिङ आन्तरिकरुपमा गरिसकेका थिए । सबैले दिपालाई उल्झन सुझाउँदै न्याय दिने वाचा गरे । भरे छुट्लान कि भोलिजस्तो गरी गतिविधि तेज बन्यो । तर, विश्वनाथ छुटेनन् । ‘कहिले के कहिले के ।’ अचानोको पीर खुकुरीलाई के था भनेजस्तो बन्दै गयो । अन्तिममा ओलीले भने, ‘निर्दोष ज्वाईंलाई थुनामुक्त गर्न खोज्दाखोज्दै सकिनँ । भ्याइँदै भ्याइँएन ।’ unity-life-insurance-nepalaaja-7 दिपालाई काँध थाप्ने एक नेता हुन् झलनाथ खनाल । उनी प्रष्टै भन्छन्, ‘युनिटी प्रकरणमा विश्वनाथमाथि अपराध भएको छ । मेरो पालामा मैले थाहै पाइनँ । यसमा घोर अन्याय भएको छ । युनिटीको सम्पत्ति दोहन गर्न मुद्धा बल्झाइएको छ ।’ खनालले विश्वनाथलाई जेल हाल्नुपर्ने कारण नै नरहेको बताउँछन् । सरकार आफ्नै भएपनि दिपालाई न्याय दिलाउँन नसक्नुमा उनी नियत र प्रणालीमा दोष देख्दछन् । ‘प्रचण्डले मैले भनेको कुरा खान्छन् । म भनि हेर्छु बहिनी ।’ खनालले पछिल्लो पटक दिएको आस्वासन हो यो । के भन्छन् मानवअधिकारकर्मी मानवअधिकारकर्मी सुबोध प्याकुरेलका शब्दमा भन्ने हो भने विश्वनाथलाई जस्तो अन्याय धर्तीमा कसैलाई छैन । प्याकुरेल भन्छन्, ‘जसले विश्वनाथलाई जेल हाले, ती सबैलाई जेल हालेर उनीहरुबाट क्षतिपूर्ति दिलाउनु पर्दछ ।’ युनिटीको अरबौंको सम्पत्तिलाई हिनामिना गर्न षडयन्त्रपूर्वक विश्वनाथलाई फसाइएको प्याकुरेलको तर्क छ । ‘बैंकमा करोडौं रकम फ्रिज राखिएको छ । बैंकले बिनाब्याज बर्षौ चलाइरहेको छ । रोपनीका रोपनी जग्गा दोहन भइरहेको छ । संचालक भित्र परिहाले । विश्वनाथलाई पनि फसाएपछि त उनीहरुको टन्टै साफ । माखेसाङ्लोमा विश्वनाथ परेको छ । यो भन्दा ठूलो अन्याय र अपराध अर्को हुँनै सक्दैन ।’ विश्वनाथलाई क्षतिपूर्तीसहित रिहा गर्नुपर्ने तथा राज्यले उनीसँग माफ माग्नुपर्ने प्याकुरेलको भनाइ छ । राष्ट्रपति साथी भएर के गर्नु ? राष्ट्रपति बिद्यादेबी भण्डारी र दिपा साथी हुन् । पहिले नजिकको सम्बन्ध थियो । बिद्याले एकपछि अर्को उचाईं हाशिल गरिन् । राष्ट्रपति भइन् । दिपा एकपछि अर्को समस्यामा बल्झदै गइन् । आँशुको आहालमा परिन् । बिद्याले पहिले आफु ठाउँमा नभएको भन्दै दिपालाई फर्काएकी थिइन् । अहिले बिद्या शिर्षासनमा छिन् । दिपा भेट्न जान सक्दिनन् । राष्ट्रपतिसँगको मित्रताका बारेमा जानकारी राख्नेले उनलाई सुझाउँछन्, ‘राष्ट्रपतिले चाह्यो भने माफि हुन्छ । अस्ती अपराधीले त माफी पायो ।’ यसो भन्दा उनलाई झनै पीडा हुन्छ । उनी प्रश्न गर्छिन, ‘बेकसुरहरु थुनिने र कसुरदारहरुले माफी पाउँने देशकी हुँ भनेर म कसरी सोचुँ ?’ दिपाले प्रचण्डलाई अनेक पटक भेटेकी थिइन् । प्रधानमन्त्री भएपछि भेट्न पाएकी छैनन् । प्रचण्डले तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री बस्नेतसँग रिहाइका लागि कुरा गरिदिएका थिए । अहिले आफैं प्रधानमन्त्री भएको बेलामा न्याय दिन्छन् भन्ने दिपाको आशा छ । प्रचण्डले पनि न्याय नदिए उनले आन्दोलन गर्ने बताउँछिन् । ‘कस्तो आन्दोलन ?’ प्रश्नको उत्तर उनी सहजै दिन्छिन्, ‘व्यक्तिले गर्ने आन्दोलन भनेको आमरण अनसनदेखि आत्मदाहसम्म हो । म मानसिकरुपमा तयार छु । निर्दोष पतिलाई झ्यालखानामा देख्दा म भित्रभित्रै मरिसकेकी छु ।’ श्रीमान झ्यालखानामा लामा न लामा दाह्री पालेर बसेका छन् । हरेक पटक सोध्छन्, ‘म छुट्ने कुरा के भयो ?’ मुटुमाथि ढुंगा राखेर उनी मुस्कुराउँदै भन्छिन्, ‘छिट्टै होला जस्तो छ । प्रधानमन्त्री मन्त्रीले वाचा गरेका छन् ।’ दिपा पीडा सुनाउँछिन्, ‘अरु श्रीमानको दिर्घायुको कामना गरिरहेका छन् । म निर्दोष श्रीमानको रिहाइका लागि प्रथाना गरिरहेकी छु ।’ दिपाको रोदन सुनेपछि कुनामा बसेका छोरीहरु सुक्सुकाउँन थालिसकेका थिए । https://youtu.be/3HfRzZXuFc0

bishwanath gautam dipa gautam ko maan chune kahani