अन्तरवार्ता

पुख्र्यौली भारत भएपनि मेरो नशानशामा नेपाल बगेका छ (भिडियो सहित)

पुख्र्यौली भारत भएपनि मेरो नशानशामा नेपाल बगेका छ (भिडियो सहित)


उनी सरदार प्रितम सिंहका नाति अंगढ सिंह । नेपालमा पहिलो पटक यातायात सेवाको सुरुवात गर्ने सिंह परिवारका अंगढले शिक्षा क्षेत्रमा हाम्फालेका छन् । अंगढका हजुरबुबाले स्थापना गरेको मोर्डन इण्डियन स्कुलले काठमाडौंमा प्रभाव छाडेकै छ । अंगढले शिक्षा क्षेत्रमा नयाँ केही गर्ने सोच बनाएका छन् । हजुरबुबा प्रितम र बुबाबाट प्रभावित अंगढ आफ्नो भिन्दै पहिचान बनाउन चाहन्छन् । त्यसैले उनी नत मोर्डन इण्डियन स्कुलमा सिमित भए नत यातायात क्षेत्रमै लागे । उनले ललितपूरमा पूर्वप्रथामिक विद्यालयको स्थापना गरेका छन् ।

सानो उमेरमा दिइने शिक्षा र संस्कारले जीवनपर्यन्त निर्देशित गरिरहने उनले गहिरो गरी अनुभुति गरेका छन् । उनले स्थापना गरेको विद्यालयको नामले यसैको संकेत गर्दछ । स्टेपिङ स्टोन नामक विद्यालयले अहिले दर्जनांै कलिला बालबालिकालाई भविश्य देखाइरहेको छ । ति बालबालिका मध्ये एक हुन्ः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नाति प्रणव । प्रधानमन्त्रीको नाति पढ्ने विद्यालय संचालकका रुपमा स्टेपिङ स्टोन परिचित हुँदा उनलाई गर्व लाग्दछ । भूकम्प पीडितलाई राहत गर्ने सवालमा उनको विद्यालय अग्रणी रह्यो । सोका लागि उनी राष्ट्रपति विद्यादेबी भण्डारीबाट सम्मानितपनि भए । पारिवारिक इतिहास भारतीय भएपनि उनी नेपालमै जन्मिए र आफूलाई नेपाली भन्नमै गौरव गर्छन् । उनीसगँ गरिएको कुराकानीको सम्पादित अशं ।

यहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ?


म जन्मेको काठमाडौं मै हो । मोर्डन इन्डियन स्कुलमा पढेँ । त्यसपछि दुइ वर्ष चन्डिगढमा पनि पढेँ । त्यहाँ पढ्दा क्रिकेटमा बढी चासो भएकाले त्यहाँबाट पञ्जाव क्रिकेटमा अन्डर १४ मा क्रिकेट पनि खेलेँ । त्यसपछि फेरि काठमाडौं आएँ । बच्चामा एकदम सामान्य किसिमको थिए । म ‘ब्रिलियन्ट’ बच्चा थिइन । पढाइमा भन्दा पनि अन्य कुरामा बढी चासो लाग्थ्यो । जति पढ्नु थियो मैले त्यति गर्न सकिन । पढाइमा ‘एभरेज’ अंक भने आउथ्यो ।

तपाई सुखी सम्पन्न परिवारमा जन्मनुभयो, बच्चामा कत्तिको लक्ष्यवान हुनुहुन्थ्यो ?


लक्ष्यवान एकदमै थिएँ । अहिले पनि छु । म बच्चा हुँदा घरमा हरेक चिज थियो । चाहिएको चिज बुबाहरुले सबै पुर्याइदिनुभएको थियो । मैले बुबाले दिनुभएको सुविधाको कहिल्यै दुरुपयोग गरिन । जब मैले काम गर्न शुरु गरेँ, मलाई ‘म्यानेजर’ बनाइयो तर मेरो मासिक तलब जम्मा १५०० रुपैयाँ थियो । मैले तलकै स्तरबाट काम गर्न शुरु गरेको हो । पारिवारिक वातावरण राम्रो भएपनि कहिल्यै पुल्पुलिएर हिँड्ने काम गरिन ।

भारतमा अहिले को—को हुनुहुन्छ ?


मेरो आमा भारतमै हुनुहुन्छ । उहाँको व्यापार उतै भएर उता बस्नुहुन्छ । मेरो भाइ भने अमेरिकामा छ । परिवारहरु आधा अमेरिकामा, आधा नेपाल र आधा भारतमा हुनुहुन्छ ।

 तपाइले आफ्नो परिवारले शुरु गरेको कुनै पनि व्यवसायमा हात हाल्नु भएन किन ?


त्यसमा पनि धेरै कारणहरु छन् । मेरो हजुरबुबाले यातायात शुरु गर्दा सो क्षेत्रमा प्रतिष्पर्धा नै थिएन । अहिले प्रतिश्पर्धा धेरै छ । त्योबेलामा गाडी सस्तो थियो । ड्राइभरको तलव पनि कम थियो । तर अहिले एउटै गाडिको ५० लाख जति पर्छ । बजारमा प्रतिश्पर्धा पनि धेरै हुनाले एउटै काममा हात हालिराख्न मन लागेन । गाडीको काम नगरेको होइन, तर प्रथामिकतामा नराखेको मात्रै हो ।

शिक्षा क्षेत्रमा हात हाल्ने सोच कसरी पलायो ?


जब मोर्डन इन्डियन स्कुलमा म बुबासगँ काम गर्थे, मैले उहाँबाट धेरै कुरा सिक्ने मौका पाएँ । तर आफैंले केहि गरौँ जस्तो लाग्थ्यो । काम सानै भए पनि मलाई केहि फरक पर्दैन । पछि गएर मानिसहरुले मलाई तैले के गरिस भन्ने प्रश्न उठाउन नसकुन् भनेर नै मैले आफ्नै काम शुरु गरेको हो । मलाई आफ्नो नाम र आफ्नो ठाउँ आफैंबनाउनु छ ।

कुनै पनि पारिवार आर्थिक र सामाजिक रुपमा बलियो हुँदा भावी पुस्तालाई सहज हुने हो ?


पक्कै पनि हो । मैले पनि व्यवसाय शुरु गर्दा केहि रकम घरबाटै लिएर गरेको हो । जबसम्म हामीसँग त्यो रकम हुँदैन र उचित वातावरण हुँदैन काम गर्न अलि गाह्रो हुन्छ । मेहनत मात्र गरेर पनि हुँदैन । परिवारको आर्थिक सहयोग पक्कै चाहिन्छ ।

तपाईको ‘स्टेपीङ स्टोन स्कुल’को बारेमा केही बताइदिनुस न ।


यो विद्यालयको स्थापना गरेको लगभग पाँच वर्ष भयो । पाँच वर्ष अघि शुरु हुँदा यहाँ बच्चा नै थिएनन् । मानिसहरुले कसरि अगाडि बढ्छ भन्थे । विद्यालयको जति तलव थियो त्यति त हाम्रो विद्यार्थीबाट मासिक शुल्क पनि उठ्दैनथ्यो । तर मैले हार मानिनँ । विस्तारै अघि बढाउँदै गएँ । घाटा पनि धेरै नै खाइयो । अहिले बालबालिका १०० भन्दा बढि छन् । यो चाँहि ‘प्रि’(पूर्व प्राथामिक) विद्यालय हो ।

साना बच्चाहरुको जिम्मेवारी वहन गर्न कतिको सहज हुन्छ ?


हामीले आमा बाबुझैं बच्चाको जिम्मेवारी बोकेका छौँ । वहाँहरुको बच्चा हाम्रो पनि बच्चा हो । त्यसैले यो काम हाम्रो लागि चुनौतिपूर्ण छ । अहिलेसम्म नराम्रो घटना हाम्रो विद्यालयमा भएको छैन । अरु काममा पछि गरौँला भन्ने हुन्छ । बालबालिकाको हकमा आँखा समेत झिम्काउँन सकिदैन । बालबालिकाको रेखदेख र सिकाइ अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण काम हो ।

नेपालको समग्र शिक्षा क्षेत्रलाई तपाईले कसरी नियाल्नु भएको छ ?


अभिभावकहरु कसैलाई विदेशी तरिकाको पढाइ मनपर्छ त कसैलाई नेपाली । त्यसैले यो अभिभावकमा पनि भर पर्ने कुरा हो । जहाँसम्म मैले मूल्याङ्कन गरेको छु, हाम्रो नेपालको शिक्षा क्षेत्र एकदम राम्रो छ । किनभने हामीले बच्चालाई ‘स्मार्ट’ बन्न सिकाउँछौ । हामीले मात्र किताब पढ्न सिकाउँदैनौ । भोलि गएर हाम्रो नेपालको बच्चाहरु पढाइमा मात्र सिमित नभएर अन्य कुरामा पनि क्षमतावान बनुन् भन्नेमा हेक्का राख्नुपर्दछ । आजको शिक्षा जीबनभर उपयोगी हुन आवश्यक छ ।

भूकम्पको समयमा सहयोगमा खटिएर तपाईले नेपाल सरकारबाट पुरस्कार पनि पाउनुभयो । त्यो समय अहोरात्र खटिने धेरै थिए । तपाईले नै किन पाउनुभयो जस्तो लाग्छ ?


मैले पुरस्कृत हुँला भनेर सेवा गरेको होइन । कमाइको २५ प्रतिसत हिस्सा हामी समाजसेवालाई छुट्टाउने गर्दछौं । समाजसेवा हाम्रो परिवारको नियमित चर्या हो । तर, भुकम्पको बेला हामी विशेष रुपमा खटियौँ । पहिलो दिनबाटै हामी उद्धार र राहतमा लागेका थियौँ । ट्रक लिएर हामी सिन्धुपाल्चोक , गोरखा जस्ता थुप्रै ठाउँ गयौँ । त्यहाँमा मानिसहरुलाई सक्दो खाद्यन्न उपलब्ध गरायौँ ।

विद्यालयमा हामीले स्थानीयलाई आश्रय दियौँ । यहीं मेस चलायौँ । हाम्रो विद्यालय भवन र संरचना भुकम्प प्रतिरोधी छ । यसकारणपनि धेरैले यहाँ शरण लिनुभयो । त्यतिबेला प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । मैले उहाँलाई भेटेरै राहत र उद्धारका बारेमा योजनाहरु सुनाएको थिएँ । मन्त्रीलाई जिल्लाको कमाण्ड सम्हालेर उद्धार र राहत अभियान केन्द्रीतकृत गरौँ भन्ने सुझाव दिएको पनि थिएँ । देश आपतमा हुँदा हरेक नागरिक आफैँमा सरकारजस्तो जिम्मेवार बन्नुपर्दछ । हामीले त्यही गर्यौं । सायद त्यही भएर सम्मान दिइएको होला ।

नेपालको वर्तमान राजनीतिप्रति के छ तपाईको धारणा ?


हाम्रो नेपालमा भर्खरै संविधान आएको छ । सबै देशमा संविधान आउँछ तर त्यस्तो कमै संविधान बनेको छ जहाँ राज्यले सबै मानिसका इच्छालाई मिलाएर लैजान्छ । अहिलेको जुन सरकार छ , प्रचण्डजीको काम हेर्न निकै जरुरी छ । अबको सरकारले केहि गर्ला जस्तो लाग्छ मलाई । हरेक राजनीतिज्ञले केहि बुझेजस्तो लाग्छ । समय लाग्छ सबै ठीक हुन्छ । हरेक प्रधानमन्त्रीलाई पाँच वर्ष टिक्न दिइयो भने देश बन्छ जस्तो लाग्छ ।

यहाँको राजनीतिमा आउने सोच छ की छैन ?


योजना भन्दा पनि मेरो सबै पार्टीसगँ राम्रो मित्रता छ । राजनीतिमा आउने नआउने भोलिको दिनमा निर्भर हुन्छ । केहि गर्न सक्छु भने मात्र म राजनीतिमा आउँछु । कुर्सी र सत्ताको लागि हैन । युवालाई योगदान दिन सके भने मात्र आउछु । राजनीतिमा मेरो बडो चासो छ ।

विवाह गर्दै हुनुहुन्छ भन्ने सुनियो, प्रेम विवाह की मागी ?


प्रेम विवाह नै भन्नुपर्छ ।

कसरी भयो प्रेमको सुरुवात ?


हामीले एकअर्कालाई चिनेको त पहिल्यैदेखि हो । राम्रो कुरा ठीक समयमा हुन्छ भन्छन्, ठ्याक्क त्यही भयो । विस्तारै कुरा गर्दै गयौँ । जिन्दगी बिताउनका लागि आफ्नो मान्छेसगँ हरेक चिज मिल्नुपर्छ जस्तो लाग्छ मलाई । मैले उसमा आफ्नो हरक चिज मिलेको देखेँ । मलाई ऊ मन पर्न थाल्यो । प्रेम प्रस्ताव राखेँ, उनले स्वीस्कार गरिनन् । करिब २०,२५ दिन पछि बल्ल मेरो प्रस्ताव स्विकार भयो ।

प्रेमले जीवनमा केही परिवर्तन गरायो ?


धेरै कुराहरु परिवर्तन भएको छ । बेलैमा घर जाने भएको छु । शुक्रबार बाहिर कम निस्किन्छु । राती ३ बजेसम्म बाहिर बस्ने बानी फेरिएको छ । बेलैमा सुत्न पनि मन लाग्दो रहेछ । जिम्मेवारी बढेको महशुस हुँने रहेछ ।

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?


फुर्सद खासै हुँदैन । भयो भने फुर्सदमा मलाई अरुको राष्ट्र भन्दा पनि आफ्नो राष्ट्र घुम्न मन लाग्छ । वनजंगल हेर्न, पहाडतिर जान, हिमालतिर घुम्न जान एकदम रहर लाग्छ ।

नेपालमा सबभन्दा मन परेको ठाउँ कुन हो ?


मन पर्ने ठाउँ मुस्ताङ हो । एकदम जान मन लागेको छ तर म जान पाएका छैन । वन्यजन्तुहरु हेर्नको लागि मलाई बर्दिया एकदमै मन परेको छ । तराई पनि एकदमै मनपर्छ, किनभने तराईबाट नै हजुरबुबाको गाडिको व्यवसाय सुरु भएको थियो । नेपालको ठाउँ तोकेर यो राम्रो भन्न सक्दिन । नेपालका हरेक चिज राम्रा लाग्छन् । मेरो पुख्र्यौली भारत भएपनि मेरो नशानशामा नेपाल छ । म आग्रह गर्छु सबै नेपालीलाई कि पहिला आफ्नो सुन्दर देश घुम्नुस अनि मात्र अन्य देश भ्रमण गर्नुस् ।

तपाई शिख तर पगडी लगाउनुभएको छैन । किन ?


(हाँस्दै) मैले पनि लगाउनुपर्ने त हो । अनिवार्य रुपमा पञ्जावीले पगडी लगाउनुपर्छ तर कहिलेकाहि मानिसले परिवारको विरुद्ध गएर पनि काम गर्छ । त्यही मैले गरेको हो ।

तपाईको भावी योजना कस्तो छ ?


अबको पाँच वर्षमा स्कुललाई फैलाउने विचार छ । ३, ४ वटा विद्यालय अझ खोल्न चाहन्छु । त्यसपछि अरु व्यापारतिर जान चाहन्छु । होटलतिर व्यवसाय गर्न सक्छु । अहिलेको लागि भने राम्रो वातावरण र उचित राजनीतिक स्थिरताको पर्खाइमा छु । राजनीतिक स्थिरता भयो भने मात्र मेरा योजनाहरु सफल हुन सक्छन् ।


र योपनि, ► महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह (भिडियो सहित)


 

grandson of pritam singh i am Nepali even though my origin is India interview with angad singh