मेरो परिवार मेरो कथा

माओवादीमा नयाँ बहस – नपढेर लण्ठू भइयो, पार्टी मातहतको अध्ययन प्रतिष्ठानबाट प्रमाणपत्र लिनै पर्ने विधि बसालौँ (भिडियो सहित)

माओवादीमा नयाँ बहस – नपढेर लण्ठू भइयो, पार्टी मातहतको अध्ययन प्रतिष्ठानबाट प्रमाणपत्र लिनै पर्ने विधि बसालौँ (भिडियो सहित)

काठमाडौं बानियाँटारमा फ्लोरोसेन्ट स्कुल छ । यही स्कुलको अगाडिपट्टिको गल्ली हुँदै बायाँ मोडिएपछिको वस्तीस्थित एक घरमा राति अवेरसम्म बत्ति बलिरहन्छ । लोकसेवाको तयारी गरिरहेको वा परीक्षाको भीषण चेपमा रहेको कोही विद्यार्थी होला बन्ने अनुमान धेरैले गर्दछन् । तर, यी अनुमान सत्य होइनन् । त्यहाँ नत कोही परीक्षार्थी बस्छ नत कोही विद्यार्थी । बस्छन् नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपाने ।

उनी बाह्रै मास उसैगरी कितावमा घोत्लिरहेका हुन्छन् । उनको फल्याट पुस्तकालयजस्तो लाग्छ । टमक्क मिलाएर राखिएका ¥याकमा माक्र्सवाददेखि उत्तरआधुनिकतावादसम्मका किताव भेटिन्छन् । माक्र्स लिखित पूँजीका चम्किला संस्करणमा जोकोहीको आँखा झ्वाट्ट पर्दछ । केही किताव भुंईमा खात लागेका छन् । यो सबै दृश्य हेर्दा लेखनाथ न्यौपानेको बाहिरी जीबन र अन्तर्यमा आकाश जमिनको अन्तर अनुभव गर्न सहजै सकिन्छ ।

बाहिरफेर उनी आम माओवादी नेता कार्यकर्ताजस्तै बैठक, छलफल, कार्यक्रम र आन्दोलनमा व्यस्त रहन्छन् । अरु नेता कार्यकर्ताजस्तै उनी ‘कामपनि नभाको फुर्सदपनि नपाको’ माओवादी हुन् । विद्यार्थी अभियानमा पश्चिम पुगेर फर्केको धेरै भएको छैन । माओवादी एकीकृत भएपछि उनी काठमाडौंको नेता तोकिएका छन् ।

अखिल क्रान्तिकारीको नेतृत्व

विद्यार्थीको अध्यक्षका रुपमा बर्षौ कार्यकारी भुमिका रहेका उनको राजनीतिक जीबन असाध्य सक्रिय रह्यो । उनी ०६० को असारदेखि ०६७ मंसिरसम्म क्रान्तिकारीको अध्यक्ष रहे । माओवादी जनयुद्ध उचाईमा पुगेको, संकटकाल लागेको, शान्तिप्रक्रिया शुरु भएको, माओवादी संविधानसभामा सबैभन्दा ठूलो दल बनेको तथा माओवादीमा अन्तरविरोध बढ्दै गरेको गतिशिल समयमा उनी विद्यार्थी नेतृत्वमा थिए ।

उनी अध्यक्ष रहिन्जेल क्रान्तिकारी चलायमान रहेको र विद्यार्थी राजनीतिमा उनको हस्तक्षेप जबरजस्त स्थापित भएको उनका समकालिनहरु बताउँछन् । ०६७ सालमा पार्टीले उनलाई नै क्रान्तिकारीको नेतृत्वमा निरन्तरता दिन चाह्यो । उनले इन्कार गरे । बर्षौसम्म विद्यार्थीको नेतृत्व लिंदा संगठनमा जाम हुंने र आफ्नो पनि भुमिका विस्तार नहुंने उनको तर्क थियो । उनको नाइनास्तीपछि उनी विद्यार्थीको भुमिकाबाट बाहिरिए ।

भुमिका बिहीन अवस्थाले बनायो अध्ययनशील 

आठ बर्षसम्म आठै प्रहर सक्रिय रहेका लेखनाथ न्यौपानले सायदै सोचेका थिए भुमिका फेरिएपछि झण्डै झण्डै ‘बेकामे’ भइएला । उनी बिद्यार्थीबाट बाहिरिएसँगै माओवादीको अन्तरसंर्घष चरमचुलीमा पुग्यो । खरो स्वभावका न्यौपाने क्रान्तिमाथि धोका भएको निष्कर्षमा पुगे । क्रान्तिको लालझण्डा फेरिपनि उठाउने अभिष्टसहित उनी मोहन बैद्य नेतृत्वको माओवादीमा लागे । तर पार्टीले सशक्त आन्दोलन थालेन, आम नेता कार्यकर्ता निस्क्रियजस्तै रहे । उनले समयको सदुपयोग गर्ने माध्यम बनाएः अध्ययन । उनी भन्छन्, ‘म अत्यन्त सक्रिय राजनीतिक जीबनबाट भुमिका विहीन राजनीतिमा पुगें । विद्यार्थीको नेतृत्व छाडेपछिको लगभग ६ बर्ष मेरो मुख्य काम नै लेख्ने पढ्ने भयो ।’ यसबीचमा उनले अनेकथरी किताव पढेका छन् । पढ्नु उनको बाध्यता र नशा दुबै हो । युद्धकालमा उनी दुई पटक जेल परे ।

०५२ सालमा उनी ६ महिना जेल बसे । बुबाले लालपूर्जा धरौटी राखेर जेलमुक्त गरिदिनुभयो । बुबाको जमानी जेसुकै होस्, उनले राजनीति छोड्न सकेनन् । माओवादी युद्धमा जोडिए । २०५४ सालमा पक्राउ परे । लगातार ४ बर्ष जेलमा रहे । यो ४ बर्ष उनी कितावी किरो बने । जेलमा समय बिताउने अर्को उपयुक्त विधिपनि केही थिएन । साथीभाइसँग र आफन्त भेट्न जाँदा उनी किताव पठाइदिन भन्थे । ‘जेलमा मैले पढ्न सिके । तल नै लाग्यो । भनेजस्तो किताव पढ्न नपाएपनि पढ्ने बानी बस्यो । प्रशासनले छापा मारेर किताव लुट्थ्यो ।

किताव महत्वपूर्ण हुंदैनथ्यो भने किन लुटिन्थ्यो ? जे लुटिन्थ्यो त्योप्रति झन् माया लाग्ने ।’ जेलजीबनको अनुभव सुनाउँदै उनले भने । पढाइका लागि पारिवारिक पृष्ठभूमीपनि कारक रह्यो । उनका लागि पढाइ सहज थिएन । गोरखाको हर्मीमा जन्मेका न्यौपाने ११ औं सन्तान मध्ये आठौं सन्तान हुन् । ७ दिदीबहिनी र ४ दाजुभाइको विशाल परिवारमा सहज पढाइ सम्भव थिएन । बुबाआमाको कष्टपूर्ण जीबन संर्घष नजिकबाट नियाँलेका उनले अध्ययनको महत्व उतिबेलै बुझेका थिए ।

कस्ता किताब पढ्ने

भाषण र अभिव्यक्तिमा खरो लाग्ने न्यौपाने अध्ययन र लेखनका दृष्टिले भावुक लाग्छन् । माओ, माक्र्स र लेलिनका दुईचारवटा ठेली टेबुलमा राख्ने र पाँचसातवटा भनाइ घोकेर कार्यकर्तालाई माक्र्सवाद लेलिनवाद र माओवादको फुर्ति लगाउने उनको स्वभाव छैन । उनीसँग झण्डै ५ हजार पुस्तक छन् । त्यहाँ याङ मोको युवाहरुको गीत देखि भलाद्मिर नादाकोभको लोलितासम्म छन् । प्रचण्डका रचनादेखि विपी कोइरालाको सुम्निमासम्म उनले छिमोलेका छन् । अनेक रंगका किताव पढेका न्यौपानेलाई सबैभन्दा बढी मन परेको उपन्यास होः युवाहरुको गीत । चीनमा क्रान्ति सम्पन्न गर्न युवाहरुले खेलेको भुमिकामा आधारित यो उपन्यासले भिन्दै उर्जा दिने उनको भनाइ छ ।

किन पढ्ने ?

‘किताव पढेर के पाउनुभयो ?’ पढ्यो लेख्यो के काम, हलो जोत्यो मामैमाम भन्ने सस्कृति हावी भएको सन्दर्भलाई संकेत गर्दै न्यौपानलाई सोधियो । उनले गाँठी कुरा फुकाए । ‘पढ्नु भनेको औपचारिक शिक्षामात्रै होइन । अनौपचारिक शिक्षा पनि महत्वपूर्ण हुन्छ । अध्ययनले आत्मविश्वास बढाउँछ । भविश्यको आँकलन गर्न सक्ने बनाउँछ । आजको लागि होइन, भोलिका लागि बाँच्न सिकाँउछ । प्रतिकुल अवस्थाको सामाना गर्ने क्षमता बृद्धि गर्दछ ।’ न्यौपाने अघि बढ्दै गए, ‘आजका धेरै युवा नेताले भविश्य देखेका छैनन् । उनीहरु नेताकै फेरो समातेर घुम्न तछाडमछाड गरिरहेका छन् । यो अध्ययनको कमीले हो । अध्ययनको कमी हुँदा मान्छे तत्कालका कुरामा रमाउँछ ।’

अध्ययनको महत्व बुझाउँदै गर्दा उनी विक्रम सम्वत ४० को दशकमा फर्के । उनले प्रचण्ड, बादल, देब गुरुङ, सिपी गजुरेलले त्यतिबेला अध्ययन मण्डल नै बनाएर बर्षौसम्म सामुहिक अध्ययन र बहश गरेको उदाहरण दिए । ‘मोहन बैद्यको आफ्नै दक्षता छ । प्रचण्ड, बादल, गुरुङ, गजुरेल आआफ्नो विधामा आजसम्म अपडेट हुनुहुन्छ । बाबुराम पछिबाट जोडिनुभयो तर उहाँको आफ्नै विज्ञता छ । ३० बर्ष अघि अध्ययन गरेको कुराले उहाँहरुलाई विज्ञ बनाइरहेको छ ।’ नेताहरुले अध्ययन कसरी गरे र नेतृत्वमा स्थापित हुंन तथा आन्दोलनलाई अगाडि बढाउन कसरी भुमिका निर्वाह ग¥यो भन्ने बारेमा उनले बेलिविस्तार लगाए ।

माओवादी आन्दोलनमा लागेकाहरु पछिल्लो समय पठन संस्कृतिबाट बिमुख भइरहेकोे न्यौपानेको भनाइ छ । विज्ञता हाशिल गर्न भन्दा पदको हानथापका लागि दौडधुप बढेको उनले नजिकबाट नियाँलेका छन् । ‘विषयगत ज्ञान केही नभएपनि मन्त्री हुन परेको छ । केही गर्नका लागि मन्त्री बन्ने होइन, पद पाउँनका लागि हानथाप छ ।’ उनी भन्छन्, ‘पार्टीले विषयगत विज्ञ नेताहरु उत्पादन गर्नुपर्छ । मन्त्री बन्नुभन्दा पहिले सम्बन्धित मन्त्रालयका बारेमा कोर्ष पूरा गर्न लगाउनुपर्छ । दक्षता बिनै मन्त्री भएकाले केही गर्न सक्दैनन् भन्ने देखिएको छ ।’ कर्मचारीले सहयोग गरेनन् भन्ने गुनासो सबैजसो मन्त्री प्रधानमन्त्रीले गर्ने गर्दछन् । यसमा पनि न्यौपाने नेताकै खोट देख्छन्, ‘कर्मचारीलाई खटनपटन गर्ने क्षमता भए कर्मचारी काम गर्न बाध्य हुन्छ । उसलाई यो होइन त्यो हो भनेर दिशानिर्देश गर्न सक्ने विशेषज्ञता भए उसले ठग्नै पाउँदैन ।

कर्मचारीले जे ग¥यो त्यसैमा ल्याप्चे लगाउंने भएपछि कर्मचारीले किन टेर्छ ?’ उनी कर्मचारीलाई खटनपटन गर्न सक्ने नेता मन्त्री हुंदा परिणाम निस्किएको दाबी गर्छन । माओवादीहरु अरुभन्दा विशिष्ट नभइ नहुंने न्यौपानेको धारणा छ । समाज परिवर्तन गर्न भनेर हिंडेका माओवादीहरुसँग अरुको भन्दा धेरै ज्ञान र सूचना हुनुपर्ने उनको भनाइ छ । त्यसका लागि अध्ययनको विकल्प नरहेको उनको सुझाव छ । अध्ययन गर्नका लागि पहिले जस्तो कठिनाइ नरहेको उनको बुझाइ छ । ‘पहिले पहिले नेपाली बजारमा पुस्तकको अभाव थियो । अहिले यहीं पुस्तक पाइन्छ । अंग्रेजी भाषा बुझ्नेका लागि इन्टरनेट र अध्ययन सामाग्री कति हो †’ उत्साहित देखिए न्यौपाने ।

किताब माग्ने कि किन्ने ? ‘किताब मागेर पढ्ने कि किनेर ?’ यो प्रश्नको उत्तर उनले सहजै दिए, ‘किनेर’ । किताव पढ्दै नपढ्ने पढिहालेपनि मागेर काम चलाउने एकथरी प्रवृत्ति छ । यस्तो अवस्थामा किनेर किताव पढ्ने कुरा सम्भव होला र ? उनी सम्भव देख्छन् । ‘थोरै खाएर किताव किन्ने हो । दुई प्लेट मःमको मूल्यले एउटा किताव आउंछ । लगाउने र खाने कुरामा थोरै सम्झौता गरियो भने किताव जत्तिपनि आउँछ ।’ उनले आफ्नै अनुभव सुनाए । मूल्यमै रुपान्तरण गर्ने हो भने उनीसँग लाखौंका किताव छन् । ‘कसरी जुट्यो यत्रो रकम ?’ प्रश्नले उनलाई मसक्क हसायो । दुई हत्केला रगड्दै उनले भने, ‘बर्षौदेखि का कितावको मूल्य जोड्यो भने लाखौं होला । तर, एकैदिनमा यति किनिएको होइन । केही गास र कपास कटाएर किनँे । केही साथीभाइबाट उपहार पाएँ । कितावपनि लेखेँ । प्रकाशकले कितावको पैसा नदिपछि अरु किताव उठाएर ल्याएँ ।’

लेखक लेखनाथका कथाव्यथा

लेखनाथ लेखकपनि हुन् । नौ वटा किताव लेखिसकेका छन् । विद्यार्थी राजनीतिमा २२ बर्ष बिताएका उनले विद्यार्थी आन्दोलनकै बारेमा ‘बिद्यार्थी राजनीतिका बाइस बर्ष’ नामक पुस्तक लेखे । संगठनका साथीहरुले सो किताव बेच्न महत्वपूर्ण भुमिका निर्वाह गरे । पछिल्लो समय उनी त्यही किताबबाट आएको पैसाले बाँचेको बताउँछन् । किताव प्रकाशकले पैसा नदिंदा उनी हैरान छन् ।

प्रकाशित कृतिको संख्या थोरै लेख्ने तर प्रकाशन धेरै गरेर सुरुमै ठग्ने प्रवृत्तिको शिकार उनीपनि भएका छन् । बजारमा किताव सकिसक्दा पनि कितावको पैसा आउँन बाँकी छ भन्दै झुल्याउने गरिन्छ । आजित भएका उनले कितावसँग किताब साट्ने गरेका छन् । उनले जनयुद्धमा श्रीमती गुमाए । भावविभोर हुँदै किताव लेखे । आत्मकेन्द्रीत भएको आरोप लाग्यो । उनी भन्छन्, ‘खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । जसले परिवार गुमाएका छन् उनीहरुबाट राम्रो प्रतिक्रिया आएको छ । प्रतिक्रिया सकारात्मक र नकारात्मक दुबै तरिकाले आएका छन् ।’

उनको पछिल्लो कृति हो कोमामा कोरस । कोरसको अर्थ सामुहिक गायन । कोमा शब्द उनले चिकित्सा क्षेत्रबाट लिएका हुन् । जीबन मरणको चिन्ताजनक अवस्थाको बिरामीलाई कोमामा राखिन्छ । उनले माओवादी आन्दोलनलाई सामुहिक गायनका रुपमा पुस्तकमा प्रतिबिम्बित गरेका छन् । र, यो गायनरुपी आन्दोलन जीबनमरणको दोसाँधमा उपचाररत रहेको सन्देश दिएका छन् । कोरस कोमामा पुग्ने अवस्था कसरी निम्तियो भन्नेमा पुस्तक केन्द्रीत छ । उनले सबैको जिम्मेवारी भएपनि नेतृत्वका नाताले प्रचण्डलाई मुख्य दोषि देखेका छन् । फेरी प्रचण्डलाई नेता मानेर माओवादीमा एकीकृत भएका न्यौपानेलाई धेरैले गर्ने प्रश्न हो, ‘प्रचण्डकै आलोचना गर्ने प्रचण्डकै छाहारीमा आउँने ?’ उनी प्रश्नपनि स्वभाविकरुपमा लिन्छन् । र, उत्तरपनि स्वभाविकरुपमै दिन्छन् । ‘हिजो राजनीति र नेतालाई आर्दशमा हेरियो । यस्तो हुँदोरहेनछ । व्यवहारमा तलमाथि हुँदो रहेछ । आलोचना चेतका साथ प्रचण्डको नेतृत्वमा केन्द्रीकृत भएका हौँ ।’

अध्ययन प्रतिष्ठान बनाउने अभियानमा लेखनाथ

माक्र्सवादको विकास युरोपमा भयो । त्यहाँ वैचारिक पक्षलाई जोड दिइन्थ्यो । फ्रयांकफर्ट स्कुल अफ थट संस्थागत नै भएको उदाहरण छ । विचारकहरुको उत्पादन भएको देखिन्छ । नेपालमा वैचारिक पक्ष कमजोर बन्दै गएको उनले देखेका छन् । ‘पठन संस्कृति हराएकाले हामी लन्ठु भएका छौं ।’ फ्रेन्च कट दाह्री खुम्चाउँदै लज्जालुभावमा उनी पीडा पोख्दै थिए ।

पार्टीको स्कुल विभागको जिम्मेवारीमा रहेका न्यौपानेले माओवादी नेताकार्यकर्ताको वैचारिक पक्ष कमजोर रहेको नजिकबाट देखेका छन् । उनी पार्टी मातहतमै अध्ययन केन्द्र वा प्रतिष्ठान बनाउनुपर्छ भन्ने सोचमा छन् । नेताकार्यकर्तालाई अनिवार्य रुपमा पढाउने र प्रमाणपत्रसमेत दिने गरी अध्ययन प्रतिष्ठान गठन गर्न अनिवार्य भइसकेको उनको बुझाइ छ । विषय तोकेरै पाठ्यक्रमको विकास गर्ने र प्रतिष्ठानबाट प्रमाणपत्र प्राप्त नगरेको नेताकार्यकर्तालाई नियुक्ति र मनोनयनमा बन्देज नगरेसम्म पार्टी वैचारिकरुपमा सशक्त नबन्ने उनको निष्कर्ष छ ।

‘सबैलाई नियुक्ति चाहिएको छ । मनोनित हुनुपरेको छ । दौडधुप त्यसैका लागि छ । कम्तिमा त्यसका लागि भएपनि निश्चित विधाको अध्ययन गर्नुपर्ने विधि बसालिएमा साथीहरु बाध्य भएर पढ्छन् ।’ उनले थपे, ‘वैचारिकरुपमा अब्बल र ज्ञानका हिसावले समृद्ध नभएका माओवादी नेताकार्यकर्ताले अबको कार्यभार पूरा गर्न सक्दैनन् ।’ (सार्वजनिक जीबनमा रहेका व्यक्तिहरुसँग अलग पक्षमा कुरा गर्ने श्रृखंलाको रुपमा यस अध्यायमा राजनीतिकर्मी लेखनाथ न्यौपानेसँग अध्ययनको महत्वमा केन्द्रीत रहेर कुरा गरिएको हो । पात्र र विषयका बारेमा सुझावको अपेक्षा गर्दछौं ।

 

lekhnath neupane interview maobadiko naya bahas napadhera lanthu bhaiyo
ADVERTISEMENT