मेरो परिवार मेरो कथा

लक्का जवान दुई छोरा गुमाएको पीडादेखि समाजसेवामा सम्पत्ति सक्दाको सन्तुष्टिसम्म

लक्का जवान दुई छोरा गुमाएको पीडादेखि समाजसेवामा सम्पत्ति सक्दाको सन्तुष्टिसम्म

बिष्णु गौतम  पर्यटन व्यवसायमा भएकाले जेठा छोरा कुमारले बाऊको बींडो थाम्ने गरी पेशा अंगालेका थिए । उनी सुवान छि टुर्सको म्यानेजिङ डाइरेक्टर थिए । बिष्णुले संचालन गरेको यो ट्राभल एजेन्सीले चीनबाट सबैभन्दा बढी पर्यटक भित्राइरहेको थियो । अफिसको कामले चीन गएका कुमार नेपाल फर्किएका मात्र थिए । घर पुगे लगत्तै अफिसतर्फ लागे । ‘यसलाई सधैंको हतार हुन्छ’ बिष्णुले मनमनै सोचे । साँझ कुरा भइहाल्छ भन्दै उनीपनि काममै लागे । ट्राभल ऐजेन्सीको व्यवश्थापकीय भुमिकामा रहेकाले कुमारको भेटघाट विभिन्न क्षेत्रका मानिससँग भइरहन्थ्यो । उनलाई संगीतप्रति रुचीपनि थियो । गायक दीप श्रेष्ठसँग उनको हिमचिम थियो । अफिसबाट उनी दीप श्रेष्ठलाई छोड्न गए । त्यसपछि घर फर्कदै थिए । त्रिभुवन विमानस्थल नजिकै सेतो रंगको कार अनियन्त्रित गतिमा आइरहेको थियो । विपरित दिशाबाट आइरहेको कार कुमारको मोटरसाइकलतर्फ सोझियो । कुमारले हठात साइड लगाए ।

उनको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन पुग्यो । कुमारको निधन भयो । घर पुग्न पाँच सय मिटरमात्र बाँकी थियो । तर, कुमारलाई दैवले घरभन्दा केही पर रहेको आर्यघाटतर्फ डोहोराइदियो । कुमार भर्खर २८ बर्षका भएका थिए । फक्रर्दै गरेका हसिला कुमारलाई दैबले पनि आँखा लगायो । असह्य थियो पीडा । तर, बिष्णु र लक्ष्मीसँग सहनुको विकल्पपनि थिएन । कुराकानी सुरु गर्न नपाउंदै बिष्णुको आँखा आँशुले भरियो । बियोगको सो क्षण सम्झने सामाथ्र्यसमेत उनमा छैन । तर, विर्सनपनि सकिदैन । बिष्णुले ‘हुने हार दैव नटार’ भन्दै मन बुझाउने प्रयास गरे । कुमारलाई दैवले लगेपनि अरु छोराको मुख हेरेर चित्त बुझाउंन थाले । माइला छोरा बलरामले अमेरिकामा राम्रो व्यसाय थालेका थिए । दाजुको शोक परेका कारण घरमा दशैं थिएन । एक बर्ष अघिमात्रै आएर फर्केका बलराम बेलाबेला फोनमा बुबाआमासँग दाइको वियोग मेटाउने गरि गफिन्थे ।

बिष्णु गौतमका  छोराहरु

२०६६ साल असोज १७ गते । कोजाग्रत पुर्णिमाको दिन । बिष्णु गौतम अमेरिका रहेका माइला छोरालाई आर्शिवाद दिनका लागि फोन गर्ने तरखरमा थिए । धान्य पूर्णिमामा जन्मिएका बलरामले राम्रो प्रगति गरेका थिए । अमेरिकाको अस्पतालमा सूचना प्रविधि अधिकृत रहेका उनले गणित विषयमा विश्वविद्यालय टप गरेका थिए । बिष्णुले अमेरिका फोन गर्न नभ्याउंदै उतैबाट फोन आयो । आर्शिबाद लिन बलरामले सम्झियो भन्ठानेर बिष्णु खुशी हुँदै फोन उठाए । तर, सो फोनमा बलरामको आवाज थिएन । २४ बर्षका कलकलाउँदा बलरामको मृत्युको खबर थियो । खबर सुन्दानसुन्दै बिष्णुको होश गुमिसकेको थियो । पूर्णिमा दिन औंशीमा परिणत भएको थियो । धान्य पूर्णिमा जन्मेको जुनजस्तो छोरा कोजाग्रत पूर्णिमामा अस्तायो । नचिताएको खबरले गौतम परिवारमा पीडाको पहाड तेर्सिएको थियो । ‘मैलै सुनेअनुसार बलरामले कार चलाएर आउदै रैछ, बीच बाटोमा मृग आएछ । त्यसलाई छलाउन खोज्दा कार अनियन्त्रित भएर उसको मृत्यु भयो । मृग बाच्यो ।’ यति भन्दा नभन्दै बिष्णु भित्तामा राखिएको कुमार बलरामको हसिलो तस्बिरमा घोरिए । एक तमासले हेरिरहेका उनका आँखामा छचल्किएको आँशुमा कुमार र बलरामको तस्बिरको छाँयाकपी देखिन्थ्यो ।

बलराम अमेरिकामा गएको पाचौ वर्ष भएको थियो । सन् २००८ मा गणीतमा अमेरिकी विश्वविद्यालय टप गरेपछि उनी नामी बनेका थिए । पढाइ सक्दा नसक्दै उनले वुडवार्ड हस्पिटलमा आईटी सिस्टम म्यानेजरको जागिरे भए । अमेरिका गएको चौथो वर्षमा एकपटक मात्र उनी नेपाल आएका थिए । ‘अब कमाइ राम्रो हुन्छ । बेलाबेला आइरहन्छु । तपाईहरुले अब धेरै दुःख गर्न पर्दैन । आरामको जिन्दगी जिउंनुहोला ।’ यसो भन्दै छुट्टिएका बलराम कहिल्यै नर्फकने गरि बिदा भएका रहेछन् । बिष्णु नौ महिनाको अन्तरालमा महावियोग खेप्न विवश थिए । जीवनमा यो भन्दा ठूलो अर्को चोट सायदै केही होला । सानो परिवार सुखी परिवारमा एकपछि अर्को बज्रपात निम्तिएको थियो ।

लक्ष्मी छोराहरुको निधनपछि अचेतजस्तै थिइन् । बहुराउने र कराउने गर्थिन । चेत खुलेको बेला बलिन्धर आँशु छुट्थ्यो । बिष्णुका ८४ वर्षको बुबा र ७८ वर्षिय आमा नातिहरुको निधनपछि सोकमा डुबेका थिए । ‘हामी बुढाबुढीलाई नलगेर किन नातिलाई लगेको ?’ भन्दै दैवसँग प्रश्न गर्थे । सोकको समुन्द्रमा डुबेका बिष्णु आफैं बेहाल थिए । कान्छा छोरा र छोरी सानै थिए । ती दिनहरु सम्झिदै उनी भन्छन् ‘ एउटा कोठामा एउटा मुर्छा पर्छ । अर्को कोठामा अर्को मुर्छा पर्छ । एउटालाई उठायो अर्को मुर्छा हुँने, अर्कोलाई उठायो अर्को मुर्छा हुँने ।’ दुई छोराको एकपछि अर्को काजक्रिया गर्ने अभागी बाऊ बिष्णुसँग प्रश्न सिवाह केही थिएन । ‘किन रच्यौं सृष्टि, किन चुड्यौं फूल ?’ उनी भगवानसँग प्रश्न गर्थे । प्रश्न अनुत्तरित नै रहन्थ्यो ।

 सुरुवातमा चेपाङ वस्ती

‘आखिर लक्का जवान छोराहरु त मरे, हामी बाँचेर के हुन्छ ?’ उनी आफैंसँग प्रश्न गर्न थाले । मनमनै जवाफ खोजे । ‘बाँचेर केही छैन । एकपछि अर्को बियोग देख्न लेखेको रहेछ, यो भन्दा मर्न ठीक ।’ बिष्णुले निर्णय लिए, ‘गाडीमा परिवारलाई लिएर जाने र गाडी नै भोटेकोशीमा खसाल्ने ।’ आफैंप्रतिको यो भयानक षडयन्त्रका लागि उनले सबै योजना बुनिसकेका थिए । जलसमाधीलाई उनले मुक्तिका रुपमा बुझेका थिए । त्यति नै बेला गोरखामा ठूलो दुर्घटना भयो ।

कैयौंको ज्यान गएको सो दुर्घटना उनको जीबन मोड्ने माध्यम बन्यो । एक जना व्यक्ति वस दुर्घटनामा परेकाहरुको उद्धार र उपचारमा लागेको समाचार हेरे । ति व्यक्ति भन्दै थिए, ‘जस्लाई पनि यस्तो दुर्घटना पर्न सक्छ । अरुलाई पर्दा आफुले गर्ने हो, आफुलाई पर्दा अरुले गर्छन । सेवा नै धर्म हो ।’ पर्यटन व्यवसायका कारण उनलले देश विदेश घुमेका थिए । धनदौलत कमाएकै थिए । विश्वविद्यालयमा शिक्षा आर्जन गरेकै थिए । वियोगमा नपरुन्जेल उनले सफलताबाहेक अरु केही देखेनन् । वियोगमा परेपछि अन्धकारबाहेक केही भेटेनन् । उनले आफुलाई समीक्षा गर्न थाले । ‘छोरा मरेका कारण आफुसहित परिवारलाई मार्नु छोराहरुको आत्मालाई तड्पाउनु होे ।’ उनको मनकम्प हुन थाल्यो ।

गोरखाको बस दुर्घटनामा परेकाहरुको उद्धार र उपचारमा सक्रिय ती अपरिचतको बोली उनको कानमा गुञ्जिरह्यो, ‘सेवा नै धर्म हो ।’ उनले ती समाजसेवीको बारेमा बुझ्न चाहे । बुझ्दै जादा ती मान्छेले १६ वर्षको छोरालाई दुर्घटना घुमाएको थाहा भयो । पीडा भुलाउन उनी दुःखीहरुको सेवामा सर्मपित भएका रहेछन् । उनले यो कुरा आफ्नी जीबनसाथी लक्ष्मीसँग भने । आँशुको आहालमा डुबेकी लक्ष्मीले सुक्सुकाउँदै भनिन्, ‘हामीपनि त्यसै गरौं न । छोराहरुको आत्मालाई शान्ति मिल्ला ।’ बिष्णुको मन हल्लाइरहेको यक्ष प्रश्नले उत्तर पायो । मल्लकालिन राजा प्रताप मल्लले रानीलाई खुसी पार्न रानीपोखरी बनाएको सम्झे । अनी लक्ष्मीको आसु पुछ्दै भने, ‘तिमीले भनेको झैं गर्न म तयार छु । तर एउटा सर्त छ । त्यसपछि तिमी रुन पाउंदिनौं । म तिम्रो नामबाट संस्था खोलेर समाजसेवा थाल्छु । छोराहरुको पुर्नजन्म दिलाउँछु ।’ लक्ष्मीले मुन्टो हल्लाइन् । यसरी खुल्यो २०६६ सालमा लक्ष्मी प्रतिष्ठान ।

प्रतिष्ठानको जन्मपछि फेरिएको पहिचान

‘दुनियामा एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ’ यो भनाई बिष्णुको जीवनसँग बास्तबमै मेल खान्छ । उनी भोटेकोशीमा सपरिवार हाम्फालेको भए गौतम परिवारको अस्तित्व मेटिने थियो । तर, फरक यात्राले बिष्णुको परिवारको फराकिलो परिचय बनेको छ । लक्ष्मी प्रतिष्ठानको कार्यालय उनले गौशला तिलगंगामा स्थापना गरे । पशुपति क्षेत्रमा रहेको प्रतिष्ठानबाट दाहसंस्कार गर्दै गरेको दृश्य देखिन्छ । सो दृश्यले ‘मरिलानु के नै छ रहेछ ?’ भन्ने सत्यवोध गराउँदछ । उनले कार्यालयको भित्रपट्टि मुस्कुराइरहेका कुमार र बलरामको तस्बिर राखेका छन् । तस्बिरबाटै बोलुंला झै देखिने उनीहरुले बिष्णुलाई समाजसेवामा प्रोत्साहित गराइरहेका हुन्छन् । बिष्णुको परिवार नै अहिले समाजसेवामा सर्मपित छ ।

कान्छा छोरा पनि समाजसेवामै लागेका छन् । शान्तियात्रामा रहेको गौतम परिवारको व्यापार व्यवसाय चौपट भएको छ । तरपनि उनलाई केही झैं लागेको छैन । ‘लक्काजवान दुई छोरा भन्दा ठूलो सम्पत्ति के हुन्छ ? उनीहरुलाई अमर राख्न भौतिक सम्पत्ति सकिएकोमा के को पीर ?’ उनी दृढ सुनिए । कमाउंदा जति मज्जा आउँछ, कमाएको पैसाले सेवा गर्दा सोभन्दा धेरै मज्जा आउंन अद्भुत अनुभव बिष्णुको परिवारले गरेको छ । व्यवसायबाट आर्जेको धेरै सम्पत्ति उनले समाजसेवामा लगाइसकेका छन् । प्रतिफलमा उनले सन्तुष्टि र पहिचान पाएका छन् । देशविदेशकाले उनको कथा सुनेपछि उनलाई प्रतिप्रश्न गर्न सक्दैनन् । बरु सहयोगी बनेर प्रस्तुत हुन्छन् ।

पहिले पहिले उनी धारो बनाउने, पुस्तकालय बनाने लगायतका केही काममा सीमित थिए । विस्तारै उनले सेवाको दायरा बढाउंदै लगे । समाजसेवाको क्षेत्र बढ्दै जाँदा उनीसहित परिवारको व्यस्ततापनि बढ्दै गयो । पीडा भुल्ने गतिलो माध्यम बन्यो । असाहयको साहरा बन्दा सन्तुष्टिपनि प्राप्त हुँदै गयो । ओइलाएको बिष्णुको परिवारले सेवामार्फत अमृतपान गर्न थाल्यो । समाजसेवा गर्ने क्रममा उनले धेरै बरोजगार युवाहरुलाई सिकर्मी ,डकर्मी ,पेन्टर पल्म्बर र ड्राईभर बनाए । सिप सिकेका ती युवाहरु काम गरेर जिवन चलाउन सक्ने भए । ‘म खानको लागि माछा हैन माछा मार्ने बल्झी दिनुपर्छ भन्ने ठान्छु । जीबनभर व्यक्ति आत्मनिर्भर बन्ने सिप र शिक्षा दिलाउंने काममा हामी बढी लागेका छौं ।’ बिष्णुले प्रतिष्ठानको काम बताउंदै गए ।

महिलालाई सिपमुलक तालिमदेखि दुर्गम गाऊँमा स्वास्थ्य सिविरसम्मका अनेक सूची कहंदै गए । सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेका धेरै मानिसहरु उनको स्वास्थ्य कार्यक्रमबाट लाभान्वित भए । कम्तिमा ६ सय जनाको उनले मोतिया विन्दुको उपचार गराइसकेका छन् । उनले काभे्रमा २वटा बिद्यालय र ११ वटा पुस्तकालय निमार्ण गरिसकेका छन् । ६ वटा विद्यालयमा शौचालय बनाएका छन् । सिन्धुपाल्चोक र ढाडखोलामा २ बर्षसम्म ईन्द्रावती सामुदायिक अस्पताल संचालन गरे । 

 चेपाङ वस्तीमा खाद्यान्न बाड्दै

उनको समाजसेवा त्यतीकैमा रोकिएन । काभे्रका बक्रमदेवी मावीलाई आफ्नो ४ रोपनी ४ आना जग्गा दान गरे । त्यही स्कुलमा खानेपानी देखि पुस्तकालयसम्म उनले निमार्ण गरिदिए । डोटीको एउटा विद्यालयमा कम्पुटर पनि वितरण गरे । छोराको मृत्युका कारण लागेको मनको डेडेलो निभाउन उनले समाजसेवारुपी दमकल प्रयोग गरिरहेका थिए । समाजसेवा उनको नशा बनिसकेको थियो । कहींकतै केही वियोग र समस्याको कुरा सुन्यो कि उनी कुदिहाल्थे । यस्तैमा उनको जीबनमा अर्को नयाँ मोड आयो । विषालु च्याउ खाएर एकै परिवारका ८ जनाको मृत्यु, बुढी हजुरआमा र नाती बाच्न सफल शीर्षकको समाचारले उनको मुटु छियाँछियाँ पार्यो । घटनाका बारेमा उनले निधिखोजी गरे ।

चितवन जिल्लाको भण्डाराबाट ८ घण्टा हिडेर जानु पर्ने ‘कान्दा‘ गाऊँमा सो घटना भएको थियो । चेपाङ बहुल कान्दामा चेपाङहरुको खान्की भनेको कन्दमुल नै रहेछ । सुत्केरी र केटाकेटीसमेत कन्दमुलकै भर पर्दारहेछन् । कन्दमुल कहिलेकाहीं विषालु पर्दोरहेछ । र, ज्यान लिंदोरहेछ । यो सुनेपछि उनलाई त्यो ठाऊँमा नगई भएन । आफ्नो टिम लिएर उनी कान्दा हानिए । भण्डाराबाट उनको टिम उकालो लाग्यो । बाटोमा उनले लगभग ३० वर्षकी महिलालाई आरुको रुखमा देखे । ति महिला कलिलो आरु कपाकप खाइरहेकी थिइन् । उनले अचम्म मान्दै सोधे, ‘ए नानी यस्तो कलिलो काचो आरु खानु हुदैन , पेट दुख्छ ।’ उनी सुन्नेवाली थिइनन् । ठुलो स्वरमा फेरि भने ‘ए नानी किन नसुनेको, तिम्रै बारीको हो ।

पाकेपछि खाउन किन नटेरेको ।’ त्यती भन्दा पनि उनले नसुनेको झैं गरिन । उनको मनमा चिसो पस्यो । कतै खाने कुरा नभएर यसो गरेको त होईन ? उनले फेरि भने, ‘मसँग खानेकुरा छ, आऊ खान दिन्छु ।’ यति भन्न नपाउँदै उनी आरुको बोटबाट हाम्फालेर आइन् । उनी ५ दिनकी सुत्केरी पो रहिछन । शहरबाट नजिकै रहेको कान्दा जाँदै गर्दा अनेक दृश्य देखिए । १६/१७ वर्षको किशोर नाङगै बसेको थियो बाटो छेऊमा । उनीसँगै रहेका केहीले नदेखेजस्तो गरे ।

लाजै लाग्ने दृश्यमा ध्यान नदिएकै वेश । तर, बिष्णुको मनले मानेन । उनले हकारेको शैलीमा भने, ‘के गरेको यस्तो ?’ उनले उसको गुप्ताङ्ग आफ्नो ज्याकेटले छोपिदिए । केटो अत्तालिरहेको कामिरहेको थियो । उसले ‘त्यहाँ छ त्यहाँ छ’ भनेर माथितिर देखायो । उनले यसो माथितिर हेरे । धोएर १ जोर कपडा सुकाएको थियो । अनी बेलीबिस्तार मा कुरा बुझ्दा थाहा भयो केटाको भोलिपल्ट बिहे रहेछ । बिहेमा लगाउन भएको एकजोर उसले धोएर सुकाएको रहेछ ।

जाडोका कारण घाम ताप्न बाहिर निस्केको रहेछ । खाशमा उनी त्यहाँ बाँचेका हजुरआमा र नातिको उद्धार गर्न गएका थिए । तर, गाऊँ नै पूरा उद्धार गर्नुपर्ने अवस्थामा रहेछ । सबैका समस्या उस्तै र साझा थिए । उनले सो गाऊँको मुहार फेर्ने वाचा गरे । काठमाडौं फर्किए । अनेक उपाय लगाएर लगाउन मिल्ने धोएको १०३ बोरा कपडा जम्म पारे । ९५ बोरा चामल जम्मा गरे । प्रत्येक परिवारलाई २ वटा नयाँ ब्लाङकेंट बन्दोबस्त गरे । प्रावीमा पढ्ने ८६ जना बच्चालाई एकसरो नया ड्रेस ,जुत्ता र झोला जुटाए । अनी फेरी कान्दा गाऊँतर्फ लागे । जहाँसम्म गाडी पुग्थ्यो, त्यहीसम्म लिएर गए । ८ घण्टा बोकेर पुर्याउने आट उनमा थिएन ।

 चेपाङ बालबालिकाको बदलिएको जीवन

त्यो बेला त्यो गाउको शिक्षक बालकृष्ण थपलियाले उनलाई धेरै सहयोग गरे । सामान लिनको लागि गाउको सबैजनालाई उनले बोलाईदिए । सामान वितरण गरेर फर्केपछि उनलाई झनै चैन भएन । एकदुई हप्ताको गुजाराले पुग्दैन भन्ने कुरा उनको मनमा खेलिरह्यो । कुपोषणले करङ हड्डी प्रष्ट देखिने केटाकेटी, शरीरभरी घाऊ पाकेर घिनाएका केटाकेटी, पढ्ने उमेरमा सिंगान तान्दै धुलोमा खेल्ने केटाकेटी, कन्दमुलका लागि भीरपाखा धाउंने सुत्केरी उनको मानसपटमा नाँचिरहे । सो गाऊँका बारेमा कलम चलाउने पत्रकार एकल सिलवालसँग उनले समन्वय गरे । सिलवाललाई लिएर उनी कान्दा पुगे । यो क्रम निरन्तर जारी छ । उनले कान्दामा तत्कालीन र दिर्घकालीन अन्नबाली तथा फलफूलको कार्यक्रम सुरु गरे । आलु तथा सिमी चाँडै फल्ने भएकाले तत्कालका लागि त्यसैमा जोड गरे । दीघकालीन हिसवाले फलफूलमा जोड दिए । सुरुमा ३२ वटा घर बनाईदिए । बालबालिकाहरुका लागि होस्टेल बनाईदिए ।

छोटो समयमा नै ‘कान्दा’ गाऊँले काँचुली फेर्यो । वेवास्तामा जीवन बिताईरहेका कान्दालीहरु निन्द्राबाट व्यँुझिए । केही गर्नुपर्छ भन्ने सपना जागृत भयो । देश विदेशमा रहेका नेपाली र सहयोगीले उनको अभियानमा साथ दिए । कान्दाको कहर धेरै हदसम्म कम भएको छ । अभियान जारी छ । २०७२ बैशाकमा होस्टेल तयार भयो । बैशाकमा महाभुकम्प आयो । तर उनको होस्टेललाई केही भएन । असार महिनामा उनले होस्टेलको शिलान्यास गरे । होस्टेलमा अहिले १३४जना बालबालिका र १७ जना स्टाप बस्छन । होस्टेल चलाउन मासिक साढे ६ लाख खर्च हुन्छ । उनी भन्छन ‘ निश्चित व्याक्तिले अनुदान दिएर यो चलिरहेको छ । जेनतेन हामीले काम गरिरहेका छौँ । ठूलो डोनर नभएर हामी समस्यामा छौँ  ।’

कान्दामा काम गर्दै जादा उनले चेपाङहरुकै लागि अर्को सपना देखिरहेका छन् । उनको सपना गज्जबको छ ,‘ओडार देखी रिर्सोटसम्म ’ । अर्थात चेपाङ वस्तीमा पर्यटक लैजाने, गिठ्ठा भ्याकुर बेचेर चेपाङवस्तीका लाई डलर आर्जन गर्ने सक्ने बनाउने उनको लक्ष्य छ । उनी भन्छन ‘ ती असल मानिसहरुको उन्नती गर्नको लागि होमस्टेको अवधारण अघि सारेको छु । गाउमै उत्पादन भएको गुन्द्रुक, ढिंडो र जंगलमा पाउने गिठ्ठा भ्याकुरले पर्यटकलाई रामै्र आर्कषण गर्छ ।’

समाजसेवाका लागि सहयोगीबाट आउंने सहयोग मुख्य स्रोत हो । उनले पछिल्लो समय काभे्रमा भएको जग्गामा खेतीपाती र बाख्रा पालन गरेका छन । काभे्रको अनेकोटमा रहेको रिर्सोट, सुन्धारामा रहेको स्वान्जी ट्राभल्स र रियलस्टेटबाट कमाएको सम्पत्ति सकिसकेको उनको भनाइ छ । भुकम्पपछि उनी सहयोग अभियानमा जुटे । देशविदेशबाट उनको प्रतिष्ठानमार्फत सहयोग आएको थियो । नेपालीहरु मनकारी रहेको उनले समाजसेवामा लागेपछि महशुस गरेका छन् ।

उनले काभ्रेको शिवालय गाविसमा भुकम्प पीडितका लागि ३१ वटा घर बनाइसकेका छन् । घर निमार्णको नेतृत्व मञ्जु संग्रौलाले गरिहेकी छिन् । उनको प्रतिष्ठानमा स्वयंसेवा गर्न आउने युवायुवती देख्दा उनलाई लाग्छ, ‘नेपालीको हृदय विशाल छ । मात्र यसलाई राज्यले संगठित गर्न सकेको छैन ।’ वियोगबाट शुरु भएको उनको कथा सन्तुष्टिमा पुगेर सकियो । आँशु ओभाइसकेको थियो । मुहारमा मुस्कान छाउँदै गरेको प्रष्ट देखिन्थ्यो । बिष्णुले आफुलाई मैनबत्तीसँग तुलना गरे । ‘पेलिएर मैन बन्छ । मैन आफु जलेर अरुलाई उज्यालो दिन्छ । मपनि एउटा मैन हुँ ।’ बिष्णुवाणी पछिसम्म गुन्जिरह्यो ।

प्रस्तुतिः सागर बुढाथोकी

americaka car durghatana balram gautam bishnu gautam kumar gautam lakshmi gautam lakshmi pratisthan nepal earthquake nepalko bus accident